स्वच्छन्द भूषिता

- राजकुमार बानियाँ

मध्य वैशाखका तीन साँझ छन्दगायनमा मस्त थिइन्, भूषिता वशिष्ठ । अंग्रेजी साहित्यकी अध्येता भूषिता सांगीतिक टुकडीसहित नेपाली छन्द कवितालाई संगीतको सुरतालमा पछ्याउँदै थिइन् । भानुभक्त, लेखनाथ, देवकोटा, सम, माधव घिमिरे, भीमनिधि तिवारीदेखि आफू र आफ्नै पिता भरतमणि भट्टराईका कवितामा ज्यान थप्दै थिइन् । शार्दूलविक्रीडित, पञ्चचामर, भुजङ्गप्रयात, रथोद्धता, स्रग्धरा, तोटक, हरिगीता, मन्दाक्रान्ता आदि छन्दज्ञानसमेत पस्किन् उनले ।

नेपालयको आरशालामा पलेटी शृंखलालाई छन्दमय बनाउने प्रस्ताव उनकै थियो । त्यसलाई सदर गरिदिए किरणकृष्ण श्रेष्ठले । साथ दिए संगीतकार आभासले । तीनदिने उत्सवलाई सुखद पारिदिए छन्दपारखीले ।

खासमा भूषिताले छन्दमा फर्कने मेलो पाइन्, सन्न्यासी जीवन त्यागेर सांसारिक भागदौडमै फर्केपछि । “ओशो तपोवन छाडेपछि ममा केही मानसिक विचलन अनुभव हुन थालेको थियो,” उनी भन्छिन्, “बच्चामा सुनेका श्लोक र छन्दको निकट भएपछि आत्मिक शान्ति पाएँ ।”

छन्दसँग बाल साइनो छ भूषिताको । बिहान अबेरसम्म सुतिरहँदा उनकी आमा पण्डित जगन्नाथ उपाध्यायको गुणरत्नमाला भाका हालेर उठाउँथिन् । बाबु, आमा र फुपू छन्दप्रेमी थिए । घरमा टेलिभिजन थिएन ।  बरु विज्ञान शिक्षकपिताले माइक्रोस्कोप ल्याएका थिए । पाहुनापाछा आउादा कि त्यसमै अलमलिएको देखाउने कि छन्द कविता सुनाउने चलन थियो ।

पलेँटीको छन्दगायनमा भूषिता | तस्विर :  अविरा श्रेष्ठ, नेपालय


“छन्द वाचन गर्दा ध्यानको स्थिति आउँछ, नगाईकन छन्दलाई जगेर्ना गर्न सकिन्न,” १६ वर्षको उमेरमा कोसी नदीमा पोखिएको घामका सुवर्णमय गन्धमा लट्ठिएर स्रग्विणी छन्दमा ‘रजनी’ शीर्षक कविता लेखेकी भूषिता भन्छिन्, “कुनै दिन टीएस इलियट पढेको भनेर मात्र होइन, देवकोटा पढेकोमा पनि गर्व गर्नुपर्ने स्थिति आउँछ ।” छन्दमार्फत नै विश्व साहित्यको मानचित्रमा नेपाली कविताको उमंग ल्याउन सकिने उनको विश्वास छ ।

पलेँटी प्रस्तुतिमा छोटो केशविन्यासमै देखिन्थन्, भूषिता । ०७५ को शिशिर यामका २१ दिन शिल्पी थिएटरमा मायावी अनिद्राको अवतारमा झुल्किएकी थिइन् । कुमार नगरकोटीले सर्रियल नाटक बाथ–टबकी नायिकाका लागि तीनबुँदे सर्त तेर्स्याएका थिए, बिलकुल नयाँ अनुहार, अंग्रेजीमा पारंगत अनि मुडुलो टाउको ।

