मूर्ति कुँद्दा झन्डै जेल

- रवीन्द्र मानन्धर

पहिलेपहिले ढुंगा कुँद्दा निस्कने धूलोदेखि दिक्क लाग्थ्यो चन्द्रश्याम डंगोल, ४१, लाई । बुबा धातुका मूर्ति बनाउँथे । तर किसान परिवारमा बुबा र काकाबीच कृषिकर्मबारे बढेको असन्तोष कम गर्न कलाकारितामा अल्पविराम लगाए ।

एसएलसीपछि बुबाको मन राख्न भए पनि मूर्ति बनाउने काममा लागे चन्द्रश्याम । सुरुमा ललितकला क्याम्पसबारे उनलाई थाहै थिएन । लाग्थ्यो,  मूर्तिकला पनि पढाइ हुने विषय हो र ! तर त्यहाँ दुई वर्ष पढेपछि चन्द्रश्यामले बुझ्दै गए, नेपाललाई विश्वसामु चिनाउन परम्परागत कलाको ठूलो महत्व छ ।

त्यसपछि हो, उनले प्रस्तरकलामा दिलोज्यान दिन थालेको । पढाइका अलावा घरमा मूर्तिकर्ममा व्यस्त हुनु परेपछि उनको पढाइ औसतभन्दा कमजोर रह्यो । पाँच वर्ष लगाएर मात्र आईएफए पार गर्न सके ।

स्नातकोत्तर नसकिँदै सिर्जना कलेजबाट बोलावट आयो प्रस्तरकला विषय पढाउन । भन्छन्, “मैले यो कामका लागि प्रमाणपत्र छैन भनेँ । तर उताबाट जवाफ प्रमाणपत्र त औपचारिकता न हो, आउनूस् भनेपछि काम सुरु गरियो ।”

नौ वर्षदेखि उक्त क्याम्पसमा पढाउँदै छन् चन्द्रश्याम । चार वर्षको प्रयासपछि स्नातक तहको कोर्समा नेपाली परम्परागत कला विषय राख्न सफल पनि भए उनी । कला सिर्जनाका भोका उनले औँठीमा अटाउन मिल्ने साइजका लोकेश्वर, बुद्ध, गणेशदेखि महामञ्जुश्रीको ३३ फिट अग्लो मूर्तिसम्म बनाए ।

१८ फिटको मैत्रेय बुद्ध मूर्ति बनाउन धेरै कालिगढकहाँ धाए, रामबहादुर बम्जनका प्रतिनिधि । सबैले न्यूनतम एकदेखि डेढ वर्षसम्म लाग्ने बताए । तर ग्राहकको माग थियो, ७५ दिनभित्र सिध्याउनैपर्ने । यो काममा उनले हात हाले । सात सहयोगीका साथ दैनिक १५ घन्टासम्मको मिहिनेतपछि काम फत्ते गरेर निर्धारित समयभित्रै बारामा पुर्‍याउनसमेत सफल भए । मैत्रेय बुद्धको मूल्य थियो, ३० लाख रुपैँया । सहयोगीको पारिश्रमिक, ढुंगाको मूल्य तथा ढुवानी खर्च कटाएर उनको भागमा पर्ने भनेको त्यसको १५ प्रतिशत मात्र हो ।

साधारणतया डेढ फिटभन्दा ठूलो मूर्ति बनाउन सहयोगीको आवश्यकता पर्छ । आवश्यक ढुंगा ल्याएपछि त्यसको गुणस्तर जाँच हुन्छ, कमजोर भाग काटेर फालिन्छ । मूर्तिको कोरा काम हुन्छ । चित्रांकन गरेपछि सहयोगीले उनकै निर्देशनमा ढुंगा काँटछाट गर्छन् । हातखुट्टा, अनुहारलगायत महफ्वपूर्ण भाग र बुट्टामा चन्द्रश्यामले नै छिनो हतौडा चलाउँछन् ।

प्रस्तरकला आफैँमा कठिन पेसा हो । शारीरिक रुपमा चुस्त र बलियो हुनुपर्ने यसको पहिलो सर्त हो । फेरि मूर्ति कुँदाइमा गल्ती गरिए इरेजरले मेट्नेजस्तो सजिलो विकल्प हुन्न । भन्छन्, “बिग्रिएपछि बिग्रियो । यो विधाका लागि आवश्यक क्यानभास अर्थात् ढुंगा सहजै पाउन हम्मे पर्छ ।”

आठ वर्षअघि चोभारस्थित जलविनायक सामुदायिक वन उपभोक्ता समितिले चोभारको पार्कमा राख्न १०/१२ फिटको मञ्जुश्रीको मूर्ति बनाउने प्रस्ताव गर्‍यो । इतिहासविद् शुक्रसागर श्रेष्ठको पहलमा मूर्ति ३३ फिट बनाउने सहमति भएपछि चन्द्रश्यामले काम थाले ।

