निषेधविरुद्ध मण्डेला

- कमल थापा

मलाई राजनीतिक रूपमा क्रियाशील हुन, राष्ट्र र जनताको पक्षमा निरन्तर संघर्ष गर्न ठूलो प्रेरणा दिएको किताब हो, नेल्सन मण्डेलाको लङ वाक टु फ्रिडम । किताबमा मण्डेलाले दक्षिणी अफ्रिकी गोरा शासनविरुद्ध संघर्ष गर्दा बिताउनु परेको २७ वर्ष लामो जेलजीवनको कथाव्यथा छ ।

तत्कालीन राष्ट्रपति एफडब्लु डी क्लर्कले जेलमुक्त गरेपछि मण्डेलालाई सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भयो । जसका विरुद्ध हजारौँ मानिसको ज्यान जाने गरी संघर्ष गरिएको थियो, त्यही समुदायका क्लर्कलाई नै मण्डेलाले उपराष्ट्रपति प्रस्ताव गरे, दिगो शान्ति र स्थायित्वका निम्ति । मण्डेला राष्ट्रपति र क्लर्क उपराष्ट्रपति भएर देशको संक्रमणलाई पार लगाए । मण्डेलाले योजना आयोगका अध्यक्ष र अर्थमन्त्रीसमेत गोरालाई बनाउँदै सार्वजनिक वक्तव्य दिए, 'हिजोसम्म हाम्रो आन्दोलन गोराविरुद्ध थियो, अब हामीले तिनीहरुलाई जातीय नजरले हेरेर निषेध गर्ने होइन । उनीहरुको योग्यताको सदुपयोग गर्दै सँगै हिँड्नुपर्छ ।' मण्डेलाको यही त्याग र दूरदृष्टिले आज दक्षिण अफ्रिका शान्ति र स्थायित्वसहित समृद्धिको दिशामा अग्रसर छ ।

नेपालमा भने आन्दोलनपछि प्रतिशोधको भावना हाबी भयो । ००७ देखि यताका आन्दोलन र संघर्षबाट पनि हामीले स्थायी संविधान र राजनीतिक प्रणाली निर्माण गर्न सकिरहेका छैनौँ । ०६२/६३ पछि समावेशी र समानुपातिक मूल्य-मान्यताको स्थापना भयो । तर प्रतिशोध र निषेधको भावना कायमै रह्यो ।

परम्परागत र क्रान्तिकारी शक्ति हातेमालो गर्ने उदार वातावरण रहेको भए आज देशको मुहार बदलिसक्थ्यो । सबै जना नेल्सन मण्डेला हुन सक्दैनन् । तर मण्डेलाका केही अंश मात्रै अनुसरण गर्न सके उपयोगी हुने थियो ।

सानो राज्यको अस्तित्व रक्षार्थ विश्व रंगमञ्चमा उदाएका महाशक्तिसँग विकास/विस्तार गरेको सम्बन्ध र आर्थिक विकासका योजनालाई रोमाञ्चकारी ढंगले लेखिएको छ, ली क्वान युको फ्रमथर्ड वल्र्ड टु फस्टमा ।

ठूला देशहरुबीच रहेको सिंगापुरले कहिले उपनिवेशमा बस्नुपर्‍यो, कहिले स्वतन्त्र राष्ट्र भएर आफ्नो संघर्ष बढायो । सुरुमा बि्रटिस साम्राज्यबाट मुक्तिको संघर्ष, पछि मलेसियासँगको द्वन्द्वलाई पार लगाउँदै सिंगापुरलाई एक स्वतन्त्र, विकसित र नमुना राष्ट्र साबित गर्नमा ली क्वान युको अद्वितीय भूमिका छ ।

राजनीतिक विवाद र द्वन्द्वको समाधान, मजदुर आन्दोलनलाई नियन्त्रण साथै चिनियाँ, मलेसियाली र भारतीय तीन समुदायमिश्रति राष्ट्रमा समेत मेलमिलाप कायम राख्न आफ्नो भूमिका र अनुभवलाई पुस्तकमा समेटेका छन्, उनले । विश्वका विकासोन्मुख र अल्पविकसित देशहरुले सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणका क्रममा यसबाट धेरै कुरा सिक्न सक्छन् ।

