'जो शान्त पदमा जानुभयो’

- महेशराज पन्त

चाबहिलको लिच्छविकालको शिलालेख विसं २०२० मा अभिलेख-संग्रह ९ भागमा छापिएपछि नेपालको प्राचीन इतिहासमा रुचि राख्नेहरूबीच यसको निकै चर्चा भयो । यो शिलालेख खण्डित भएकाले सबै कुरा त स्पष्ट भएन । तर कुनै स्त्रीले किन्नरी जातकको चित्र भएको बुद्धको भवन बनाई ४५ मानिका (परिमाणविशेष) धान आयस्ता हुने खेत गुठी राखेको, संघको भोजनका लागि र महामुनि (बुद्ध) को पूजाका लागि अर्को २८ मानिका आयस्ता हुने खेत गुठी राखेको, यस दानको पुण्यले गर्दा स्त्रीत्व छोडी पुरुष हुन पाऊँ भनी दात्रीले भनेको चाहिँ स्पष्टसँग बुझियो ।

यो शिलालेख टुक्रिँदा त्यहाँ साल नदेखिई 'माघवर्षे काले', त्यसपछि महिना, पक्ष र तिथि मात्र देखिएको थियो । राजाको नाउँ पनि फुटी खालि उनको उपाधि बाँकी रहेको थियो । व्यवहारमा ज्यादा चलेको संवत् त्यस शिलालेखमा नदेखिई अहिले चलनचल्तीमा नभएको, १२ वर्षे बार्हस्पत्य संवत्सर मात्र बाँकी रहेकाले र राजाको नाउँ पनि नदेखिएकोले यो शिलालेख कहिलेको हो भन्ने निर्णय गर्न गाह्रो पर्‍यो ।

विसं ०३० मा छापिएको, धनवज्र वज्राचार्यको लिच्छविकालका अभिलेखमा चाबहिलको यस शिलालेखलाई सबभन्दा अगाडि राखियो । यहाँ राजाको नाउँ फुटेको, खालि महिना, पक्ष र तिथि बाँकी रहेको र 'माघवर्ष काल' भन्ने अनौठो वर्षांकनपद्धति भएकाले उनले लिपिका आधारमा यसलाई मानदेवको चाँगुको स्तम्भलेखभन्दा पहिलेको ठहर्‍याए । मानदेवका बराजु वृषदेवको पालामा चाबहिलको चैत्य बनेको हो भन्ने कुरा उन्नाइसौँ शताब्दीको वंशावलीमा लेखिएकाले यस शिलालेखलाई चाबहिलको चैत्यसँग जोडी वृषदेवको पालाको भनी उनले लेखे ।

विसं ०३० मै हरिराम जोशीको नेपालको प्राचीन अभिलेख छापियो । शकसंवत् ४२५ को पलाञ्चोकको शिलालेखमा 'भट्टारकमहाराज' शब्दको प्रयोग मानदेवको प्रशस्तिमा भएको र त्यसभन्दा अगाडिका, राजाको नाम भएका कुनै पनि अभिलेखमा त्यो प्रशस्ति नआएकाले राजाको नाउँ फुटिसकेको भए पनि चाबहिलको यस शिलालेखमा भने त्यो प्रशस्ति हुँदा यसलाई मानदेवभन्दा अघिको हो भनी मान्न गाह्रै पर्छ । किनभने मानदेवका बाबुबाजेको समयमै त्यो प्रशस्ति चल्तीमा आइसकेको भए मानदेवको अन्तिम समयतिरको अभिलेखमा मात्र सो प्रशस्ति नआई उनको शासनको प्रारम्भदेखिकै अभिलेखमा उनको  नामको अगाडि त्यसको प्रयोग हुनुपर्ने हो । उल्टो, माथि चर्चित शकसंवत् ४२५ को अभिलेखपछिका धेरैजसोमा त्यो प्रशस्ति आएको छ । यसकारण चाबहिलको यो अभिलेख मानदेवको अन्तिम समयतिरको हो भनी सजिलैसँग भन्न सकिने तर्क त्यस पुस्तकमा गरिएको छ ।

