आर्थिक साक्षर नेपालको खाँचो

- ​​​​​​​दुतेन्द्र चाम्लिङ

सन् २०१७ मा नोवेल पुरस्कार समितिले अर्थशास्त्री रिचार्ड एच थालरलाई अर्थशास्त्र विज्ञानका लागि नोवेल पुरस्कारद्वारा सम्मानित गर्दा उनको योगदानले वैयक्तिक निर्णय निर्माणको मनोवैज्ञानिक विश्लेषण र अर्थशास्त्रको बीचमा एउटा पुल निर्माण गरेको र व्यावहारिक अर्थशास्त्रको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भन्ने उल्लेख गरेको थियो ।

रिचार्ड एच थालरको विचारमा कुनै पनि मानिसको आर्थिक व्यवहार मानिस, समाज र वातावरणलाई हेर्ने उसको दृष्टिकोणमा निर्भर रहन्छ । अन्तर्वार्ताको क्रममा उनले चिनियाँ नागरिकको आर्थिक व्यवहारमाथिको अथ्ययन नै आफ्नो व्यावहारिक अर्थशास्त्रको आधार भएको बताएका छन् । उनी अगाडि भन्छन्, एउटा व्यक्तिले एकदिनमा कति चोटी चिया खान्छ ? धेरैको लागि यो सवाल असमान जवाफ दिने एउटा महत्त्वपूर्ण अवसर हो । तर चिनियाँहरूको सवालमा बिल्कुल फरक छ, तपाइर्ंले चियाको लागि उनीहरूलाई अनुरोध गर्नुभयो भने र यदि उनीहरूले विहानै एक कप चिया खाइसकेका भए, तपाइर्ंको अनुरोध स्वीकार्न असमर्थ रहेको बारेमा बताउँदै उनीहरूले क्षमा माग्नेछन् । उनीहरूको विचारमा एक कपभन्दा बढी चिया खानु अरु कसैको एक कप चियाको अधिकार हनन गर्नु हो । उनीहरूको विचारमा आवश्यकताभन्दा बढी खाद्य उपयोग गर्नु अरुको खाद्य सम्प्रभुता खोस्नु हो । उनीहरूको विचारमा उनीहरूसँग जुन पुँजी छ, त्यो उनीहरूलाई आवश्यकताभन्दा बढीमा अरुको अधिकारको निक्षेप छ । उनीहरू वस्तु, सेवा र पुँजीलाई मानवीय व्यवहारको फरक आर्थिक रूप मान्दछन्, जसरी हामी मान्दछौँ पानीका फरक रूप बरफ, पानी र वाफ । रिचार्ड एच थालरको संकेत गराई आर्थिक साक्षरतातर्फ हो ।

आर्थिक साक्षरता आर्थिक प्रणाली उत्पादन, उपभोग, वचत, वितरण र लगानीप्रतिको सम्यक दृष्टिकोण हो । यसले अर्थतन्त्रका परिसूचकहरूबीचको पारस्परिक सम्बन्धलाई समाजको पारिस्थितिकीय संयन्त्रको रूपमा स्वीकार गरेको हुन्छ, जसले गर्दा यसबाट प्राप्त विकास दिगो र प्रभावकारी हुन्छ ।

आर्थिक साक्षरता र वित्तीय साक्षरतालाई समान रूपमा लिने गरेको पनि पाइन्छ । यथार्थतः आर्थिक साक्षरताको मुख्य आधार सामाजिक विज्ञान हो भने वित्तीय साक्षरताको आधार हो, व्यावसायिक विज्ञान । आर्थिक साक्षरताले वित्तीय साक्षरता र आर्थिक समावेशीकरण दुवैलाई समेट्छ । आर्थिक साक्षरता वित्तीय साक्षरताभन्दा बृहत् क्षेत्र भएको विषय हो । वित्तीय साक्षरता वैयक्तिक मामिला हो भने आर्थिक साक्षरता सामूहिक मामिला हो । वैयक्तिक वित्तीय जोखिमको पहिचान गर्न सक्ने ज्ञान, सीप र क्षमता नै वित्तीय साक्षरता हो ।वित्तीय साक्षरता पुँजीको अधिकतम उपलब्धि प्राप्त गर्नतर्फ बढी केन्दि्रत हुन्छ भने आर्थिक साक्षरता उत्पादन, उपभोग, बचत, लगानीका साथै विशेषगरी वितरण प्रणालीप्रति पनि सचेत र जिम्मेवारबोध गर्ने चिन्तन प्रणाली हो । उपलब्धि र सामूहिक हितको प्रर्वद्घन र संवर्द्घन गर्दै आर्थिक सुशासन कायम गर्नु आर्थिक साक्षरताको मुख्य उद्देश्य हुन्छ ।

