नयाँको दाबेदारी

- पवन आचार्य

एक साताको अन्तरालमा नेपाली क्रिकेटले दुई फरक अनुभूति गर्‍यो । वैशाख पहिलो साता मलेसियामा भएको १९ वर्षमुनिको विश्वकपका लागि एसियाली क्षेत्रबाट नेपाल छनोट हुनबाट चुक्यो । प्रतियोगितामा संयुक्त अरब इमिरेट्स युएईसँग हार्नु नेपालका लागि दुर्भाग्य बन्यो । अर्कोचाहिँ वैशाखकै दोस्रो साता थाइल्यान्डमा भएको एसीसी यू–१६ पूर्वक्षेक्रीय त्रिकेटको विजेता बन्दै नेपाली युवा टोली स्वदेश फर्कियो । डिफेन्डिङ च्याम्पियन नेपालले थाइल्यान्डमा उपाधि रक्षा गर्दा टोली अपराजित थियो । उमेर समूहमा २ साताको अन्तरमा नेपालले लिएको दुई भिन्न अनुभवले पनि क्रिकेटमा युवाको उपस्थिति टड्कारो भएको छ ।

१९ वर्षमुनिको विश्वकप सपना मात्रै

उमेर समूहमा आठौँ विश्वकप खेल्ने नेपालको सपना अधूरो हुँदा वर्षा बाधक बन्यो । युएईसँग डकवर्थ लुइस पद्धतिमा १ रनले हार्न पुग्नु नै नेपालको लागि दुर्भाग्य बन्यो । अन्य सबै खेल जिते पनि नेपाल विश्वकपका लागि छनोट हुनबाट वञ्चित भयो । सन् २००० मा श्रीलंकामा आयोजित विश्वकपबाट सहभागिता जनाएको नेपालले अघिल्लो संस्करण सन् २०१६ मा बंगलादेशमा आयोजना हुँदा कुल ७ पटक विश्वकप खेलिसकेको छ । पहिलो र पछिल्लो संस्करणमा आठौँ स्थान प्राप्त गर्नु नै नेपाली टोलीको मुख्य उपलब्धि हो ।

प्रतियोगिताको क्वार्टरफाइनलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो । राजु रिजालले ८० बलमा ७५ रन जोडे पनि टिमलाई जित दिलाउन सकेनन् । पाँचौँ स्थानका लागि भएको प्लेअफमा पनि नेपाल पाकिस्तानसँग १ सय २२ रनले पराजित भयो । प्रेम तामाङले अविजित ६५ रन जोडेको नेपालको इनिङ्स ४३ दशमलव ५ ओभरमा १ सय ३६ रनमा प्याक भएको थियो । लेग स्पीनर सन्दीप लामिछानेले ३ विकेट लिए ।

यसअघि समूह चरणमा नेपालले आयरल्यान्डलाई हराउँदा सन्दीपले ह्याट्रिक विकेट लिएका थिए भने योगेन्द्रसिंह कार्कीले अविजित ६१ रन जोडेका थिए । समूह चरणमा भारतसँग मात्र पराजित नेपाली टोलीले सुरुबाटै सम्भावना प्रदर्शन गरेको थियो ।

१९ वर्षमुनिको विश्वकपमा नेपालले ४३ खेल खेल्दा झन्डै आधामा नतिजा आफ्नो पक्षमा पारेको छ । २१ खेल विपक्षीलाई सुम्पेको नेपालले १ खेल बराबरीमा सकाएको छ । आँकडा हेर्ने हो भने नेपाली क्रिकेटले युवा टोलीबाट धेरै आश गर्ने ठाउँ छ । तर यसपटक सिनियर राष्ट्रिय टोलीमा अटाएका ५ खेलाडी हुँदा पनि युवा विश्वकपमा नेपाल छनोट हुन सकेन । भीम सार्की, सन्दीप जोरा, पवन सर्राफ, रोहित पौडेल र आशिफ शेखजस्ता खेलाडीले राष्ट्रिय टोलीमा पाएको अनुभवले पनि नेपाललाई विश्वकपसम्म पुर्‍याउन सकेन ।

विश्वकपमा छनोट हुन नसक्नुलाई टोलीका कप्तान रोहित पौडेल दुर्भाग्य मात्रै भन्न चाहँदैनन् । भन्छन्, “टिमका युवा खेलाडीले ठूलो अन्तर्राष्ट्रिय एक्सपोजरबाट वञ्चित हुनुपर्‍यो । नेपालको क्रिकेटबारे विश्वले हाम्रो प्रदर्शनबाट जान्न पाउँथ्यो । त्यो अवसरबाट पनि हामी चुक्यौँ ।”