चाबहिलको यस शिलालेखमा आएको 'माघवर्ष काल' को विषयमा 'ग्रहलाघव' र 'मकरन्दसारणी' को आधारमा गणना गरी यस शिलालेखको संवत् विसं ५५३ को हो भनी शंकरमान राजवंशीले ठहर्‍याई विसं ०३४ मा प्राचीन नेपाल ३०-३९ संख्यामा लेखे । विसं ०४० मा डिल्लीरमण रेग्मीको इन्स्क्रिप्शन्ज अफ एन्सेन्ट नेपाल छापियो । चाबहिलको यस शिलालेखमा आएको 'माघवर्ष' को विषयमा लेख्दा 'बृहत्संहिता' मा र उत्पलले लेखेको त्यसको टीकामा भएको १२ वर्षे बार्हस्पत्य संवत्सरको चर्चा तथा गुप्तसंवत्मा र त्यही बार्हस्पत्य संवत्सर दुवैमा मिति दिइएका परिव्राजक वंशका अभिलेखको चर्चा त्यहाँ गरिएको छ ।

चाबहिलको यस शिलालेखलाई वृषदेवको पालाको मान्ने हो भने, परिव्राजक वंशले शासन गरेको देशमा भन्दा पहिले बार्हस्पत्य मानको संवत्सरपद्धति नेपालमा चलेको थियो भनी मान्नुपर्छ । नेपालमा यो वर्षमान चलेपछि परिव्राजक वंशले त्यसको अनुसरण गर्‍यो भनी कल्पनासम्म पनि गर्न सकिन्न । यहाँ यस्तो वर्षमानको उदाहरण यो एउटा मात्र पाइएकाले यसको यहाँ प्रयोग परिव्राजक वंशको प्रभावमा मात्र गरिएको हो, चल्न भने सकेन । यसैले यसलाई म प्राचीनतम अभिलेख भनी मान्न सक्दिनँ । लिपिका आधारमा भन्ने हो भने यसलाई मानदेवदेखि वसन्तदेवको पालाभित्र राख्न सकिन्छ भन्ने डिल्लीरमणको निष्कर्ष छ ।

लिच्छविकालका उत्कीर्ण लेखबाट बौद्ध धर्मसम्बन्धी सूचना संग्रह गर्ने प्रसंगमा चाबहिलको यस शिलालेखको विषयमा विसं ०६५ मा दिवाकर आचार्यबाट गहकिलो काम भयो । उनको त्यो लेख जर्नल अफ दि इन्टरन्यासनल एसोसिएसन अफ बुद्धिस्ट स्टडिजको ३१ ठेलीमा छापिएको छ ।

धनवज्रको लिच्छविकालका अभिलेख छापिएपछि मात्र प्रकाशमा आएको [शक]संवत् ३८१ को खण्डित शिलालेखलाई दिवाकरले मानदेवको पहिलो अभिलेख मानी त्यस शिलालेखमा बार्हस्पत्य संवत्सरको चर्चा नआएकाले त्यस मितिभन्दा अगाडि कहाँ कहाँ माघवर्ष परेका छन् भनी वेंकटेश रामकृष्ण केतकरको इन्डियन एन्ड फरेन क्रोनोलजीअनुसार गणना गर्दै जाँदा शकसंवत् ३७१, ३५९, ३४७ र ३३५ मा परेको देखिएकाले चाबहिलको यो शिलालेख यी ४ संवत्मध्ये कुनै एकको हुनुपर्छ भन्ने उनको तर्क छ ।

लिपिको आधारमा गरिएको कालनिर्णय विद्वानैपिच्छे भिन्न भएजस्तै गणनाको परिणाम पनि भिन्नाभिन्नै आएकाले यस शिलालेखको समय निर्धारण हुन सकिरहेको थिएन ।

यस्तैमा, ०७५ पुसमा यस शिलालेखको अर्को खण्ड पनि भेटियो । मैले दुवै खण्ड जोडी यसको पाठ पढेँ । बार्हस्पत्य संवत्सरमा मात्र होइन, पछि भेटिएको खण्डबाट चलनचल्तीमा भएको अर्को एउटा संवत् अर्थात् ङ्गशकरसंवत्मा पनि मिति दिइएको देखिएकाले यसको समय विसं ५५७ भनी निर्णय भयो ।

