अरनिको पराक्रम

- मिलनराज तुलाधर

पोलपोट शासनको नरसंहारअगाडिका घटनामाथि कम्बोडियाली राजा नरोदम सिंहानुकको आत्मकथा माई वार विथ द सीआईए मैले बिर्सन सकेको छैन । इन्डो–चाइना युद्धको लामो समयसम्म तटस्थ बसे पनि पछि नरोदमले अमेरिकाको विरोध गर्दै भियतनामको पक्षमा उभिनुपर्‍यो । पिताको अवसानपछि निर्वाचित सम्राटका रुपमा उदाएका नरोदम लोकप्रिय भए ।

आफूलाई सधैँ राजकुमार मात्र भन्न रुचाउने उनको चर्चा राजतन्त्रकालीन नेपालमा प्रशस्तै हुन्थ्यो । नेपालको राजाले पनि सिंहानुक बन्नुपर्छ भन्ने विचार पनि थियो । नेपालको राजतन्त्रसँग जोडेर होइन, भियतनाम युद्धबारे अध्ययन गर्ने क्रममा यो किताब पढेको हुँ । महाशक्ति राष्ट्र अमेरिकाले १५ वर्षसम्म प्रभुत्व जमाउन खोजे पनि सानो राष्ट्रबाट पछि हट्नुपरेको घटनाले मलाई आकर्षित गरेको हो । राष्ट्रियता र अस्तित्वको लडाइँमा फ्रान्स, अमेरिकाजस्ता राष्ट्रसँग निरन्तर नझुकीकन सामना गर्नु भियतनामको चानचुने आँट थिएन । भियतनामको त्यो आँटमा नरोदमको भरथेग थियो नै । सन् १९७५ मा मात्रै अमेरिका पछि हटे पनि १९७२ मै यो किताबमा नरोदमले आत्मविश्वासका साथ लेखेका छन्, ‘उत्तर भियतनाम यस्तो देश हुनेछ, जसले विश्वकै शक्तिशाली राष्ट्रलाई हरायो भनेर इतिहासमा लेखिनेछ ।’

राजतन्त्रको संवाहक भएर पनि नरोदमले कम्युनिस्टसँग सहयोग आदानप्रदान गरे । यही कारण सीआईएले उनलाई तारो बनाउँदै मार्ने कोसिस गर्‍यो । सीआईएको ‘अपरेसन’ प्रक्रिया र काण्डबारे उनले अध्ययन गरेका थिए । ठूला राष्ट्रहरुको बलमिच्याइँ मन नपराउने नेपालजस्तो सानो मुलुकका पाठकलाई माई वार विथ द सीआईए रुचिकरै हुन्छ ।

नेवारी कविता पठन र अनुवादमा केही रुचि भए पनि इतिहास, संस्कृति अध्ययनमा बढी समय दिन्छु । अनुसन्धानको जगमा उभिएको गैरआख्यानले भने मलाई सधैँ आकर्षित गर्छ । अन्वेषण र अनुसन्धानमा आधारित सत्यमोहन जोशीको कलाकार अरनिकोले नेपालको गौरव बढाउने काम गरेको छ । अरनिकोबारे चीनमा धेरै चर्चा भए पनि नेपालमा कमै पुस्तक लेखिएका छन् । अरनिकोका समकालीन मार्कोपोलोबारे प्रशस्त फिल्म र पुस्तक पाइन्छन् । चर्चा विश्वव्यापी भए पनि मार्कोपोलोले तत्कालीन चिनियाँ शासक कुब्लाइ खाँलाई भेटे/नभेटेकोबारे सन्देह गरिन्छ । सत्यमोहन जोशीले यो किताबमा अरनिकोले बनाएका मूर्ति, चीनमा पाएका पुरस्कार, कुब्लाइ खाँले उनलाई अधिकृत नियुक्त गरेका प्रसंग सप्रमाण लेखेका छन्, जुन नेपाल र नेपालीका लागि गौरवको विषय हो ।

