कालु पाँडेको महिमा, पृथ्वीनारायणको लघिमा

- महेशराज पन्त

राजाका जेठा छोराको हैसियतले आफूले पाएको, पूर्वमा त्रिशूली नदी र पश्चिममा चेपे नदी साँध भएको गोरखा राज्यलाई आफ्नो ३२ वर्षको राज्यकालमा पृथ्वीनारायण शाह पूर्वमा तिस्ता नदीसम्म बढाउन समर्थ भए । उनले थालेको विजय यात्रालाई नै अघि बढाएर गोरखाली भारदारले पूर्व तिस्ता नदीदेखि पश्चिम सतलज नदीसम्मको एउटा राज्य खडा गरे । जुन बेला यो राज्य खडा भयो, त्यसबेला भारतखण्डमा गोरखालीबाहेक सिख र मरहठ्ठा राज्य पनि अंग्रेजसँग समेत भिड्न सक्ने सामर्थ्यका थिए । ती दुवै राज्य गोरखाली राज्यभन्दा कता हो कता बलिया थिए । आखिरमा सिख र मरहठ्ठा राज्य जित्न अंग्रेज सफल भयो । तर गोरखा राज्यको तीन खण्डको एक खण्ड अंग्रेजले जिते पनि यस राज्यको अस्तित्व अहिलेसम्म छ । र, यो राज्य दक्षिण एसियाकै सबभन्दा पुरानो राष्ट्र भएर अडिरहेको छ ।

पृथ्वीनारायणको कामले नेपाल राष्ट्रको पुनर्जन्म भयो, यो साँचो हो । तर उनको कामबाट वर्गविशेषको स्वार्थहानि भयो, त्यो पनि त्यत्तिकै साँचो हो । यसैले पृथ्वीनारायणको अवदान अर्थात् हिजोआजको भाषामा योगदानको महत्त्व घटाउन त्यस्ता वर्गविशेषका मानिसले त्यही बेलादेखि अहिलेसम्म कोसिस गर्दै आइरहेका छन् । पृथ्वीनारायण राजनीतिज्ञ होइनन्, विस्तारवादी विचारले अनुप्राणित लुटेरा हुन् भन्ने प्रचार त्यस्ता मानिसले गर्दै आएका छन् ।

यसरी मूलधारको इतिहास लेख्नमा जुन उपकरणको उपयोग हुन्छ, तिनै उपकरणको आधारमा जातिको वा वंशको महिमा गाउने चलन चल्न जाँदा इतिहास लेखनको भिन्नै धारा हामीकहाँ मौलायो । खुद मैले पनि गधेपच्चीसी पार नगर्दै थालेको भक्ति थापाको चरित अर्थात् हिजोआजको भाषामा जीवनी लेख्ने काम गरी ४ वर्ष बिताएँ ।

राजतन्त्र गएपछि सर्वसाधारणको हातमा राज्यको बागडोर जाँदा पृथ्वीनारायणको अपमान नेपाल राष्ट्रमा भइरहेको छ । पृथ्वीनारायण र उनका अयोग्य सन्तान–दरसन्तानलाई एउटै ढकमा जोखेर हुँदाहुँदा उनको जन्मदिनमा दिने गरेको बिदासमेत कटौती गर्ने साहस नेपालको गणतन्त्रात्मक शासनले गर्‍यो । त्यसमाथि, त्यस अवधिमा पृथ्वीनारायणको सालिक तोडफोड गरी उनलाई प्रतिनायक अर्थात् हिजोआजको भाषामा खलनायकको रूपमा चिनाउने काम निकै मात्रामा भयो । बल्लबल्ल विसं ०७४ मा त्यो बिदा दिने निर्णय फेरि गरिँदा हामीले किन पृथ्वीनारायणको विरोध गर्नुपर्छ भन्ने विषयमा ठाउँठाउँमा सभा भएकाले नेपालको इतिहासको कतिसम्म अपव्याख्या भइरहेछ भन्ने छर्लंग हुन्छ । त्यस्तै अपव्याख्याको प्रभावमा परेर होला, विसं ०७५ मा सरकारले पृथ्वी जयन्तीमा फेरि बिदा दिएन । यसपालि पनि बिदाको घोषणामा पृथ्वी जयन्ती नपरेकाले बिदा नहुने पक्का छ ।