नाटकको एउटा पृष्ठभूमि छ । तिहारताका भूषिताका ‘पार्टनर’ कुशल रेग्मीको एकल चित्रकला प्रदर्शनी थियो, नेपाल आर्ट काउन्सिलमा । दिउँसो ‘वेक’ प्रदर्शनी हुन्थ्यो भने साँझ १५ वर्ष पेन्टिङ छाडेर बसेका कुशलको जीवनमा आधारित नाटकको प्रस्तुति । त्यसमा मृत्युको दूतको भूमिकामा थिइन् भूषिता । घिमिरे युवराजले त्यो हेरेका रहेछन् । त्यसैले भूषिताले ‘सक्दिनँ’ भन्दा पनि हौस्याए उनले ।

धरानको राई–लिम्बू समाजमा हुर्केकी भूषितालाई आफू बकुल्लाको बथानमा काग या कागको बथानमा बकुल्लाजस्तो लाग्थ्यो । कपाल सीधा थिएनन्, आँखा पनि ठूलठूला । काठमाडौँ आएर थाहा पाइन्, यता त उनीजस्तालाई पो राम्री भनिँदो रहेछ । “नीर शाहले कपाल नखौरने उपाय छ कि भन्दा पनि नगरकोटी टसमस भएनन्, हजामकहाँ गएर कपाल खौरँदा एक पटक शीतांग पनि भएँ,” उनी सुनाउँछिन्, “कपाल खौरेर म महिलाजस्तो देखिइनँ भने के पुरुष भएँ त ? ममा मान्छे हुँ भन्ने भाव आयो ।”

नाटकको पूर्वाभ्यासमा नीर शाह र हरिहर शर्मा थिए । पछि हरिहरलाई ब्रजेशले पुर्ताल गरे । नीर त उनका दौँतरीजस्तो भए । २१ दिनमा १० लाख रुपैयाँ कमायो नाटकले । “नाटकमा रुने सिन थियो, हरेक दिन ट्रमा क्रिएट गर्नुपर्ने । नाटक सकिएपछि म घर जान्थेँ तर सुत्न सक्दिनथेँ,” उनी भन्छिन्, “त्यसैले नाटक सकिनासाथ एक महिना भारतको ऋषिकेश गएर बसेँ ।” बाथ–टब लगत्तै नाटकको अफर आएको थियो तर उनले गरिनन् ।

‘आश्रमजस्तो ठाउँमा पनि आडम्बर हुँदो रहेछ । सुखी भए पनि नभए पनि त्यस्तै देखिनुपर्ने । मलाई लाग्यो, अब समाजमै बसेर केही सिक्नुपर्छ । नर्सरीको बच्चाजस्तै भएर सिकिरहेकी छु ।’ – भूषिता वशिष्ठ , रंगकर्मी

खासमा भूषिता जन्मेकी थिइन्, खोटाङको दिक्तेल बजारमा । त्यहाँको विज्ञान शिक्षा परियोजनामा काम गर्थे, उनका पिता भरतमणि । त्यसपछि मावली गाउँ पुगिन्, सप्तरीको कञ्चनपुर । कक्षा १० सम्म पढिन् धरानमा । उनको परिवारमा चिकित्सा शिक्षाको रुझान थियो । दाजुले डाक्टरी पढिसकेका थिए । पछि बहिनी पनि डाक्टर नै भइन् । आमा धरानकै बीपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्याथोलोजिस्ट थिइन् । एसएलसीपछि स्टाफ कोटामा नर्सिङ या एमबीबीएस पढ्नुपर्ने दबाब झेल्न नसकेर मेधावी भूषिता एक्लै भागिन् काठमाडौँतिर । “डाक्टरको जीवन मलाई दुःखी लाग्थ्यो । न गीत गाउने फुर्सद, न कविता पढ्ने,” उनी भन्छिन्, “ममा नजानिादो तवरले पत्रकारिताको ग्ल्यामर सवार भइसकेको थियो ।”

