किसान र गोठालाका कथा

- उमा सुवेदी

पर्ल एस बकको उपन्यास गुड अर्थले किसानमाथि हुने शोषण र उनीहरुको पीडा विश्वभरि एकै किसिमको हुँदो रहेछ भन्ने बोध गरायो, मलाई । आर्थिक हैसियतले निम्न तहबाट आएकी कारण पनि यो उपन्यासमा कतै न कतै आफूलाई भेट्छु । वाङ लुङ नामक किसान पात्रमार्फत भोकमरीमय भयावह त्रासदीबीच मान्छेको बाँच्ने आकांक्षा, उसको संघर्ष र सफलताको कथा भनिएको छ ।

गरिबीको हुन्डरीबीच सिमीका दाना फारु गरेर खानुपरेको र असाध्यै मन पर्ने गोरु पनि काटेर खानुपरेको कारुणिक दृश्यको डिटेलिङमा मेरा आँखा रसाएका थिए । माटोप्रतिको प्रेमले आर्थिक हैसियत उक्सिएको प्रमुख पात्रको कथाले मलाई बाँच्न र संघर्ष गर्न प्रेरित गरेको छ । उपन्यासमा वर्णित परिवेश चीनको भए पनि मलाई हाम्रै गाउँठाउँ र चिरपरिचित पाक्रको कथाजस्तो लाग्छ । व्यत्तिगत तहमा पनि जीवनमा भयानक संघर्षको समय व्यतीत गरेकीले कतिपय पात्रमा त मेरै अनुहार टाँसिएजस्तो लाग्छ । जुन आख्यानमा पाठकले आफूलाई भेट्छ, त्यसले सहजै प्रभावित पार्दो रहेछ । यौनकर्मीको कोमल खुट्टा देखेपछि वाङ लुङलाई आफ्नी स्वास्नी ओ लानको खुट्टा ढ्याब्रे लाग्छ । खेतबारीमा जोतिइराख्नुपर्ने खुट्टाप्रति वाङ लुङले देखाएको घृणाभावले पाठकमा करुणा र आक्रोश एकसाथ जाग्छ । साधारण कथामा गम्भीर रंग दिन सक्ने लेखकको खुबी इर्ष्यालाग्दो छ । उसो त मलाई सामाजिक यथार्थले छोइहाल्छ, त्यसमाथि बलियो चारित्रीकरणबाट जीवन्त बनेका पात्रहरु ।

चिनियाँ क्रान्तिपछि लेखिएको यो उपन्यासमा जसरी वाङ लुङले माटोलाई ‘भगवान्’ मानेको छ, त्यसरी नै कृषिप्रधान भनिएको हाम्रो देशका युवाले खेतीयोग्य जमिनमा पसिना बगाए हुन्थ्यो । किसानको संघर्षलाई यति सशक्त भाषामा लेखिएकाले मेरा लागि प्रिय भएको हो, गुड अर्थ

विश्वेश्वरप्रसाद कोइरालाका प्रायः आख्यान पढेकी छु । तर उनका आख्यानमा राजनीतिज्ञ बीपी हाबी नहुनु नै सुन्दर पक्ष हो । लघु आकारको भए पनि बृहत् छाप पारेको किताब हो, मोदिआइन । मानिसले ‘ठूलो हुनुभन्दा असल’ बन्ने चेष्टा गर्नुपर्ने आदर्शका साथै उपन्यासले बोकेको मानवतावादी दर्शनले विशेष प्रभाव पारेको हो, मलाई । शक्तिमा पुगेका सबै मान्छे असल नहुने र खराब मानिसले समाजको गतिलाई समेत गलत दिशामा डोर्‍याउने भएकाले असल बन्न खोज्नु सबैको लक्ष्य हुनुपर्ने पाठ सिकाउँछ, यो उपन्यासले । थोरै पृष्ठमा महाभारतजस्तो विशाल आख्यानका मिथकलाई आधुनिक सन्दर्भसित जोड्दै युद्धको भयावहता देखाउन सफल छ, उपन्यास । कोइरालाको लेखन कौशलले मलाई सधैँ लोभ्याउँछ । राज्यसत्ता र सत्यका नाममा अनेक युद्ध भएका छन्, संसारमा । तर जुनसुकै युद्धमा पनि नारीले युगौँदेखि व्यथा भोग्दै आएका छन् । पुरुष अहंबाट सुरु भएका युद्धमा निरीह र निर्दोष नारीले अनाहकमा ज्यान गुमाउनुपर्ने त छँदै छ, योद्धाहरुको आफन्त र सम्बन्धित महिलामा फैलने सन्त्रास शब्दातीत हुन्छ । महाभारतमा भएको रक्तपातलाई नारीको दृष्टिबिन्दुबाट हेरिएकाले यो उपन्यास विश्वजनीन लाग्छ ।