पृथ्वीनारायणको विजययात्रा एकीकरण होइन, गोरखा राज्यको विस्तार मात्र हो भन्ने व्यापक प्रचार छ । हो, प्रारम्भमा त्यो राज्य विस्तार मात्रै थियो । चन्द्रागिरिको डाँडाबाट नेपाल खाल्डोका तीन सहर ठम्याएपछि यी तीन राज्यको राजा हुन पाए त हुँदो हो भन्ने मलाई लाग्यो, मेरो मनमा यो कुरा खेल्दा त्यसैबेला म जुँघामा ताउ लाउन पुगेको अरूले देखेका रहेछन् भनी उनले आफ्नो अन्तिम अवस्थामा भाइभारदारहरूका अगाडि बोलेर गएको कुरा अर्थात् प्रजातन्त्र भएपछि दिव्योपदेश भन्ने नाउँ राखी प्रकाश गरिएको, उनको अर्तीको एक प्रकरणबाट पनि थाहा हुन्छ ।

राज्य विस्तार गर्दै जाँदा पृथ्वीनारायणलाई आफ्नो राज्य गंगासम्म फैलाउने आकांक्षा बढेर आयो । यो दिव्योपदेश नाउँ राखिएको अर्तीमा ब्रिटिस भारतसँगको सम्बन्धको प्रसंगमा ‘श्रीगंगाजीका साँध पनि लाग्न्यैछ’ भनी उनले बोलेकोबाट स्पष्ट हुन्छ । दक्षिणमा गंगासम्म सिमाना पुर्‍याउने धोको राखेरै पृथ्वीनारायण बिते । तर उनका कान्छा छोरा बहादुर शाहको नायबी अर्थात् राजप्रतिनिधित्वकालमा गोरखा राज्यको सिमाना पश्चिममा गंगापारि पुगिसकेको थियो । यसैले सिमाना गंगासम्म पुगेको सगर्व एउटा ताम्रपत्रमा कुँदाएर उनले छाडेका छन् । हुन त त्यसबेला गोरखा राज्यको विस्तार यमुनासम्म भइसकेको भए पनि यमुनाको भन्दा गंगाको महिमा बढी भएकाले त्यस्तो लेखिएको हुनुपर्छ ।

मुग्लानको राजले त्रस्त हुँदाहुँदै फिरंगीको हमलाको सामना गरेका पृथ्वीनारायण आफ्नो राज्य ठूलो बनाउने विचारले अभिभूत थिए । आफ्नो राज्यलाई ‘असल हिन्दुस्थान’ बनाउन उनी खोज्थे । मोतीराम भट्टको ‘यवन्ले राज् गर्दा कति पतित हिन्दुस्थल भयो/फगत् यो नेपाल्को मुलुक बचि कञ्चन् रहि गयो’ भन्ने पद्य यही भावनाको प्रतिध्वनि हो । पृथ्वीनारायणले सुरु गरेको कामबाट हिमवत्खण्डका, छिन्नभिन्न भएर रहेका राज्य क्रमशः एक सूत्रमा बाँधिँदै जाँदा पछि गएर दक्षिण एसियाकै सबभन्दा पुरानो राष्ट्र नेपाल हुन सकेको हो ।

दिव्योपदेश भनी नाउँ राखिएको, उनको अर्ती एउटा संघट्टित राज्यको कल्पनाकारको योजनारूपको छ । विशाल चीन साम्राज्य र बढ्दो ब्रिटिस भारत साम्राज्यको बीचमा रहेको गोरखा राज्य जोगाउनु नै उनको मूल सिद्धान्त थियो । त्यस सिद्धान्तमा अघि बढ्दा अहिलेको दृष्टिमा कति राम्रा, कति नराम्रा कुरा भए । नेपाल राज्य जोगाउने हो भने कुन जात वा कुन थरलाई कुन पद दिनुपर्छ भन्नेजस्ता केही कुरा छाडेर उनको अर्तीमा भएका अरू कुरा पाठ्यपुस्तकका रूपमा पढाउनुपर्ने विषय मात्र नभई त्यसलाई लागू गर्नुपर्ने अवस्था छ ।