काठमाडौँ आएपछि कोटेश्वरस्थित मावलीको शरणमा पुगिन् भूषिता । भाग्नु पहिले आमाले सम्झाएकी थिइन्, ‘मुडी छेस् दुःख पाउँछेस् ।’ फर्केर आउँछे भन्ने सोचेर खर्चपानी नै पठाएन परिवारले । रत्नराज्य कलेजमा पत्रकारिता पढ्न थालेपछि जागिरको जोगाडमा लागिन् भूषिता । चिनेको मान्छे कोही थिएन । ग्वार्कोको सुमंगल विहारका पन्नाविमालोलाई गुहार्दा दुई हजार रुपैयाँको जागिर मिल्यो । ६–७ महिनापछि भिक्षु जीवन आडम्बरी लागेर त्यागिदिइन् ।

त्यसपछि  द काठमान्डु पोस्टका सम्पादक प्रतीक प्रधानको च्याम्बरमा पुगिन् भूषिता । आईए फस्ट इयर पढ्ने किशोरीलाई कस्तो जागिर दिने ? धर्मसंकटमा परेका सम्पादकले भनेछन्, ‘म तिम्रो जिन्दगीसँग खेलवाड गर्न सक्दिनँ ।’ उनी रोइदिइन् । उनले कसमै खाइछन्, ‘म आईए टप गर्छु । जसरी पनि जागिर दिनुपर्‍यो ।’ अन्ततः तीनमहिने इन्टर्नसिपपछि स्ट्रिन्जर भइन् भूषिता, आईएमा ‘नेपाल टप’ गरेर नेपाल छात्रा विद्यापदक पनि पाइन् ।

चार वर्ष केही महिना काम गरेपछि रिपब्लिकामा काम थालिन् । ओशो पढ्न थालेकी भूषिता सोखले पत्रकारिता गरिरहेकी थिइन् । तर पैसाको दुःखले पिरोल्यो उनलाई । अन्ततः उनले राजीनामा लेखिन् राजनीतिक भाषामा । सम्पादकले त्यो नरुचाएपछि तीन शब्द मात्र लेखिन्, ‘आई रिजाइन्ड, भूषिता ।’

त्यसपछिको बाटो बैंकतिर मोडियो । नेपाल इन्भेस्टमेन्ट बैंक दरबारमार्गमा कम्युनिकेसन अफिसरको काम गरिन् तीन वर्ष । अफिस छिर्दा उनलाई फिल्मको भव्य सेटमा पसेजस्तो लाग्थ्यो । कर्मचारी मेकअप गरिसकेका कलाकारजस्ता । राणा, थापा, बस्नेत, पाँडे आदि घरानियाँको जागिर खाने अखडामा थुप्रै अकथित कथाहरु भेटिन् उनले । बाहिरबाट हेर्दा सुखी र खुसी तर गुचीको झोला किन्ने पैसा नपुगेकोसम्मका दुखेसा ।

बाथटबमा अभिनय गर्दै भूषिता  |  तस्विर  : प्रकाशचन्द्र तिमिल्सेना


३० हजार रुपैयाँको जागिरप्रति बिस्तारै मोहभंग हुँदै गयो । पैसा कमाएर मात्र कोही सुखी नहुने तफ्वबोध भयो । स्थायी जागिर, बोनसको चक्रव्यूहमा नफस्ने अठोट गरिन् उनले । उनका पार्टनर कुशल तपोवन छाडेर पोखराको ओशो आश्रममा गएर बस्ने भए । पोखराको अनुभव छुटाउन नचाहेर उनले जीएम ज्योति पाँडेलाई राजीनामा पत्र बुझाइन् । आमालाई बिरामी भएर पोखरामा राखेको बहाना बनाइन् । ज्योतिले त पोखरा सरुवा पो गरिदिए ।

काठमाडौँमै छादा अनौठो घटना भयो । सेतो पोसाक लगाएका दोकानदारजस्ता ग्राहक आएर आफ्नो एकाउन्ट नम्बर दिए । त्यो खातामा दुई करोड रुपैयाँ देखेर भूषिताको दिमाग चकरायो । साथीको सहयोग लिइन्, त्यही रहेछ । ब्यालेन्ससिट हेरेपछि ग्राहक मेरो दुई सय रुपैयाँ कसरी कम भयो भनेर उफ्रिए । एटीएम कार्डबापत पैसा काटेको भेटियो । मैले एटीएम चलाएकै छैन, पैसा फिर्ता नदिए पैसा झिक्छु भन्ने धम्की दिए । बैंक कर्मचारीले दुई सय रुपैयाा फर्काएर बल्लतल्ल थामथुम पारे ।

