माथि जेट, तल मिनीबस ?

- सुरेश किरण

दुइटा दल एउटा बनेपछि नेपाल कम्युनिस्ट पार्टीलाई सबैभन्दा ठूलो सकस परेको विषय हो, जिल्लाको एकीकरण । जति गर्दा पनि एकीकरण हुन सकिरहेको थिएन । त्यो पनि अस्ति बल्ल सकायो । नेताहरुलाई हाइसञ्चो भएको छ । तर कार्यकर्तालाई भने तनाव छ । किनभने यो एकीकरणले कार्यकर्ताबीच उथलपुथल ल्याइदिएको छ । कार्यकर्ता यताको उता, उताको यता छ्यालब्याल भएका छन् । अध्यक्ष खान खोजिरहेकालाई सचिव बनाइएको छ । सचिवमा आँखा गाडेकालाई अध्यक्ष बनाइएको छ ।

यो काम सकिएपछि नेताहरुले भने, “फलामको ढोका पार गरियो ।”

तर एउटा वरिष्ठ कार्यकर्ताले भने, “त्यो फलामको ढोका होइन । नेताहरुले नै त्यसलाई फलामको ढोका बनाइदिएका हुन् ।”

“कसरी ?” कुरा नबुझेर अर्का कार्यकर्ताले सोधे ।

“वास्तवमा एकीकरण सजिलो थियो,” वरिष्ठ कार्यकर्ताले विश्लेषण सुरु गरे, “जिल्लामा अध्यक्ष खान खोज्नेहरु धेरै छन् । तर पार्टीले काइदा जानेन । पार्टीको केन्द्रीय समितिमा अहिले कति जना अध्यक्ष छन् ? दुई जना । केन्द्रमा दुई अध्यक्ष भएपछि जिल्लामा पनि दुई–दुई जना नै अध्यक्ष राखिदिएको भए समस्यै हुने थिएन ।”

“तर दुई जना अध्यक्षले जिल्ला कसरी हाँक्छन् त कमरेड ?” अर्का कार्यकर्ताले कपाल कन्याए ।

वरिष्ठ कार्यकर्ताले भने, “केन्द्र जसरी हाँक्छन्, जिल्ला पनि त्यसरी नै हाँक्छन् । दुई जना अध्यक्ष भएर आजसम्म केन्द्रमा कुनै समस्या आएको छैन भने जिल्लामा कसरी आउँछ ? आखिर दुई जना अध्यक्ष राखेर पनि पार्टी राम्रै हाँक्न सकिन्छ भन्ने कुरा त केन्द्रले प्रमाणितै गरिसक्यो नि । नेताहरु दुइटा पाइलट चाहिने जेट चलाएर उड्ने, अनि कार्यकर्तालाई चाहिँ एउटा ड्राइभर, एउटा खलासी दिएर मिनीबस चलाऊ भन्ने ?”  

यसो भन्दा वरिष्ठ कार्यकर्ताको जीउ काँपिरहेको थियो । अर्का कार्यकर्ता उनको जीउ हेरिरहेका थिए ।

प्रकाशित: वैशाख २०, २०७६

ट्याग: परिहास