बझाङकी ‘बोल्ड’ नेतृ

- विद्या राई

हालैको एक बिहान चैनपुर, बझाङको चिया पसलमा चिया पिउँदै थिएँ । मेरो अघिल्तिर बस्न आइपुगिन्, एक महिला । हेर्दै हँसिली, फरासिली । शान्ति बोहरा पुजारा, ४७ । ठेगाना सुर्मा गाउँपालिका ।

राजनीतिक पृष्ठभूमिको खानदानी परिवारकी छोरी रहिछन् । बुबा नरपति बोहरा ०२७ का प्रधानपञ्च । दाजु वीरबहादुर बोहरा ०३५ का प्रधानपञ्च । शान्ति बझाङमा ०४२ मै हलो क्रान्ति सुरुआत गर्ने पहिलो महिला । उनले छाउगोठ त्यागेको तीन दशक भइसकेछ । उनीसितै माइतीमा आमा, भाउजू, बहिनीहरुले पनि त्यागेछन् ।

बझाङकै जयपृथ्वी क्याम्पसबाट स्नातक गरिन् । जुम्ला बस्न थालेदेखि खसी, कुखुरा आफैँले काटमार गर्न थालिन् । गएको दसैँ त दलित बस्तीमै मनाइन् । दलित परिवारसँग बसेर खाइपिई गरिन्, टीका, जमरा लगाइन् । चाहे हलो समाउँदा होस्, छाउगोठ त्याग्दा, काटमार, दलितसँग दसैँ मनाउँदा समाजले ‘बहुलाको’ संज्ञा दियो ।

उनले २४ वर्ष शिक्षण सेवा गरिन् । सुर्माको दौलीचौर माविमा ६ वर्ष (०५१–०५७) प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी थिइन् । उनी त्यो बेलाकी बझाङकै पहिलो महिला प्रअ थिइन् । वाह महिला हुनु त यस्तो  !

बीसअघि बिहेबारी  !

कलकलाउँदी । हिस्स परेकी । कपाल सपक्कै बाँधेकी । कुर्ता,  सलबार लगाएर चिटिक्कै परेकी । कुन्नि कताबाट मेरो नजर उनको सिउँदोमा ठोक्कियो । सिउँदोमा रातो सिन्दूरको लामो धर्को । उमेर सोधेँ । १५ वर्ष भनिन् । कक्षा ९ मा पढ्दिरहिछन् । विवाह भएको वर्ष दिन पुग्न लागेछ ।

बझाङ सदरमुकाम, गाउँघर जताततै यस्ता पात्र थुप्रै भेटिए । सिउँदोमा रातो लामो धर्कोवाला बालिका अधिकांश १२ देखि १६ वर्षका देखिन्थे । मुलुकी ऐनले पछिल्लो संशोधनमा विवाह गर्न २० वर्ष पूरा हुनुपर्ने प्रावधान तोकेको छ ।‘बिहेबारी बीस वर्षपारि’ अभियान पनि सरकारले चलाएकै हो । तर बझाङलाई छोएन ।

बझाङमा ५३ प्रतिशत बालविवाह हुने गरेको महिला तथा बालिबालिकाकै तथ्यांकले पनि देखाउँछ ।पढ्ने, लेख्ने, भविष्य कोर्ने उमेरका बालिका वैवाहिक बन्धनमा बाँधिनुपर्ने अवस्थालाई चिर्न सरकारले नसकेको हो या सामाजिक मानसिकताले ?

सुदूरपश्चिममा वाचिपा

सुदूरपश्चिममा नयाँ वर्षको बेग्लै रौनक थियो । यस क्षेत्रकै मानक मानिने चैतली मेला बझाङको छविसपाथिभेराको बान्नी चौरमा हरेक वर्ष भव्य रुपमा मनाइने रहेछ । बझाङमै भएकाले जाने सोच बनाएँ । जिप रिजर्भ गर्नलाई एक चरण तयारी पनि भइसकेको थियो । बिहान १० बज्दा पनि पानी परिरहेको थियो । आकाश धुम्मिएको थियो । पानी रोकिने, मौसम खुल्ने छाँटै देखिएन । उसै पनि भीरैभीरको कच्ची सडक हुँदै मेलामा जानुपर्ने ।

दिउँसो २ बजेपछि मैले नै नजाने निर्णय गरेँ । ज्यादै चिसो भएकाले एक होटलमा छिरेँ । त्यही बेला वाचिपाको याद आयो । वाचिपा लोकल कुखुराबाट बनाइने किराती परिकार हो । तिक्खर स्वादको हुन्छ । केही तीतो पनि हुने भएकाले तीते पनि भन्छन् कतिपय ।

कान्तिपुरका स्थानीय संवाददाता वसन्तप्रताप सिंहलाई म्यासेज लेखेँ, ‘मेला जानुको सट्टा कतै गाउँतिर गएर वाचिपा बनाएर खाऔँ ।’ रिप्लाइ आयो, ‘ल त्यसै गरौँ ।’ तर लोकल कुखुरा कहाँ पाइने ? बझाङ ठकुरी समुदायको बाहुल्य जिल्ला । कुखुरा पाल्ने त परको कुरा ।

बेलुकीतिर हामी लोकल कुखुरा खोज्न बजारतिर लाग्यौँ ।  पायौँ पनि । साहूजीले कुखुरा काटेर पोल्दिन थाले । म डढेको प्वाख बटुल्न थालेँ । भुवन र आशीष ‘प्वाँख पो खाने हो’ भन्दै खुब हाँसे । होटल आयौँ । कुक किचनमा थिए । यो परिकार बनाउन आउँछ कि भनेर सोध्यौँ । आउँदैन भने । पकाउन र स्वाद जानेकी मै थिएँ । मै छिरेँ किचनमा र पकाएँ । त्यो प्वाँख पनि हालेको थाहा पाएर साथीहरुले नखाने हुन् कि भनेर डराइरहेकी थिएँ ।

हामी चारै जना एउटा टेबलमा बस्यौँ । कुकले भाग लगाएर प्लेटमा ल्याइदिए । खान सुरु गर्‍यौँ । मैले पटक–पटक कस्तो लाग्यो स्वाद भनी सोध्ने नै भएँ । साथीहरुले मीठो छ भन्थे । स्वाद मानी–मानी खाएको देख्दाचाहिँ पत्याउनै पर्‍यो ।

प्रकाशित: वैशाख १९, २०७६