जोखिमको पर्खाइ

- यम बम

 

उत्तरी सीमा नाका तातोपानी–बाह्रबिसे सडक भत्काउने गरी भोटेकोसी नदीमा बाढी आयो, २१ असार ०७३ को राती । निर्माणाधीन मध्य भोटेकोसी जलविद्युत् आयोजनालाई समेत क्षति पुर्‍याउने गरी आएको बाढीले कैयौँ घर बगायो ।

विनासकारी बाढी आउनुपूर्व नेपाली प्रशासनले आकलन त गर्न सकेन नै, बाढीले क्षति पुर्‍याउँदासमेत कारण थाहा पाउन सकेन । बाढीको कारण थियो, मितेरी पुलभन्दा २० किलोमिटरमाथि जाङजाम्बो हिमतालबाट १२ सय मिटर उत्तरमा रहेको एउटा सानो हिमताल फुट्नु । भूगर्भविद् श्रीकमल द्विवेदीको अध्ययनअनुसार तिब्बतमा रहेको उक्त हिमताल फुट्दा २ लाखदेखि साढे २ लाख घनमिटर पानी बाहिरिएको थियो ।

तिब्बतका हिमताल फुटेर भोटेकोसीमा बाढी आएको यो पहिलो घटना थिएन । ०७३ मा फुटेको हिमताल नजिकको जाङजाम्बोसमेत भनिने शेरेमाचो हिमताल (सन् १९६४ र सन् १९८१) गरी २ पटक फुट्दा नेपाल र तिब्बतमा गरी तीन वटा पुल बगायो भने सुनकोसीमा बाढी उर्लिंदा ४० घर संख्या रहेको पुरानो बाह्रबिसे बजार नै बगाएको थियो ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले हालै गरेको अध्ययनअनुसार भोटेकोसीमाथि रहेका सानाठूला गरी १ सय ७३ हिमतालमध्ये लुमुचिमी र गाङ्सीच्छो गरी ४ वटा जोखिमयुक्त हुन् । ती ताल जतिखेर पनि फुट्न सक्छन् । तर अन्तरदेशीय सूचना आदानप्रदान संयन्त्र त परै जाओस्, कतिपय जोखिमयुक्त क्षेत्रमै पूर्वसूचना प्रणालीका लागि राडार जडान गरिएको छैन । जलवायु परिवर्तन विशेषज्ञ अरुणभक्त श्रेष्ठ भन्छन्, “हामीकहाँ अन्तरदेशीय पूर्वसूचना प्रणालीको विकास नै भएको छैन, जसले तिब्बतमा हिमताल फुटेर बाढी आउँदा पनि कारण थाहा हुँदैन ।”

इसिमोडको अध्ययनमा हिमताल फुटेर भोटेकोसीमा बाढी आए १६ हजार जनसंख्या प्रभावित हुन सक्छ भने ३ हजार २ सय ७१ रोपनी खेतबारीमा असर पुग्न सक्छ । ४ अर्ब डलर बराबरको क्षति हुन सक्छ । किनकि भोटेकोसी जलाधारमा जलविद्युत् आयोजनासँगै थुप्रै भौतिक संरचना बनेका छन् ।

हिमताल विस्फोट हुने मुख्य दुइटा कारण देखिन्छन् । पहिलो, हिमपहिरो वा चट्टान तालमा खसेमा फुट्न सक्छ वा बाँधमाथिबाट पानी बाहिर जाने हुन्छ । दोस्रो, कमजोर बनोटमा बनेका तालको बाँध फुट्न सक्छ । भूगर्भविद् द्विवेदी भन्छन्, “हिमताल विस्फोट हुँदा आउने बाढीको बहाव अन्य बाढीभन्दा ज्यादै ठूलो हुन्छ, यसले जमिन काट्ने वा ठूल्ठूला भौतिक संरचनासमेत बगाएर लैजान्छ ।”

हिमताल विस्फोटबाट आउने बाढीको बहावको घनत्व १ दशमलव ४७ टन प्रतिघनमिटर अनुमान गरिन्छ । आकारमा ठूला रहेका हिमताल फुटे ढुंगासमेत बगाएर ल्याउने र त्यसले १ सय किलोमिटरसम्म क्षति पुर्‍याउन सक्छ ।

