नेतृत्वमा सामन्ती छाया

- जनक नेपाल

नेपाल कम्युनिस्ट पार्टीको ७० औँस्थापना दिवस ९ वैशाखमा नेकपाका जिल्ला नेतृत्व घोषणा गरियो । लामो खिचातानी र गुटउपगुटको घनचक्करमा फसेको एकता टुंगिएको सभामा वरिष्ठ नेता माधवकुमार नेपालको अनुहारमा कुनै उत्साह देखिँदैनथ्यो । झन्डै डेढ घन्टा ढिलो सुरु सभामा उनी मुस्किलले एक घन्टा बसे र सुटुक्क बाहिरिए ।

वरिष्ठ नेता नेपाल बीच सभाबाटै निस्किनुको अन्तर्य त खुलेको छैन तर जतिन्जेल मञ्चमा रहे, पूरै असहज । नेपाल त्यहाँ धेरै नटिक्नुको एउटा कारण सभास्थलको तामझामलाई मानिएको छ । पार्टी सचिवालयका सबै सदस्यलाई मञ्चमा आसनग्रहण गराइएको थियो । मञ्चको मध्यभागमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' का लागि ठूला सोफा राखिएका थिए । दायाँबायाँ भने हात अड्याउनसमेत नमिल्ने कुर्सी थिए । मञ्चका दुई किनारमा अध्यक्षद्वयका ठूल्ठूला तस्बिर थिए । मूल ब्यानरसँगै कम्युनिस्ट नेता लेनिनको पूर्ण कदको तस्बिर थियो । प्रचण्डको तस्बिरमाथि मदन भण्डारी र पुष्पलाल श्रेष्ठसहित संस्थापक नेताका तस्बिर थिए ।

नेपाललाई असहज बनाउने अर्को कारण थियो, सिट व्यवस्थापन । उनी पुग्दा अध्यक्षपछिका वरिष्ठ नेताको सिटमा पहिल्यै अर्का नेता झलनाथ खनाल बसिसकेका थिए । जबकि, अरू सबै विषयमा वरिष्ठता र मापदण्डको कुरा गर्ने नेपाल पार्टी एकताका क्रममा खनालको वरीयता मिचेर प्रथम वरिष्ठ नेता बनाइएकामा खुसी थिए । खनालको सबैभन्दा ठूलो असन्तुष्टि त्यसैमा छ ।

कार्यक्रम सुरु भएलगत्तै अध्यक्षद्वयको शुभकामना भिडियो-क्लीप प्रसारण गरियो । त्यसपछिका वक्ता पनि उनै ओली र प्रचण्ड थिए । यो सबै दृश्यले उकुसमुकुस मानिरहेका नेता नेपाल अध्यक्ष प्रचण्डको मन्तव्य नसकिँदै बाहिरिए । "नेपाल त्यसरी बीच सभाबाटै हिँड्ने स्वभावका नेता होइनन्," उनी निकट नेता भन्छन्, "असन्तुष्टि व्यक्त गर्न पनि नमिल्ने, नगरेर बस्न पनि असहज लागेपछि एकताको त्यति महत्त्वपूर्ण सभा छाडेर हिँड्नुभएको हो । अर्को कार्यक्रम त निहुँ मात्र हो ।"