विभिन्न अर्थशास्त्रीहरूको मत वित्तीय साक्षरताको सुरुआत ९० को दशकमा सुरुआत भएको भन्ने छ । आर्थिक साक्षरताको सुरुआतचाहिँ सन् २००७-२००८ को विश्वव्यापी वित्तीय संकटपछि त्यसलाईवित्तीय साक्षरताले सम्बोधन र समाधान गर्न नसक्ने विश्वको अर्थशास्त्रीहरूको चिन्तनबाट सुरु भएको मानिन्छ । केही अर्थशास्त्रीहरू भने यी दुवै विषय एउटै भएको र यी विषयको सुरुआत २१ औँ शताव्दीमा भएको मान्दछन् ।

वित्तीय साक्षरता मुद्रा व्यवस्थामा व्यक्तिको व्यवस्थित र विवेकपूर्ण निर्णय तथा मूल्यांकन क्षमता हो भने त्यसको आधारका साथै आर्थिक सन्तुलनको सम्पूर्ण आधारहरू आर्थिक साक्षरताले दिन्छ । हरेक व्यक्तिसँग भएको सीमित स्रोत र साधनको कुशल उपयोगबारे जानकारी दिँदै आयमूलक क्षेत्रमा लगानी गर्ने र त्यसबाट आर्थिक उन्नति गर्ने ज्ञान, सीप र कला प्रदान गर्नु वित्तीय साक्षरता हो । आर्थिक स्रोत साधनमाथि सवै क्षेत्र, लिंग, वर्ग, जात-जातिको समान पहुँच र सहभागिता सुनिश्चित भएको अवस्था वित्तीय समावेशीकरण हो ।

सीमित स्रोतमाथि कसरी सबै मानिसको पहुँच सुनिश्चित गर्न सकिन्छ भन्ने कुरा आर्थिक साक्षरताको चासोको विषय हो भने स्रोत साधन प्राप्ति र पहुँचमा आफ्नो क्षमताको अधिकतम विस्तार गर्नु वित्तीय साक्षरताको चासोको विषय हो । वैयक्तिक ढंगले सोच्ने भएकोले वित्तीय साक्षरता आफैँप्रतिको सचेतना हो भने सवैको सामूहिक आर्थिक सामाजिक सम्बन्धको सन्तुलनबाट मात्रै आफ्नो आर्थिक स्रोत साधनमाथिको पहुँचले दिगोपन पाउँछ भन्ने सोचले अरुको पहुँचको समेत सुनिश्चितताको लागि जिम्मेवारीबोध नै आर्थिक साक्षरता हो ।

विश्वव्यापीकरणको तमास बजार अर्थतन्त्रमा पनि संसारका मानिस, समाज र राष्ट्रहरूबीचमा जुन हदसम्मको असमानता व्याप्त छ, त्यस्तो हुनुमा आर्थिक साक्षरता र वित्तीय साक्षरताको पृथक् मर्म जिम्मेवार छ । स्पष्ट रूपमा वित्तीय साक्षरताको पल्ला भारी भएको कारण यो अवस्था हामीमाझ छ ।

