अल्बर्टिना ! अल्बर्टिना !!

- दुर्गा विनय

होश गरेर टाउको उठाई हेरे“ ।

“ओहो ! कस्तो रिस्की ठाउँमा बसेको रहेछु ।” आँगनमा बत्ती रहेनछ । सिसी क्यामेरा– गेट, आँगन कहीं पनि लगाइएको रहेनछ । स्वचालित गेट बन्द हुँदै थियो । मेरो हात छेवैमा गेटको रिमोट निर्जीव लडिरहेको थियो ।

दुई हात टेकेको थिएँ । दाहिने आँखापट्टिको नाकको डाँडीबाट रगत नाकको टुप्पोतिर बगेर भुइंमा थोपा–थोपा खस्यो । टाउको भुइंतिर निहुरिएको रहेछ । चस्मा थुप्रै टुक्रा भएर भुइँमा छरिएको थियो ।

“धन्न सिसाले आँखा भेटेन ।” सम्झिएँ ।

विचारेर हेरेँ, रगत नै थियो । तर दुखेको आभास भएको थिएन । भित्र कतै मनमा लाग्दै थियो, “दुख्नेछ, सायद भरे–भोलि मर्ने गरी ।” शरीर भने तातिरहेको थियो, म थर–थर कामिरहेको थिएँ ।

–     “यसरी जीवन कसरी बाँच्छस् दुर्गा ?” स्यामुयल माहेरेरोको आवाज कानमा बतास जसरी बहेर गयो । सायद कुनै किताबबाट ऊ फुत्त निस्केर आएको थियो होला ।

–     “यस्तो लुलो हातले कसरी गरिखान्छस् दिपलेश ?” हजुरआमाले मेरो नाडी छाम्दै, लामो सुस्केरा हालेर गर्नुभएको चिन्ता पनि सम्झेँ ।

मेरै लागि हरबखत चिन्ता गरेर काठमाडौँमा निदाउन खोजिरहेकी श्रीमतीलाई सम्झेँ । भाइबहिनीलाई, पितालाई सम्झेँ । दिवंगत हजुरआमा, आमालाई सम्झेँ । निमेषभरमा मैले सम्पूर्ण जीवन सम्झेँ । मृत्यु कति भयानक हुन सक्दो रहेछ, नजिकैबाट अनुभव गरेँ ।

  हरेक पटकको परेला झिम्काइसँगै रगतको बहाव बढ्दो थियो । आँसु आलो घाउमा परेछ । नुनिलो आँसुले आफ्नै घाउ चहर्‍यायो । शरीरको घाउमा मनको आँसु मिसिएर अझ नुनिलो भए सायद ।

–     “अल्बर्टिना !” लर्बराएको, डराएको अनि रुनै लागेको स्वरले गुहारेँ ।

      “अल्बर्टिना !”

♦♦♦

बिदाको दिन म विन्डुक वरपरका पार्क, मल घुम्ने गर्थें । विन्डुकको मध्य भागमा उपनिवेशीय कालमा बनाइएका कलात्मक चर्च, घर उसरी नै उभिएका थिए– जसरी बिहेको दिन दुलहा–दुलही उभिने गर्छन् ।

लगभग १५ महिनाको बसाइपछि म नेपाल फर्कन लाग्दै थिएँ । जागिरको करार सकिएसँगै हिँड्ने तरखरमा थिएँ ।

सन् २०१४ को जुन महिना थियो । जाडो महिना लागिसकेको थियो । चिसो सिरेटोले मुटुसम्म छुन खोज्थ्यो । घाम देखिहाले पनि ताप्नेसम्मको राप उसमा थिएन । ‘अफ्रिकामा के जाडो होला र’ भन्ने मेरो सोचलाई अघिल्लो हिउँदले राम्रै पाठ सिकाइदिएको थियो ।

“जे भए पनि यस सालको हिउँद पूरै देख्नुपरेन ।” हिँड्ने बेला भएकाले मलाई एक किसिमको आनन्द भएको थियो ।

♦♦♦

त्यस दिन जर्मनी र फ्रान्स फुटबलको विश्वकपमा भिड्दै थिए । सोमबारको फर्कने टिकट थियो । शनिबार बैंक खाता बन्द गर्न, कार्यालयका बाँकी काम सक्न बिहानै कोठाबाट निस्के“ । सानो झोलामा पासपोर्ट, ट्याबलेट, अफिसले दिएको ब्ल्याकबेरी बोकेर ।

दिनभरि अफिसमै बसेर काम सकेँ ।

साँझमा साथीहरुसँग इन्डियन रेस्टुराँमा गएर खाना खाएँ । जर्मनी र फ्रान्सको खेल सुरु हुनै लागेको थियो । विगतका रमाइला घटना स्मरण गर्‍यौँ । हाँस्यौँ । फेरि कहिले भेट होला सम्झेर केही क्षण उदास पनि भयौँ । ‘यो जागिर नै यस्तो कहिले कहाँ, कहिले कहाँ’ सम्झेर फेरि चित्त बुझायौँ ।