युद्धकेन्द्री सोचलाई मानवताविरोधी देखाउन भगवान् मानिएका कृष्णलाई समेत आलोचना गर्नु उपन्यासको बलियो पक्ष हो । सबै ठूला मान्छे ‘भला’ हुँदैनन् भन्नका लागि कृष्णलाई रोजिएको छ, उपन्यासमा । पात्रको मनोविज्ञानमार्फत त्रासदी र जीवनजगतप्रतिको सोचलाई कसिलो र खँदिलो ढंगले लेखिएको यो उपन्यास पढ्दा थोरै शब्दमा पनि धेरै कुरा बलियोसँग भन्न सकिन्छ भन्ने शिल्पगत पाठ सिकेँ । सिंगै उपन्यास विम्ब र प्रतीकको जगमा उभिएकाले पाठकलाई बोझिल अनुभव हुँदैन । लाग्छ, सामान्य लाग्ने पात्रलाई पनि पाठकको हृदयमा अविस्मरणीय ढंगले स्थापित गर्न सक्नु आख्यानकारको खुबी हो ।

बेन्यामिनको मलायाली उपन्यास आडु जिविदमको नेपाली संस्करण खबुज पढ्दा अनुवाद पढेजस्तो लागेन । अंग्रेजी गोट डेजलाई दिनेश काफ्लेद्वारा नेपालीमा अनूदित यो उपन्यास असाध्यै मन परेको किताब हो । विदेश जाँदा मूल पात्र नजिबसँग धेरै ठूलो सपना छैन । घरमा एउटा कोठा थप्ने, जहानलाई सुख दिनेजस्ता साना सपनाको खातिर दलालको लहैलहैमा लागेर अरब पुगेको युवा बाख्रे जिन्दगी जिउन बाध्य हुन्छ । मालिकले दिएका दुःख, निर्मम पिटाइ, खबुजको टुक्रा खाएर आफ्नो भोक मारेको दर्दनाक दृश्य, रात–रातभर बाख्राको खोरमा बिताएका कहालीलाग्दो समय पढ्दा पाठकको मन गाँठो पर्छ । मनको बह पोख्ने कोही मान्छे नहुँदा नजिबले बाख्रासँग गरेका संवाद पढ्दा जोकसैको संवेदनालाई छुन्छ । यो उपन्यास पढ्दा खाडी मुलुक जान रातारात लर्को लाग्ने नेपाली सम्झिन्छु ।

हाम्रा सपना पनि नजिबका झैँ साना छन् । तिनै सपना लिएर हजारौँ नेपाली हरेक दिन अन्तर्राष्ट्रिय विमानस्थलमा लामबद्ध छन् । अरबबाट फर्किएका काठको बाकस–कथा पनि नजिकबाटै देखेका छौँ । खाडी मुलुक नगए पनि विदेशी भूमिमा हुने एक्लोपनको अनुभव बटुलेकीले यो उपन्यासले धेरै छोएको हुन सक्छ । किताबको अन्तिम पाना पल्टाइसक्दा सोचेभन्दा निकै मोहक र अब्बल लाग्यो, लेखकको कथा–शिल्प । मीठो भाषामा लेखिएको खबुज पढेपछि बेन्यामिनका अरु किताब खोज्दै छु ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: वैशाख १९, २०७६

ट्याग: तीन किताब