टोलीलाई विश्वकपमा पुर्‍याउन नसके पनि प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीका रूपमा पौडेल रहे । चार इनिङ्समा १ सय ९४ रन जोड्दा उनी सेञ्चुरीबाट मात्र ५ रन टाढा रहे । प्रतियोगिताभर उनले २ अर्धशतक प्रहार गरे । पवन शर्राफ सर्वाधिक विकेट लिने खेलाडीको पाँचौँ नम्बरमा रहे । उनले ५ खेलमा ९ विकेट लिए ।

नेपाली टोलीका प्रशिक्षक विनोद दास राम्रो खेल्दाखेल्दै पनि टोली विश्वकपमा पुग्न नसकेकामा चुकचुकाउँछन् । “हरेक दिन पानी पर्थ्यो तर चाँडै सुक्थ्यो । युएईसँगको म्याचमा पानी परेपछि सुकेन । हामीलाई भाग्यले पनि धोका दियो । राम्रो खेलेर मात्रै नपुग्दो रहेछ, भाग्य पनि दाहिना हुनुपर्ने रहेछ,” उनी सुनाउँछन् । आगामी वर्ष दक्षिण अफ्रिकामा हुने प्रतियोगितामा अब नेपाली खेलाडी दर्शकमा सीमित हुनेछन् ।

१६ वर्षमुनिले जगाएको आशा

२ वर्षअघि थाइल्यान्डको बैंककमा भएको एसीसी यू–१६ पूर्व क्षेक्रीय त्रिकेटको फाइनलमा सिंगापुरलाई ७१ रनले हराएर नेपालले आफूलाई उमेर समूहमा बलियो टोलीको रूपमा उभ्याएको थियो । यसपटक पनि थाई भूमिमा नेपालले उपाधि रक्षा गर्‍यो । नेपाली टोलीले उमेर समूहमा लगातार हासिल गरेको सफलतालाई क्रिकेटको जग बसेको अर्थ लगाउँछन्, प्रशिक्षक वसन्त शाही । “क्रिकेट संघ क्यान निलम्बनकै अवस्थामा रहेका बेला पनि यो जितले नेपालको क्रिकेट जगैदेखि बलियो छ भन्ने देखाउँछ,” उनी भन्छन्, “एकदिवसीय मान्यता पाएको राष्ट्रको युवा टोली पनि बलियो छ भन्ने प्रमाण हो यो ।”

टोलीमा धेरै नयाँ अनुहार रहेकाले प्रदर्शन उम्दा हुनेमा स्वयं प्रशिक्षक शाही विश्वस्त थिएनन् । उपाधि रक्षाकै अभियान भए पनि नयाँ खेलाडीमा भर पर्दा दबाब महसुस नभएको कप्तान विशालविक्रम केसी सुनाउँछन् । उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत घोषित भए । “नयाँ खेलाडी भए पनि आफ्नो क्षमता प्रदर्शन गर्न सकियो । यसले आत्मविश्वास बढाएको छ । विदेशी क्रिकेटको अनुभवसँगै धेरै कुरा सिक्न पाइयो,” उनी भन्छन् ।

उपाधि रक्षा गरे पनि प्रशिक्षक शाही घरेलु क्रिकेटमा उमेर समूहका लागि लामो ओभरको प्रतियोगिता आयोजना हुनुपर्नेमा जोड दिन्छन् । “हाम्रा खेलाडीमा पनि ट्वान्टी–ट्वान्टी फर्म्याटको खेलमा विशेष लगाव देखिएको छ । सबैलाई हतारो छ । तर क्रिकेटको विकास गर्ने हो भने लामो ओभरको खेल हुनुपर्छ,” उनको तर्क छ । २ वर्षमा आयोजना हुने प्रतियोगिताका लागि एउटा छनोट खेलबाट मात्रै खेलाडी छनोट गर्नुपर्ने अवस्थाको अन्त्यमा उनी जोड दिन्छन् । भन्छन्, “उमेर समूहका खेलाडी भनेका आधार हुन् । आधार र जग बलियो भए मात्र राष्ट्रिय टोलीमा बल पुग्छ । यसका लागि कम्तीमा दुईदिने क्रिकेट प्रतियोगिता आयोजना गर्नुपर्छ । यसले खेलाडीमा रहेको प्रतिभा प्रस्फुटनमा मद्दत गर्छ ।” लामो ढाँचाको क्रिकेटमा खेलाडी अभ्यस्त बने मात्र १९ वर्षमुनि हुँदै राष्ट्रिय टोलीमा उनीहरूको स्थान सुरक्षित हुने उनको तर्क छ । क्यान निलम्बन फुकुवा हुनुपर्ने वा त्यतिबेलासम्म राष्ट्रले क्रिकेटमा लगानी बढाउनुपर्ने उनको सुझाव छ ।

