कीर्तिमानको ओइरो

- पवन आचार्य

जलपरीको कमाल

कान्छी ओलम्पियन गौरिका सिंहले राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्युलाई यादगार बनाउने क्रममा ६ राष्ट्रिय कीर्तिमान र १२ स्वर्ण आफ्नो पोल्टामा पारेकी छन् । पौडीमा १२ स्वर्ण जितेर उनले यसअघि काठमाडौँमा ०५६ मा भएको पाँचौँ राष्ट्रिय खेलकुदमा करिष्मा कार्कीले जितेको १२ स्वर्णको बराबरी गरेकी हुन् ।

प्रदेश ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा नेपाली सेनाको त्रिभुवन आर्मीकी गौरिकाले स्पर्धा गरेका सबै इभेन्टमा स्वर्ण जितिन् । उनले ५० मिटर ब्याकस्ट्रोकमा ३० दशमलव ८५ सेकेन्डको टाइमिङसहित आफ्नै नामको कीर्तिमान सुधार गरिन् । यसअघि सो विधामा ३१ दशमलव २२ सेकेन्डको कीर्तिमान उनकै नाममा थियो ।

१ सय मिटर फ्रिस्टाइलमा उनले ५९ दशमलव ६० सेकेन्डको कीर्तिमान कायम गर्दा यसअघि आफ्नै नाममा रहेको ५९ दशमलव ९१ सेकेन्डको टाइमिङमा सुधार गरिन् । १ सय मिटर बटरफ्लाईमा पनि गौरिकाले १ मिनेट ०७ दशमलव ९७ सेकेन्डको कीर्तिमान कायम गरिन् । यसअघि यो विधामा उनकै नाममा १ मिनेट ०८ दशमलव ६३ सेकेन्डको कीर्तिमान थियो ।

२ सय मिटर इन्डिभिजुअल मिड्लेमा उनले २ मिनेट ३२ सेकेन्डको टाइमिङ निकालेर कीर्तिमानसहित स्वर्ण जितिन् । ५० मिटर फ्रिस्टाइलमा हिट चरणमा २७ दशमलव ८१ सेकेन्डको कीर्तिमानी टाइमिङ निकालेकी गौरिकाले फाइनलमा अझै सुधार गरी २७ दशमलव ५९ सेकेन्डको नयाँ कीर्तिमान रचिन् । यो स्पर्धामा पनि यसअघि उनकै नाममा २७ दशमलव ९१ सेकेन्डको कीर्तिमान थियो ।

१ सय मिटर ब्याकस्ट्रोकमा १ मिनेट ०७ दशमलव २२ सेकेन्डको टाइमिङका साथ गौरिकाले कीर्तिमान कायम गरिन् । यसअघि सोही विधामा उनैको नाममा १ मिनेट ९ दशमलव ३० सेकेन्डको कीर्तिमान थियो ।

२ दिनमा २ कीर्तिमान

एथ्लेटिक्समा नेपाल पुलिसकी चन्द्रकला लामगादेले २ दिनमा २ कीर्तिमान बनाइन् । एथ्लेटिक्सको सटपुटमा उनले १२ दशमलव ०४ मिटरको नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि राखेप च्याम्पियनसिपमा चन्द्रकलाकै नाममा ११ दशमलव ५६ मिटरको कीर्तिमान बनेको थियो ।

ज्याभलिन थ्रोमा पनि चन्द्रकलाले नयाँ कीर्तिमान बनाइन् । ४४ दशमलव ०५ मिटर थ्रो गरेकी उनले यसअघि ४३ दशमलव ९४ मिटरको आफ्नै कीर्तिमान भंग गरेकी हुन् । यसअघि सातौँ राष्ट्रिय खेलकुदमा पनि उनले दुई कीर्तिमानी स्वर्ण जितेकी थिइन् ।

पौडीमा पुरुष

सशस्त्र प्रहरीका तेन्जिङ गुरुङले ५० मिटर ब्याकस्ट्रोकमा ३२ दशमलव ८१ सेकेन्डको कीर्तिमानी प्रदर्शन गरे । उनले मिराज प्रजापतिको नाममा रहेको ३३ दशमलव ५७ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।

सशस्त्रकै शुभम श्रेष्ठले १ सय मिटर ब्रेस्टस्ट्रोकमा आफ्नै कीर्तिमानमा सुधार गरे । १ मिनेट ०८ दशमलव ३४ सेकेन्डको यसअघिको कीर्तिमानमा सुधार गर्दै उनले १ मिनेट ०८ दशमलव १५ सेकेन्डको टाइमिङ निकाले । शुभमले ५० मिटर ब्रेस्टस्ट्रोकमा ३१ दशमलव ९० सेकेन्डको कीर्तिमानी समय निकाले । यसअघि उनकै नाममा ३२ दशमलव ०१ सेकेन्डको कीर्तिमान थियो ।

नेपाल प्रहरीका शैयद हम्जा शाहले ५० मिटर बटरफ्लाईमा आफ्नै कीर्तिमानमा सुधार गरे । यसअघि २७ दशमलव १० सेकेन्डको समयमा दूरी पूरा गरेका उनले आठौँमा २७ सेकन्डको टाइमिङ निकाले । २ सय मिटर इन्डिभिजुअल मिड्लेमा शाहले २ मिनेट १७ दशमलव १९ सेकेन्डको कीर्तिमानी टाइमिङ पनि निकाले । उनले शिरीष गुरुङको नाममा रहेको २ मिनेट २६ दशलमव १७ सेकेन्डको कीर्तिमानभंग गरे ।

