हिमालसँग टाढिँदै शेर्पा

- मनबहादुर बस्नेत

हिमाल चढ्यो कि भिसा लाग्यो’, आरोही यस्तै भन्छन् ।

हिमाल आरोहीलाई युरोपेली मुलुक, अमेरिका र जापानले प्रतिष्ठित मानेर सहजै प्रवेश दिने भएकाले यस्तो भनाइ प्रचलित भएको हो । घटना, प्रवृत्ति र पात्रले यही कुरालाई पुष्टि गरिरहेको छ ।

हिमाल आरोहणबाटै शेर्पा समुदाय विश्वविख्यात बन्यो । सर्वोच्च चुली सगरमाथा आरोहणमा मात्रै अनेकौँ विश्व कीर्तिमान शेर्पा समुदायकै आरोहीका नाममा सुरक्षित छन् । हिमाल र शेर्पा पर्याय बनेका छन् । तर आरोहणमा विख्यात यो समुदायको पछिल्लो पुस्ता भने बिस्तारै यसबाट विमुख बन्दै गएको आँकडाले देखाउँछ ।

हिमाल आरोहणको सात दशकको छोटो इतिहासमै नेपालको अन्तर्राष्ट्रिय ब्रान्ड बनेको शेर्पा समुदाय बिस्तारै विमुख हुने खतरा देखिएको सरकारी आँकडाले संकेत गर्छ । “यो हाम्रा लागि साह्रै चिन्ताको कुरा हो,” पर्यटन व्यवसायी आङछिरिङ शेर्पा भन्छन्, “हाम्रो प्रसिद्ध चिनारीलाई संकटमा धकेल्दै छ ।”

ब्रान्डमा धक्का

सन् १९५३ मा न्युजिल्यान्डका एडमन्ड हिलारीसँगै सगरमाथामा पहिलो मानव पाइला राख्ने व्यक्ति थिए, सोलुखुम्बु, थामेमा जन्मिएर भारत दार्जिलिङमा हुर्किएका तेन्जिङ नोर्गे शेर्पा । त्यसयताको ६६ वर्षभन्दा बढी कालखण्ड विदेशीलाई हिमाल चढाउन सघाउने पेसामा शेर्पा समुदायकै वर्चस्व रह्यो । अहिले पनि बहुसंख्यक पर्वतारोहण पथप्रदर्शक यही जातिका छन् । तर यो रफ्तारमा विराम लागेको मात्र छैन, पेसामा पस्ने शेर्पा समुदायको संख्या पनि घट्न थालेको छ ।

हिमाल आरोही पथप्रदर्शकलाई तालिम र अनुमतिपत्र दिने नेपाल पर्वतारोहण संघको तथ्यांक त झनै झस्काउने खालको छ । सन् २०१७ र २०१८ मा संघबाट अनुमतिपत्र लिने शेर्पाको संख्या घटेको छ । आरोहण सहयोगी, सिनियर आरोहण सहयोगी र सरदार शेर्पाको संख्या घटेको तथ्यांक निस्कन्छ । सिनियर आरोहण सहयोगीको संख्या सन् २०१७ को तुलनामा २०१८ मा ५१ प्रतिशत घटेको छ । सरदार तीन प्रतिशत र आरोहण सहयोगी संख्या ११ प्रतिशतले ओर्लिएको छ । यसमा २०१९ सुरुको तीन महिने तथ्यांकसमेत समेटिएको छ । यो संख्या कटाउने हो भने ह्रास प्रतिशत अझै बढ्छ ।

पर्यटन विभागको तथ्यांकले समेत सगरमाथा आरोहण गर्ने शेर्पा जातिको प्रवेश ऋणात्मक हुन थालेको आकृति देखाउँछ । विभागको आँकडाअनुसार सन् २००० देखि २०१० मा आइपुग्दा सगरमाथा आरोहण गर्ने शेर्पाको संख्या ७२ प्रतिशत बढेको थियो । तर सन् २०१० देखि २०१६ मा आइपुग्दा वृद्धिदर २० प्रतिशतमा झर्‍यो । भलै उक्त अवधिमा सगरमाथा आरोहण गर्नेको वृद्धि संख्यासमेत खस्केको देखिन्छ । पछिल्लो एक वर्षमा त सगरमाथा चढ्ने शेर्पाको संख्या १९ प्रतिशत घट्यो । सन् २०१६ मा २ सय ४० जना शेर्पा सगरमाथा चुचुरो पुगेका थिए भने अर्को वर्ष त्यो संख्या २ सय ३ मा झर्‍यो । जबकि उक्त वर्ष आरोहीको संख्या अघिल्लो वर्षभन्दा १४ प्रतिशत बढेको थियो ।