नेपाललाई समेत असर पुर्‍याउने यस्ता हिमताललाई कोसी, गण्डकी र कर्णाली जलाधारमा समावेश गरिएको छ, जसको संख्या ३ हजार ६ सय २४ छ । त्रिशूली सहायक जलाधारमा यसअघि जोखिमयुत्त हिमताल उल्लेख नभएकामा अहिले एउटा नेपाल र एउटा तिब्बतमा गरी दुइटा समावेश छन् ।

७ वैशाख ०७४ मा संखुवासभास्थित जलाधार क्षेत्रमा रहेको लाङमाले हिमताल फुट्दा बरुण नदीमा गेग्रानसहितको बाढी आयो । फलस्वरूप भोटखोला गाउँपालिकास्थित स्याक्सिलामा अरुण नदी घन्टौँ थुनियो । बरुण नदी अरुणमा मिसिन्छ । नदी थुनिँदा करिब ३ किलोमिटर चौडा ताल बन्यो भने बरुण बजारका ४ घरमा क्षति पुग्यो ।

लाङमाले नेपालको हिमाली क्षेत्रमा रहेको निकै सानो हिमताल हो । नेपालको हिमाली क्षेत्रमा मात्र सानाठूला गरी २ हजार ७० हिमताल छन् । दुर्भाग्य ! तल्लो बरुण हिमताल फुटेको भए त्यसको असर संखुवासभा मात्र होइन, सप्तकोसीमा बाढी आउन सक्थ्यो । तटीय क्षेत्र सुनसरीका बस्तीमा हुने क्षतिलाई पनि नकार्न सकिँदैन ।

इसिमोडले सन् २०११ मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लिखित अतिजोखिमयुक्त ६ हिमतालमध्येको एउटा हो, तल्लो बरुण । पछिल्लो अध्ययनअनुसार तल्लो बरुण हिमताल विस्फोट भए ५० हजार जनसंख्या प्रभावित हुन सक्छ ।

आकार र बनोटका आधारमा अतिजोखिमयुक्त ठानिएका नेपालका ६ हिमतालमा च्छोरोल्पा, तल्लो बरुण, इम्जा, लुम्दिङ, पश्चिम चामजाङ र थुलागी छन् । तर जल तथा मौसम विज्ञान विभागले तल्लो बरुण हिमतालको जोखिम अध्ययन र पूर्वसूचना प्रणाली जडानका लागि बजेट माग गर्दा अर्थ मन्त्रालयले हालै ३५ लाख रुपैयाँ मात्र विनियोजन गरेको छ, जुन मागको करिब आधा मात्र हो ।

विभागले जोखिम अध्ययनका लागि ३० लाख र पूर्वसूचना प्रणाली जडान गर्न ३० लाख गरी ६० लाख बजेट मागेको थियो । अर्थले भने जोखिम अध्ययनका लागि २० लाख र पूर्वसूचना प्रणाली जडान गर्न १५ लाख विनियोजन गरेको हो । यसले प्रस्ट पार्छ, विपद्पछि मात्र ध्यान दिने सरकार जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीका लागि कति संवेदनशील छ ।

तापक्रम वृद्धि हुँदा हिमनदी माथितिर सर्न थाल्छन् भने हिमनदीबाट पग्लेर आएको पानीलाई मोरेन (जसले बाँधको काम गर्छ) ले रोक्छ । यसरी जम्मा भएको पानी हिमतालको रूपमा परिणत हुन्छ । अर्को हिमनदीलाई छेकेर पनि हिमताल बन्ने गर्छन्, यस्तो हिमताललाई बरफ अर्थात् हिउँको बाँध भएको हिमताल भन्ने गरिन्छ ।

जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विक्रम श्रेष्ठ भन्छन्, “हिमनदीको हिउँ छिटोछिटो पग्लिँदा हिमताल बढी बन्ने गर्छन् । पानीमा हिमपहिरो गयो वा भूकम्पका कारण छचल्किए, ताल आफैँ ठूलो भएर त्यसमा पानीको आयतन बढे हिमताल फुट्ने जोखिम उच्च हुन्छ ।’ हिउँ पग्लने प्रक्रिया बढ्दै जाँदा हिमतालको क्षेत्रफल पनि बढ्दै जान्छ । तर हिमतालको बाँध त्यति बलियो हुँदैन, त्यसैले मोरेन बाँध भएका हिमताललाई खतराको रूपमा लिइन्छ ।

जोखिम उस्तै

१६ हजार ४ सय फिट उचाइमा रहेको सोलुखुम्बु इम्जा हिमतालको पानीको ३ दशमवल ४ मिटर सतह घटाइयो, १७ चैत ०७२ देखि ९ असोज ०७३ सम्म । उच्च जोखिमयुक्त भनेर पहिचान भएका ६ तालमध्येको एउटा इम्जाको पानी दूधकोसीमा निकास गरियो । सवा १ किलोमिटर क्षेत्रफलमा फैलिएको र डेढ सय मिटर गहिरो हिमतालको पानी घटाउन विश्व वातावरण कोषले लगानी गरेको थियो । पानीको सतह घटाउने काम नेपाली सेनाले गरेकामा इम्जामा पूर्वसूचना प्रणालीका लागि राडारलगायतका उपकरण जडान गरिएको छ ।

इम्जा हिमतालमा ७ करोड ५२ लाख घनलिटर पानी रहेको अनुमान छ । यो ताल फुटे सोलुखुम्बुको छेवाङ र नाम्चे बजारसहित, ओखलढुंगा, उदयपुर, सिरहा, सप्तरी र महोत्तरीका ५० हजार बासिन्दा प्रभावित हुने सम्भावना थियो । इम्जाजस्तै अधिकांश हिमताल सन् १९५० पछि बनेका हुन् । यी हिमतालको बनोट नै कच्चा र जोखिमयुक्त हुन्छ ।

दोलखाको गौरीशंकर हिमशृंखलामा रहेको च्छोरोल्पा हिमतालको सतह त्यसअघि नै घटाइसकिए पनि जोखिम कायमै छ । हाल रोल्वालिङ खोला र तामाकोसी नदी किनारामा विस्फोट खतराबारे पूर्वसूचना दिने अत्याधुनिक यन्त्र जडान गरिएको छ । 

पूर्वचेतावनी सूचना प्रणालीको सेन्सरले निर्धारितभन्दा खोला किनारामा पानीको सतह बढ्यो भने बाढी आउने खतराको जानकारी जीएसएम र स्याटेलाइटका माध्यमबाट एसएमएस तथा इमेलमार्फत प्रवाह गर्छ । नेपालमा रहेका ठूलामध्येका ती हिमतालको पानीको सतह घटाइए पनि पूर्ण रूपमा जोखिम टरेको छैन । हाइड्रोलोजिस्ट श्रेष्ठ भन्छन्, “पानी घटाउँदैमा जोखिम छैन भन्न मिल्दैन । यो एउटा चरण मात्र हो ।”

च्छोरोल्पा र इम्जामा रहेको प्रविधिले ताल फुटे मात्र सूचना प्रवाह गर्छ । सेन्सर राडार पानीभन्दा माथि हुन्छ, जसले पानीको मापन गर्छ र अर्को अटोमेटिक राडार छ, पानीले खतरासम्म पुगेमा साइरन बज्छ । हाइड्रोलोजिकल मोडल छैन । नदीमा गेग्रान कति मात्रामा आएपछि हिमताल फुटेको हो भन्न सकिने अवस्था छैन, अनुमानका भरमा भन्नुपर्छ ।

पछिल्लो पटक जोखिममा रहेका भनिएका हिमतालको थप स्थलगत अध्ययन र जोखिम न्यूनीकरण तथा समुदायमा आधारित पारिस्थितिकीय प्रणालीसँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि पहल थालिएको छ । हिमनदी र हिमताल स्वच्छ पानीका स्रोत हुन् । तर तटीय क्षेत्रका नागरिक विपद्को जोखिममा रहन्छन् ।

