[सम्पादकीय] शेर्पा बहुमूल्य ब्रान्ड

- बसन्त बस्नेत

यतिबेला साढे तीन सयभन्दा बढी आरोही सगरमाथा क्षेत्रमा छन्, अनुकूलता मिल्नासाथ चुली चुम्ने अभिलाषासहित । आरोहण खुलेका अन्य हिमालमा पनि पारखीका पाइला पुगिसके । कति चढेर फर्किसके, कति पर्खिबसेका छन् । भूगोलकै उच्चतम बिन्दुमा पुग्नु आफैँमा रोमाञ्चक र अविस्मरणीय भोगाइ हुन्छ ।

सन् १९५३ मा नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले सगरमाथाको टुप्पो टेकेपछि यस्तो अनुभव लिनेहरू बढे । सन् १९८७ मा नेपालले सगरमाथामा एकै याममा एकभन्दा बढी आरोहण दललाई अनुमति दिन थालेपछि शेर्पाले यसलाई पेसाका रूपमा अपनाउन थाले । नेपाल नचिन्नेहरूले पनि सगरमाथालाई चिन्न थाले । सगरमाथा जानेपछि नेपाल नजान्ने कुरै भएन । यसरी विश्व मानचित्रमा सानो आकारको मुलुक नेपाललाई हिमाल आरोहणले चिनायो । हिमाल आरोहणलाई सगरमाथा फेदीका बासिन्दा शेर्पा जातिले संसारभर फैलाए । आरोहणमा दर्जनभन्दा बढी कीर्तिमान शेर्पाकै हातमा छ । यसले उनीहरूको आरोहण कौशल र दक्षता दर्शाउँछ । यस अर्थमा शेर्पा समुदाय हाम्रो अन्तर्राष्ट्रिय चिनारी हो । ब्रान्ड हो । सम्पत्ति हो ।

विश्वबजारमा नेपाली ब्रान्ड बिरलै छन् । त्यही बिरलै ब्रान्ड हो, शेर्पा । नेपालमा पर्वतारोहणको उद्गमदेखि नै शेर्पाले विश्वबजारमा विश्वास कमाए, जुन आजपर्यन्त छ । पर्वतारोही, त्यसमा पनि सगरमाथा आरोहीलाई बाह्य मुलुकले सहजै प्रवेश दिन्छन् । यसले दुइटा अर्थ बोक्छ । पहिलो, आरोहीप्रतिको उच्च सम्मान । दोस्रो, यो सम्मानलाई नेपालले कूटनीतिक औजारका रूपमा सदुपयोग गर्न सक्छ । खालि कूटनीतिक कौशलको खाँचो छ । बेलैमा बुद्धि नपुर्‍याउने हो भने शेर्पाहरूको यो अदम्य साहस र मुलुकको सम्पत्ति कुनै कालखण्डमा कथा बनेर टुंगिन बेर छैन ।

पर्वतारोहणमा शेर्पा जातिको नयाँ पुस्ता जसरी अनिच्छुक देखिरहेको छ, त्यसलाई हामीले खतराको घन्टीको रूपमा स्वीकार्नुपर्छ । सरकारी निकाय र पर्वतारोहण सम्बद्ध संस्थाको आँकडा केलाउँदा दूर भविष्यको यस्तै दुर्दशा देखियो । आरोहणमा शेर्पा जाति आउने क्रम अहिले प्रतिशतमा थोरै देखिए पनि कुनै पनि बेला यसले रफ्तार लिन सक्छ । नेपालकर्मी मनबहादुर बस्नेतको आवरण कथामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको अनुभव बोल्छ, “पहिले शेर्पाहरू हिमाल चढ्ने काम खोज्दै एजेन्सीमा वर्ष दिन अघिदेखि नै धाउँथे । अहिले हामी (एजेन्सी) ले बुक गर्नुपर्छ ।”

त्यसो त नेपाल जातीय विविधतायुक्त छ । पर्वतारोहणमा अन्य जातिको प्रवेश सुनमा सुगन्ध हो । यसमा सबैको अंशियार हुनुपर्छ । तर शेर्पा ब्रान्डलाई जोगाउनु पनि मुलुकको उत्तिकै दायित्व हुनुपर्छ । यही ब्रान्डमाथिको विश्वासको जगमा पर्वतारोहण चम्किएको भुल्नु हुँदैन, नीति निर्माताले । यसका लागि शैक्षिक नीति, भौतिक सुविधामा पुनर्विचार गर्नुपर्छ । उच्च हिमाली क्षेत्रको शिक्षालाई ‘विशेष’ बनाउनुपर्छ । अनि मात्रै शेर्पाको आउँदो पुस्ता त्यहीँ शिक्षित–दीक्षित हुन्छ । सहजताको खोजी मानिसको जन्मजातै गुण हो । यसलाई रोक्न कठिन छ । कम्तीमा पनि कीर्तिमानधारीलाई सुविधा दिलाउन सके उनीहरूलाई मातृभूमिले सम्मान दिएको अनुभूति हुनेछ । आफ्नो पहिचान राज्यले स्वीकारेको ठान्नेछन् ।

एकै सिजनमा पर्वतारोहणबाट राज्यले ५० करोड रुपैयाँ कमाउँछ । यसको केही अंश कीर्तिमानीका लागि छुट्याउन सकिन्छ । यसले शेर्पाको नयाँ पुस्ता अडिन सक्छ । अन्तर्राष्ट्रिय पर्वतारोही पथप्रदर्शकले कम्तीमा अहिलेभन्दा तेब्बर बढी कमाउन सक्छन् । शिक्षित सन्तति आए भने आम्दानी पनि बढ्नेछ । 

मुलुक चिनाउने बहुमूल्य ब्रान्ड जोगाउनेबारे नीति निर्माताहरू घोत्लिनैपर्छ ।

प्रकाशित: वैशाख २२, २०७६