नेपालमा हिमाल आरोहण सुरु भएकै शेर्पा समुदायबाट हो । सगरमाथाको फेदीमा अवस्थित खुम्बु क्षेत्रका शेर्पालाई यसको श्रेय जान्छ । ज्ञातव्य रहोस्, सर्वोच्च शिखर सगरमाथा पुग्न सफल तेन्जिङ नोर्गे यही भेगका हुन् । उनकै पदचाप पछ्याउँदै शेर्पाहरूले हिमाल आरोही जातिको छवि विश्वभर फैलाएको सात दशक पुग्न आँट्यो । “तर अब यो जातिको पछिल्लो पुस्ताले हिमाल आरोहणमा रुचि कम गर्न थालेका छन् । यस्तै हो भने शेर्पा जातिको आरोहण सीप इतिहास मात्रै हुन बेर छैन,” सबैभन्दा धेरैचोटि सगरमाथा चढेका कीर्तिमानी आरोही कामीरिता शेर्पा चिन्ता गर्छन् ।

शेर्पा यस्तो ब्रान्ड हो, जसलाई विदेशीले पहिलो रोजाइमा राख्छन् । शेर्पा त्यसमाथि पनि अन्तर्राष्ट्रिय पथप्रदर्शकको लाइसेन्सधारी रुचाउँछन्, उनीहरू । अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघबाट यस्तो लाइसेन्स लिने नेपालीको संख्या ६० छ । यसमध्ये ४८ शेर्पा समुदायका छन् । बाहुल्य शेर्पाकै भए पनि बर्सेनि अन्य जातिको संख्या बढिरहेको छ, जुन शेर्पा समुदायका लागि संकटकै सूचक हो । नेपाल बाहिरका हिमालमा गएरसमेत उनीहरूले गाइड गर्न पाउँछन्, जहाँ दैनिक ३० देखि ६० हजार रुपैयाँ कमाउँछन् ।

कीर्तिमानीजति बाहिरै

खुम्बु क्षेत्रको द्वार मानिने नाम्चेबाट देब्रे फेरोको बाटो समातेपछि पुगिन्छ, थामे गाउँ । यो सुन्दर हिमाली उपत्यका पर्वतारोहणमा कीर्तिमानीको थलोसमेत हो । लामो समय सबैभन्दा बढी सगरमाथा चढ्ने कीर्तिमान राख्ने आप्पा शेर्पा यहीँ जन्मिए । २१ पटक सर्वोच्च चुचुरो पुगेका आप्पाको रेकर्ड भने गत वर्ष कामीरिता शेर्पाले तोडिदिए । कीर्तिमानी आप्पा अहिले अमेरिका बस्छन् र आरोहण याममा विदेशी आरोही टिम लिएर नेपाल आउँछन् । यसबाहेक उनले नेपालको पूर्वी बिन्दुदेखि पश्चिमसम्म १ हजार ७ सय किलोमिटर लामो ग्रेट हिमालय पदयात्रा गरे । उनका सन्ततिसमेत अहिले आरोहण पेसामा छैनन् ।

सबैभन्दा बढी सगरमाथा चुम्ने महिलाको प्रमाणपत्र ल्हाक्पा शेर्पाको हातमा छ । नौ पटक चढेर यस्तो कीर्ति राखेकी ल्हाक्पा पनि अमेरिकामै बसोबास गर्छिन् । उनका सन्तान हिमाल आरोहणमा छैनन् । अमेरिकी नागरिकसँग बिहे गरेकी संखुवासभा मकालु गाउँपालिकाकी ल्हाक्पाकी छोरी उतै खेल क्षेक्रमा सत्रिय छिन् । पासाङल्हामुपछि सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली महिलासमेत रहेकी ल्हाक्पाले एक वर्षअघि नेपालसँग आफू विदेसिए पनि नेपाली पर्वतारोहणको प्रचारप्रसार गरिरहेको बताएकी थिइन् । सगरमाथा आरोहण १० पटकसम्म पुर्‍याउने लक्ष्य लिएकी उनी यो याममा भने आरोहणमा आइनन् ।

                                                           प्रवासिएका आरोही  :  आप्पा शेर्पा, ल्हाक्पा गेलु शेर्पा र ल्हाक्पा शेर्पा


आधारशिविरदेखि सबैभन्दा छोटो अवधिमा सगरमाथा टुप्पोमा पुग्ने इतिहास रचेका छन्, लाक्पा गेलु शेर्पाले । मे २६ २००३ मा १० घन्टा ५६ मिनेट ४६ सेकेन्डमा चुचुरो चुमेर राखेको यो कीर्तिमान अझै कसैले तोड्न सकेको छैन । सन् २००४ मा पेम्बा दोर्जी शेर्पाले ८ घन्टा १० मिनेटमै टुप्पो टेकेको दाबी गरेका थिए । सर्वोच्च अदालतले प्रमाण नपुगेको भन्दै लाक्पा गेलुकै नाममा कीर्तिमान कायम गरिदियो, ०६९ मा । न्यायिक लडाइँबाट प्रमाणित यी कीर्तिमानीसमेत अमेरिकाको वासिङ्टनमा बस्छन् ।

