युक्रेनबाट निम्तो

- सुरेश किरण

अन्ततः युक्रेनमा हास्य कलाकार भ्लादिमिर जेलेन्स्कीले नै चुनाव जिते । त्यहाँ त यहाँजस्तो भोट आउनेबित्तिकै चुनाव जितिने होइन रहेछ । त्यसका लागि चरणका चरण पार गर्नुपर्ने रहेछ । जसोतसो सबै चरण पार गरी उनले पनि चुनाव जितिछाडे ।

चुनाव जितेकामा जेलेन्स्की साह्रै खुसी छन् । उनले सोचेछन्, यो खुसीयालीमा संसारभरका हास्य कलाकारलाई युक्रेन बोलाउऊँ र पार्टी आयोजना गरुँ । अतः राष्ट्रपति पदको शपथग्रहण हुँदा संसारभरका गिनेचुनेका हास्य कलाकारलाई पनि निम्तो दिने निर्णय गरेछन् । जस्तो, भारतमा नरेन्द्र मोदीले चुनाव जितेका बेला सार्क देशका प्रमुखलाई निम्तो दिएका थिए । जेलेन्स्कीले पनि सायद त्यसै गर्न लागेका होलान् ।

संसारभरका हास्य कलाकारलाई निम्तो पठाइयो । भारत, अमेरिका, जापान, रुस, बेलायत, जर्मनी आदि/इत्यादि । त्यस्तै एउटा निम्तो नेपालमा पनि आएछ । युक्रेनका नयाँ राष्ट्रपतिले नेपालका हास्य कलाकारलाई पनि सम्झिनु हाम्रा लागि त खुसीकै कुरा हो । तर त्यो निम्तोले स्वयं हास्य कलाकारलाई भने साह्रै बेखुसी बनाइदिएछ । किनभने जेलेन्स्कीले नेपालका तर्फबाट जम्मा दुई जनालाई मात्रै निम्तो पठाएका रहेछन्- कमरेड केपी ओली र माधव नेपाल ।

मिस्टेक कहाँनिर भो ! अहिले देशका सबै हास्य कलाकार सोच र शोक दुवैमा डुबेका छन् ।

प्रकाशित: वैशाख १६, २०७६

ट्याग: परिहास