बिचरा ठगिए

- सुरेश किरण

आफ्नो चारित्रिक प्रमाणपत्र बनाउन म प्रहरी कार्यालय पुगेको थिएँ । हाकिम सा'ब नभएकाले प्रतीक्षामा बसेको थिएँ । अचानक प्रहरी कार्यालयमा एक चिनेजस्ता व्यक्तिको प्रवेश भयो । चिनेजस्तो त लाग्छ, तर साँच्चै चिनेको भने थिइनँ । अन्दाजी ६०-६२ वर्षका अग्ला देखिने उनी स्वभावले भने भलाद्मी देखिन्थे ।

भित्र आउनेबित्तिकै कुर्सीमा बसेका प्रहरीलाई सोधे, "इन्स्पेक्टर सा'ब हुनुहुन्न ?"

"हुनुहुन्न । के थियो ?" प्रहरीले सोधे ।

"एउटा उजुरी टिपाउनु थियो," उनले भने, "ठगीसम्बन्धी उजुरी हो ।"

"कस्तो ठगी ?"

"घर बेच्नेसम्बन्धी ठगी हो । मलाई त बर्बादै पारिदियो । त्यही भएर उजुरी दिन आएको ।" उनी गम्भीर देखिए ।

प्रहरीले प्रतीक्षामा बसिरहेको मलाई पुलुक्क हेरे । फेरि भने, "खास कस्तो ठगी हो ? तपाईं भन्नुस् न, अनि कागज पनि बनाउँदै गरौँला ।"

"यो वास्तवमा ठूलै ठगी हो," उनले भने, "बेच्नै नमिल्ने घर बेचेर मलाई ठग्यो । यो दुई वर्षअघिको कुरा हो । एउटा साथीले मलाई जानकारी दियो कि सिंहदरबार बेच्ने तयारी हुँदैछ, किन्ने भए अवसर छ ।"

"सिंहदरबार बेच्ने रे ? सिंहदरबार त सरकारी सम्पत्ति हो, कसरी बेच्ने ?" प्रहरीले बीचैमा टोके ।

"त्यही त... मैले पनि सोधेको । तर सिंहदरबार व्यक्तिका नाममा आइसक्यो भन्यो । अब त्यही व्यक्तिले ब्लक-ब्लक बनाएर बेच्ने रे । मैले पनि हुन्छ भनेँ । उसले १२ कोठा भएको एउटा ब्लक किन्ने भए सस्तोमा मिलाइदिन्छु भन्यो । मैले हुन्छ भनेँ ।"

"अनि किन्नुभो त ?" सायद प्रहरीको पनि उत्सुकता बढ्यो ।

"सस्तोमा पाएपछि नकिन्ने कुरै भएन.... पैसा तिरेर किनेँ, त्यो एउटा ब्लक मेरो नाममा नामसारी पनि भइसक्यो ।" भलाद्मीले भने ।

"अब के भयो त ?"

भलाद्मीले बिस्तारै भने, "अहिले आएर पो थाहा भयो, सिंहदरबार व्यक्तिको नाममा आएकै रहेनछ । मलाई त्यही बेचेर ठगेछन् । म नराम्ररी ठगिएँ । ठगलाई कारबाही गर्नुपर्‍यो ।"

उनको कुरा सुनेर प्रहरीले 'हुँऽऽ' भन्दै टाउको हल्लाए । मलाई ठगिएका बिचरा भलाद्मीप्रति दया लाग्न थाल्यो ।

प्रकाशित: वैशाख १२, २०७६

ट्याग: परिहास