पशुपतिमै पीडित पशु

- सुनिता लोहनी

पशुपति– अर्थात् पशुका मालिक । सबै जनावरको निष्ठाका प्रतिमूर्तिको विशेष पूजाआराधना हुने ठाउँका पशुपन्छीको अवस्था राम्रो हुनुपर्ने हो । तर अवस्था छ, ठीक उल्टो ।

पशुपति विकास कोष, पशुपति क्षेत्र रहेको वडा–८ लगायतका जिम्मेवार निकाय संवेदनशील हुन नसक्दा यी जनावरले दुःख पाएका हुन् ।

आउनुस्, हामी पशुपति परिसरभित्र प्रवेश गरौँ र सेरोफेरो नियालौँ ।

पशुपतिको मूल मन्दिर छिर्नेबित्तिकै सबैभन्दा अगाडि वासुकी नागको मूर्ति देखिन्छ । प्रत्येक नागपञ्चमीमा विशेष पूजा हुने नागराजलाई नढोगी गए शिव रिसाउँछन् भन्ने किंवदन्ती छ ।

त्यही सानो मन्दिरमा दानपेटी रहेको छ भने वासुकीको अलि अगाडि ठूलो पित्तलको बसाह (साँढे) । त्यसको अगाडि उस्तै रूपरङको सानो साँढे छ । शिवको वाहनको रूपमा रहेको साँढेको नित्य पूजा हुन्छ अनि भेटी चढाइन्छ । साँढेसँगै दायाँपट्टि भागमा पवनपुत्र हनुमानको ठूलो मूर्ति छ । कात्तिक र चैतमा वार्षिक दुई पटक हनुमानको विशेष पूजाआराधना गरी व्रत बसी भक्तजनले हनुमान जयन्ती मनाउँछन् ।

हनुमानको मूर्तिसँगै सुन्तला रङको दानपेटी बाकस राखिएको छ, जहाँ भक्तजनले गच्छेअनुसार भेटी चढाउँछन् । पशुपतिको दक्षिण ढोकामा दुइटा भैरवका मूर्ति छन्, उन्मत्त र कीर्तिमुखी भैरव । उन्मत्त भैरवको ठूलो मन्दिर छ । मन्दिरसँगै सुन्तला रङको दानपेटी राखिएको छ । उन्मत्त भैरवको प्रत्येक पूर्णिमामा विशेष पूजा हुन्छ । कीर्तिमुखी भैरव जमिनमा आसीन छन् । भक्तजनले टाउको मात्रै रहेको मूर्तिमाथि दानभेटी चढाउँछन् ।

बाँदर हनुमानका वंशज हुन् । हनुमानको आफ्नै दानपेटी छ, तैपनि पशुपति परिसरका बाँदरले खाना पाउँदैनन् । व्यक्तिगत रूपमा भक्तजनले खुवाए भने मात्र उनीहरूले खान पाउँछन् । नभए भोक मेटाउन मन्दिर आउने दर्शनार्थीले बोकेर ल्याएका खानेकुरा खोसेर खान्छन् । बाँदरको जात नै खोसेर खाने हो भनेर उनीहरूलाई त्यसै छाडिएको सरोकारवाला बताउँछन् । यस्तै हविगत भैरवका वाहन कुकुर तथा स्वयं शिवका वाहन साँढेको पनि छ । पशुपति परिसरमा घुम्ने कुकुरलाई भुस्याहाको दर्जामा राखिएको छ । तिनीहरूलाई तीर्थालु र वरपर घरमा बस्नेहरूले खुवाए भने पाए, नत्र भोकै ।

५० कुकुरलाई चुनचुन बाबा आश्रम र करिब ३५ कुकुरलाई सूर्यघाटमा स्थानीय युवाले पालेका छन् भने साँढे, थारा गाई, बाच्छाबाच्छीलाई ‘मठमन्दिर गाई बाच्छा बचाऊ तथा समाज विकास अभियान’ ले हेरचाह गरिरहेका छन् । संस्थाले काभ्रे र पशुपति परिसरमा नन्दीको रूपमा छाडेका साँढेलगायतका गाईवस्तु करिब २ सयलाई पालिरहेका छन् । कोष कार्यालयको सडकपारि ९ रोपनीमा फैलिएको गौशाला छ, जहाँ २ सयको संख्यामा गाई, साँढे, बाच्छाबाच्छीलगायत जनावर छन् । मारवाडी सेवा समितिअन्तर्गतको यो गौशालाको जग्गा भने पशुपति विकास कोषको हो ।

कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाका अनुसार दानपेटिकामा जम्मा भएको रकम  २६ चैत ०६८ देखि असार मसान्त ०७५ सम्म ६९ करोड ४३ लाख ५१ हजार पुगेको छ । त्यसैगरी साउन ०७५ देखि चैत मसान्तसम्म ८ करोड ३८ लाख ५ हजार ५ सय २५ छ । उक्त रकम पशुपति मन्दिर, वासुकी, हुन्डी, हनुमान, चन्दन वितरण स्थल, विशेष पूजा खर्च, नवग्रहमा चढाइएका रकम तथा जुत्ताचप्पल र शौचालयको दानपेटिकामा संकलित भएको हो । रकम खर्च भएर ०७४/७५ मा कुल २१ करोड रुपैयाँ बचत छ ।

पशुपतिको गौशाला पहिले हालको एयरपोर्ट रहेको ठाउँसम्म फैलिएको छ । त्यहाँबाट कोषलाई बालीसहित १ करोड रुपैयाँभन्दा बढी रकम आउँछ । यति सबै हुँदाहुँदै पनि जनावरको अवस्था भने चिन्ताजनक छ । कोषले आर्थिक वर्ष ०७५/७६ का लागि वन तथा वन्यजन्तु संरक्षण तथा उपचार खर्चका नाममा ३२ लाखको बजेट प्रस्ताव गर्दै छ । ०७४/०७५ मा कोषले यसै शीर्षकका लागि ४० लाख मागेकामा प्राप्त २१ लाख २६ हजार खर्चिएको देखिन्छ । जबकि कोषसँग लाखौँ रुपैयाँ दानभेटीबाट एकै महिनामा आम्दानी हुने गरेको तथ्यांक छ ।

यस्तोमा शान्तिका प्रतीक परेवा, मलेवा मन्दिर दर्शन गर्न आउने श्रद्धालुले ल्याएका गहुँ, मकै, पिठोमा निर्भर छन् । त्यसैगरी भक्तजनकै भरमा कुकुर र बाँदर छन् । यसबारे कोषका सदस्यसचिव प्रदीप ढकालसँग चित्तबुझ्दो जवाफ छैन । भन्छन्, “जनावरलाई दैनिक ३ समय खाना दिइरहेका छौँ । त्यसबाहेक दाताहरूले पनि ल्याएर दिन्छन् ।” तर कोषकै एक कर्मचारी भने कोषले अहिलेसम्म केही दिएको थाहा नभएको दाबी गर्छन् । ढकालले इंगित गरेका दाता भनेका संस्थागत नभई व्यक्तिगत रूपमा दान गर्ने व्यक्ति हुन्, जसले सधैँ समान परिमाणमा खानेकुरा ल्याउँदैनन् । उनीहरूले दिए पशुपन्छीले खान पाए, नत्र छैन ।

सदस्यसचिव ढकालका अनुसार गाईवस्तुका लागि बस्न गौशाला छ भने कुकुरका लागि चुनचुन बाबाको आश्रम । बाँदर तथा चराचुरुंगीका लागि वनकालीको वन छ । सदस्यसचिव ढकालले भनेको गौशाला मारवाडी सेवा समितिले हेरिरहेको छ । उक्त गौशाला राणाकालीन समयदेखि नै मारवाडीले हेर्दै आएका हुन् । नन्दीको जिम्मा ‘मठमन्दिर गाईबाच्छा बचाऊ तथा समाज विकास अभियान’ ले लिइरहेको र केही कुकुरको हेरचाह चुनचुन बाबा र सूर्यघाटले गरिरहेको छ । यी सबैका लागि कोषले जग्गा मात्र दिएको छ, कहिलेकाहीँ उपचारको व्यवस्था ।

त्यसबाहेक छाडा छाडिएका गाईभैंसी बीच सडकमै अलपत्र देखिन्छन् । बाँदर बटुवाले ल्याएका खानेकुरा खोसिदिन्छन् भने कोही बिजुलीको तारमा झुला खेलिरहेका भेटिन्छन् । गाईभैंसीका बाच्छा भोकले कराइरहन्छन् । कुकुर पशुपति मूल प्रवेशद्वार आसपास क्षेत्रमा खानाका लागि भौँतारिरहेका देखिन्छन् । यी दर्दनाक दृश्य पशुपति, गौरीघाट, जयबागेश्वरी वरपर सामान्य बनिसकेका छन् ।