आर्थिक प्रणालीको सजीवता सामूहिक क्रियाशीलता र स्वइच्छित संलग्नतामा निर्भर हुन्छ । अर्थतन्त्रको एउटा निश्चित समयमा निश्चित आयतन हुन्छ । अर्थतन्त्रको केन्द्रीकरणले अरुको आर्थिक प्रणाली माथिको पहुँचको अधिकारलाई मात्र संकुचित गर्दैन, त्यसले अन्ततः आर्थिक केन्द्रीकरणमा रहेका मानिस, समाज र देशकै पनि सानदार पतनलाई अवश्यम्भावी बनाइदिन्छ र कुनै पनि उपलव्धिलाई दिगो हुनबाट वञ्चित गराइदिन्छ । कसैको पनि अधिकारको हनन र असमानता दिगो उपलब्धिको एउटा प्रमुख बाधक हो । वैयक्तिक लाभलाई सामूहिक लाभको सापेक्षमा लिएर एउटा व्यक्तिले अर्को व्यक्तिको लाभलाई संकुचन गर्ने हदसम्मको व्यवहार र चाहनालाई नियन्त्रित र सन्तुलित गरी दिगो उपलब्धि हासिल गर्ने संस्कृतिको निर्माण गर्नु आर्थिक साक्षरताको उद्देश्य हुन्छ । आर्थिक साक्षरताले संयमित आर्थिक व्यवहारको संस्कृति निर्माण गरी सुशासन कायम गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

विसं. १८०१ मा हतियार र सैनिक सुदृढीकरण गरी नुवाकोट जित्नको लागि पृथ्वीनारायण शाहलाई १२ हजार गोरखावासीबाट एक-एक रुपैयाँ उठाउने बिसे नगर्चीले सुझाव दिएका थिए । आर्थिक प्रणालीमा स्वइच्छाले सहभागी हुने अवस्थाको सुनिश्चितता आर्थिक साक्षरताबाट सम्भव हुन्छ । आजका मानिस आफ्नो आधारभूत आवश्यकताको परिपूर्तिको लागि सीमित हुनुपर्ने स्थितिको निर्माण भएको छ । आर्थिक रूपले कम विकसित तेस्रो मुलुकका राष्ट्रका नागरिकहरू विनिमयकको भूमिकाबाट क्रमशः एटीएमको रूपमा संक्रमित हुँदै गइरहेको छन् । उनीहरूका आर्थिक प्रणालीमाथिको नियन्त्रण एकादेशको कथा भएको छ । विश्व अर्थतन्त्रमा आर्थिक प्रणालीका सन्तुलनलाई प्रमाणित गर्ने र विश्व बजारमाथिको पहुँच सुनिश्चित भएको हवाला दिने अवधारणाको रूपमा विश्वव्यापीकरणलाई अगाडि ल्याइएको छ । यी सबै विद्यमान अवस्थाले आर्थिक साक्षरताको वर्तमान स्थिति र महत्त्वलाई एकैसाथ उजागर गर्छ ।

आर्थिक प्रणालीमा योगदान गर्ने विभिन्न संयन्त्रलाई व्यवस्थित गरी दिगो रूपमा सामूहिक आर्थिक लक्ष्य प्राप्त गर्नेतर्फ केन्दि्रत हुनुको साटो ती संयन्त्रलाई निश्चित सीमाभित्र राखेर यान्त्रिक बनाई सारा सम्भावनाको बाटो रोक्ने अवस्थाको सिर्जना गरिएको छ । एकातिर, अर्थतन्त्रका राष्ट्रिय सीमा र सोपानिकीको निर्माण गरिएको छ भने अर्कोतिर, विश्वव्यापीकरणलाई नयाँ अधिकारको रूपमा परिभाषित गरी यसको चर्को वकालत गर्ने गरिएको छ । यसले गर्दा विश्व अर्थतन्त्रमा नेपालजस्तो देशका नागरिकको स्थिति ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको संरक्षण, स्वतन्त्रता र जीवनजस्तो छ । विश्वको अर्थतन्त्र केन्द्रीकृत भइरहेको सन्दर्भमा नेपालजस्तो देशको नागरिकले सुशासन कायम गर्न र हरेक उपलब्धिलाई संस्थागत गरी दिगो रूपमा उपयोग गर्न आर्थिक साक्षरता प्राप्त गर्नु अरु बढी आवश्यक देखिएको छ ।