इतिहास रच्ने आरोही बिदेसिने क्रम नौलो होइन । नेपाली आरोहीको जग नै यस्तै बनेको छ । पहिलोचोटि सगरमाथामा पदार्पण गर्ने तेन्जिङ नेपालमा जन्मिए पनि पछि भारतीय नागरिकता लिएका थिए । नेपाल र भारत दुवै सरकारबाट सम्मान पाएका उनलाई भारतले भत्तालगायतका सुविधा दिएको थियो । आरम्भिक कालमै बसेको ख्यातिप्राप्त आरोहीले मुलुक छाड्ने थिति अहिलेसम्म रोकिएको छैन । “नाम चलेका आरोही धेरैजसो युरोप, अमेरिकाजस्ता मुलुक पुगेका छन्,” नेपाल पर्वतारोहण संघका पहिलो उपाध्यक्ष तथा सगरमाथा आरोही साङ्गे शेर्पा भन्छन् ।

सगरमाथा चढ्ने पहिलो नेपाली पत्रकार आङछिरिङ शेर्पासमेत परिवारसहित अमेरिकामै बस्छन् । उनले २२ मे २००३ मा सगरमाथा चढेका थिए ।

तीन वर्षअघि सोलुखुम्बुको आरोही गाउँ फोर्चे पुग्दा भेटिएका थिए, ल्हाक्पा सोनाम शेर्पा, ७८, जो भर्खरै अमेरिकाबाट फर्किएका थिए । १८ वर्षको उमेरमै सगरमाथा टेकेका निरक्षर उनले हिमाल आरोहणमै जीवनको उर्बर समय बिताए । तीनै छोराले बाबुको पदचाप पछ्याएपछि ल्हाक्पा सोनाम जीवनको उत्तरार्द्धमा अमेरिका पुगे । तर बस्नै नसकेपछि जन्मथलो फर्किए ।

सोनामजस्तै थुप्रै हिमाल आरोही अमेरिका, जापान र युरोपेली मुलुक सहजै छिर्छन् । तर उनीजस्तै स्वदेशमै चोला बिसाउने गरी ढुक्कले फर्कने बिरलै भेटिन्छन् । त्यसपछि क्रमशः उसको अर्को पुस्ता यो पेसाबाट प्रायः पलायन हुन्छ ।

घट्नुका कारण

सन् १९४९ मा नेपालले आफ्ना हिमाल आरोहण खोल्यो । सन् १९२४ मा सगरमाथा आरोहण क्रममा बेलायती नागरिक जर्ज म्यालोरी टिमको मृत्युपछि बन्द आरोहण नेपालले पुनः खोलेको थियो, त्यसबेला । यसको एक वर्षपछि सन् १९५० मा फ्रान्सेली नागरिक मोरिस हर्जोगले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण पहिलो शिखर चढेर नेपालमा ८ हजार मिटरमाथिका हिमाल चढ्ने प्रथम व्यक्तिको नाम त लेखाए नै, त्यसभन्दा मूल्यवान कुरा नेपालमा हिमाल आरोहण सम्भव हुने प्रमाणितसमेत गरिदिए । हर्जोगले अन्नपूर्ण चढेको तीन वर्षपछि बेलायती टोलीले सगरमाथा चढ्यो र नेपाल पर्वतारोहणमा विश्वभर चिनिन थाल्यो ।

सात दशकअघि सुरु हिमाल आरोहणमा नेपाल विदेशीको आकर्षणको केन्द्र बन्न थाल्यो । कतिसम्म भने शक्तिशाली मुलुक कीर्तिमानका नयाँनयाँ गन्तव्य खोज्दै अग्ला शिखर चुम्ने होडबाजीमा लागे । उनीहरूलाई सघाउन तयार थिए, उच्च हिमाली हावापानी, भूगोलसँग भिजेका शेर्पा जाति । खुम्बु क्षेत्रका शेर्पा यसमा अगाडि देखिए । यसको कारण थियो, सगरमाथा चढ्ने विदेशीको अकट चाहना । स्वभावैले यो भूगोलको सर्वोच्च बिन्दुबाट देखिने संसार नियाल्न जोकोही लालायित हुन्छन् । “ शेर्पा जाति हिमाल आरोहणको अभिन्न अंग बने,” एसियन ट्रेकिङ कम्पनीमार्फत पर्वतारोहण गराउने पर्यटन व्यवसायी आङछिरिङ शेर्पा भन्छन् ।

समयक्रममा यी हिमाली बासिन्दा आरोहणमा चाँडै मूलधारे आरोही जाति बन्न पुगे । शिक्षाको पहुँच नहुँदा उनीहरूसँग जीवनवृत्तिका साँघुरा विकल्प थिए, आरोहण वा खेती–किसानी । मलिलो जमिन नभएकाले खेती–किसानीमा मिहिनेत बढी, फल कम हुन्छ । त्यसैले उनीहरूका लागि प्रतिकूल खेतीपातीभन्दा पर्वतारोहण आकर्षक र अनुकूल पेसा बन्न थाल्यो ।

