कस्तो फिल्म राम्रो ?

- यज्ञश

'नथिङ सक्सिड्स लाइक सक्सेस ।’

सत्य हो । तर प्रश्न छ, सफलता भनेको के हो ? जीवनमा के-कति चीज हासिल गरेपछि एउटा जीवन सफल हुन्छ ? के-कस्तो पुस्तक लेखेपछि एउटा लेखक सफल हुन्छ ? कति छिटो दौडिएको दिन धावकलाई सफल मानिन्छ ? र, कस्तो फिल्म बनाएको दिन फिल्ममेकरलाई सफल मानिन्छ ?

सफलताले आफ्नो मानक आफैँ बनाउँदैन । मानिसले बनाउनुपर्छ । त्यसलाई भत्काउने प्रयास पनि मानिसले नै गर्नुपर्छ । कलामा त खास यस्ता मानकको कुनै अर्थ नै हुँदैन । कलाको लम्बाइ वा चौडाइ नापेर ठूलो-सानो भन्न सकिन्न, जसरी भुसुना र हात्तीको आकारको तुलना हुँदैन । तर त्यही भुसुनो हात्तीको आँखामा छिर्‍यो भने ? त्यतिबेला को ठूलो ?

राम्रो फिल्म के हो भनेर खोज्दा यस्ता धेरै भनाइ भेटिए । फिल्म बनाउने स्वतन्त्रतामाथि अनेक बाधा खडा गरिएको इरानका फिल्ममेकर अब्बास किरुस्तामीका दुई भनाइले राम्रो फिल्म भनेको के हो भन्ने परिभाषा गर्छन् । अब्बास भन्छन्, 'राम्रो सिनेमा भनेको त्यो हो, जसलाई हामी पत्याउँछौँ, विश्वास गर्छौं । जसलाई हामी पत्याउन वा आत्मसात गर्न सक्दैनौँ, त्योचाहिँ झूर फिल्म हो ।'

राम्रा फिल्म निर्देशक र समीक्षकले भन्दै आएका छन्, ' आफूलाई मन पर्ने फिल्म बनाऊ, दर्शकलाई पनि मन पर्छ ।'

तपाईंलाई मन परेको फिल्म तपाईंका लागि राम्रो, नपरेको नराम्रो । यसमा अरु कुनै पनि परिभाषा वा सूत्र खोज्नैपर्दैन । आफूलाई मन पर्ने भनेको विश्वास लागेको, मन छोएको फिल्म हो । आफूलाई मन परेको कथा र भन्न मन लागेको शैलीमा भनिएको कथा । तपाईंलाई कस्तो कथा मन पर्छ भन्ने कुरा तपाईंको रुचि, सांस्कृतिक पृष्ठभूमि र ज्ञानको दायराअनुसार फरक पर्न सक्छ । कसैलाई इतिहासमा रुचि हुन सक्छ त कसैलाई साइन्स फिक्सनमा ।

सिनेमा यस्तो विधा हो, जहाँ हजारौँ वर्ष पुरानो समयलाई फर्काएर ल्याउन पनि सकिन्छ र आउने हजार वर्षपछिको समयको कल्पना पनि गर्न सकिन्छ । पर्दामा काठमाडौँ हान्न हिँडेका पृथ्वीनारायण शाहलाई उतार्न पनि सकिन्छ । साथै, अबको अढाइ-तीन सय वर्षपछि काठमाडौँ कस्तो होला भन्ने दृश्य पनि उतार्न सकिन्छ । तपाईं आफ्नो रुचिअनुसार पछि फर्किन सक्नुहुन्छ, अघि बढ्न पनि सक्नुहुन्छ । यो सुविधा साहित्यले पनि दिन्छ तर केवल अक्षरमा । सिनेमाले साक्षात आँखा अगाडि उपस्थित गराइदिन्छ, आवाजसाथ । तपाईं फिल्ममेकर हो भने सोच्नुस्, आफ्नो माध्यमबाट कुन कथा भन्न चाहनुहुन्छ- पहिले कुनै समय पृथ्वीमा रहेका डाइनोसरको ? भविष्यमा पृथ्वी खोज्दै आउने कुनै 'पिके' को वा काठमाडौँका गल्लीमा मास्टरप्लान लिएर हल्लिइरहेको अहिलेको कुनै 'हाकु काले' को ? अथवा अफ्रिकाबाट निस्किएर संसारभर फैलिएका होमो स्यापियन्सको पूरै इतिहासको ?