यस्तो विशाल मूर्तिको जग ढुंगाकै भए मात्र आयु लामो हुन्छ । यसका लागि फर्पिङको खार्पाबाट ढुंगा ल्याउने प्रक्रिया अघि बढ्यो । तर अन्तिम समय अनधिकृत रुपमा ढुंगा निकालियो भन्दै यसमा संलग्न पाँच ट्रेलर चालक सात दिनसम्म थुनामा परे । थुनामा पर्ने सूचीमध्येमा चन्द्रश्यामको नाम पहिलो थियो । भन्छन्, “कला सिर्जना गर्दा थुना पर्दैछु भनेर एक पत्रकार साथीलाई फोनमा जानकारी गराएँ । तर फोन नकाटिँदै प्रहरी अधिकारीले मेरो नाम हटाइदिएछन् ।”

छिनछिनकै घटनामा पनि यस्तो हुँदो रहेछ भनेर छक्क परे । आखिरमा त्यो ढुंगा फर्पिङ चउरमै थन्कियो भने समितिको १५ लाख डुब्यो । यस घटनाका कारण उनले एक वर्षसम्म कामै गरेनन् ।

प्रस्तरकलाका लागि बासाल्ट र ब्ल्याक ब्यालेस्टिक ढुंगा हात्तीवन तथा मच्छेगाउँ क्षेत्रमा पाइन्छ । क्रसर व्यवसायीले अनधिकृत रुपमा निकाल्न पाउने तर कलाकारले कला सिर्जना कोर्न उपभोग गर्न नपाउने नियमप्रति सरकारसँग उनको असन्तुष्टि छ । मूर्तिकलाकै लागि मात्र यस्ता खानी छुट्याइदिनुपर्ने चन्द्रश्यामको तर्क छ । उनको चिन्ता छ, “त्यसो नभए नयाँ पुस्ताले यो पेसा छाड्छन् ।”

आखिरमा यो विशाल मूर्तिको जग कंक्रिटकै बनाउने निधो भयो । तर सिमेन्टको आयु बढीमा सय वर्ष हुने हुँदा त्यसपछि उक्त मूर्ति ढले के गर्ने ? चिन्ता थपियो उनमा । ३३ फिट अग्लो मूर्ति बनाउन खर्चले नभ्याउने समस्या थियो । हजारौँ स–साना मूर्ति बनाएका चन्द्रमा ठूलो काम गर्ने भोक थियो । त्यसैले उनले बिनापारिश्रमिक काम गर्ने भए । त्यति मात्र होइन, यसमा काम गर्ने सहयोगीको पारिश्रमिक ६ महिनासम्म उधारो पनि मिलाइदिए । सानाठूला भागमा विभाजित भीमकाय मूर्तिको छातीसम्म तीन इन्चको फलामे छड राखेर तयार पारिएको छ ।

 

'कला सिर्जना गर्दा थुना पर्दैछु भनेर एक पत्रकार साथीलाई फोनमा जानकारी गराएँ । तर फोन नकाटिँदै प्रहरी अधिकारीले मेरो नाम हटाइदिएछन् । '

— चन्द्रश्याम डंगोल मूर्तिकार


चन्द्रश्यामका मूर्ति विदेशमा समेत निर्यात हुँदै आएका छन् । दोस्रो पक्षमार्फत बिक्री हुने भएकाले कुन कला कुन देशमा छ, उनैलाई हेक्का छैन । क्यानडामा भने पशुपतिनाथको मन्दिर बनेको छ । त्यसका लागि पशुपतिनाथ शिवलिंगको नक्कल चन्द्रश्यामले नै बनाएका हुन् । चार वर्षदेखि वर्षको दुई महिना चीनको एक कलेजमा प्रोफेसरका रुपमा पढाउन थालेका छन् उनले । यसै मेसोमा नेपालको परम्परागत कलालाई चिनाउने काम गर्दैछन् ।

चन्द्रश्याम मात्र होइन, उनका सन्तान र श्रीमती प्रमिलासमेत यो कलामा समर्पित छन् । छोराले पाँच वर्षमै हथौडा चलाउन सिकिसकेका रहेछन् । ६ कक्षा पढ्दै गरेका छोरा न्हुजः डंगोल ढुंगामा चित्र कोर्ने र आधारभूत आकार दिन सक्ने भइसकेका छन् । ए लेभल पढ्दै गरेकी छोरी ईशा पनि काममा सघाउँछिन् । भन्छन्, “०७२ को भूकम्पमा हाम्रा धेरै कलाकृति मासिए । नयाँ पुस्ताले अब ती कला हेर्न नपाउन सक्छन् । तिनलाई यथावस्थामा ल्याउन वा नयाँ बनाउन आवश्यक छ ।”

प्रकाशित: वैशाख १८, २०७६

ट्याग: कला