हाउजिङ : झमेला अनेक

- शिशिर बैद्य

तपाईंको सपनाको घर । शान्त वातावरण । प्राकृतिक सौन्दर्य । सामुदायिक बसोबास ।

चौबीसै घन्टा पानी, यथेष्ट पार्किङ, सजिलो बैंक फाइनान्स आदि सुविधा ।

हाउजिङ कम्पनीले यस्तै शब्दावलीले सजाउँछन् विज्ञापन । आकर्षणले लोभ जगाउँछ । बन्दै गरेका घरका आकर्षक तस्बिर देखाउँछन् हाउजिङ कम्पनी । घर खोज्न हिँडेका मान्छे ती तस्बिर देखेर एउटा सुन्दर सपना सजाउँछन् । सानो र सुखी परिवार अनि एउटा सुन्दर सुविधासम्पन्न घर ।

हिजोआज सहरमा घर खरिद गर्न सजिलो छ, तर महँगा भएका छन् । निम्नमध्यम वर्गीय परिवारले धान्न सक्नेभन्दा कैयौँ गुणा महँगा । बजार क्षेत्रका घरको त कल्पनै नगरे हुन्छ । सस्तोमा किनेर रातारात कैयौँ गुणा महँगो बनाएर बेच्ने बिचौलियाका कारण जमिनको भाउ वास्तविकताभन्दा निकै माथि पुगेको छ सहरमा । घर खरिदका लागि आकर्षणको केन्द्रबिन्दु काँठ भएका छन् । तर काँठ पनि सस्ता छैनन् ।

स-साना टुक्रामा खण्डीकृत काँठका अधिकांश खेतबारी बिचौलियाको कब्जामा छन् । घरमूलीभन्दा बिचौलियाको बिगबिगी छ बजारमा । कहिलेकाहीँ त लाग्छ, हरेक तेस्रो व्यक्ति दलाल हो सहरमा । बिचौलियालाई भनिने ठेट शब्द दलाल हो । तर यसको साटो स्टेट एजेन्ट, घरजग्गा कारोबारी अनेक उपमा थपिएको छ । प्रविधिले स्टेट एजेन्टलाई साँघुरो कोठामा सीमित गरिदिएको छ ।

इन्टरनेटको जमाना छ, त्यसैले ठूला अफिसको औचित्य छैन । सबै कुरा वेबमा हेर्न मिल्छ । घर खरिद गर्न सहर डुल्नुपर्दैन । वेबसाइट चहारे पुग्छ । पैसा चाहिँदैन, मन भए पुग्छ । बाँकी काम बैंकहरूले गर्छन् । सजिलो छैन त घर खरिद ? घर कर्जा बैंकहरूको प्राथमिकतामा पर्छ । घरजग्गामा लगानी अनुत्पादक हो तर सुरक्षित ठान्छन्, बैंक तथा वित्तीय संस्था ।

सहरमा घरजग्गाको व्यापार बढ्नुका कारण थुप्रै छन् । दशक लामो सशस्त्र द्वन्द्व र देशै हल्लाएको भूकम्प । काठमाडौँ खाल्डो र अन्य सहरको जनघनत्वलाई सोचेभन्दा अधिक रफ्तारमा बढाउने कारक हुन् यी ।

सम्झौताबिना सहरमा बाँच्न सम्भव छैन । घरको सपना पूरा गर्न सम्झौताका अनेक दस्तावेजले ल्याप्चे माग्छ, बैंक, हाउजिङ, मालपोतमा । कहिलेकाहीँ लाग्छ, यो ल्याप्चे लगाउने औँला नहुँदो हो त जीवन कसरी चल्छ ? बैंकसँग कर्जा नलिए घरको सपना अधूरो, लिए वित्तीय चक्रव्यूहमा फसिने । खरिद सम्झौतादेखि ऋण चुक्ता नगरेसम्म वित्तीय अनुशासनमा बस्न नसके घर धरापमा पर्ने र कालोसूचीमा नाम लेखिने सम्भावना बराबर हुन्छ ।

सहरको अर्को नाम हो, व्यस्तता । समय यहाँ जीवनभन्दा अमूल्य छ । आफैँ खटेर घर बनाउने समय सहरमा नाम र दाम कमाउने दौडमा लागेकासँग हुँदैन । त्यसैले त खुलेका छन्, यी हाउजिङ कम्पनी । हाउजिङ कम्पनीका घर र वास्तुकला आकर्षक लाग्ने हुँदा थुप्रैलाई तान्ने गरेको छ । नाम फरक भएका एकै जातका व्यवसायी हुन्, हाउजिङ कम्पनी । शान्त र सुखसँग बस्न पाउने सपना बाँडेका हाउजिङका घर के वास्तवमै सपनायोग्य छन् त ? घर किनेकाका तर्क सकारात्मक छैनन् ।

घर खरिद गर्दा सम्झौता अनिवार्य हुन्छ । दुवै पक्षका लागि यो सुरक्षित कागज हो । सम्झौतामा एक निश्चित समयमा घर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने भाका हुन्छ । वित्तीय अनुशासन त्यसैअनुरूप तयार गरिएको हुन्छ । आधा पैसा अगि्रम । त्यसपछि हरेक दुई या तीन महिनाको किस्ता । वित्तीय क्रमिकतामा अनुशासित नभए जरिवाना । बुँदा अनेक हुन्छन्, सम्झौतामा । तर सम्झौता अवधि सकिएर पनि घर नपाएका हाउजिङ पीडित थुप्रै छन् । उनीहरूका अनावश्यक दुःखका कथा सुन्दा उदेक लाग्छ । बरु आफैँ बनाए ठीकजस्तो ।

हाउजिङमा बस्नेहरू हेर्दा सम्पन्न देखिए पनि तिनीहरूले भोगिरहेका दुःख अनगिन्ती छन् । ती अदृश्य पीडा बिस्तारै सतहमा आउन थालेका छन् । कम्र्फट हाउजिङ थैवका दुवै फेजमा हाउजिङ र समुदायबीच किचलो चलिरहेको वर्षौं भइसकेको छ । गि्रनहिल सिटीले इमाडोल र चौधरी समूहले सुनाकोठीमा घर खरिद सम्झौता गर्‍यो । तर समयमै दिन सकेको छैन ।

कहिले पानीको दुःख, कहिले बत्तीको, कहिले ढलको समस्या, कहिले फोहोरको, कमसल सामानको प्रयोगका कारण पानी चुहिने, पाइप फुट्ने । समस्याका पहाड छन्, सुन्दर सामुदायिक बस्तीको ढोकाभित्र । यी सबै समस्याको उचित व्यवस्थापन गर्ने जिम्मेवारी हाउजिङ कम्पनीको भए पनि लिँदैनन् । अरूको पैसामा खेल्ने बानी परेका हाउजिङ कम्पनीका तथाकथित बिल्डर, स्टेट एजेन्ट सुन्दर घरको सपना बुनेर बसेका ग्राहकसँग पैसा थुत्न पाएनन् भने छटपटिन्छन् । यसमा न नियामक निकायको ध्यान गएको छ, न त स्थानीय निकायको ।

प्रकाशित: वैशाख १६, २०७६

ट्याग: विचार