११ गाउँका सुकुम्बासी राजा

- राजकुमार राउत/लहान

जसको फुसको छाप्रो हाल्ने एक चपरी माटो छैन, उही ११ गाउँको राजाभन्दा पत्यार नलाग्न सक्छ । तर सप्तरीको खडक नगरपलिका- ३ कंचिरा गाउँका मुनेश्वर मल्लिक डोम, ६५, को अधीनमा सप्तरीका ११ गाउँ छन् ।

सरकारी रेकर्डमा मुनेश्वरको नाममा राज्यभरि एक डल्लो माटो पनि छैन । गाउँको बीचमा पोखरी डिलमा भएको फुस छाप्रो पनि ऐलानी जमिनमा छ । चरम गरिबीका कारण बिहान-बेलुकीको हातमुख जोर्न उनको परिवार बाँसको सामग्री बुनेर गाउँघरमा डुलाएर बेच्ने अनि शौचालय र ढल सफाइको काम गर्छ । कथंकाल बाँसका सामग्री बिक्री नभएको दिन त उनको अगेनो नै बल्दैन ।

सप्तरीको खडक नगरपालिकाको कंचिरा, महेशपुर, दुवी, बदरझुल्ला, खरचुइयाँ, बिसनपुर, मुसहरनिया, खेस्राहा, भदैया, रञ्जितपुर र सिमर उनका बाबुबाजेले आर्जेको पुख्र्यौली गाउँ हो । आफ्नो आर्जनले असोज, ०७१ मा गोरया मल्लिकसँग २० हजार रुपैयाँमा खोजपुर गाउँ किनेका हुन् । चैत ०७५ मा उनले खडक नगरपालिका-४ स्थित तीन घर मुसलमान र चौधरीको बस्ती रहेको अमाहा गाउँ किन्न खोज्दा एक लाख रुपैयाँमा मिलेन । सप्तरी, पन्सेराका गोलेरिया मल्लिक चार लाखभन्दा घटेनन् । अझै पनि गोलेरियासँग कुरा भइरहेको दाजु धुलेरिया बताउँछन् । भन्छन्, "मेरो भाइ मुनेश्वरसँग जति सिरहा, सप्तरी र उदयपुरका कुनै पनि डोमसँग गाउँ छैन ।"

सप्तरी, पन्सेराकी सेतीदेवी मल्लिकका अनुसार डोम समुदायमा सम्पत्ति भनेकै गाउँ हो । जसको बढी गाउँ छ, उही समुदायमा सबैभन्दा धनी र प्रतिष्ठित कहलाउँछ । "डोम समुदायले बास बस्ने घर नभए पनि साहूमहाजनसँग कर्जा लिएरै भए पनि एक गाउँ अनिवार्य रूपमा किनेकै हुन्छन्," उनी भन्छिन्, "तराईमा एक गाउँ नहुने त डोमै हुँदैन ।"

सिरहा र सप्तरीमा डोम समुदायमा मनेश्वरको अनुमतिबिना कुनै पनि डोम पसेर कामकाज गर्न पाउँदैनन् । ती गाउँमा उनको एकछत्र जातीय राज चल्छ । सिरहा, लहानका उपेन्द्र मल्लिक आफ्ना लागिभन्दा पनि भावी सन्ततिका लागि गरिखान डोम समुदायले गाउँ किन्ने, बन्धकी लिने गरेको सुनाउँछन् । भन्छन्, "जातीय परम्पराअनुसार गाउँ-समाज भेला भएर, कपाली कागज गरेर गाउँ बिक्री र बन्धकी लगाउने चलन छ ।"

सप्तरी पन्सेरा गाउँका गोलेरिया मल्लिक र धलेरिया मल्लिकबीच ०७५ चैतमा अमाहा गाउँ अंशबन्डा भएको पत्र


डोम समुदाय राज्यको कानुनभन्दा जातीय कानुनलाई मान्छ ।  आफ्नो क्षेत्र छाडेर अर्काको क्षेत्रमा बाँसको सामग्री बिक्री गरे या शौचालय, ढल सफा गरे एकदमै कडा दन्ड सजाय हुन्छ । कसैले गल्ती गरे समाजले गाउँ निकालासमेत गर्न सक्छ । कडा जातीय दन्ड सजाय हुने भएको डोम समुदाय अरू क्षेत्रमा अनुमतिबिना जाँदैन ।

कुनै किसिमको घटना भए प्रहरी प्रशासनमा जाने चलन छैन, बरु समुदायमै बसेर छलफल गर्छन् । गाउँ किनबेच, बन्धकी, पाँच वर्षमुनिको बालबिहेजस्ता कुप्रथा पनि यथावतै छन् ।

सप्तरीको सुरुंग नगरपालिकाका मेयर मुक्तिनाथ चौधरी तराईका डोम समुदायमा अझै पनि जमिनदारी प्रथा रहेको बताउँछन् ।  भन्छन्, "तराईका सीमान्तकृत दलित डोम समुदायको उत्थानका लागि सीप तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गरे पनि अज्ञानता र अशिक्षाका कारण अवस्था जस्ताको तस्तै छ ।"

तराई मधेसमा अझै पनि डोम समुदायलाई उपल्लो समुदायले सार्वजनिक स्थानका इनार, चापाकल, धारा छुन, मन्दिर र होटल प्रवेशमा वञ्चित गरेको छ ।

दलितभित्र पनि दलितको रूपमा चिनिने अल्पसंख्यक समुदाय हो, डोम । ०६८ को जनगणनाअनुसार तराईमा छरिएर रहेका डोम समुदायको पूर्व झापादेखि पर्सासम्म, भित्री मधेसका उदयपुर, सिन्धुलीमा गरी १३ हजार जति जनसंख्या छ । सप्तरी र सिरहामा मात्रै तराईमा अल्पसंख्यक सीमान्तकृत डोम समुदायको पाँच हजार हाराहारी जनसंख्या रहेको डोम उत्थान समिति सिरहाका अध्यक्ष रामचन्द्र मरिक बताउँछन् । 

 

प्रकाशित: वैशाख ८, २०७६