सुरुमा अरनिकोले तिब्बतका मठहरुमा मूर्ति बनाए । बारुद, कागजजस्ता आविष्कार गरेर शक्तिशाली राष्ट्रका रुपमा उदाइसकेको चीनमा समेत उनको चर्चा चुलिएपछि कुब्लाइले अरनिकोलाई पेकिङमा झिकाएको बुझिन्छ । चीनको राजदरबारसम्म आफ्नो कलाको पराक्रम देखाएका अरनिकोले बनाएको सात सय वर्ष पुरानो चैत्य अझै पनि पेकिङमा छ । उनले आफू र आफ्ना कीर्तिबारे नलेखेकाले होला, नेपालमा उति चर्चा थिएन । ०४४ मा सत्यमोहनले किताब लेख्नुअघि अरनिको हुलाक टिकट र एकाध पाठ्यपुस्तकका पानामा माक्रै सीमित थिए । सत्यमोहनले चीन बसाइत्रममा अरनिकोबारे अनेक दसी–प्रमाण जुटाउँदै गहन अनुसन्धान गरी लेखेकाले यो किताबलाई म एउटा ल्यान्डमार्क मान्छु । यो किताबले नेपाल र चीनको गौरवपूर्ण इतिहासको स्मरण पनि गराउँछ ।

ली क्वान युको फ्रम थर्ड वर्ल्ड टु फस्ट सबै विकासशील मुलुकका लागि प्रेरणाको स्रोत हुन सक्छ । एउटा राष्ट्रको रुपमा जन्मिँदा नै सिंगापुर केही महिना पनि बाँच्दैन भन्ने आकलन थियो । सुरुमा ‘कुल्लीहरुको सहर’ को रुपमा परिचित सिंगापुरले आफूलाई समृद्ध गरेर संसारलाई चकित तुल्याएको छ । अविकसित र सानो फोहोर सहरले सन् १९६५ को स्वतन्त्रतापछि गरेको विकासयात्रा बुझ्न यो किताबले सघाउँछ । किताबमा ली क्वान युको संघर्ष गाथा मात्रै छैन, ब्रिटिससँगको उनको फरक विचार र आफ्नै देशका मजदुर आन्दोलनको व्यवस्थापनमा रहेको भूमिका पनि अभिलिखित छ ।

लन्डनमा प्रतिष्ठित वकिल रहेका ली क्वान युलाई राष्ट्रप्रेमले आफ्नै देश फर्कायो । र, उनले देशको नेतृत्व लिएर निरन्तर उदाहरणीय काम गरेर देखाइदिए । देङ स्याओ पिङले मानेको ‘फोर लिटिल टाइगर्स अफ एसिया’ मा सिंगापुर एक थियो । पुरानो नीति बदलेर नयाँ अर्थव्यवस्थामा जाँदा चीनले ली क्वान युसँग छलफल गरेको थियो । चीनको आजको परिवर्तित वैचारिकीमा लीको हात छ भने भियतनामले त उनलाई सल्लाहकारै मानेको थियो । एउटा व्यक्ति परिपूर्णताको हदसम्म पनि पुग्न सक्छ भन्ने जिउँदो उदाहरण ली हुन् । तर उनले यस किताबमा आफूलाई सामान्य व्यक्तिको रुपमा चित्रण गरेका छन् ।

दलीय व्यवस्था भए पनि लीले अनेक तरिका अपनाएर अन्य पार्टीमा नियन्त्रण जमाउँथे । निरंकुश शासकका रुपमा चित्रित लीको निर्णय क्षमता र सुरक्षा प्रत्याभूतिका कारण सिंगापुरले तीव्र विकास गरेको हो । आर्थिक स्थायित्वका लागि अपनाइएको एकद्वार प्रणाली, कर्मचारीतन्त्रको राष्ट्रसेवी भाव, इमानदारी र पारदर्शिता नेपालका लागि पनि अनुकरणीय हुन सक्छ ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: वैशाख २६, २०७६

ट्याग: तीन किताब