उहिले-उहिले नेपालमा पोका-पन्तुरा, कन्तुर र खुत्रुकेमा पैसा राख्ने चलन थियो । मुद्राको त्यस्तो खालको सञ्चितीकरणले एकात्मक बचतलाई जनाउँछ जसले पुँजीको गतिशिलतालाई निष्कृय पारी सवैलाई लाभ पुर्‍याउन सक्ने अर्थतन्त्रको सघन सम्भावनाको अन्त्य गर्छ । एउटा निश्चित पुँजीबाट सयौँ मानिसहरूले पारस्परिक आर्थिक सम्बन्धका माध्यमद्वारा लाभ लिन सक्छन् । तर, त्यस्तो अवसरबाट पुँजीको परम्परागत सञ्चितीकरणले वञ्चित गर्छ ।

आर्थिक साक्षरताबारे उहिलेको नेपालीबाट अहिलेको नेपालीमा भएको परिष्कृत धारणाजस्तो नभए पनि आर्थिक सम्बन्धहरू गतिशील र स्थापित गर्न सक्षम थिए । त्यसो हुनुका पछाडि केही कारण थिए । जस्तो, जसरी अहिले मुद्रा-मुद्राबीच विनिमय हुन्छ, त्यस समय वस्तु, सेवा र मुद्राको विनिमय सरल र जीवन्त किसिमले हुन्थ्यो । आलु र गुन्द्रुकसँग धान साटिन्थ्यो र लेक र बेसीको सामाजिक आर्थिक सम्बन्धबाट आर्थिक सन्तुलन कायम गरिन्थ्यो । नुनसँग घ्यु साटिथ्यो, पहाड र मधेसको सामाजिक आर्थिक सम्बन्धबाट पहाड र मधेसको आर्थिक सन्तुलन कायम गरिन्थ्यो । अर्मपर्मको माध्यमद्वारा सेवाको विनिमय हुन्थ्यो । ढिकी कुटाइ माग्नेले जाँतो पिध्न सघाएर र जोति माग्नेले खन्न सघाएर सामाजिक आर्थिक जीवनलाई गतिशील बनाइन्थ्यो । त्यतिखेर वस्तु, सेवा र मुद्रालाई आर्थिकका फरक-फरक रूपमा लिएकोले भन्दा पनि आर्थिक पक्षमा अहिलेको जस्तो मुद्रालाई मात्र पुँजीको निर्णायक तत्त्व ठान्ने संस्कृति नभएबाट त्यतिखेरका आर्थिक सम्बन्ध सहज, सरल र सन्तुलित थिए । अहिले वस्तु-वस्तुको विनिमय जापानी लोक कथा 'जिजौसामाका मूर्तिहरू'मा मात्र सीमित छन् । मुद्रालाई मात्र पुँजीको निर्णायक तत्त्व मान्ने संस्कृतिको कारण मुद्रास्फीतिको दर बढ्दो छ, जसका कारण उत्पादनका साधनमा पहुँच नभएकाहरूको लागि वस्तु तथा सेवा आकाशका फलतिर रूपान्तरित हुँदै गएका छन् । मुद्रालाई व्यवस्थित र सन्तुलित बनाउने खास आधारको अभाव छ ।

मुद्रालाई मात्र पुँजीको निर्णायक तत्त्व मान्ने संस्कृतिको कारण आर्थिक प्रणालीबीचको पारस्परिक सम्बन्ध बिथोलिएको छ । आर्थिक साक्षरता अभावकै कारण आर्थिक प्रणालीमा मुद्राको केन्द्रीकरण बढेको छ र वस्तु तथा सेवाको मूल्यहरूमा डरलाग्दो असन्तुलन पैदा भएको छ । वस्तु-वस्तु, वस्तु-सेवा र सेवा-सेवाको पारस्परिक आर्थिक सम्बन्धबीचमा कुनै वैज्ञानिकता छैन । वस्तु विनियम लामो मानवीय अन्तरसम्बन्धको उपज हो, जसमा प्रत्येक मानिस आफैँमा प्रणाली र उपप्रणाली हो । यसले सामाजिक आर्थिक सन्तुलन कायम राख्नमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । मुद्राको आधार मुद्रा मात्रै रहने अवस्थाले वस्तु विनिमय प्रणालीध्वस्त पारी आर्थिक प्रणालीको विज्ञानलाई असन्तुलित बनाएको छ । मुद्राको आधार निर्माण गरी आर्थिक प्रणालीको विज्ञानलाई सन्तुलित गर्नु आज आर्थिक साक्षरता महत्त्वपूर्ण विषय भएको छ ।