“क्षतिका दृष्टिले ठूला हिमताल जोखिमपूर्ण नै मानिन्छन्, तर ससाना हिमताल बन्ने क्रम बढिरहेको छ,” लामो समयदेखि हिमतालको अवस्थाबारे अध्ययन गरिरहेका द्विवेदी भन्छन्, “पछिल्ला घटना हेर्दा साना हिमताल त्यत्तिकै जोखिमपूर्ण छन् । त्यसैले सानालाई ठूलो हुन नदिन पानी निकास गरिहाल्नुपर्छ ।” विज्ञका अनुसार हिमनदी छेउमा बन्दै गरेका हिमतालले आकार विस्तार गर्दै जाँदा हिमनदी पछाडि धकेलिन्छन् भने ससाना हिमतालले संयुक्त आकार लिने सम्भावना उत्तिकै हुन्छ ।

तापमान बढ्दो

इसिमोडले २१ माघ ०७५ मा प्रतिवेदन सार्वजनिक गर्दै ‘विश्वव्यापी रूपमा तापक्रम वृद्धिका कारण सन् २१०० सम्म दुई तिहाइ बढी हिमनदी पग्लिएर सकिने चेतावनी दियो । उसको अध्ययनले भन्छ, “विश्वव्यापी तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियस रहे हिन्दुकुश क्षेत्रका हिमनदी एक तिहाइ पग्लिनेछन् भने औसत वृद्धि २ डिग्री सेल्सियस हुन गए हिमनदी दुई तिहाइ सुक्नेछन् ।”

१२ डिसेम्बर २०१५ मा फ्रान्सको पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा विश्वव्यापी तापक्रम वृद्धि २ डिग्री सेल्सियसभन्दा कम राख्ने तथा १ दशमलव ५ डिग्रीभन्दा माथि बढ्न नदिने उल्लेख छ । विडम्बना ! अत्यधिक कार्बन उत्सर्जन गर्नेमध्येको एउटा देश अमेरिकाले सन् २०१७ मा जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएको घोषणा गरेको थियो ।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकाय (आईपीसीसी) को पछिल्लो प्रतिवेदनअनुसार पेरिस सम्झौताअनुरूप विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढी बढ्न नदिए एक सय वर्षमा एक वर्ष हिउँ पर्दैन । तर विश्वव्यापी तापक्रम २ डिग्री पुगे प्रत्येक १० वर्षमा १ वर्ष हिउँ नपर्ने हुन्छ । इसिमोडका कार्यक्रम व्यवस्थापकसमेत रहेका श्रेष्ठ भन्छन्, “तापक्रम वृद्धि हुँदा हिमनदी तीव्र गतिले पग्लिरहेका छन् भने हिमतालको संख्या बढ्दै छ । यसको मुख्य भूमिका जलवायु परिवर्तनको देखिन्छ ।”

इसिमोडका अनुसार नेपालको तापक्रम वृद्धिको दर वार्षिक अधिकतम ०.०५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ०.००२ डिग्री सेल्सियस छ । कतिपय अध्ययनले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको दृष्टिले नेपाल विश्वमै छैटौँ स्थानमा छ । वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख महेश्वर ढकाल भन्छन्, “जलवायु परिवर्तन आफैँमा समस्या हो । तर यसलाई अवसरका रूपमा ढालेर अनुकूलनका लागि पुँजी र प्रविधिको सहायता लिन सक्नुपर्छ ।” ढकालको भनाइमा हिमताल फुट्न सक्ने विषयलाई नजरअन्दाज गरेर पूर्वसूचना प्रणालीको विकास गर्नुको विकल्प छैन ।

विज्ञहरू तापमान वृद्धिसँगै नेपालमा हिमताल झन् बढिरहेका बेला पारिस्थितिकीय प्रणालीमा आधारित प्रणाली नै दिगो र प्रभावकारी हुने बताउँछन् । “बढीभन्दा बढी सिमसार बनाउने, वनजंगल जोगाउने र तापक्रम बढ्न नदिने नै समस्याको समाधान हो, नेपालले मात्र गरेर हुँदैन विश्व समुदाय जुट्नुपर्छ,” वातावरणविद् टोप खत्री भन्छन् ।

प्रकाशित: वैशाख २३, २०७६

ट्याग: हिमताल