एमाले-माओवादी केन्द्र एकताको एक वर्ष पुग्नै लाग्दा नेता/कार्यकर्ताबीच मात्र होइन, शीर्ष नेताहरूबीच यस्ता असहज परिस्थिति थुप्रै पटक दोहोरिएका छन् । नेताहरू निर्धारित समयमा नआउने, घन्टौँ कुराउने, गुटमुखी हुने, शीर्ष तहकै नेता तथा प्रतिपक्षलाई भद्दा घोचपेच र होच्याउने चरित्र स्थापित गरेका छन् । नेकपाका दुई अध्यक्षमा को बढी प्रभावशाली देखिने र एकअर्काविरुद्ध रणनीतिक चाल चल्ने प्रतिस्पर्धा नै देखिएको छ । एकीकृत पार्टीमा अध्यक्षद्वय ओली र प्रचण्ड अस्वाभाविक रूपमा हाबी भइदिँदा सशस्त्र विद्रोहको पृष्ठभूमिबाट लोकतान्त्रिक अभ्यासमा अघि बढिसकेका पूर्वएमाले र पूर्वमाओवादीका तल्ला पंक्ति पुनः नेतृत्व-पूजामा फर्किएका छन् । "सामूहिक नेतृत्वमा चल्नुपर्ने कम्युनिस्ट पार्टीमा अधिकार मुठ्याउने प्रवृत्ति हाबी छ । दुई नेताले सम्पूर्ण शक्ति आफूमा केन्द्रित गर्न खोजेको देखिन्छ," राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, "अधिकार मुठ्याउने र नेता-कार्यकर्ताबीच दूरी बढाउने सोपान खडा गर्नु नै सामन्तवादी चरित्र हो ।"

प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताहरू जिल्ला पुग्दा तिनीहरूले बोक्नै नसक्ने माला लगाइदिने परम्परा सुरु भएको छ । विभिन्न मागसहित प्रतिबद्धताको भारी बोकाएको शैलीमा सुरु माला संस्कृति हुकिर्ंदै त्यसले विकृतिको रूप धारण गरिसकेको छ । कतिसम्म भने, ९ चैत ०७५ मा किरियापुत्रीलाई भेट्नसमेत संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित माला लगाएरै पुगे ।

११ मंसिर ०७५ मा सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रमको केन्द्रमा मजदुर र कामदार वर्ग थिए । तर काठमाडौँ चोकगल्लीका विद्युत् पोलमा प्रधानमन्त्री ओलीका तस्बिर झुन्ड्याइए, अखबारका ज्याकेट विज्ञापनमा पनि उनै छाए । राजनीतिक संस्कार र चिन्तनमा परिवर्तन नआउँदा जनताले संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख व्यवस्थाको अनुभूति गर्न नपाएको उनी बताउँछन् । सांस्कृतिक रूपान्तरण नहुँदा राज्य सञ्चालनमा तात्विक भिन्नता देखिएको छैन । त्यसैले पञ्च, कांग्रेस र कम्युनिस्ट नेता छुट्याउन मुस्किल भएको टिप्पणी गर्दै श्रेष्ठ थप्छन्, "नेपालका कम्युनिस्ट रातो मूलाझैँ भए । हेर्दाका मात्र रातो, काट्दा भित्र सबै सेतै रहेछन् ।"

नेताले सुन्ने कान र देख्ने आँखा बनाएका 'भातभान्सा कोटरी' ले नै अध्यक्ष र अरू नेताबीच, प्रधानमन्त्री र मन्त्रीबीच खाडल बनाइदिएको उनको बुझाइ छ । त्यसैले पार्टी एकतापछि पनि नेकपा गुट-उपगुटको संयुक्त मोर्चा बनेको देखिन्छ ।

लेनिनले विचार अभिव्यक्तिमा स्वतन्त्रता, कामकारबाहीमा एकरूपता भन्दै जनवादी केन्द्रीयताको अवधारणा ल्याएका थिए । तर अहिले नेपालका कम्युनिस्ट पार्टीमा नोकरशाही केन्द्रीयताको अभ्यास भइरहेको देखिन्छ । त्यसले नीतिभन्दा नेतालाई केन्द्रमा राख्ने र अन्तरपार्टी लोकतन्त्रलाई खुम्च्याउँदै लगेको छ । नेतृत्वमा पलाएको सामन्तवाद अन्त्य गर्न ठूलै सांस्कृतिक आन्दोलनको खाँचो देख्छन्, विश्लेषक श्रेष्ठ ।