राती ९ बजेतिर मलाई घरअगाडि ओरालेर इरफान, मारियाना र अरु साथीहरु अघि बढे । गेटअघि अँध्यारो थियो । गेट खोल्न रिमोटको बटन दबाएँ । गेट घ्यार्र खुल्न थालेपछि हतार–हतार भित्र पसेँ । गेट बन्द गर्न रिमोट फेरि थिचेँ– सदाझै“ गेट बन्द हुँदै गर्दा म कोठातिर लागेँ ।

“डुंग... !” आवाज कानमा ठोक्कियो । इरफानहरु त भर्खरै फर्केका छन्, को होला, सोच्दै फर्किएँ । ठूलो मुक्का अनुहारमा ठोक्कियो । चस्माको चोइटो नाकको डाँडीमा केही बेर अड्किएर भुइँमा झर्‍यो । केही बोल्नुअगावै उसले मेरो झोला काँधबाट थुतेर गेट लाग्नु पहिल्यै बाहिरियो ।

बाहिर कार रहेछ । कारमा पस्यो र अँध्यारोमा बिलायो ।

एकछिन भुइँमा घोप्टिरहेँ । थुप्रै कुरा सोचेँ । पासपोर्ट, ट्याबलेट र अफिसको फोन त झोलामै थियो ।

“अल्बर्टिना !” आत्तिएर, डराएर बोलाइरहेँ ।

♦♦♦

“को हो ?” रिसेप्सनको झ्यालबाट उसले चियाउँदै बोली ।

“आई ह्याब बिन रब्ड ।” स्वरमा पीडा थियो ।

“को हो ?” उसले अझै मलाई चिन्न सकेकी थिइन । अँध्यारोमा गेट छेवैमा कोही घुँडा टेकेर बसेको छ र एकनासले कराइरहन्छ भने सायद म पनि झट्ट बाहिर निस्कन्नथेँ होला ।

‘दुर्गा’ नाम मात्र भनेँ, यसपालि ।

त्यतिन्जेलमा चौकीदार टर्च बालेर मलाई हेरिरहेको थियो, रिसेप्सनको ढोकाबाट ।

“सर, तपाईं ठीक हुनुहुन्छ ?” छेवैमा आएर उसले प्रश्न गर्‍यो ।

“के लाग्छ ?” ऊतिर शिर उठाएर सोधेँ । रगत बगिरहेको नै थियो तर अलि कम । आँखा आँसुले भरिएका रहेछन् । उसको अनुहार प्रस्ट देखिनँ । मलाई समाएर बिस्तारै रिसेप्सनमा लग्यो ।

“के गर्नु अब ?” ऊ आत्तिएको थियो । अल्बर्टिनालाई सोधिरहेको थियो । उसको जागिर संकटमा थियो किनभने कामै गेटमा रहेर त्यस गेस्टहाउसमा बसेकाहरुलाई सुरक्षित प्रत्याभूत गराउनु हो ।

“तिमीहरुको बोसलाई फोन गर । तुरुन्त बोलाऊ । मेरो पासपोर्ट सबै झोलामा थियो ।” टिस्युपेपरले घाउलाई दबाउँदै भनेँ । अल्बर्टिनाले पानी ल्याएर दिई । ग्लास बोक्न खोज्दा हात थर्थराइरहेको थियो । पानी छचल्किएर पोखियो । शरीर गलिसकेको रहेछ ।

१५ महिनाको बसाइमा मलाई नामिबिया कहिल्यै पनि असुरक्षित लागेन । असल मित्रहरु बनाएँ । थुप्रै ठाउँ घुमेँ । तर अहँ, त्यसरी कहिल्यै पनि असुरक्षित महसुस गरिनँ ।

१०–१५ मिनेटमै रोबर्ट गेस्टहाउस आइपुगे । “के भयो ?” ऊ अझ बढी चिन्तित देखिन्थ्यो । यूएनको कर्मचारी गेस्टहाउसमा आएर बस्नु नै उसका लागि राम्रो व्यवसायको द्योतक थियो । तर यस घटनाले उसको व्यवसाय संकटमा पर्न सक्थ्यो । ऊ जिल्ला अदालतको न्यायाधीश पनि थियो । उसैको छविले पनि व्यापारमा फाइदा हुँदै थियो । तर यस घटनाले सम्पूर्ण स्क्रिप्टमा असर पार्ने सम्भावना थियो ।

“म लुटिएँ । सुरक्षाको प्रबन्ध राम्रो रहेनछ, तिम्रो गेस्टहाउसमा ।”

“चिन्ता नगर दुर्गा, तिमीलाई न्याय हुन्छ । हामी ती फटाहा पत्ता लगाउनेछौँ ।” ऊ आत्तिएको थियो । जाडो महिनामा उसको अनुहारमा पनि पसिना चिट्चिट् देखेँ । हामी सबै आत्तिएका थियौँ ।

रोबर्टले मलाई पुलिस स्टेसन लिएर गए । लगभग १० बजिसकेको हुँदो हो । रात्रिकालीन ड्युटीका पुलिसको आँखा निदाउन खोजिरहेका थिए । रोबर्टले पुलिस रिपोर्ट दर्ता गराउने फाँटमा लिएर गए । जालीभित्रबाट पुलिसले मलाई प्रश्न गर्न थाल्यो ।