कोष आफैँमा धनी भए पनि यी जनावरको रेखदेख त परै जाओस्, पेटभरि खानासमेत नपाउनुलाई सांसद नरोत्तम वैद्य हदैसम्मको लापरबाही मान्छन् । “सबैले पशुपतिलाई माग्ने भाँडो बनाएका छन् । चाहे त्यो कोष होस् या गाईवस्तु हेर्ने संघसंस्था,” वैद्य आक्रोश पोख्छन् ।

०४६ मा स्थापना भएको कोषलाई पारदर्शी बनाउने उद्देश्यले चैत ०६८ बाट दानपेटिकामा जम्मा हुने रकम बैँकमा राख्न थालियो । पशुपति मन्दिरका मूल भट्ट (पूजारी), भट्टहरू र मूल भट्टका सहयोगी राजभण्डारीहरूलाई तलब दिन सुरु गरियो । कोषका पूर्वसदस्यसचिव गोविन्द टण्डनका अनुसार ०६८ अगाडि मन्दिरको दानभेटी जति चढ्छ, सबै भट्ट र भण्डारी मिलेर खान्थे । पछि उनीहरूलाई तलब दिएर राखियो ।

प्रधानमन्त्री केपी ओलीको प्राथमिकतामा परेका आयोजनामध्येको एक पशुपति क्षेत्र विकास कोषले चार किसिमले बजेट पाउँदै आएको छ । नेपाल सरकारको अनुदान, दानपेटिका, दाता र जग्गाको मुआब्जा मुख्य स्रोत रहेका छन् । ०७४/७५ मा सरकारले दिएको अनुदानसहितको आम्दानी १ अर्ब ११ करोड ४४ लाख ५० हजार रुपैयाँ रहेको छ । हुन त यो पशुपति क्षेत्रको सम्पूर्ण विकास निर्माण तथा सञ्चालनका लागि हो । तर सरकारले दिएको अनुदान पनि पूर्ण खर्च गर्न नसक्दा रकम सरकारी कोषमै फिर्ता जाने गरेको कोषका लेखा अधिकृत चन्द्र खनाल बताउँछन् । भन्छन्, “खरिद ऐन–नियम प्रक्रिया झन्झटिलो छ, सरकारको अनुदान निर्माण कार्यबाहेक अन्त खर्च गर्न पाइँदैन, त्यसैले कार्यक्रम ढिला हुन्छन् ।”

लगनखेलदेखि आएकी नन्ददेवी खड्का मन्दिरमा रहेका पशुपन्छीलाई खुवाउनु धर्म ठान्छिन् । उनी प्रश्न गर्छिन्, “कोषले दिएको भए यिनीहरू यस्तो दुब्ला पातला हुन्थे ?” बजेटमा यी पशुपन्छीका लागि बन्दोबस्त भए पनि यथार्थ फरक पाउँछिन् अभियानकी उपाध्यक्ष विनिता रम्तेल । “५ वर्षदेखि काम गर्दैछु । कोषले केही दिँदैन । पशुपतिमा वर्षमा एउटा नन्दी छाड्ने भनिए पनि मानिसले ४/५ वटा नन्दी छाड्छन् । तिनका लागि चारो, दानापानी सबै हामी गर्छौं । कोष त अझ आएर यहाँबाट जान दबाब दिइरहन्छ । एउटा नन्दीका लागि १ वर्षकै दानापानी पनि आउँछ तर हामीलाई कोषले नुनसम्म पनि दिएको थाहा छैन,” रम्तेल थप्छिन् ।

२ सय ६४ हेक्टर क्षेत्रफल ओगटेको पशुपति क्षेत्र धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ । संस्कृतिविद्समेत रहेका टण्डन भन्छन् “जलचर, स्थलचर र जैविक वनस्पतिका लागि यो अत्यन्त महत्त्वपूर्ण क्षेत्र हो । यसको जगेर्ना गर्ने गुरुयोजना कोषसँग छैन ।”