फिल्ममेकरसँग समयलाई जित्ने त्यो शक्ति छ, जसले उसलाई कलाकार बनाउँछ । वर्तमानको चित्र दर्शकका अगाडि जहाँसुकै हुन्छ । जे चीज अगाडि छैन, सिनेमाले त्यो वास्तविकतालाई पनि पेस गर्न सक्छ । सिनेमा यस्तो विधा हो, जसले वैकल्पिक यथार्थ समाजलाई दिन सक्छ । के छ मात्रै होइन, के हुनुपर्छ पनि भन्न सक्छ ।

तर व्यावसायिक भनिने फिल्मका निर्माता/निर्देशक भन्छन्, 'हामीले दर्शकलाई मन पर्ने फिल्म बनाएका छौँ ।' समस्या तब सुरु हुन्छ, जब दर्शकलाई मन पर्ने भनेर बनाइएका फिल्म नै तिनीहरुले मन पराउँदैनन् । गत वर्ष ९६ फिल्म रिलिज भएकामा मुस्किलले ५ वटाले लगानी उठाउनु त्यसको प्रमाण हो । व्यापार मात्रै गर्ने उद्देश्य राख्दा सिनेमाका अन्य सम्भावनाको उपयोग हुन गाह्रो हुन्छ । एउटा राम्रो व्यापार गर्ने सम्भावना भएको कथा राम्रो फिल्मका अन्य तफ्व नहुँदा असफल हुन जान्छन् । धेरैजसो व्यावसायिक फिल्मको समस्या त्यही हो ।

गता साता प्रदर्शनमा आएको फिल्म मेरो हजुर लाई उदाहरणका रुपमा लिऊँ । यो फिल्ममा यस्ता स्टार छन्, जसले पारिश्रमिक नै ४० लाखभन्दा बढी लिएका समाचार आए । फिल्म हेर्दा उनले केका लागि त्यत्रो पैसा पाए होलान् भन्ने प्रश्न खडा हुन्छ । न उनको भूमिका त्यस्तो विशेष छ, न त अभिनय । एउटा औसतभन्दा पनि कमजोर कथा, सयौँपटक दोहोरिएको सूत्र, सस्ता संवाद भएको कथामा अभिनय गर्न त्यति महँगो अभिनेतालाई कुन बाध्यता आइलाग्यो भन्ने लाग्छ । मानौँ, अनमोल केसीको स्टार पावरले यो फिल्म हेर्न धेरै मान्छे आए । यदि त्यही पावर साँच्चिकै राम्रो कथा, पटकथामा परेको भए के हुन्थ्यो । कति मान्छे आउँथे होलान् ? राम्रो फिल्म र लोकपि्रय स्टारको मेलले व्यापारलाई पनि अर्को उचाइमा पुर्‍याउन सक्थ्यो । कथित व्यावसायिक फिल्मका निर्माताले ध्यान नदिएको कुरा यो हो । हिजो पनि राजेश हमालको स्टारपावरको नाममा धेरै निर्माता डुबेका थिए । त्यसको दस वर्षपछि पनि वर्षमा ९० फिल्म डुब्नुभन्दा बढी फिल्म उद्योगको घोर असफलताको कथा अरु के हुन सक्छ ?

यो असफलताबाट पार पाउने उपाय भनेको आफूतिरै फर्किने हो । फिल्ममेकरले स्वमूल्यांकन गर्नु जरुरी छ । आफ्नो काम र सोचबारे पुनर्विचार गर्नु जरुरी छ । फिल्म खालि हिरो र हिरोइन, गीत, द्वन्द्व र ग्लसी दृश्यले चल्दैन । त्यस्तो हुन्थ्यो भने साथमा सबभन्दा धेरै पैसा भएको मान्छे, सबभन्दा ठूलो फिल्ममेकर बन्थ्यो । स्टिवन स्पिलवर्ग र मार्टिन स्कोरसेजीजस्ता हलिउड हस्ती ५-५ वर्षसम्म खाली बस्थेनन् । उनीहरुलाई फिल्म बनाउन न विषय, न स्टार, न त पैसाको खाँचो छ । खाँचो छ त गतिलो कथा र उत्तम विचारको । कथा भन्ने आफ्नो शैलीको । पलपल बदलिँदो डिजिटल दुनियाँको समवेदना समाउन सक्ने कलाको । त्यसको खोजीमा उनीहरु ठीक समय पर्खिएर बस्छन् ।

कलाको खेल नै मान्छेको मनसँग हो, उसको मस्तिष्कसँग हो । मानिसको मन तथा मस्तिष्क भनेको सारमा उसको बुझाइ र सोच हो । यी कुरालाई जुन फिल्मले छुन, हल्लाउन वा बदल्न सक्छ, मान्छेलाई त्यो फिल्म मन पर्छ । कि त तपाईंलाई थाहा नभएको कुनै संसार, सूचना वा कथाले छुन्छ, कि तपाईंको मनमा बिझेको कुनै खिलजस्तो कुराले छुन्छ । फिल्ममेकरको रुपमा जुन कथा र शैलीले तपाईंलाई छुँदैन, त्यसले दर्शकलाई छुने के ग्यारेन्टी ? के दर्शक तपाईंभन्दा कम बौद्धिक छन् ? तपाईंको भन्दा कमसल रुचि भएका छन् ? आजको डिजिटल संसारसँग पहुँच भएको, संसारभरका फिल्म घरमा बसेर हेर्ने, मोबाइलमा नेटफ्लिक्स र अमेजनका सिरिज बोकेर हिँड्ने दर्शकलाई त्यस्तो ठान्नुहुन्छ भने त्यो यो समयको सबभन्दा ठूलो भूल हो ।