“के भएको हो ? फाइट खेल्यौ क्या हो ?” अनि हाँस्यो ।

“तिमीलाई किन त्यस्तो लाग्छ ?” डराएको थिइनँ तर दुःखी थिएँ, ऐँठन भएको सपनाजस्ता घटनाले ।

‘कुनै बेला त ब्युँझन्छु होला । पसिनाले पूरै भिजेको हुन सक्छु । एक बोतल पानी खाएर, पिसाब फेरेर फेरि सुत्नेछु ।’ कल्पदै थिएँ मनमनै ।

“मेरो गेस्टहाउसमा बस्छन् उनी, अहिले भर्खरै लुटिएँ । उनको पासपोर्ट, फोन, ट्याबलेट लुटिएछ । रिपोर्ट लेख्न आएको ।” जिस्किएन त्यसपछि ऊ । पासपोर्ट लुटिएको पुलिस रिपोर्टको प्रति मलाई दियो ।

यस्तो घटना दैनिक नै हुँदो रहेछ । पत्ता लगाउन महिना“ै लाग्दो रहेछ । केस बनाउने भनेपछि ‘मान्छे पक्रिएका बेला सर्जिमिन गर्न आउनुपर्ने हुन्छ । “के गर्नुहुन्छ ?” रिपोर्ट दिँदै गर्दा उसले सोध्यो ।

“म केस गर्दिनँ ।” मलाई जतिसक्दो चाँडो नामिबिया छाड्न मन थियो । “ठीकै छ, कसले गरेजस्तो लाग्छ ? कसैलाई तपाईं फर्कंदै हुनुहुन्छ भन्ने थाहा भएरै यस्तो गरेको हुनुपर्छ । फर्किन लागेको विदेशीले मुद्दा गर्दैन भन्ने अनुमानले पनि यस्तो घटना हुने गर्छ ।”

“रिसेप्सनमा बस्ने अल्बर्टिनालाई थाहा थियो, चौकीदारलाई थाहा थियो, मैले दैनिक प्रयोग गर्ने ट्याक्सी चालकलाई थाहा थियो ।” शत्रु कथाको पात्रझैँ भएको थिएँ म । म सबैलाई शत्रु देख्न थालेको थिएँ । जसले पनि लुटेको हुन सक्छ ।

“जो पनि हुन सक्छ, मलाई कसैमाथि शंका छैन ।”

♦♦♦

भोलिपल्ट बिहान ब्युँझदा त्यो सपना रहेनछ । नाकको घाउले टाउको दुखिरहेको थियो । नाक पोलिरहेको थियो । चस्मा लाउन खोजेँ– चस्मा त हिजै भाँच्चियो भन्ने सम्झेर फेरि दुखी भएँ ।

कार्यालयका सहकर्मीलाई इमेल पठाएँ । पूर्वनियोजित समयमा घर आउन नसक्ने, पासपोर्ट हराएको विवरण फेसबुक मेसेन्जरबाट घरमा लेखेँ । पासपोर्ट त नयाँ बनाउन सक्ने सम्भावना न्यून थियो । कसरी घर जाने होला भन्ने अर्को चिन्ता पनि थपियो ।

सबै चिन्तित भयौँ ।

हिजोसम्म सुन्दर र सुरक्षित लागेको विन्डुक अचानक असुरक्षित र कुरुप भयो । यसको अर्को पाटो साह्रै असुन्दर रहेछ ।

दिउँसोतिर गेस्टहाउसमा आएका इरफान र वाल्टर चिन्तित थिए । वाल्टर चिन्तित अनि लज्जितजस्तै देखियो । त्यस साँझ म आवस सिटी होटलमा सरेँ ।

नामिबिया पहिलो पटक आउँदा म त्यही होटलमा बास बसेको थिएँ । पुरानै कर्मचारी थिए । मलाई घाइते देखेर छक्क परे ।

“विन्डुकको अर्को पाटो राम्रो छैन ।” त्यो मैले बुझिसकेको थिएँ ।

“यदि त्यतिखेर मैले जमाएर त्यसको राजखानीमा एक दिएको भए सायद यस्तो हुँदैन थियो होला नि ।” होटलको कोठामा ढल्कि“दै इरफानलाई सोधेँ ।

“यस्तो बेला मजाक नगर ।” मभन्दा धेरै ऊ चिन्तित थियो ।

एक हप्तापछि दक्षिण अफ्रिकाबाट ट्राभल डकुमेन्ट पाएँ । त्यसैको आधारमा काठमाडौँ फर्कें ।

“यो घटनाले १५ महिनाको बसाइँ खल्लो नबनाओस् दुर्गा ।” एयरपोर्ट छाड्न आएको वाल्टर दुःखी थियो ।

“बनाउँदैन वाल्टर, फेरि भेटौँला ।”

‘फेरि आउँछु होला ?’ नामिबिया माथि–माथिबाट उड्दा

सोधिरहेँ आफूलाई ।

प्रकाशित: वैशाख १९, २०७६

ट्याग: संस्मरण