दिव्योपदेश भनी नाउँ राखिएको अर्तीमा पृथ्वीनारायणले कालु पाँडेको नाउँ प्रसंगवश दुईचोटि लिएका छन् । पहिलो पटक उनको नाउँ छिमेकी राज्य लम्जुङसँग सन्धिको सन्दर्भमा आएको छ । पूर्वतिर बढ्ने योजनाअनुसार पृथ्वीनारायणले पार्ष्णिभय अर्थात् पछिल्तिरबाट हमला हुने डर हटाउन आफ्नो राज्यको पश्चिमी सिमाना जोडिएको लम्जुङसँग सन्धि गर्नुपर्ने अवस्था आयो । जुन नीतिले लम्जुङसँग सन्धि गरी उसलाई पट्याउँला भन्ने पृथ्वीनारायणको विचार थियो, त्यही विचारअनुसार कालु पाँडेले सन्धि गरिदिएकाले त्यो सन्धि दिगो रह्यो । त्यसबाट पृथ्वीनारायण उनीसँग खुसी हुनु स्वाभाविक भयो ।

कालु पाँडे पृथ्वीनारायणका योग्य सेनापति भए पनि उनीसरहका वा पाँडेभन्दा केही कमोवेश भारदार गोरखा राज्यमा अरू पनि थिए । ती सबैको बुद्धि र बाहुबलले गोरखा राज्यको विस्तार भएको हो ।

पृथ्वीनारायणलाई शासन चलाउन एक जना काजी अर्थात् हिजोआजको भाषामा प्रधानमन्त्रीको जरुरत परेको थियो । उनले त विराज बखेती भन्नेलाई कजाइँ दिन आँटेका थिए । लम्जुङसँगको सन्धिले गर्दा उनलाई रिझाएका कालु पाँडेलाई दुनियाँदारले पनि मन पराएका र बाइसी–चौबीसीअन्तर्गत पर्ने राज्यको पनि कालु पाँडेलाई काजी बनाए राम्रो हुन्छ भन्ने विचार भएकाले मैले उनलाई कजाइँ दिएँ भनी उनले बोलेका छन् ।

अर्को प्रसंग दरबारका खानदानी सेवकहरूलाई पुस्तन्पुस्ता जागिर नछुटाउनू भन्ने ठाउँमा आउँछ । भोटसँगको सन्धिविग्रह अर्थात् हिजोआजको भाषामा परराष्ट्रसम्बन्धको जिम्मा कालु पाँडेका सन्तानबाट नछुटाउनू भनी पृथ्वीनारायणले बोलेका छन् । कालु पाँडेको खानदानबाट र खुद उनको ल्याकतबाट पनि पृथ्वीनारायण रिझिएका थिए भन्ने यताबाट देखिन्छ ।

विसं १८१४ मा कीर्तिपुरको लडाइँमा वीरगति पाएका कालु पाँडेको सुझबुझले गोरखा राज्यको विस्तारमा पटक–पटक काम गरेको थियो । कालु पाँडे पृथ्वीनारायणका योग्य सेनापति भए पनि उनीसरहका वा पाँडेभन्दा केही कमोवेश भारदार गोरखा राज्यमा अरू पनि थिए । ती सबैको बुद्धि र बाहुबलले गोरखा राज्यको विस्तार भएको हो ।