सदस्यसचिव ढकाल भने अबको ४/५ महिनामा ९० वर्षका लागि सोचेर पशुपति कस्तो बनाउने भनेर नयाँ गुरुयोजना आउने दाबी गर्छन् । विडम्बना ! गुरुयोजना नबनाई निर्माण कार्य भने पशुपति परिसरमा भइरहेकै देखिन्छ । वनकाली प्रांगणमा प्लास्टर गर्दै ढुंगा छापिएको छ । यसको जरुरत छ/छैन, कोषले सरोकार राखेको देखिन्न । ढकाल ३२ साउन ०७४ मै कोषमा सदस्यसचिव नियुक्त भएका हुन् ।

त्यसो त कोषसँग पाशुपत क्षेत्रमा रहेका बाँदर, कुकुर, गाईवस्तु, परेवा, मलेवाको यकिन तथ्यांक छैन । कतिपय बाँदर जयबागेश्वरी, गौरीघाटमा रहेका बिजुलीको तारमा झुला खेल्दा करेन्ट लागेर घाइते हुन्छन् । कतिले खाना खोज्ने क्रममा आसपास क्षेत्र पुरानो बानेश्वर, चाबहिलसम्म पुगेर बटुवा एवं पसलमा विध्वंस मच्चाउने गरेका छन् । बाँदरले बिगार गरेको गुनासाबारे सदस्यसचिव ढकाल निर्धक्क भन्छन्, “पशुपति सबैभन्दा पहिले बाँदरको हो । कोषले चाहे आसपासका क्षेत्र अधिग्रहण गर्न सक्छ ।” पशुपति बाँदरको क्षेत्र हो भने तिनीहरूको नाममा चढेको भेटी किन उनीहरूकै नाममा खर्च गर्न सक्दैन कोष ?

जयबागेश्वरीको व्यस्त सडकमै पशुपति क्षेत्रका साँढे जुनसुकै बेला हिँडिरहेका हुन्छन् । यसले जनावरलाई मर्का त परेको छ नै, ट्राफिक आवागमनमा पनि प्रतिकूल असर परिरहेको छ । कैलाशमा १ महिनाअघि साँढे र गाई बहुलाएर मरेको उपाध्यक्ष रम्तेल सम्झन्छिन् । “हामीले थाहा पाउँदा ढिलो भइसकेको थियो । सबैलाई यहाँ राख्न सक्दैनौँ । छाडा छाडिएका कुकुरले टोक्दा घाउ भएरै मर्छन् ।”

पशुपतिका जनावरको उचित व्यवस्थापनका लागि सम्बन्धित निकाय पशुपति क्षेत्र विकास कोष त मौन छ नै, अन्य सरोकारवालाले पनि त्यति सरोकार राखेको देखिन्न । चारो खाइरहेका परेवालाई भुर्र उडाएर युवाहरू फोटो खिचिरहेका देखिन्छन् । “यिनमा चराचुरुंगीले खाइरहेका बेला डिस्टर्ब गर्नुहुँदैन भन्ने संवेदनशीलता छैन,” कोषका सुरक्षा जवान नारायणप्रसाद खतिवडा गुनासो पोख्छन् ।

पाशुपत क्षेत्रमा बिरामी हुने गाईवस्तु, कुकुर तथा बाँदरको लामो समयदेखि उपचार गर्दै आएका डा श्रीराम अधिकारी कोषको नियम पशुकै लागि अहितकारी भएको टिप्पणी गर्छन् । भन्छन्, “अहिले पशुपति दर्शनका लागि बाहिरै जुत्ता खोलेर जानुपर्छ । पशुपति परिसरका जनावर निरोगी रहेको कुनै ग्यारेन्टी छैन । खोरेतजस्ता प्राणघातक रोग लाग्न सक्छन् । यस्तो जीवाणु सजिलै मानिसको पैतालाबाट सर्न सक्छ । त्यसैगरी भक्तजन घर चोखाउन अनि पिउन पनि गौमूत्र लैजाने चलन छ । त्यसबाट पनि सर्न सक्छ ।”

पशु क्वारेन्टाइन कार्यालय प्रमुखसमेत रहेका डा अधिकारीका अनुसार पिउनका लागि बाँदरलाई गौरीघाटमा प्रशोधित पानी, ठाउँ–ठाउँमा झुल्ने झुला बनाइदिने र समय–समयमा खाना खुवाउन कोषले सोच्नुपर्छ ।

तस्बिरहरु : सरोज बैजु

प्रकाशित: वैशाख २३, २०७६