शिक्षामा पहुँच नभएका कारण शेर्पा जातिका लागि जीविकाको अन्य विकल्पसमेत सीमित थिए । खुम्बु क्षेत्रकै कुरा गर्दा पाङबोचे, फोर्चे, दिङबोचे, थामेजस्ता गाउँबाट पढ्न खुम्जुङ धाउनुपर्थ्यो । विद्यालय पुग्न यीमध्ये कतिपय गाउँबाट त पूरा एक दिन लाग्छ । अझै पनि अधिकांश यी गाउँबाट माध्यमिक तह पढ्न खुम्जुङबाहेक विकल्प छैन । ०७३ मा फोर्चेमा भेटिएका आरोही सोनाम दोर्जेले आफूले सानैदेखि पढ्नमा भन्दा हिमाल चढ्न कहिले पाइएला भन्नेमा बढी ध्यान दिने गरेको अनुभव सुनाएका थिए । “गाउँका सबै हिमाल चढ्न गएको देख्दा पढाइमा ध्यानै गएन । ५ कक्षा पढेर छाडिदिएँ र हिमाल चढ्न थालेँ,” सगरमाथासमेत चढिसकेका उनले भनेका थिए, “पढे पनि नपढे पनि हिमाल चढ्ने पक्कापक्की थियो । जाने–बुझेको नै त्यति थियो ।”

सोनामको अनुभव बोल्छ, शेर्पा जाति हिमाल आरोहणमा धेरै आदर्शवान थियो । तर अब समय उही रहेन । आङछिरिङका अनुसार आरोहण पेसाबाट उनीहरूले राम्रै आम्दानी गरे । अहिले एक पटकमा सगरमाथा आरोहण गर्नेले औसत १० लाख रुपैयाँसम्म कमाउँछन् । आरोहणबाट आर्थिक हैसियत उक्सिएपछि शेर्पाहरूले दुई कामलाई प्राथमिकता दिए । पहिलो, सन्ततिको पढाइ । आम्दानीको हिस्सा छोराछोरीको पढाइमा खन्याउन थाले । त्यस क्रममा शेर्पा समुदायको नयाँ पुस्ता सहर पस्यो । दोस्रो, बिस्तारै थातथलो छाड्नतिर लागे । थुप्रै आरोहीले आफ्ना परिवार राजधानी काठमाडौँलगायत पायक पर्ने सहरतिर सार्न थाले । कतिपय आरोही सपरिवार बिदेसिए ।

नेपाल पर्वतारोहण संघका पूर्वउपाध्यक्ष साङ्गेका अनुसार यही पेसाबाट धेरैको आर्थिक अवस्था सबल बनेपछि उनीहरूको अर्को पुस्ता अन्यत्र हिँड्यो र आरोही शेर्पाको संख्या त्यस क्षेत्रबाट कम हुन थाल्यो । अर्थात्, उनीहरूको उत्तराधिकारी पुस्ताको शिक्षादीक्षा र हुर्काइमा ठूलो बदलाव आउन थाल्यो । पर्यटन व्यवसायी आङछिरिङका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका वडा–४ मा ०४८ मा १ हजार ९ सय मतदाता थिए । अहिले उक्त वडाको मतदाता आधा घटेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार ०७४ मा मतदाता संख्या १ हजार १ सय ७ मात्र छ । उच्च हिमाली भेगमा शेर्पाको जनसंख्या घट्दा त्यसले आरोहणमा उनीहरूको प्रवेशलाई नकरात्मक प्रभाव पार्छ नै ।

यसले आरोहणमा कहलिएको समुदाय शेर्पाको हिमाल चढ्ने अर्को पुस्ता तयार हुनेमा शंका उब्जन थालेको छ । अपवादबाहेक सहरी क्षेत्रमा बसेर पढेकाहरू हिमाल चढ्न कमै रुचि राख्ने गरेको आङछिरिङ बताउँछन् । “धेरै पछि त हाम्रो समुदाय यो पेसामा अल्पमतमा पर्ने खतरा छ,” कीर्तिमानधारी आरोही कामीरिता भन्छन् ।

सरकारले शेर्पा समुदायका लागि सहज हुने गरी विद्यालय नखोल्दा र पढाइको गुणस्तर नउकास्दा यो समस्या निम्तियो । हिमाल आरोहणमा कुनै समय खुम्बुका शेर्पा कहलिएका थिए । संघका पूर्वउपाध्यक्ष साङ्गेका अनुसार सोलुकै खरिखोला, दोलखाको रोलवालिङ र संखुवासभाको मकालु क्षेत्रका शेर्पाको बाहुल्य छ, अहिले हिमाल आरोहणमा । “अब २५/३० वर्षमा खुम्बुको समस्या यी क्षेत्रमा दोहोरिने पक्कापक्की छ,” उनी भन्छन्, “उनीहरूमा पनि यही चक्र लागू हुन्छ ।”