त्यो हदको वित्तीय निरक्षरताबीच भूषिताले अब रिटेलमा बसेर काम गर्नुपर्‍यो पोखरामा । बिहान ठीक ९ बजे नियमित अफिस पुग्नुपर्थ्यो । तीन दिनसम्म ढिलो भए विभागीय कारबाही हुन्थ्यो । एक सातासम्म ढिला भएपछि बल्ल उनले जागिर छाड्न पाइन् । त्यसपछि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका फुटकर काममा अल्झेकी उनलाई फेरि पैसाको फिटीफिटी पर्‍यो ।

त्यही बेला पोखराका सुशील प्रधानांगले फर्माइस गरे, सेयरवेज म्यानेजरमा । डेबिट–क्रेडिटको भाषा नै नबुझ्ने भूषिताले म्यानेजर भएर पनि काम गर्नुपर्‍यो । म्यानेजर छाडेपछि काठमाडौँमा क्रिएसन नामक आफ्नै एनजीओमा व्यस्त भइन् ।

ओशोको एउटा विचित्र शब्दावली छ, सावधिक सन्यास । माँ बोधी मुदिता भएर ओशोको माला लगाउने भूषिताले एकान्तमा बसेर जीवन बुझ्न थालेको दिव्य १२ वर्ष भइसकेको थियो ।  आजन्म बस्छु भनेर त्यहाँ पसेकी उनलाई आफू मात्र सुखी भएर हुन्न भन्ने बोध भयो । “आश्रमजस्तो ठाउँमा पनि आडम्बर हुँदो रहेछ । सुखी भए पनि नभए पनि त्यस्तै देखिनुपर्ने । दुःखीको एउटा ढोङ, सुखीको अर्को ढोङ,” उनी भन्छिन्, “मलाई लाग्यो,  समाजमै बसेर केही सिक्नुपर्छ । अहिले नर्सरीको बच्चाजस्तै भएर सिकिरहेकी छु ।”

सानो उमेरमै पनि जीवनका विभिन्न घुम्ती छिचोलेकी भूषिताले तपोवन छाडेको दुई वर्ष भइसक्यो । लेखन र पठनमा ‘कुछ’ गर्न खोज्दै छिन् । उनलाई परिवारले बुझ्न थाले पनि समाजको घोषित/अघोषित दबाब छँदै छ । उनले पितालाई जवाफ फर्काउने गरेकी छन्, ‘त्यसो भए मलाई सिमोन द बुवा, तसलिमा नसरिनका किताब पढाउनु नै तपाईंको गल्ती भयो ।’

विवाहका नाममा निःशुल्क भार्या, सुसारे, जाया, भान्से, माली, खजान्ची, धोबी इत्यादि भूमिका भूषितालाई मन्जुर छैन । ‘एमए गर्नू, राम्रो दुलहा पाउनू’ जस्ता आशीष पनि प्रिय छैन । कोठा सजाउनु, मीठो पकवान बनाउनु, छोराछोरी हुर्काउनु, कपडा धुनु आदि घरायसी धन्दा विराट–कला लाग्छ उनलाई ।

समाजका प्रचलित मानकतर्फ भूषिताको प्रश्न छ, प्र्रजनन ध्येय होइन भन्नेबित्तिकै मेरो कुनै औचित्य छैन त ? “मैले आफैँलाई चिनिसकेकी छैन, नयाँ मान्छेसाग कसरी डिल गर्न सक्छु  ?” उनी भनिरहेकी छन्, “अर्को जन्म होला, नहोला, यही जीवनमा अलिकति आँट गरेर किन नबाँच्ने ?”

प्रकाशित: वैशाख २६, २०७६

ट्याग: रङ