वाह ! विकास

- मनबहादुर बस्नेत

मुस्ताङको कोरला नाका ताकेर ०७५ चैत पहिलो साता काठमाडौँबाट हानियौँ। हिउँ जमेका कारण मुक्तिनाथभन्दा अगाडि बाटो नखुलेको पोखरा पुगेपछि थाहा पाउँदा भने मन खिसि्रक्क भयो । जहाँसम्म पुगिन्छ, त्यहीँसम्म जाने भनेर अगाडि बढियो । बेनीबजार कटेपछि आउने गलेश्वर मन्दिरमा केही बेर टहलिँदै थियौँ, चालकले छिटो आउन हातको इसारा दिए । मुस्ताङ लेतेमुनिको भीरमा बाटो बनाउन साढे २ देखि साढे ६ बजेसम्म गाडी ओहोरदोहोर ठप्प पारिने रहेछ । त्यसअघि उक्त भीर पार नगरे चार घन्टा 'भीरबन्दी' मा परिने ।

१० बजिसके पनि हामीले चिया मात्रै पिएका थियौँ । कालीगण्डकी तिरैतिर करिब ५ किलोमिटर मात्र गुडेका थियौँ, टायर पन्चर भयो । जगेडा टायर फेर्दा आधा घन्टा बित्यो । थोरै अगाडि बढेपछि परिवर्तित टायरमा हावाको चाप कम भएको भन्दै चालकले फेरि पन्चरको खतरा तेर्साए । अब पन्चर भए पोखराबाट टायर मगाउनुपथ्र्यो । यता हाम्रो पेट उसैगरी पन्चर भइरहेको थियो । झन्डै १० किलोमिटर गुडेपछि हावा हाल्ने सुविधा पाइयो । बालबाल भीर काटियो, ठ्याक्कै २:२५ बजे । जोमसोममा बास बस्दा भोलिपल्ट मुक्तिनाथ पुगेर पोखरा झर्ने 'आशु योजना' बन्यो ।

र्फकंदा अघिल्लो दिनको 'भीरबन्दी' समयमै काटियो । तर कहर काटिएन । काभ्रेभीरमा उसैगरी बाटो बन्द हुने रहेछ चार घन्टा । अगाडि बढेर गाडीको लाम हेर्दै सुस्ताउनुभन्दा चिया पिउँदै बस्ने निधो गर्‍यौँ र डाङडुंगे खोलामा रोकियौँ । त्यहीँ भेटिए, पोखराबाट र्फकंदै गरेका मुस्ताङका सीडीओ गंगाबहादुर क्षत्री, डीएसपी तुलबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख निर्मल कार्की । बाटो बन्द भएपछि उनीहरु पनि गाडी छाडेर अगाडि पर्खने गरी हिँडेछन् र भेट जुर्‍यो । सीडीओ र जिल्ला सुरक्षा प्रमुखको गाडी त जस्तोसुकै काम रोकेर पनि चालू हुनुपर्ने/गराउनुपर्ने होइन ? जिज्ञासा सीडीओले मेटाए, "ठेकेदारले कबुल गरेकै मितिमा बाटो बनाएन भने उसलाई कारबाही गर्नुपर्छ । त्यतिबेला 'सीडीओ हिँड्दा काम रोक्नुपर्‍यो' भनेर काम नसक्नुको जिम्मा हामीलाई दिन्छ । कारबाही गर्न सकिँदैन । त्यसैले जो आए पनि निर्धारित समयको काम नरोक्ने नीति लिएका छौँ ।"

जिल्लामा सीडीओको शान, शक्ति अतिरिक्त हुन्छ । त्यसमाथि यहाँ त सीडीओसहित उनी मातहतका दुवै सुरक्षा प्रमुख चार/पाँच घन्टा थुनिएका छन् । तर कत्ति अहं छैन । सोचेँ, यो हिमाली जिल्लाका प्रशासकको सोचको सानो अंश सिंहदरबार र शीतलनिवासका शासकसँग भइदिए समृद्धि एक सपना मात्रै हुने थिएन ।

खान्की र बान्की

त्यही जम्काभेटमा अर्को रोचक कहानी सुनियो । भक्तपुरका बासिन्दा सशस्त्र डीएसपी कार्कीले थकाली खानाको स्वादको बखान निकै सुनेका रहेछन् । मुस्ताङको ३३ नं गुल्ममा आफ्नो सरुवा भएको चाल पाउनासाथ मनमनै कल्पेछन्, अब थकालीको रैथाने स्वाद लिइन्छ, उद्गमथलोमै ।

अन्यत्र जिल्लामा प्रमुख बनेर जाँदा मानिस गोरु बेचेको साइनो लगाएरसमेत सम्बन्ध गाँस्न हतारिन्थे । तर मुस्ताङमा ठीक उल्टो । कसैले भाउ नदिने । बल्लतल्ल जोमसोमका एक होटलवालाले चिया पिउन निम्ताए । गफिँदै चिया पिए । छिनमै होटलवालाका अरु साथी थपिए । होटलवालाले चिया अर्डर गरे र 'एकछिन' भन्दै निस्किए । छिनमै होटलवालीले डीएसपीलाई आठ/दस थान चियाको बिल थमाइछन् । त्यस दिनदेखि असली थकाली भान्छा गर्ने चाहना डीएसपीले मारेछन् । बरु जुक्ति निकाले, मेसमै काँसको कचौरामा खाना हाल्ने र थालमा घोप्टाएर थकाली शैलीमा पस्किने । भन्छन् नि, नेपाल सरकारको खान्कीभन्दा बान्की राम्रो । मुस्ताङमा न खान्की, न त बान्की ।

ज्यूँदोजाग्दो सिन्डिकेट

पोखरामा एक अधबैंसे ठूलो आवाजमा कड्किए, "तपाईंको समिति सरकारभन्दा पनि ठूलो ?" ज्येष्ठ नागरिकको परिचयपत्र देखाउँदा छूट नदिएपछि चूर भएका रहेछन् । तर लेकसाइड पृथ्वीचोक चल्ने उक्त गाडीका सहचालक मरिगए छूट दिन तयार भएनन् । उल्टै कड्किए, "हामी सरकारको कुरा मान्दैनौँ । समितिको मान्छौँ ।' बस रहेछ, पोखरा बस व्यवसायी संघको । सबै यात्रु सरकारले तोकेको सुविधा पाउनुपर्ने भन्दै एकमुख हुँदा पनि उनी टसमस भएनन् । ज्येष्ठ नागरिक ऐनले वृद्धवृद्धालाई सार्वजनिक यातायातमा ५० प्रतिशत छूट किटान गरेको छ । तर व्यवसायी हाकाहाकी कानुन मान्दैनौँ भन्छन् । सरकारले यातायातको सिन्डिकेट धुलिसात पारेको गफ दिएकै छ । एक यात्रुले सहयात्रुसँग भनिन्, "लुट्न सके लुट....।" 

 

 

प्रकाशित: वैशाख ११, २०७६

ट्याग: नोटबुक