१ सय मिटर ब्याकस्ट्रोकमा एनआरएनका नाथान दोर्जे शेर्पाले १ मिनेट ४ दशमलव ०६ सेकेन्डको टाइमिङ निकाल्दै कीर्तिमान बनाए । ५० मिटर फ्रिस्टाइल आर्मीका एलेक्स शाहले नयाँ कीर्तिमान बनाए । गत वर्ष शिरीष गुरुङले बनाएको २५ दशमलव ८० सेकेन्डको कीर्तिमान तोड्दै २५ दशमलव ०६ सेकेन्डको टाइमिङ निकाले ।

सुस्मिताको निशाना

सुटिङको महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । कुल २ सय ४० पूणांकमा २ सय ३४ अंक जोड्दै सुस्मिताको नयाँ कीर्तिमान बन्यो । यसअघि राखेप च्याम्पियनसिपमा स्नेहा राज्यलक्ष्मी राणाले २ सय ३३ अंक जोड्दै कीर्तिमान बनाएकी थिइन् ।

राखेप


सबैभन्दा बलियो

नेपाल पुलिसकी तारादेवी पुन लगातार पाँचौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् । भारोत्तोलनतर्फ ७६ केजी तौल समूहमा उनले कीर्तिमानी स्वर्ण जितिन् । स्न्याचतर्फ ७४ र क्लिन एन्ड जर्कमा ९७ केजी गरी कुल १ सय ७१ केजी भार उठाएकी ताराले राष्ट्रिय कीर्तिमान बनाइन् । भारोत्तोलनमा घरेलु प्रतियोगितामा अहिलेसम्म दोस्रो नभएकी उनी स्ट्रङ्गेस्ट वुमन पनि घोषित भइन् ।


भारोत्तोलनमा पनि नयाँ

अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ (आईडब्लुएफ) ले यस पटकदेखि १० तौल समूहमा प्रतियोगिता सञ्चालन गर्ने व्यवस्था गरेपछि भारोत्तोलनका सबै विधामा स्वर्ण जित्ने खेलाडीको नाममा कीर्तिमान बनेको हो । यसअघि ८ तौल समूहमा मात्रै स्पर्धा हुन्थ्यो ।

महिला ६४ केजीमा पुलिसकी शारदा चौधरीले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८२ गरी समग्रमा १ सय ४२ केजी भार वहन गरिन् । महिला ७१ केजीमा पुलिसकै राज्यलक्ष्मी थापाले स्न्याचतर्फ ६३ र क्लिन एन्ड जर्कमा ८१ गरी कुल १ सय ४४ केजीको भार उचालिन् ।

पुरुषतर्फ ८१ केजी तौल समूहमा पुलिसका विकास थापाले स्न्याचतर्फ १ सय १५ र क्लिन एन्ड जर्कतर्फ १ सय ३५ गरी कुल २ सय ५० केजीको भार उठाए । पुरुष ८९ केजीतर्फ आर्मीका दिनेश कार्कीले कुल २ सय ३० केजी भार वहन गर्दा स्न्याचमा ९८ र क्लिन एन्ड जर्कमा १ सय ३२ केजी उचालेका थिए ।

पुरुषको ६३ केजी तौल समूहमा आर्मीका कमलबहादुर अधिकारीले स्न्याचमा १ सय २० र क्लिन एन्ड जर्कमा १ सय ५५ गरी कुल २ सय ७५ केजी भार वहन गर्दै कीर्तिमानी स्वर्ण जिते । उनी स्ट्रङ्गेस्ट मेन प्लयेर घोषित भए ।

आर्मीका राजु चौधरीले ६१ केजी तौल समूहअन्तर्गत स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा १ सय १० गरी कुल २ सय केजी भार उचाले । यसै समूहमा स्न्याचमा ९२ केजी भार उचालेका मुई लामाले नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

महिलातर्फ ४९ केजीमुनिको तौल समूहमा पुलिसकी संगीता राईले स्न्याचतर्फ ५८ र क्लिन एन्ड जर्कतर्फ ७५ केजी गरी कुल १ सय ३३ केजी उचाल्दै कीर्तिमान बनाइन् । महिलाको ४५ केजीमुनि तौल समूहमा आर्मीकी रीता गुरुङले कुल ९० केजी भार वहन गर्ने क्रममा स्न्याचमा ४५ र क्लिन एन्ड जर्कमा पनि ४५ केजी नै उठाइन् ।


विभागीय टोलीकै एकछत्र

आठौँ राष्ट्रिय खेलकुदमा विभागीय टोलीकै वर्चस्व रह्यो । १ सय ४० स्वर्णसहित कुल २ सय ८९ पदक जितेको नेपाली सेनाको त्रिभुवन आर्मी पहिलो हुँदा आधाभन्दा पनि कम ६२ स्वर्णसहित कुल १ सय ५७ पदक जितेको नेपाल पुलिस दोस्रो भयो । सशस्त्र प्रहरीले ५४ स्वर्णसहित कुल २ सय ३ पदक थाप्दा आफूलाई तेस्रो स्थानमा उभ्यायो ।

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको गैरआवासीय नेपाली संघ एनआरएनएले ६ स्वर्णसहित कुल १३ पदक जित्यो । पदक तालिकाको पुछारमा रहेको कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत र १७ कास्य गरी २४ पदक जित्यो । प्रबितयोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएन गरी ११ टोलीको सहभागिता थियो ।

३५ खेल समावेश राष्ट्रिय खेलकुदमा २ हजार ८ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला गरी कुल ५ हजार २ सय ११ खेलाडीको जमघट थियो । आठौँ खेलकुद २ वर्षपछि गण्डकी प्रदेशमा भेटिने वाचासहित सकिएको छ । 

तस्विरहरु : केशव थापा

 

 

प्रकाशित: वैशाख १६, २०७६

ट्याग: खेलकुद