हिमाल आरोहण शारीरिक रूपमा कठोर काम हुँदै हो, जोखिमपूर्ण पेसासमेत हो । चिकित्सक पेसा छाडेर आरोहणमा लागेका खुम्जुङका डा निमा नामग्याल शेर्पाका अनुसार आरोहण दलमा खटिने शेर्पालाई सामान ओसार्ने र पाहुनालाई शिखर चढाउने दोहोरो जिम्मेवारी हुन्छ, जसको कठिनता अनुमान गर्न हरकोहीले सक्ला तर भोग्न जोकोही तयार हुँदैन ।

“त्यही भएर आरोहणमा लाग्ने बहुसंख्यक शेर्पा यति कष्टदायी काम आफ्ना सन्ततिले नगरून् भन्ने चाहना राख्छन्,” संघका पूर्वउपाध्यक्ष साङ्गे, जो आफूलाई केही भइहालेमा परिवारको बिचल्ली हुन्छ भनेर एक पटक सगरमाथा चढेपछि समिट नेपाल ट्रेकिङको व्यवस्थापकीय जिम्मा सम्हाल्न थाले, भन्छन्, “सधैँभरि ज्यानको बाजी लगाउन कसैले पनि सक्दैन ।”

मत्युसँग जुधेका यी क्षण सम्झेर अधिकांश आरोही आफ्ना सन्ततिले यो बाटो नरोजून् भन्ने चाहन्छन्, जुन स्वाभाविक हो । थुप्रै शेर्पाले हिमाल आरोहणमा ज्यान गुमाएका छन् । “त्यत्रो ख्याति कमाएकाहरूको अर्को पुस्ता बिस्तारै आरोहणबाट विमुख हुनु मुलुकका लागि दुर्भाग्य हुनेछ,” संघका पूर्वमहासचिव एवं फस्ट इन्भारोमेन्टल ट्रेकिङ एजेन्सी सञ्चालक ठाकुरराज पाण्डे भन्छन् ।

पूर्वसचिव खेमराज नेपालको पुस्तक समाज, संस्कार र शासनका अनुसार हिमाली भेगका बासिन्दाको छाती तल्लो भेगकाको भन्दा चौडा हुन्छ । उचाइमा अक्सिजन कम हुने भएकाले अक्सिजनको मात्रा बढी लिन यस भेगका मानिसको फोक्सोसमेत ठूलो हुन्छ । यही कारण शेर्पाहरू उचाइमा समेत सहजै श्वासप्रश्वास लिन सक्छन् । फोक्सो ठूलो भएकाले छाती पनि ठूलो देखिएको हो । अर्थात्, हावापानी, भौगोलिक बनोटअनुसारकै शारीरिक संरचना बन्छ ।

स्कटल्यान्ड र आयरल्यान्डका अध्येताले सन् २००७ मा शेर्पाको रक्त परीक्षण गरी त्यो पुष्टिसमेत गरेको पर्यटन व्यवसायी आङछिरिङ बताउँछन् । सन् २०१७ मा युनिभर्सिटी अफ क्याम्ब्रिजको अनुसन्धानले समेत हजारौँ वर्षदेखि उच्च क्षेत्रमा बस्दै आएका शेर्पा जातिमा अक्सिजन लिने र शरीरमा ऊर्जा उत्पन्न गर्ने विशेष क्षमता हुने तथ्य खोतलेको थियो । ‘कम उचाइकाहरू अग्लो ठाउँमा जाँदा उनीहरूको शरीरले शेर्पाको जस्तै बन्न केही हदसम्म मात्रै काम गर्छ । शेर्पाको जति दक्ष हुँदैन,’ क्याम्ब्रिजको वेबसाइटमा अनुसन्धानदाता डा एन्ड्र्यु मुर्रेले भनेका छन् । सहर बसेर पढ्ने शेर्पा पुस्ताको यस्तो दक्षता हुँदैन । आङछिरिङ भन्छन्, “यो शेर्पा जातिको मात्रै होइन, मुलुककै समस्या हो । मुलुकलाई संसारभर चिनाउने शेर्पा जातिलाई यो पेसाबाट पलायन हुन नदिन राज्य तहबाट सोचिनुपर्छ ।”

राज्यको रुखो व्यवहारले पनि यो आरोही जातिलाई आफ्नो पेसाप्रति विकर्षण भएको हो । सन् २०१४ मा सगरमाथा क्षेत्रको हिमपहिरोमा १६ आरोही शेर्पाको मृत्यु हुँदा राज्यबाट गरिएको व्यवहारले उनीहरू आन्दोलित भएका थिए । साथै, कीर्तिमानधारी आरोहीलाई राज्यले सुविधा नदिएको भनेरसमेत धेरै बिदेसिएका छन् । “जीवन गुजार्न नसकेर होइन कि राज्यले आँटिलो काम गरेर देशको नाम संसारमा चिनाउनेलाई पहिचान गरिदिओस् भन्ने आरोहीकोमनसाय छ,” आङछिरिङ भन्छन्, “यसले अपनत्वबोध गराउँछ ।”