आफूतिर फर्किनु भनेको आफ्नो समाज र कथातिर फर्किने भनेको हो । कैयौँ महिना अन्तरिक्षमा अड्किएर समुद्र किनारमा फकिर्ंदा भर्खर जन्मिएको कुनै जनावरको बच्चाले जसरी खुट्टा टेक्ने 'ग्रयाभिटी' की सान्ड्रा बुलकजस्ता चरित्र निर्माण हाम्रा लागि गाह्रो होला । पर्दामा पूरै अन्तरिक्ष बनाउन वा 'अवतार' को जस्तो एनिमेसन हामीलाई गाह्रो होला । हाम्रो बजेटभन्दा माथिको होला । तर 'रोमा' का जस्ता घरेलु कामदारका कथा काठमाडौँमा पनि छन् । 'सपलिफ्टर्स' जस्तो कृतिम परिवारमा बस्ने मानिसको कथा छैन ? यति भिन्न संस्कृति, जाति, भाषा, भूगोल र राजनीतिक आन्दोलनले भरिएको हाम्रो जीवनका कथा छैनन् ? ठूला महानगर हुन् वा स-साना गाउँ, प्रत्येक मानिससँग कथा छन् । हरेक जीवन आफैँमा कथा हो । अभाव खाली त्यसलाई वाचन गर्ने कलाको हो ।

मान्छेको जीवन जति जटिल र अचम्मको कुरा सायदै केही छ । मानिसका संघर्ष र सफलता जति आवेगले भरिएको कुरा पनि केही छैन । तर हामी यी सबैलाई कुनातिर थन्क्याएर कहिले तमिलनाडुको कुनै व्यक्ति त कहिले फ्लोरिडा र आइवोवातिरको कुनै अमेरिकीको कथालाई आफ्नो बनाउन उद्धत छौँ । हरियाणाकी युवती तथा विराटनगरकी कुनै युवतीको कथा र नियति उस्तै हुन सक्ला । हामीले किन विराटनगरकी युवतीको कथा नभन्ने ?

अरुका कथा भनेर हामी पुग्ने कहाँ ? ६-८ महिना समय दिएर, डेढ-दुई करोड खर्च गरेर बनाएको फिल्मको उपलब्धि लगानी उठाउनु मात्रै हो ? यदि हलभित्र छिर्दा र बाहिर निस्किँदा दर्शकको सोच र अनुभूति जस्ताको तस्तै रह्यो, फिल्मले उसमा केही पनि परिवर्तन गर्न सकेन भने एउटा कलाका रुपमा त्यसको कुनै स्थान छैन । सोच्न, कल्पना गर्न र कथा हाल्न सक्ने भएर नै मानिस मानिस भएको हो । कलाले मानिसको त्यो क्षमतालाई थप परिस्कृत बनाउँछ । यसैले कलालाई संसारभर यति धेरै महफ्व दिइएको हो ।

मान्छेले तीन घन्टा आरामले सुतेर वा रेस्टुराँमा साथीसँग बसेर पनि बिताउन सक्छ । त्यो समय यदि तपाईंको फिल्मलाई दिन्छ भने उसलाई केही नयाँ कुरा दिने, अनुभूति दिलाउने जिम्मा तपाईंको हो । फिल्म बनाउनेलाई यति बोध भएको दिनमा राम्रो फिल्म बन्नेछन् ।

अन्तिममा, किरुस्तामीको दोस्रो भनाइ । उनी भन्छन्, 'साह्रै राम्रा फिल्म हेर्दा प्रायः मलाई निद्रा लाग्छ । तर तिनका बारे सोचेर म कति रात जागै रहन्छु ।'

तपाईंलाई मन परेको फिल्म अरुलाई मन नपर्ने सम्भावना हुन्छ । लगानीको 'रिस्क' यसैमा छ । 'रिस्क' कुन व्यवसायमा छैन ? घरजग्गादेखि मःम पसलसम्मका व्यापारमा डुब्ने खतरा छ भने कलात्मक काममा त त्यो खतरा हुने नै भयो ।

तपाईंमा कला चेतना छैन र आफैँलाई मन नपरेको फिल्म बनाउनुहुन्छ भने, दर्शक त्यति मूर्ख छैनन् ।

अघिल्ला बहस :

कोही किन निर्माता बनोस् !

केले बनायो कमजोर ?

प्रकाशित: वैशाख ११, २०७६