गोरखा राज्यको विस्तारमा पृथ्वीनारायणको प्रत्यक्ष वा परोक्ष निगरानीमा हुर्केका भारदारको ठूलो हात भए पनि राज्य विस्तारको योजना मूलतः उनीहरूको थिएन, शास्त्रीय शब्दमा भन्नुपर्दा उनीहरू आदेशहर किंवा कर्मकर थिए । सूर्यविक्रम ज्ञवालीले ‘वीर बलभद्र’ (विसं १९९७) र ‘अमरसिंह थापा’ (विसं २०००) लेखी त्यस्ता सैनिकको यशोगान गर्ने कामको आरम्भ गरे । पछि हुँदाहुँदा कसैले गुरुङ जातिको, कसैले पाँडेको, कसैले बस्नेतको र कसैले थापाको गुणगान गरी नेपाल राज्यको एकीकरण र सुदृढीकरणमा ती–ती जाति वा वंशको अवदानमा पुस्तक लेख्ने मात्र काम नभई विश्वविद्यालयको उपाधिका लागि पनि शोधपत्र लेख्ने काम हुन थाल्यो ।

यसरी मूलधारको इतिहास लेख्नमा जुन उपकरणको उपयोग हुन्छ, तिनै उपकरणको आधारमा जातिको वा वंशको महिमा गाउने चलन चल्न जाँदा इतिहास लेखनको भिन्नै धारा हामीकहाँ मौलायो । खुद मैले पनि गधेपच्चीसी पार नगर्दै थालेको भक्ति थापाको चरित अर्थात् हिजोआजको भाषामा जीवनी लेख्ने काम गरी ४ वर्ष बिताएँ । भक्ति थापाको त्यो चरित ‘वीर भक्ति थापा’ भन्ने नाउँले संशोधन–मण्डलको पत्रिका पूर्णिमामा क्रमशः निरन्तर छपाएँ । पछि यस्तो खालको इतिहास लेखन ठीक रहेनछ भन्ने मलाई लाग्यो र भक्ति थापाको जीवनी पूरै नगरी चटक्कै छाडिदिएँ ।

दहचोकमा कालु पाँडेको समाधिस्थल भनी प्रख्यात ठाउँमा तत्कालीन एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली ९ फागुन ०७३ मा पुगेका रहेछन् । कालु पाँडेको व्यक्तित्वले तानिएर होला, हरसाल ९ फागुनमा आफू त्यहाँ आउने घोषणा पनि त्यसै दिन उनले

गरेछन् । ३ फागुन ०७४ मा प्रधानमन्त्री पदमा आसीन ओली आफूले गरेको प्रतिज्ञाको पालना गर्दै त्यही साल ९ फागुनमा कालु पाँडेको समाधिस्थल पुगे । ०७५ मा पनि त्यही दिन पुगी कालु पाँडेको सालिकको समेत प्रतिष्ठा गरे । त्यस अवसरमा भाषण गर्दा ‘कालु पाँडेको समाधिस्थल नेपालीका लागि तीर्थस्थलजस्तै पवित्र भएको’ भनी उनले बोलेको गोरखापत्रमा छापियो ।

कीर्तिपुरको लडाइँ र कीर्तिपुरको विजय गोरखा राज्य विस्तारको एउटा ठूलो कडी हो । यस घटनाको व्याख्या केहीले नेपाल राज्यको एकीकरणको ठूलो कडीका रूपमा गरेका छन्, केहीले पृथ्वीनारायणको निर्दयताको पराकाष्ठाका रूपमा बयान गरेका छन् । कीर्तिपुरको लडाइँमा हार खाएका कालु पाँडेको सालिकको प्रतिष्ठा उनको यशोगान गर्दै बहालवाला प्रधानमन्त्रीले गर्दा दोस्रा थरीले २ सय ५० वर्षभन्दा अगाडि लागेको घाउ सरकारले फेरि कोट्ट्याएको ठाने । यसैले पृथ्वीनारायणको जन्मदिनको बिदा कटौती गर्ने वर्तमान शासनका बहालवाला प्रधानमन्त्रीले कीर्तिपुरको लडाइँमा प्राण उत्सर्ग गरेका कालु पाँडेको प्रशंसा गर्दै उनको सालिकको प्रतिष्ठा किन गर्नुपर्‍यो भन्ने प्रश्न उठेको छ ।

 

प्रकाशित: वैशाख २५, २०७६