राजनीतिशास्त्रकी प्राध्यापक मीना बैद्य मल्ल नेपाली राजनीतिमा विधि र प्रक्रियाभन्दा शक्तिलाई रिझाउने प्रवृत्ति झ्यांगिएर नयाँ चाकडीवादको जन्म भएकामा चिन्ता व्यक्त गर्छिन् । भन्छिन्, "सामन्तवादविरुद्ध लडेका नेताहरूले नै सामन्ती संस्कारलाई प्रोत्साहन गरिरहेका छन् । त्यसले नजानिँदो ढंगले नेता/कार्यकर्ता, सरकार र जनताको दूरी बढेको देखिन्छ ।"

आफ्नै ठूला तस्बिर, धेरै माला, गाडीका लावालस्कर र चाकडीको लाइनलाई अनदेखा गरेर शीर्ष नेताहरूले चाकडीबाज आसेपासेलाई हौस्याइदिएका छन् । त्यस्ता तामझामले झट्ट हेर्दा नेताको लोकपि्रयता बढेको देखिए पनि खासमा राजनीतिक उचाइ घटाइरहेका छन् । "एकै खालमा भद्दा तामझाम दोहोरिनुले नेताले त्यो सबै मन पराइरहेको बुझाउँछ," उनी भन्छिन्, "जनताबाटै उदाएर नेतृत्वमा पुगेका नेताका लागि ती कुनै पनि कोणबाट शोभनीय छैनन् ।"

नेपालमा नेता-पूजाको सुरुआत कांग्रेसले सुरु गरे पनि त्यसलाई माओवादीले हुर्काएको छलफल चल्ने गर्छ । कांग्रेसको राजनीतिक संस्कारमा भारतीय समाजवादी नेताहरूको प्रभाव देखिन्छ । धेरै पछिसम्म पनि कांग्रेसका सभामा कुर्सी, सोफा र टेबल देखिँदैनथे । सेतो तन्ना ओछ्याएर नेताहरू बस्थे । अडेस लाग्न ठूल्ठूला कुशन राखिएका हुन्थे । ००७ को सशस्त्र क्रान्ति थाल्नुअघिका बैठक स्मरण गर्दै प्रजातन्त्र सेनानी श्यामकुमार तामाङ भन्छन्, "बीपी कोइरालासहित अरू नेता त मजैले बस्थे । त्यसरी बस्न राणा खानदानी सुवर्णशमशेरलाई निकै धौ हुन्थ्यो ।"

बैठक र सभाका बसाइ त्यस्तो भए पनि बीपीको जीवनशैली भने रवाफिलै थियो । रेलमा उनी कहिल्यै सेकेन्ड क्लासमा यात्रा गरेनन् । जेलमा समेत उनलाई छुट्टै बन्दोबस्ती चाहिन्थ्यो । उनले कार्यकर्तासँग मात्र होइन, समकालीन नेतासँगसमेत निश्चित दूरी राख्थे । गणेशमान सिंह स्वास्थ्यका कारण पलेटी बस्न सक्दैनथे । त्यसैले कांग्रेस सभामा कुर्सी प्रयोग गर्ने पहिलो नेता उनै हुन् ।

गिरिजाप्रसाद कोइराला पछिल्लो सभापतित्व कालसम्म आइपुग्दा मञ्चको मध्यभागमा उनी एक्लै ठूलो सोफामा र अरू नेताहरू वरपर पलेटी कसेर बस्न थाले । सुशील कोइरालासम्म जसोतसो धानिएको त्यो परम्परा शेरबहादुर देउवा सभापति भएपछि भने अन्त्यजस्तै छ । उनको कार्यकालमा सेतो तन्ना र पलेटी बसाइका कमै सभा देखिएका छन् ।