गाँठो क्यान निलम्बन नै

क्यान निलम्बन भए पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सहयोगमा नेपालको अन्तर्राष्ट्रिय सहभागिता टुटेको छैन । यसरी हेर्दा निलम्बनले त्यत्रो ठूलो असर पुर्‍याएको देखिँदैन । तर निलम्बनपछिका वर्षमा नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न नसकेबाट त्यसको असर कति गहिरो छ भन्ने प्रमाणित गर्छ । नामिबिया र केन्याविरुद्ध घरेलु मैदानमा नेपालले खेलेको खेल पनि आईसीसीको प्रत्यक्ष संलग्नतामा भएको थियो ।

उमेर समूहमा एसीसी यू–१९ र यू–१६ जस्ता अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भएका छैनन् । उमेर समूहमा राष्ट्रिय प्रतियोगिता पनि हुन छाडेका छन् । एकदिवसीय मान्यताको कुरा छाडौँ, आईसीसीको टी–२० मान्यता पाए पनि घरेलु मैदानमा सिरिज गर्ने निकाय नै छैन । हरेक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि आईसीसीको मुख ताक्नुको विकल्प छैन । खेलाडीले पाउने सुविधा पनि संकुचित भएका छन् । बन्द प्रशिक्षण होस् या टोलीमा पर्दा पाउने अन्य सुविधा, खेलाडीले कोसँग के माग्ने भन्नेमा पनि द्विविधा छ । यसअघि हुने गरेको सेन्ट्रल कन्ट्रयाक्टबाट पनि खेलाडी वञ्चित छन् । खेलाडीसँग सम्झौता छ/छैन त्यो पनि थाहा छैन, मासिक तलब दिने भनिए पनि  वर्षौं पछि पाउने अवस्था सिर्जना भएको छ ।

क्रिकेटमा जग बसाल्न उमेर समूहबाटै खेलाडीलाई मौका र प्रोत्साहनको खाँचो हुन्छ, जसका लागि बलियो संघ आवश्यक पर्छ । नियमित प्रतियोगिता, बन्द प्रशिक्षण, अन्तर्राष्ट्रिय एक्सपोजर सबै सन्तुलित ढंगबाट अघि बढाइए र खेलाडीलाई दिनुपर्ने सुविधामा कुनै कन्जुस्याइँ नगरिए मात्रै त्यसले प्रतिफल दिन्छ ।

क्रिकेटमा सफलता पाएका मुलुककै उदाहरण हेर्ने हो भने पनि उमेर समूहबाट राष्ट्रिय टोलीमा आएर योगदान दिने खेलाडी प्रशस्तै छन् । तर हामीकहाँ राष्ट्रिय टोलीमा लामो समयदेखि पुरानै अनुहारको बाहुल्य छ । नयाँ र प्रतिभावान खेलाडीको जन्म भएन भने राष्ट्रिय टोलीमा अटाउन तिनीहरूले राम्रो प्रदर्शनमा जोड र थप दबाब महसुस गर्नुपर्दैन । यसले टोलीको प्रदर्शन खस्कनेमा कुनै शंका छैन ।

युएईसँग राष्ट्रिय टोलीले गत फेब्रुअरीमा खेलेको वान डे र ट्वान्टी–ट्वान्टी सिरिजमा उमेर समूहबाट राष्ट्रिय टोलीमा पुगेका खेलाडीको प्रदर्शन पनि लोभलाग्दो थियो । १६ वर्षमुनिका रोहित पौडेलले भारतका सचिन तेन्दुलकर र पाकिस्तानी शाहिद अफ्रिदीको कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान राखे । त्यस्तै उमेर समूहकै सन्दीप जोराले पनि ट्वान्टी–ट्वान्टी क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड राखे ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का पनि युवा टोलीबाट सिनियरमा छिर्न दबाब बढेको स्वीकार्छन् । एक–दुई खेलमा राम्रो गर्दैमा राष्ट्रिय टोलीमा नपरिने तर निरन्तरको उच्च प्रदर्शनले उनीहरूलाई राष्ट्रिय टोलीमा मौका मिल्ने उनी सुनाउँछन् । भन्छन्, “दुई–चार खेलको प्रदर्शनले मात्रै मूल्यांकन गर्न सकिँदैन । तर हाम्रो युवा टोली राम्रै लयमा छ । यो हामी सिनियरका लागि पनि खुसीको कुरा हो । उनीहरूले निरन्तर दिने दबाबले हाम्रो प्रदर्शन सुधार्न मद्दत गरिरहेको छ ।”

प्रकाशित: वैशाख २४, २०७६