[सम्पादकीय] अरूजस्तै चाइना कम्पनी

- बसन्त बस्नेत

चिनियाँहरू चिनिएकै आनीबानीले । अक्सर शान्त देखिन्छन् । बोलीका नरम । कामका पक्का ।

पृथ्वीनारायण शाहले दिव्योपदेशमा उत्तर-दक्षिणका छिमेकीबारे बोल्दा आधुनिक नेपालको कूटनीतिले आकार पाइसकेको थिएन । चिनियाँको चरित्रचित्रण भने त्यसबेलै भइसकेको थियो । उत्तरको वादशाहसँग 'घाहा राख्नु' भन्दै गर्दा उनी चिनियाँ स्वभावसँग जानकार रहेको छनक मिल्थ्यो । उनले औँल्याएको 'दक्षिणको वादशाह' बारे पछि कुरा गरौँला ।

कूटनीतिक भाइचारामा पटक-पटकका उतारचढाव बेहोर्ने क्रममा हाम्रा सत्ता सञ्चालकले उत्तरतिर नजर नलगाएका होइनन् । पछिल्ला वर्षमा यस्तो सम्बन्ध सरकार-सरकारबीच मात्रै नभई निजी क्षेत्र, सञ्चार, प्राज्ञिक क्षेत्र र नागरिकका विभिन्न तप्कामा विस्तारित छ । पछिल्लो भारतीय नाकाबन्दीले नेपाललाई चीनको सामीप्यमा पुर्‍याएको कानेखुसी देश-देशावर चल्दो छ ।

यिनै पृष्ठभूमिमा यो साता राष्ट्रपति विद्यादेवी भण्डारीको बेइजिङ भ्रमण हुँदैछ । बोआओ फोरममा प्रथम राष्ट्रपति रामवरण यादवले चिनियाँ समकक्षी सी चिनफिङसँग साइडलाइन भेट गरेका प्रसंग छाड्ने हो भने नेपालमा गणतन्त्र आएयता राजकीय तहको यो पहिलो सर्वोच्च भेट हुनेछ । सी नेपाल आउने हल्ला चलेको त धेरै भइसक्यो । यो आसन्न भ्रमण क्रममा नेपाल-चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने कार्यसूची तोकिएको छ । सम्झौताको प्रोटोकल तयार हुनै करिब दुई दशक लाग्न गएको प्रसंग यहाँ सम्झिनुपर्छ ।

यसै सन्दर्भमा नेपालले उत्तरी छिमेकीसँग सम्बन्धका तहमध्ये एउटा पक्षलाई जोड दिएर केलाउन खोजेको छ । खासगरी 'बोलीका पक्का' ठानिएका चिनियाँ कम्पनीहरूले नेपालमा चलाएका सानाठूला परियोजनाको कार्यसम्पादनमा बग्रेल्ती भेटिएका अड्चन र ढिलासुस्ती हाम्रो सरोकार बन्न गएको छ । हाम्रा सहकर्मी योगेश ढकालको रिपोर्टले भन्छ, थुप्रै चिनियाँ कम्पनी ठेक्का लिन्छन्, समयमा काम सक्दैनन् । कतिपयले त हात हालेको परियोजना बीचैमा छाडेरसमेत हिँड्ने गरेका छन् ।

यस्ता कमजोरी अन्य देशका सरकार र दातृ निकायका सहायता र सञ्चालनमा पनि नभएका होइनन् । चिनियाँ पक्ष भने यसमा अपवाद रहँदै आएको थियो । निर्धारित समयअगावै सकिएका पछिल्ला केही परियोजनाले उसको साख अझै माथि देखाएको थियो । भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलजस्ता परियोजना उज्याला दृष्टान्त हुन्, जसमा चिनियाँ पक्षले 'बोलेको पुर्‍याउँदै' छ । भेरी-बबईको सुरुङ तोकिएको अवधिभन्दा एक वर्षअगावै छेडिइसकेको छ । गौतम बुद्ध विमानस्थल पनि समयसारिणी पछ्याउने क्रममा छ ।

चीनको चित्र यत्तिमा पूर्ण हुँदैन । पश्चिम सेतीमा थ्री गर्जेज, बूढीगण्डकी र चमेलियामा गेजुवा, मेलम्चीमा चाइना रेलवे फिफ्टी ब्युरो, ढल्केबर विद्युत् सबस्टेसनमा सेन्ट्रल चाइना पावर गि्रडजस्ता अनेकौँ परियोजनामा चिनियाँ कम्पनीको कार्यशैली विवादभन्दा माथि उठ्न सकेन । चिनियाँहरू मनले खाएका आयोजना फटाफट अघि बढाउँछन्, बाँकीको व्यथा त्यस्तैउस्तै छ भन्नलाई यी दृष्टान्त काफी छन् । ठेक्का लिएका परियोजना होल्ड गरिराख्ने, नत्र छाडेरै जानेजस्ता प्रवृत्ति देखाउने विभिन्न अन्तर्राष्ट्रिय कम्पनीभन्दा चिनियाँ कम्पनी पनि अलग देखिएनन् ।

अपेक्षा गर्छौं- उत्तरी छिमेकका कम्पनी हाम्रा परियोजनाहरूमा त्यस्तै सावित होऊन्, जस्तो आधुनिक नेपालका निर्माणकर्ता पृथ्वीनारायणले अढाई सय वर्षअघि कहेका थिए । राष्ट्रपति भण्डारीको आसन्न भ्रमणलाई दुईपक्षीय भेटको नयाँ शृंखला मात्रै नभई नेपाली विकासमा साझेदारहरूको विश्वसनीय उपस्थितिको आशासहित हेरिनुपर्छ ।

 

प्रकाशित: वैशाख ८, २०७६