छैन नीति

हिमाल आरोहणको आरम्भमा यो पेसा जति जोखिमपूर्ण थियो, अहिले त्यो अवस्था छैन । आरोहण सुरक्षाका तालिम दिने संस्था थुप्रै खुलेका छन् । नेपाल पर्वतारोहण संघले यस्तो तालिम दिएर परीक्षणपछि मात्रै आरोहण पथप्रदर्शकको लाइसेन्स दिन्छ । सन् १९७९ देखि नै संघले आधारभूत तालिम दिन थालेको हो । सन् २००८ देखि अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको तालिम दिन थाले पनि पर्वतारोहणको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल फेडेरेसन अफ माउन्टेन गाइड एसोसिएसनले २०१२ मा मात्रै नेपाललाई मान्यता दियो ।

यस्तो तालिम आरोहणका क्रममा अपनाउनुपर्ने सुरक्षात्मक विधि मात्र हो । सुरक्षाका सीप सिकाउनेबाहेक उद्धार संयन्त्र नै छैन, नेपालको हिमाल आरोहणमा । जबकि प्राकृतिक प्रकोपबाहेकका ७५ प्रतिशत दुर्घटनालाई नियन्त्रण गर्न सकिने पाण्डेको भनाइ छ ।

अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड एवं प्रशिक्षक तुलसिंह गुरुङका अनुसार फ्रान्स, स्वीट्जरल्यान्डलगायत मुलुकमा हिमाल आरोहीका लागि उद्धार टिम तयारी हालतमा राखिएको हुन्छ । उक्त टिममा हेलिकप्टर, पाइलट, उद्धारकर्मी र डाक्टर हुन्छन् । “दुर्घटना भएको खबर पाउनासाथ १५–२० मिनेटमा उद्धार भइसक्छ,” प्रशिक्षक गुरुङ भन्छन् ।

उदेकलाग्दो त के भने पर्वतारोहणमा दुर्घटना भए गरिने उद्धारबारे सरकारको नीति प्रस्ट छैन । पर्यटन विभागको पर्यटक खोज, उद्धार, उपचार र अनुगमनसम्बन्धी कार्यविधि, ०७५ मा उद्धारको मूलभूत जिम्मेवारी आरोहण कम्पनी चलाउने एजेन्सीको हुने भनिएको छ । तर त्यस्ता कम्पनीसँग उद्धार संयन्त्र भए/नभएको यकिन गर्नुपर्ने बाध्यता भने छैन । यसको अर्थ हो, उद्धार संयन्त्रबिनै हिमाल आरोहण चलिरहेछ ।

“पहिलो जिम्मेवारी सम्बन्धित एजेन्सीकै हुन्छ,” संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता एवं सहसचिव घनश्याम उपाध्याय भन्छन्, “विपद्मा उसको मात्रै दायित्व हुन्छ भनेर सरकार चुप लागेर बस्ने कुरा हुँदैन । तत्काल उद्धारको प्रयासमा हामी जोडिन्छौँ ।”

उद्धारको पहिलो जिम्मेवारी एजेन्सीलाई सुम्पिए पनि उसले दुर्घटनापछि उद्धारको स्रोतसाधन जोहो गर्ने हो । “पैसा कसले तिर्ने भन्नेदेखि नै समस्या हुन्छ,” प्रशिक्षक गुरुङको अनुभव छ, “त्यसपछि मात्रै हेलिकप्टर, उद्धारकर्मी खोज्ने हो । यसले समयमै उद्धार हुन सक्दैन । र, हामी जिउँदो मानिस होइन, लास मात्रै निकालिरहेका छौँ ।” बाह्य मुलुकमा त उद्धार दल तयारी हालतमा नराखी आरोहण अनुमति नै स्वीकृत हुँदैन । सहसचिव उपाध्याय भन्छन्, “नेपालमा छुट्टै उद्धार टोली छैन । कतिपय बाहिरी मुलुकमा सरकारकै यस्तो संयन्त्र हुन्छ भने कहीँ निजी कम्पनीमार्फत यस्तो सेवा लिइरहेका हुन्छन् ।”

यस्तो संयन्त्रको खाँचो नेपालमा बढी छ । कारण, यहाँका अग्ला र अप्ठेरा हिमाल । नेपालमा सगरमाथा, मनास्लु, अन्नपूर्ण क्षेत्रका चुचुरा आरोहण बढी मात्रामा हुन्छ । प्रशिक्षक गुरुङको विचारमा यी क्षेत्रमा उद्धारका लागि लुक्ला र मनाङमा मात्रै उद्धार टोली तयारी हालतमा राख्न सकियो भने धेरै सुरक्षित गराउन सकिन्छ ।

