हिमाली माछा

- राजबहादुर शाही

घामको किरण टल्किएको तालमा लहरै पौडिरहेका असला माछा अनि ताल किनारको अग्लो मचानमा बसेर माछालाई चारा दिन हानथाप । यो नियमित दृश्य हो, रारा तालको ।

समुद्री सतहदेखि २९ सय ७२ मिटर उचाइ, १ सय ६७ मिटर गहिराइ र ५.१ किलोमिटर लम्बाइ ओगटेको ‘स्वर्गकी अप्सरा’ नामले चिनिने पर्यटकीय गन्तव्य मुगुको रारा ताल विश्वमै दुर्लभ असला प्रजातिका माछाका लागि प्रसिद्ध छ ।

नेपालमा पाइने ६ प्रजातिमध्ये रारा तालमा मात्रै तीन प्रकारका असला माछा पाइन्छन् ।

पारिलो घामले पानी तात्दै गएपछि तालको गहिराइमा झरेका माछा बिस्तारै सतहमा देखिन थाल्छन् । झरीमा तालका माछा खोलातिर उक्लिन्छन् । खोला सुक्दै जाँदा तालतिर झर्छन् ।

हिमपात बेला लेकबस्तीका स्थानीय बेँसीतिर झरेजस्तै राराका माछा पनि ५० मिटर भन्दा तल समूहगत रुपमा बस्छन् । ती माछा लेउ झारपात र मसिनो ढुंगा खाएर गुजारा गर्छन् ।

पछिल्लो समय बढ्दै गएको मानवीय चपेटाका कारण बर्सेनि घट्दै छन्, राराका माछा । जेठ, असार, साउनमा ठूलादेखि मसिना माछाको हूल बग्रेल्ती देखिन्छ भने मंसिर, पुस, माघ र फागुनमा थोरै ।

हिमाली माछा भनेर चिनिने असला कसैले अन्यत्रबाट ल्याएर तालमा छाडेको नभई आफैँ उत्पत्ति भएको जानकार बताउँछन् । ०४० मा जापानी विश्वविद्यालयबाट आएको एक टोलीले रारा तालको माछा कसरी उत्पत्ति भयो भन्नेबारे अनुसन्धान गरेको छायानाथ रारा नगरपालिका मुर्माका बिर्खबहादुर रोकाया बताउँछन् ।

उक्त टोलीले राराबाट जापान लगेर असला माछापालन गर्ने प्रयास गरे पनि सफल भएको थिएन । जापानी टोलीले रारामा करिब ११ केजीसम्मको असला माछा रहेको उल्लेख गरेको थियो ।

०३५ भन्दाअघि रारातालको छाप्रु महादेवमा बाक्लो बस्ती थियो । वरपर खेतबारीमा लगाएको मौसमअनुसारको अनाज, गहुँ जौ, चिनो, कागुनो, फलफूल प्रशस्त उत्पादन हुने र त्यो झरी वर्षाले बगेर तालमा आउने माछाको आहारा बन्थ्यो । सरकारले रारा क्षेत्रलाई निकुन्ज घोषणा गरी बस्ती उठाएर बाँके चिसापानी पुर्‍याएपछि त्यहाँको जमिन बाँझिदै गयो । तालमा अन्नपात जान छाड्यो । हरेक वर्षको खडेरीले ताल वरपरबाट बगेर आउने करिब ३ सय खोलानाला सुक्दै जाँदा माछाले आहारा पाउन मुस्किल छ । स्थानीय लेकविक्रम शाह भन्छन्, “जलवायु परिर्वतनका कारण कीरा–फट्यांग्रा लोप हुँदै जाँदा माछाले आहारा नपाउने अवस्था छ ।”

स्थानीयका अनुसार २० कात्तिक ०५८ मा रारा तालमा फिस्टेल हेलिकप्टर दुर्घटना हुँदा त्यसमा रहेको ट्यांकी फुटेर तालमा रसायन मिसिँदा माछा मरेको हुन सक्ने अनुमान पर्यावरणविद्को छ ।

असार ०७४ मा त्रिभुवन विश्वविद्यालयबाट विशेषज्ञसहितको एउटा टोली रारा आएर अनुसन्धान गर्दा भोकमरीले माछामा छिप्रे टाटेपाटे रोग देखापरेको पुष्टि भएको थियो । तालमा खानेकुरा अभावले त्यहाँका माछा निकास रहेको खत्याड खोलातिर सर्न खोजेको अनुसन्धानमा संलग्न टोलीले जनाएको थियो । माछाको संख्या र बसाइँसराइ पुष्टि गर्न अनुसन्धान टोलीले केही माछामा ट्यागसमेत लगाएर फर्किएको थियो ।

पछिल्लो समय तालको तापक्रम बढ्दै जानु, झरीवर्षा कम हुनु  आदि कारणले माछामा समेत प्रभाव पर्न गएको अनुसन्धानकर्ताको भनाइ छ । यस क्षेत्रमा मानवीय चाप बढ्दै जाँदा रारा प्रदूषित नहुने कुरै भएन । रारा घुम्न आउादा होटलमा बास बस्ने पर्यटकले ताल छेउमै गएर साबुनले हातमुख, कपडा धोइदिँदा माछालाई असर परेको हुन सक्ने स्थानीयको दाबी छ ।

रारा राष्ट्रिय निकुन्जले माछा समात्न र मार्न प्रतिबन्ध लगाए पनिस्थानीयले जाल, बल्छी झरिउला, सोलिउ प्रयोग गरेर चोरीसिकार छाडेका छैनन् । माछालाई जोगाएर पर्यावरण बचाउनुपर्छ भन्ने चेतनाभन्दा पनि कसरी मारेर खाने भन्ने गलत सोच उनीहरुमा छ । रारामा माछा मार्न, माछा मार्नकै लागि डुंगा लैजान निषेध गरिसकिएको बताउँछन्, निकुन्ज संरक्षण अधिकृत लालबहादुर भण्डारी । निकुन्ज कर्मचारी र सेनाले गस्तीमा तीव्रता दिएर माछा मार्ने, चोरीसिकारी गर्नेलाई निकुन्ज ऐनअनुसार कारबाही, दण्ड–जरिवाना थालिएको अधिकृत भण्डारीको दाबी छ ।

प्रकाशित: वैशाख १७, २०७६