पार्टीका मूल नेता सभामा आफैँ उपस्थित भए पनि ब्यानरमा तस्बिर राख्ने संस्कार कांग्रेसबाटै सुरु भयो । पूर्वएमालेमा तुलनात्मक रूपमा आन्तरिक लोकतन्त्र मजबुत थियो । नेताका तस्बिर राख्ने/नराख्ने विषयसमेत ठूला छलफलका विषय बनेका उदाहरण छन् । केन्द्रीय बैठकमा नेताहरू एकैखाले कुर्सीमा बस्थे । पार्टी कार्यक्रम छरिता र कम खर्चिला हुन्थे । ०४७ मा पार्टी एकता बेलाका तस्बिरमा तत्कालीन माले महासचिव मदन भण्डारी र माक्र्सवादी अध्यक्ष मनमोहन अधिकारी प्लास्टिकका कुर्सीमा देखिन्छन् ।

भण्डारी र अधिकारीपछि माधव नेपालको १५ वर्षे नेतृत्वकालमा पनि पार्टीमा सामन्ती संस्कार हुर्किन पाएन । ०६३ मा खुला राजनीतिमा आएपछि माओवादीले सामन्ती राजनीतिक संस्कारलाई नै मलजल गर्‍यो । उसले मुख्यतः पार्टी अध्यक्ष प्रचण्डको देवत्वकरण गरेरै पहिलो संविधानसभा निर्वाचनमा पहिलो शक्ति आर्जन गर्‍यो । त्यतिबेला देशैभर प्रचण्डका तस्बिर टाँसिएका थिए । मुख्य सहरबजार र सार्वजनिक भित्तामा भावी राष्ट्रपति कमरेड प्रचण्ड लेखेर प्रचारबाजी गरियो । त्यसको चर्को विरोध गर्दै ओलीले त्यतिबेला उनलाई 'भित्ते राष्ट्रपति' भन्दै व्यंग्य गरेका थिए ।

संसदीय राजनीतिमा आएको माओवादीको दबाब थेग्न नसकेपछि पूर्वएमाले पनि उसकै शैलीका युवा दस्ता बनाउने, नेतृत्वलाई स्कर्टिङ गराउने र नीतिभन्दा नेताकेन्दि्रत प्रचारबाजीमा उत्रियो । त्यतिबेला माओवादीविरुद्ध वैचारिक र भौतिक संघर्षको नेतृत्व गरेरै ओली एमालेमा लोकपि्रय भए, नेतृत्वमा पुगे । अहिले पार्टी एकतापछि त्यो तामझामपूर्ण र नेताकेन्दि्रत राजनीतिले झन् प्रश्रय पाएको हो ।

'जनयुद्धकाल' मा माओवादीका लम्बेतान आसनग्रहण, रातो टीका र मालाबिनाका सायदै कुनै सभा-सम्मेलन भए । शान्ति प्रक्रियामा आएपछि अरू पार्टी र नेताभन्दा भिन्न देखिन पनि त्यो प्रवृत्ति झन् मौलायो । खासगरी अध्यक्ष प्रचण्डलाई स्थापित, चर्चित बनाउन अनेक उपाय भएको देखिन्छ ।

प्रचण्डलाई त्यो ढंगले प्रोजेक्सन गर्नुका केही खास कारण थिए । सर्वसाधारण मात्र होइन, मिडिया र राजनीतिक नेतृत्वले समेत प्रचण्डको अस्तित्वबारे प्रश्न उठाइसकेका थिए । कांग्रेस नेता रामचन्द्र पौडेलले त 'प्रचण्ड निर्मल निवासमा छन्' सम्म भन्न भ्याएका थिए । माओवादी भूमिगत हुनुअघि नेता बाबुराम भट्टराईले सरकारलाई मागपत्र प्रस्तुत गरेका थिए । त्यसैले माओवादीका सर्वोच्च नेताका रूपमा भट्टराई चिनिन्थे ।

