'यी मूर्तिहरू पास गर्नुपर्‍यो’

- हरिराम जोशी

निजामती सेवामा पहिलो पटक नेपाल म्युजियम छाउनीमा हाकिम (किपर) मा खटिएँ, ०२३ तिर । त्यहाँ पहिल्यै हाकिमका रुपमा प्राविधिकतर्फ म्युजिओलिस्ट वारकृष्ण श्रेष्ठ थिए । एउटै शाखामा दुइटा हाकिम भएपछि श्रेष्ठ प्राविधिकतर्फका प्रशासन प्रमुख भए भने म मचाहिँ सांस्कृतिक शाखा प्रमुख ।

नेपाल म्युजियमको मुख्य कार्यादेश प्राचीन मूर्ति/वस्तु मालपास गराउने थियो । ललितपुर, काठमाडौँ र भक्तपुरमा मूर्ति बन्थे । पुराना मूर्ति विदेश बेच्न पुरातत्व विभाग र नेपाल म्युजियमबाट मालपास गर्नुपर्ने प्रावधान थियो ।

नेपाल म्युजियममा विदेशीहरु पुराना मूर्ति खरिद गरेर मालपास स्वीकृतिका लागि आउँथे । स्वदेशी व्यापारी पनि विदेशीले दिएका अर्डर पास गराउन आउँथे । हामी दुवैको कामचाहिँ अफिसमा आएका मूर्ति पुरानो/नयाँ भए/नभएको खुट्याएर अन्तिम स्वीकृति मालपास दिनुपर्ने हुन्थ्यो । मूर्ति मालपास गराइदिने कुनै संयन्त्र थिएन । विषयविज्ञताको नाताले म संस्कृति विषयको ज्ञाता र वारकृष्ण म्युजियम (मूर्ति) विशेषज्ञ रहेकाले खासै समस्या पर्दैनथ्यो । त्यही आधारमा हामीले विदेशी/स्वदेशी व्यापारीलाई मूर्ति मालपासको अनुमति दिन्थ्यौँ ।

नेपाल म्युजियमका कोठा धातुका मूर्तिले भरिएका हुन्थे मालपासका लागि । हामीले नयाँ मूर्ति भए तत्कालै मालपास अनुमति दिन्थ्यौँ । प्राचीन भए विदेशमा बेच्नका लागि स्वीकृति दिँदैनथ्यौँ । नयाँ/पुराना मूर्ति १० हजारदेखि लाखौँ रुपैयाँसम्म पर्थे । विदेशमा बिक्री गर्न ल्याइएका पेन्टिङ पनि लाखौँ मूल्यसम्मका हुन्थे ।

अचम्म के भने एकपटक चुलेसी थियो, सूर्य आकृतिको । त्यसमा सरस्वती/भगवतीको बुट्टेदार चित्रअंकित थियो । पुरातत्वले माल पास गरिदिएन । तर त्यही मालपासको जिम्मेवारीमा रहेका एक कर्मचारीले त्यसलाई १० हजारमा खरिद गरेछन् । पछि उनले त्यो मूर्ति विदेशीलाई नै बेचे होलान् । यस्तो हुन्थ्यो मूर्ति बेचबिखन गर्दा । त्यसैले नेपाल म्युजियमलाई माल अड्डा पनि भन्थे ।

पुराना मूर्ति बेच्न निषेध भए पनि केही कर्मचारीले पैसा खाएर मालपास गरिदिँदा रहेछन् । तर हामीले त्यस्तो गतिविधिलाई पूर्णतः निषेध गर्‍यौँ । नेपाल म्युजियमको कडाइका कारण पुराना मूर्ति बेच्नेहरु त्रस्त भए । त्यसैले हुनुपर्छ, ०२३ मै मूर्ति मालपासको जिम्मा नेपाल म्युजियमबाट खोसेर पुरातत्वमा सारियो । हामीले त्यसलाई निरन्तरता दिन पाएनौँ । मूर्ति मालपासको जिम्मेवारीबाट बलात् हट्नुपर्‍यो ।

मूर्ति मालपास गर्दा एक पटक अनौठो घटना बेहोर्‍यौँ हामी दुई जनाले । एक अमेरिकी महिला ५–६ सय गोटा धातुका मूर्ति विदेश लैजान कार्यालय आएकी थिइन् । हामीले ती अमेरिकी महिलाले ल्याएका मूर्तिमध्ये अधिकांश मालपास गरिदियौँ । केही मूर्ति भने धेरै पुराना भएकाले रोकिदियौँ ।

अमेरिकी महिलाले ल्याएका केही मूर्ति सय वर्षभन्दा पुराना थिए । सय वर्षभन्दा पुराना मूर्ति विदेश निर्यातमा प्रतिबन्ध छ, प्राचीन वास्तुकलासम्बन्धी ऐनमा । हामीले ती महिलालाई यसबारे जानकारी गरायौँ । त्यस दिन उनी मालपास भए/नभएका मूर्तिको खेप गाडीमा हालेर फर्किइन् ।

अर्को दिन हामी दुवै कार्यालयमा काम गर्दै थियौँ । बिहान ११ बजेतिर राजा महेन्द्रका कान्छा भाइ वसुन्धरावीरविक्रम शाह नेपाल म्युजियमको अफिसमा टुप्लुक्क आइपुगे । हामी अक्क न बक्क पर्‍यौँ । के कामका लागि आए होलान् भन्ने जिज्ञासा पलायो ।

खासमा हामीले प्राचीन भनेर मालपास नगरिदिएका मूर्तिको अन्तिम स्वीकृति दिन अमेरिकी महिलालाई सँगै लिएर आएका रहेछन् उनी । ती मूर्ति वसुन्धराकै गाडीमा रहेछन् । गाडीबाट ओर्लनेबित्तिकै सरासर हामी दुई जनाको कार्यकक्षमा आएर वसुन्धराले पास नगरिएका ती मूर्ति देखाउँदै भने, ‘यी मूर्तिहरु पास गर्नुपर्‍यो ।’

दरबारिया शासनको रजगजका बेला हामीले वसुन्धराको आदेश नमान्ने कुरै भएन । दुवै जनाले अमेरिकी महिलाका ती वर्जित मूर्ति विदेश लैजानका लागि खुरुखुरु अन्तिम हस्ताक्षर गरिदियौँ । हामीसँग वसुन्धराका अगाडि ऐन–कानुनको लिखतबारे जानकारी दिने हिम्मत भएन । यसरी वसुन्धराको जोडबलमा प्राचीन मूर्ति बिदेसिए । नेपाल म्युजियममा मचाहिँ जम्माजम्मी १० महिना मात्र बसेँ । तलब त्यहीँ अफिसबाट ३ वर्षसम्म खाइयो । त्यसपछि काजमा पुरातत्व विभाग तानिएँ ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: वैशाख २०, २०७६

ट्याग: स्मरण