अन्तुको फापर रोटी

- गणेश साम्पाङ/पाँचथर

झापाको भद्रपुरबाट सपरिवार घुम्न आएका विशाल सुवेदी फापरको रोटी खाँदै गरेका भेटिए, श्रीअन्तुमा । उदाउँदो सूर्यको दृश्यावलोकनका लागि प्रख्यात श्रीअन्तु पुग्ने जोकोही फापरको रोटी नखाई फर्के त्यो यात्रा अधूरो मानिन्छ ।

श्रीअन्तुको दृश्य साँच्चै अर्गानिक लाग्यो, सुवेदीलाई । यहाँको खाना पनि अर्गानिक नै । उनको विचारमा यिनै रैथानेपन जोगाउन सके मात्र त्यसले पर्यटकको मन तानिरहन सक्छ ।

मेची राजमार्गको चारआली इलाम खण्डको फिक्कल बजार पुग्नुभन्दा एक किलोमिटरअघिको छिपिटारदेखि १३ किलोमिटरमा रहेको श्रीअन्तुमा सूर्योदय हेर्ने, त्यहाँको रैथाने खानाको स्वाद लिन र अन्तु पोखरीमा डुंगामा सयर गर्न पर्यटकको घुइँचो लाग्छ । अन्तुमा चिया पसल चलाइरहेकी सुनिता मगर भन्छिन्, “दिनमा ६० देखि ३ सय पर्यटक टुट्दैनन् । सबै पर्यटकको रोजाइ फापरको रोटी नै हो ।”

यहाँ अहिलेसम्म ठूल्ठूला होटल बनेका छैनन् । पर्यटक होमस्टेमै बस्छन् । होमस्टेमा बस्ने पाहुनालाई खुवाउने सबै खाद्य सामग्री अर्गानिक हुनुपर्ने मान्यता छ ।

एकता सामुदायिक वन उपभोक्ता समूह केराबारी मोरङबाट अध्ययन अवलोकन भ्रमणमा आएकी डम्बरकुमारी श्रेष्ठलाई यहाँको चिया बगान, अन्तु झिल, चिटिक्क परेका होमस्टे अनि अर्गानिक खाना बिर्सी नसक्नु लाग्यो । भन्छिन्, “नेपालका धेरै पर्यटकीय ठाउँ घुमिसकेकी छु तर श्रीअन्तुको अर्गानिक खाना र दृश्यले मन लोभ्यायो । यो एक पटक मात्र होइन, पटक–पटक आउनुपर्ने ठाउँ रहेछ ।”

सूर्योदय नगरपालिका–४ मा पर्ने श्रीअन्तु डाँडाको झुल्के घाम नेपालकै उत्कृष्ट गन्तव्यका रूपमा प्रसिद्ध छ । नेपाल–भारतको सीमा मेचीखोलाको १ किलोमिटर नजिक पर्ने यो ठाउँ नेपालको अन्तिम डाँडा पनि हो । यहाँदेखि पूर्वमा खासै डाँडा नभएकाले सूर्योदयको दृश्य प्रस्ट देख्न सकिन्छ ।

 “अन्य पर्यटकीय क्षेत्रमा जस्तै ठूल्ठूला भौतिक संरचना नबनेकाले अहिलेसम्म कोलाहल छैन,” श्रीअन्तु होमस्टे सञ्चालक समिति अध्यक्ष धनकुमार आले भन्छन्, “श्रीअन्तुको अर्गानिक अवस्थालाई बचाइराख्नु अबको चुनौती हो ।”

नेपालका एक सय पर्यटकीय गन्तव्यसूचीमा सूचीकृत यो क्षेत्रको पर्यटन विकासका लागि नगरपालिकाले व्यवस्थित योजना बनाएर अघि बढ्ने सूर्योदय नगरपालिका मेयर रणबहादुर राई बताउँछन् । भन्छन्, “नेपालमै उदाउँदो सूर्यलाई सबैभन्दा राम्ररी देख्न सकिने भएकाले पनि यो नगरको नाम नै हामीले सूर्योदय नगरपालिका राखेका हौँ ।”

इलामको पहिचान बनेको ‘११ अ’ मध्ये एउटा अन्तु पनि हो । अन्तुको महिमा अहिले थुप्रै लोकप्रिय गीतसंगीतमा समेटिएको छ ।

सुन्दर चिया बगान, उदाउँदो सूर्यको मनमोहक दृश्य, अन्तु झिल अनि सत्कारयुक्त होमस्टेको व्यवहारले यहाँको अर्गानिक चिनारी दिएको छ । स्थानीय राजकुमार दाहाल भन्छन्, “यसलाई बचाइराख्न सके यस क्षेत्रको पहिचान अझ बढेर जानेछ ।”

प्रकाशित: वैशाख २६, २०७६