प्रचण्डको रापताप भूमिगत पार्टीभित्र मात्र थियो । त्यसैले नेपाली राजनीतिमा जबर्दस्त स्थापित हुने रणनीतिस्वरूप उनको देवत्वकरण थालिएको थियो । ०५४ मै नेताहरूले कुनै लेख वा विचार लेख्दा सुरुमै प्रचण्डको उद्धरणलाई महानवाणीका रूपमा राख्नुपर्ने थिति बसाइयो । त्यतिले नपुगेर ०५७ मा प्रचण्डपथ नै ल्याइयो । जनयुद्धकालमै माला र टीकालाई माओवादीले आफ्नो परिचय बनाइसकेका थिए । कतिसम्म भने, फूल नपाइने ठाउँमा दुबो, फूलका पातलाई बाँधेरसमेत माला लगाएर स्वागत गरिन्थ्यो ।

जबर्जस्ती बडप्पन देखाउनुलाई नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसाल नेताहरूको मनोविकारका रूपमा लिन्छन् । भन्छन्, "जब काम बोल्दैन, मान्छे बोल्नुपर्छ । नेताहरूले सचेत ढंगले नै सामन्तवादी चरित्रलाई अंगालिरहेका छन् ।"

नेतृत्वप्रति कार्यकर्ता र आम नागरिकको विश्वास टुटेकैले जायज माग पूरा गराउन पनि अनेक किलोका माला उनेर नेताका अहं पूरा गरिदिएको उनको बुझाइ छ । नेतृत्वमा पलाएको सामन्ती चिन्तन कहिले अन्त्य होला त ? भुसाल भन्छन्, "यो नेतृत्वले गर्दैन । अर्को युगानुकूल आधुनिक नेतृत्व आउनुपर्छ ।"

२ असार ०६३ मा बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट सार्वजनिक हुँदा माओवादी नेताद्वय प्रचण्ड र बाबुराम भट्टराई एकै रंग सफारी सुटमा थिए । मूल नेतृत्व सरकारमा नजाने घोषणै गरेका उनीहरू केही समय सादगीजस्तै पनि देखिए । तर छिट्टै पार्टी बैठकमा शीर्ष नेताहरू कुर्सीमा र अरू पलेटी कसेर बस्ने प्रबन्ध गरेर रेखा कोरियो । समयक्रमले माओवादी नेताका उठबस, संस्कार र व्यवहार पनि कांग्रेस, एमाले र राप्रपाजस्तै भिन्न हुन सकेन । "राजनीतिक व्यवस्था मात्र फेरेर हुँदैन, सामन्ती संस्कारको जरा उखेलिन बाँकी नै छ," प्राध्यापक मल्ल भन्छिन्, "त्यसका लागि कार्यकर्ताभन्दा नेताले चाहनुपर्छ । जनताले भन्दा नेताले चाहे त्यो छिटो परिवर्तन आउँछ ।"

कार्यक्रमका ढर्रा र भद्दा शैली परिवर्तनको चस्का पार्टीहरूलाई लाग्दै नलागेको भने होइन । पूर्वएमालेले भ्रातृ संगठनका कार्यक्रमलाई छरितो बनाउन मञचमा सुधार ल्याउन निर्देशन जारी गरेको थियो । तर खासै प्रभावकारी हुन सकेन । अहिले कांग्रेसले राष्ट्रिय जागरणमार्फत आफ्ना परम्परागत कार्यक्रम शैलीमा सुधार ल्याउन लागेको प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । उनका अनुसार आसनग्रहण र वक्ताको लम्बेतान सूची घटाइएको छ । ब्याच वितरण हटाइएको छ । शर्मा भन्छन्, "ठूला परिवर्तन गर्न सफल हुँदा ससाना सुधारमा ध्यान नदिएको पक्कै हो । अब त्यो सुधारको नेतृत्व कांग्रेसले गर्छ ।"

 

प्रकाशित: वैशाख १६, २०७६