सिंगापुरमा मर्यादित प्रजातन्त्र स्थापित गर्ने ली क्वान युलाई निरंकुश शासकका रुपमा पनि हेरिन्छ । तर प्रजातन्त्र र विकास अनुशासनबिना सम्भव छैन । भनिन्छ, प्रजातन्त्र  ‘फ्री लन्च’ होइन । स्वच्छन्दतामा न प्रजातन्त्र फस्टाउन सक्छ, न त विकासको लक्ष्य हासिल हुन सक्छ । कतिपय सन्दर्भमा प्रतिपक्षमाथि अत्यन्तै कठोर भएका उदाहरणलाई अलग गर्ने हो भने समग्र राष्ट्र विकासका निम्ति प्रेरणादायी व्यक्तित्व हुन्, ली क्वान यु । उनले प्रजातन्त्रका मूलभूत मान्यता कायम गर्दै राजनीतिक र आर्थिक परिवर्तनलाई सँगै हिँडाएकाले नै आज सिंगापुरमा शान्ति, स्थायित्व र समृद्धि बलियो छ ।

हरेक राष्ट्रले आफ्नो भूराजनीतिक अवस्था, सामाजिक-सांस्कृतिक परिवेशको पृष्ठभूमिमा मौलिक प्रजातान्त्रिक व्यवस्था निर्माण गर्न सक्नुपर्छ, आयातीत मान्यता लादेर आमूल परिवर्तन हुँदैन भन्ने पाठ ली क्वान युबाट सिक्न सकिन्छ ।

हिन्दु धर्म : युनिभर्सल वे अफ लाइफले सनातन धर्म र संस्कृतिबारे मलाई गहिरो ज्ञान प्रदान गर्नुका साथै जीवनलाई हेर्ने र अगाडि बढाउने सन्दर्भमा ठूलो मद्दत गरेको छ । चन्द्रशेखरेन्द्र सरस्वतीको यो पुस्तकले जीवन, जगत्, धर्म आदिबारे प्रशस्त ज्ञान दिनुका साथै मेरो आध्यात्मिक रुचि, स्वभाव र चरित्रमा निर्देश गर्‍यो ।

सनातन धर्मका मूलभूत मान्यता, वेद, उपनिषद्, गीतालगायतका धार्मिक शास्त्रको विषयमा प्रकाश पारिएको छ, शंकराचार्यको पुस्तकमा । मानव जीवनको प्रारम्भ, सनातन धर्मको प्रादुर्भाव, हिन्दु धर्म नामकरणको ऐतिहासिक सन्दर्भ पनि पुस्तकमा छ । सत्य, सत्य प्राप्तिका मार्ग, वर्णाश्रम व्यवस्था, विभिन्न सम्प्रदायलाई हेर्ने वैदिक मान्यताका विषयमा गम्भीर ज्ञान प्राप्तिका लागि पनि यो पुस्तक उपयोगी छ ।

चलनचल्तीको भाषामा मन्दिर गएर गरिने उपासना-आराधना वा संस्कारगत कर्मकाण्डलाई नै धर्म मानिन्छ । तर कर्मकाण्ड त धर्मको एक पक्ष मात्रै हो । मूलतः सनातन धर्म जीवन दर्शन हो, जसमा जन्मदेखि मृत्युसम्म मात्रै होइन, पूर्वजन्म र पुनर्जन्मबारे पनि व्याख्या-विश्लेषण भएका छन् । सनातन मूल्य र मान्यतामा आस्था-विश्वास राख्ने बहुसंख्यक नेपालीको स्रोतबारे पनि यो पुस्तकमा विस्तृत जानकारी भएकाले हाम्रा लागि अत्यन्तै सान्दर्भिक छ ।

प्रस्तुति : गुरुङ सुशान्त

 

प्रकाशित: वैशाख ११, २०७६

ट्याग: तीन किताब