त्यसो त एकाध पटक यस्तो उद्धारको अभ्यासले आरोहीको प्राणसमेत बचेको उदाहरण हुँदै नभएको होइन । सन् २०१३ मा आरोही मिङ्मा ग्याबु शेर्पासहितको टोलीले धौलागिरि हिमालमा, सन् २०१६ मा सगरमाथामा र यसपालि अन्नपूर्ण हिमालमा उद्धार गरेको थियो, निजी पहलमा । यस्तो प्रयास संगठित तबरमा मात्र हुन सकेको छ । “सरकारसँग उद्धारबारे नीति नै छैन,” मिङ्मा ग्याबु भन्छन्, “हाम्रा हिमाल सुरक्षित छन् भनेर विश्वका आरोहीलाई आश्वस्त पार्न उद्धार संयन्त्र चाहिन्छ । सरकारले लगानी गरे त्यसका लागि हामी सहयोग गर्न तयार छौँ ।”

अहिलेसम्म सगरमाथा आरोहणमा मात्रै २ सय ८० भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमध्ये सबैभन्दा ठूलो संख्या नेपालीकै छ । हिमपहिरो, आँधी, लड्नु आरोही मृत्युका मुख्य कारण हुन् । हिमाल आरोहणको एउटै याममा सरकारी ढुकुटीमा आधा अर्ब रुपैयाँ थपिन्छ ।

पर्यटन विभाग, पर्वतारोहण शाखाका अधिकृत रामेश्वर निरौलाका अनुसार यो याममा मात्रै पर्वतारोहण राजस्व ५० करोड रुपैयाँ नाघिसकेको छ । तर सरकारले यो साहसिक पेसालाई सुरक्षित बनाउने संयन्त्र बनाउन भने पहलै गरेको छैन । नेपाल हिमाल आरोहणमा सुरक्षित रहेको विश्वस्त तुल्याउन सके एकातिर आफ्नै इतिहासबाट तर्किरहेको शेर्पा जातिको पठित पुस्ता यो पेसामा आकर्षित हुन सक्छ भने अर्कोतिर विश्वभरका आरोही ढुक्कले नेपाली हिमालमा पाइला राख्न आउनेछन् ।

“शिक्षितहरू यो पेसामा लगाएर अझै सुरक्षित आरोहण गर्न सके राम्रो हुने थियो,” डा नामग्याल भन्छन्, “यसका लागि सरोकारवाला र राज्यले समयमै सोच्नुपर्छ ।” हिमाल आरोहण कौशलले मात्र चढिँदैन । न त हिमालको अनुभवले कोही पूर्ण नै हुन्छ । हिमालको यही विशिष्टतालाई जोडेर धेरैले आरोहणलाई रहस्यमय यात्रा ठान्छन् । र, यो रहस्यमयी यात्राका सारथि शेर्पा समुदाय भविष्यमा यात्राबाट बिलाए भने ?


हलुका बन्दै हिमाल

‘प्रत्यर्थी पेम्बा दोर्जी शेर्पाले छोटो समयमा सगरमाथा आरोहण गरेको भनी दाबी लिएको भए पनि निजसँग गएको सम्पर्क अधिकृतले सो कुरालाई पुष्टि गर्न सक्ने नियमावलीले निर्दिष्ट गरेको फोटो तथा साक्षी पेस गर्न सकेको अवस्था देखिँदैन ।’

सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गरेको विषयमा लाक्पागेलु शेर्पा र पेम्बा दोर्जी शेर्पाबीचको विवादलाई निरुपण गर्ने क्रममा सर्वोच्च अदालतले ०७४ मंसिरमा गरेको फैसलाको अंश हो यो । यसले सरकारले कति हचुवाका भरमा आरोहीलाई प्रमाणपत्र दिन्छ भन्ने दर्शाउँछ । ०६० देखिको विवाद डेढ दशकपछि लाक्पागेलु शेर्पाको नाममा कीर्तिमानलाई कायम गरेर निरुपण त भयो तर यसले पर्वतारोहण संयन्त्रमा नेपालको विश्वास भने धरमरायो ।

शिखर चुमे/नचुमेको मूल दायित्व हुन्छ, नियमन गर्न आधारशिविरमा आरोहण दलपिच्छे खटाएका सम्पर्क अधिकृतको । आरोहीले वाकीटकीबाट सम्पर्क अधिकृतलाई मौखिक जानकारी दिन्छ र पछि फोटो, भिडियोलगायतका प्रमाण पेस गर्छ । सम्पर्क अधिकृत, आरोहण दलको प्रमुखले पेस गरेको प्रमाणका आधारमा पर्यटन मन्त्रालयले प्रमाणपक्र दिन्छ । यही त्रममा छलछाम हुन्छ भन्ने केही प्रमाण सार्वजनिक भइसकेका छन् ।

यसअघि ०७३ जेठमा एक भारतीय दम्पतीले समेत फोटोसपबाट सगरमाथा चढेको फोटो प्रमाणस्वरूप बुझाएर मन्त्रालयबाट प्रमाणपत्र पाएका थिए । महाराष्ट्रका दिनेश राठोड र तार्केश्वरी राठोडले फेसबुकमा तस्बिर राखेर सगरमाथा चढ्ने पहिलो भारतीय दम्पती भएको दाबी गरे । त्यसपछिआफ्नो फोटोमा राठोड दम्पतीको टाउको गाँसेको दाबी अर्को भारतीय दम्पतीले गरेपछि त्यो नक्कली पुष्टि भयो ।

