पूर्वराजाको होटल प्रमको रिबन कटाइ

- जनक नेपाल

होटल सोल्टीको वेस्टेन्ड प्रिमियर सञ्चालनमा आएसँगै नेपालगन्जमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिचय फेरिएछ । बितेको डेढ वर्षमा उनी पूर्वराष्ट्राध्यक्षभन्दा धेरै होटल व्यवसायीका रुपमा नेपालगन्ज ओहोरदोहोर गरेछन् । आफ्नो होटलको प्रमोसनमा हप्तौँ बिताएछन् ।

सन् २०१८ को नयाँ वर्ष मनाउन नेपालगन्ज पुगेका शाहले त्यतिबेलै होटलको सफ्ट ओपनिङसमेत गरे । स्थानीय होटल व्यवसायीसँग दिवाभोज तथा अन्तर्क्रिया गरे । उनको बसाइ सीमावारि मात्र होइन, पारिसम्मै चर्चित रह्यो । भारतीय मिडियाले समेत लेखे, ‘नेपाल पूर्वनरेशका होटल ।’

पूर्वराजा शाहको नेपालगन्ज बसाइ त्यत्तिमै सीमित रहेन । बर्थ डे मनाउनकै लागि सपरिवार नेपालगन्ज पुगे र समर्थक/शुभचिन्तकको शुभकामना लिए । हिन्दु राज्य तथा राजासहितको प्रजातन्त्रको माग गरिरहेको राप्रपा अध्यक्ष कमल थापा र स्थानीय नेता/कार्यकर्ता भेट्नेबाहेक पूर्वराजा शाहको मुख्य ध्यान राजनीतिमा कम, होटलमा ज्यादा देखिन्थ्यो । त्यतिबेला उनले नेपालगन्जलाई केन्द्र बनाएर कैलाश मानसरोवरमा भारतीय पर्यटक भित्र्याउने योजना सुनाएका थिए । व्यवसाय प्रवर्द्धनकै लागि उनी लखनउसम्म पुगेर उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथलाई समेत भेटे ।

लोकतन्त्रको सुन्दरता भने पनि हुन्छ, पूर्वराजा शाहको लगानी रहेको सोही होटल उद्घाटन गर्न ३ वैशाखमा पुगे, प्रधानमन्त्री केपी ओली । एक वर्षअघि नै सफ्ट ओपनिङ भइसकेको होटलको ओलीसँगै ऊर्जामन्त्री वर्षमान पुन, प्रदेश ५ प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले रिबन काटेर औपचारिक उद्घाटन गरे ।

नेपालगन्जको बार्गेनिङ

संघीयतामा नेपालगन्जले आफू किनारामा परेको महसुस गरेको पाइयो । त्यसैको प्रतिक्रियास्वरुप नेपालगन्ज उपमहानगरपालिका मेयर धबलशमशेर राणाले कर्णाली प्रदेशमा गाभिने अभियानै सुरु गरे । प्रदेश सांसद आईपी खरेलले संसद्मै पायक पर्ने ठाउँमा राजधानी नसारिए हाँसीहाँसी कर्णालीमा जाने चेतावनी दिइसकेका छन् । अर्कै कार्यक्रममा नेपालगन्ज आउँदा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राणासँग हात मिलाउँदै भनिदिए, “बाँके–बर्दियालाई कर्णाली प्रदेशमा स्वागत छ ।”

संघीयताअघिका केही दशक नेपालगन्जले क्षेत्रीय सदरमुकामका लागि सुर्खेतसँग प्रतिस्पर्धा गरेरै बितायो । नेता र प्रशासकले सुगमता खोज्दै अधिकांश क्षेत्रीय कार्यालय नेपालगन्जमै राखे । तर नेपालगन्जलाई सदरमुकाम बनाएनन् । राजा ज्ञानेन्द्रको शाही शासनमा सदरमुकाम पूरै सुर्खेत सर्‍यो ।

नयाँ संविधान जारी हुँदा नेपालगन्जकै सुशील कोइराला प्रधानमन्त्री थिए । राज्य पुनर्संरचनाको रस्साकस्सीमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भनेझैँ सुदूरपश्चिम अखण्डै रह्यो । पूर्वमा केपी ओलीको चाहनाअनुसार प्रदेश बन्यो । अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनलाई प्रदेश ३ मै राखे । तर कोइरालाले नेपालगन्जलाई केन्द्रमा पार्ने गरी कुनै काम गर्न सकेनन् । फलतः नेपालगन्ज किनारामै पर्‍यो ।

यस्तोमा नेपालगन्जमा उठेको प्रदेश हेरफेरको आवाजले नयाँ बहस छेडेको छ । प्रदेश ५ को किनारामै चित्त बुझाउने कि सबैभन्दा लामो कर्णाली नदीको शिरदेखि तीरसम्म एउटै प्रदेशमा बनाउने, नेपालगन्जले निर्णय गर्नै बाँकी छ । अहिलेको असन्तुष्टि तत्कालीन बार्गेनिङ मात्र हो वा मेयर राणा, सांसद खरेल र कर्णालीका मुख्यमन्त्री शाहीले भनेझैँ भविष्यप्रतिको चिन्ता हो ? नेताका बोलीको लोली बुझ्न कठिन छ ।

मुबारकको बिरयानी

अमेरिकी दूतावासले चैत दोस्रो साता एउटा भिडियो सार्वजनिक गर्‍यो । झन्डै सवा लाख दर्शकले हेरेको उक्त भिडियोमा राजदूत र्‍यान्डी बेरी नेपालगन्जको लोकप्रिय परिकार बिरयानीको स्वाद लिइरहेका देखिन्छन् । मुबारकको बिरयानीको दृश्यले धेरै पारखीको मुखै रसाउँछ ।

उनै मुबारकलाई वैशाखका दुई साता भ्याई–नभ्याई थियो । आठौँ राष्ट्रिय खेलकुदका क्रममा नेपालगन्ज पुग्ने पाहुनाले त्यही रैथाने स्वादको खोजी गरे । नियमितभन्दा दोब्बर–तेब्बर बिरयानी बनाउँदासमेत मध्याह्न नछिप्पिँदै सकिने गरेको उनी भन्दै थिए । २ नबज्दै उनी ढोका लगाउँथे र बाहिर सूचना टाँस्थे, ‘क्लोज्ड’ ।

 रैथाने स्वाद पनि राम्ररी ब्रान्डिङ भए अथाह व्यापार हुन सक्छ भन्ने यो राम्रो उदाहरण बनेको छ । नेपालगन्ज त्यसै पनि सडक परिकारका लागि प्रख्यात छ । चारै प्रहरमा भिन्न परिकार पाइन्छन् । चनाकचौडी र पुरीपकैडादेखि सेकुवा, बिरयानी, कबाब, लस्सी, चाट, पानीपुरी, राबडी र पानले पाहुनाको स्वाद फेरिरहन्छ । नेपालगन्जको गर्मीमा रात्रिकालीन जीवनशैलीले खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पाहुना त्यसैमा रमाइरहेका थिए ।

प्रकाशित: वैशाख २५, २०७६

ट्याग: ब्लग