यस शिलालेखका दुवै खण्ड जोडिएकाले यसको मूलपाठ, उल्था, व्याख्या आदि समेटेर लामै प्रबन्ध म लेखिरहेको छु । त्यो तयार हुन समय लाग्ने भएकाले यस विषयमा मोटामोटी कुरा प्रकाश गरिहाल्ने आग्रह जिज्ञासुहरूबाट हुँदा एउटा लेख तयार गरी नयाँ पत्रिकामा १८ फागुन र २ चैत ०७५ गरी दुई अंकमा छपाइयो । त्यस लेखमा यस शिलालेखको विषयवस्तुको विवेचन गरे पनि पूरै मूलपाठ र उल्था भने दिएको थिइनँ, किनकि लेखिइरहेको विस्तीर्ण निबन्धमा मूलपाठ र उल्थासमेत दिई कुनै संशोधपत्रिकामा छाप्ने मेरो विचार थियो । तर मेरो लेख पढेका जिज्ञासुहरूले मूलपाठ र सामान्य उल्था छपाइहाल्ने आग्रह गरेकाले यो लेख कोर्नुपरेको हो । यस शिलालेखको पाठनिर्णयमा योगेश राज र दिवाकर आचार्यबाट कहीँ-कहीँ मद्दत मिलेकाले दुवैलाई धन्यवाद छ ।

मूलमा फुटिसकेका वा अस्पष्ट अक्षर र त्यसका अंश प्रसंग मिलाई थप्दा यस्तो ङ्ग र कोष्ठको प्रयोग गरिएको छ । उल्था स्पष्ट पार्न थपिएका शब्द पनि त्यस्तै कोष्ठभित्र राखिएका छन् । श्लोक गन्न सजिलो होओस् भनी हरेक श्लोकको अन्त्यमा यस्तो ( ) कोष्ठभित्र श्लोक संख्या थपिएको छ । कुनै शब्दको अर्थ खुलाउन थपिएको शब्द पनि त्यस्तै कोष्ठभित्र राखिएको छ ।

उल्था

कज्याउन गाह्रा जुन इन्दि्रयद्वारा यी सबै मानिस डोर्‍याइन्छन्; दासले जस्तै ती (इन्दि्रय) कब्जामा राखी तिनीहरूलाई (मानिसहरूलाई) कृपाले अंगालेर; दान, शील, क्षमा, ध्यान, वीर्य, प्रज्ञा आदि ६ परिपूर्ण पारमिताद्वारा त्यसरी अनुत्तर ज्ञान पाई महषिर्ले मानिसहरूलाई दुःखबाट छुटाउनुभयो । सबै दुःखबाट छुटाएर जो उहाँ शान्त पदमा जानुभयो ।(१-३ श्लोक)

यहाँ कज्याउन गाह्रो चित्त सुरुदेखि कज्याएर; गर्न गाह्रा, मोह पार्ने, ती ती धेरै विघ्नद्वारा धेरै कालसम्म ज्यादै कष्ट गरी किन्नरी जातकले ढाकिएको, नाना थरी चित्रले सुहाएको भवविच्छित्को भवन मनोधराले [बनाइन्]।  श्रद्धाले, भक्तिले, प्रेमले र गौरवले बुद्धको [भवनलाई] खेतले सम्पन्न ङ्गतिनीलेर गरिन् । (४-६ श्लोक)

वर्षवर्षमा जहाँ ४५ मानिका धान उब्जनी हुन्छ;  त्यस्तो खेत चन्दन र माला चढाउनका लागि, तेल र धूपका लागि, बढारकुढार गर्न र लिपपोत गर्नका लागि [तिनीले] दिइन् भनी मुमुक्षुहरूले सधैँ थाहा पाउनुपर्छ । (७-८ श्लोक)

फेरि, संघको भोजनका लागि र महामुनिको पूजाका लागि तिनीले जहाँ २८ मानिका [उब्जनी हुने खेत] दिइन् । (९ श्लोक)

सधैँ आमाबाबुको हितका लागि र जगत्का लागि महर्षि विग्रहच्छित्को शिलाको मूर्ति [तिनीले] बनाइन् । (१० श्लोक)

विचित्रको दानधर्म यहाँ गरेर जुन शुभ मलाई ङ्गहुन्छ; त्यसद्वारार स्त्रीत्व छाडी, पुरुषत्व पाई, सबै दुःखको महासागर भएको, शोक र कामबाट बनेको हिलोबाट बुद्धत्व पाएर त्यसद्वारा यी मानिसहरूलाई म तारुँला । (११-१२ श्लोक)

संवत् ४२१ महामाघवर्ष काल आषाढ शुक्ल १२ यो दिन, सय वर्षभन्दा बढी [हुकुम चलाउने], भट्टारकमहाराज श्री[मान]देवको [पालामा] [मनोधराद्वारा  प्रतिष्ठा गरिएका महामुनि] ।

प्रकाशित: वैशाख १२, २०७६

ट्याग: इतिहास