यी दुई प्रकरणले पर्वतारोहणजस्तो कठिन कर्म पूरा नगरी सहजै प्रमाणपत्र पाइने खुलाइदियो । सगरमाथा आरोहणलाई पेसा बनाउन थालेपछि एक दशकयता यस्ता विकृति भित्रिन थालेको शाखा अधिकृत ज्ञानेन्द्र श्रेष्ठ बताउँछन् । उनी लामो समय पर्यटन विभागमा काम गरेर हाल ललितपुर महानगरपालिकामा छन् । “सगरमाथा चढेको देखाएर अन्य फाइदा लिनेहरू बढेपछि समस्या हुन थालेको छ । यसले सगरमाथाकै महत्त्व र मूल्य घटिरहेको छ,” उनी भन्छन् ।

खासमा सरकारले आधारशिविरका लागि खटाएका सम्पर्क अधिकृत त्यहाँ नपुग्नाले समेत बद्नियत राख्ने आरोहीलाई फाइदा मिलेको छ । भत्ताको लोभले सम्पर्क अधिकृत बन्न खोज्ने तर थलोमा नपुग्ने समस्या छ । अवस्था कस्तो छ भने विश्वका १४ उच्च शिखर सात महिनाभित्र चुम्ने अभियानमा लागेका पूर्वगोर्खा सैनिक निर्मल पुर्जाको आरोही दलले १० जेठमा अन्नपूर्ण हिमाल चढेको सरकारलाई समेत पत्तो भएन ।

पर्यटन मन्त्रालयका नवीनकुमार घिमिरे तथा पर्यटन विभागका नारायण भट्टराई र केशव पोखरेल अन्नपूर्ण क्षेत्रको सम्पर्क अधिकृत तोकिएका थिए । तर उनीहरू त्यहाँ पुगेनन् । सरकारी लापरबाहीले अमूल्य हिमाललाई हलुका बनाउँदै लगेको यसबाट पुष्टि हुन्छ । “चढ्दै नचढी प्रमाणपत्र पाइन्छ भन्ने सन्देश गए खास आरोहीका लागि अर्थ हुँदैन र उनीहरू हिमालबाट विकर्षित हुन सक्छन्,” नेपाल पर्वतारोहण संघका पूर्वमहासचिव ठाकुरप्रसाद पाण्डे भन्छन् ।


यी अपवाद

सोलुखुम्बु, थामेका कीर्तिमानी आरोही हुन्, आङरिता शेर्पा । बिनाअक्सिजन १० पटक सगरमाथा पुगेर इतिहास कोरेका आङरिताको यो कीर्तिमान कसैले तोड्न सकेका छैनन् । उनले ‘हिमचितुवा’ को उपमासमेत पाएका छन् । कीर्तिमानी भए पनि अवकाशपछि आङरिता विदेसिएनन् । काठमाडौँ–थामे आउजाउ गर्दै जीवन काटिरहेका छन् । पछिल्लो समय उनी अशक्त बन्दै गएका छन् ।

पहिलो पटक सगरमाथा चढ्ने तेन्जिङ र हिलारी दलका सदस्य थिए, कान्छा शेर्पा । ८५ वर्ष पहिले नाम्चेमा जन्मिएका कान्छाले त्यतिबेला चुचुरो चुम्न त पाएनन्, तर साउथकोलसम्म पुगे । त्यस अर्थमा कीर्तिमानी र भाग्यमानी शेर्पा कहलिएनन् । आरोहण दलका ३५ सदस्यमध्ये १४ जना साउथकोल पुगेका थिए । पहिलो आरोहण दलका एक मात्र जीवित पात्र उनी नाम्चेमै बस्छन् । दुई वर्षअघि खुम्जुङमा भेटिएका कान्छाले अवसर आए पनि आफू विदेश नगएको बताएका थिए ।

आप्पाजति नै सगरमाथा चढेको नाम हो, फुर्बा तासी शेर्पा । ८ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा बढी चढ्ने यी आरोहीबारे डिस्कभरी च्यानलले १९ भागको रियालिटी सो एभरेस्ट : बियोन्ड द लिमिट बनाएको थियो, सन् २००९ मा । अस्ट्रेलियन फिल्म निर्माता जेनिफर पिडमको यो डकुमेन्ट्री शेर्पामा  फुर्बा केन्द्रीय भूमिकामा देखिन्छन् । सन् २०१४ मा खुम्बु आइसफलको हिमपहिरोमा १६ आरोही शेर्पाले ज्यान गुमाएको घटनामा आधारित फिल्मका पात्र यिनी खुम्जुङमै बस्छन् ।


यो पनि पढ्नुहोस् → [सम्पादकीय] शेर्पा बहुमूल्य ब्रान्ड

 

प्रकाशित: वैशाख २५, २०७६