सूचना, प्रविधि तथा विज्ञानमा भएका नयाँ-नयाँ आविष्कारले मानवीय सम्वन्धमा आमूल परिवर्तन आएको छ । त्यसले स्रोत र उत्पादनका साधनमाथिका सीमित व्यक्तिहरूका वर्चश्वशाली पहुँच कायम गरी पुँजीको केन्द्रीकरण गर्ने वातावरणको निर्माण भएको छ । वित्तीय साक्षरता बढे पनि आर्थिक असमानता, गरिबी र बेरोजगारीको दर बढ्दो छ । यस्तो हुनुमा आर्थिक साक्षरतालाई वित्तीय साक्षरताजस्तो मानवीयभन्दा बढी प्राविधिक विषय ठान्ने मनोविज्ञान जिम्मेवार छ । आर्थिक तत्त्व र पक्षहरू मानिसका लागि होइन, मानिस यी तत्त्व र पक्षका माध्यमको रूपमा लिइने प्रवृत्ति हाबी हुँदै जानुले सामाजिक आर्थिक सम्बन्धले नियन्त्रण गुमाउँदै गएको अवस्था छ ।

विश्वव्यापीकरण र भूमण्डलीकरणको कारणले वस्तु, सेवा तथा पुँजीमाथि शक्तिसम्पन्न सीमित देश र ठूलाठूला मल्टिनेसनल कम्पनीहरूको बोलवाला छ । त्यसको चाप नेपालजस्तो कम विकसित राष्ट्रहरूमा झन् बढी छ । चाप विभिन्न तह-तहको संरचनामा रहेको हुँदा ती चापहरूबाट एउटै व्यक्ति दोहोरो तेहोरो मारमा परिरहेको छ । त्यसले गर्दा नेपालमा आर्थिक पक्षमाथि एकात्मक प्राप्तिको लागि आक्रमक रूपले संघर्ष गर्ने प्रवृत्तिको विकास हुन गएको छ । यसले सामाजिक, आर्थिक, राजनीतिक र सम्पूर्ण वातावरणीय पक्षमा केन्द्रीकृत मानसिकताको संस्कृतिको निर्माण भएको छ । यसरी आर्थिक साक्षरतालाई वित्तीय साक्षरताको रूपमा मात्रै बुझ्न झन् सजिलो भएको छ ।

आर्थिक साक्षरताका अभावका कारण आर्थिक प्रणालीको पारस्परिक सम्बन्धहरूमा आएका असन्तुलनले गर्दा नेपालमा मानिसका जीवन कष्टकर बन्दै गइरहेका छन् । विभिन्न आन्दोलन, लोकतन्त्र र गणतन्त्रको अभ्यास भए पनि त्यसको संस्थागत विकास र सुशासनले अपेक्षित रूपले गति लिन सकिरहेको छैन । सीमान्तकृत वर्ग, क्षेत्र, लिंग, जाति र उत्पीडित नागरिकले महसुस गर्न सक्ने गरी सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रूपान्तरण भएको अवस्था छैन ।

आर्थिक प्रणालीमाथि सीमित मानिसको नियन्त्रण हाबी भएकोले धेरै मानिसको उत्पादनमाथि पहुँच छैन र उनीहरू एकदम कम मूल्यमा या श्रम बेच्न विवश छन् या त सुरक्षाको खतरा मोलेर कमभन्दा कम ज्यालाको लागि महँगो पैसा तिरेर खाडी देशमा जान विवश छन् । त्यसले नेपालमा आर्थिक रूपमा कमजोर र सम्पन्न दुवै वर्गमा उपभोक्तावादी संस्कृति घुसेको छ र उत्पादकत्वमा ह्रास आएको छ । उत्पादन गर्नु उर्वर जमिन र जनशक्ति उपलब्ध भएपनि नेपाल खाद्यान्न तथा सेवामा परनिर्भर हुन परेको छ ।

आर्थिक साक्षरता अभावका कारण वस्तु, सेवा, श्रम र मुद्राबीचको सम्बन्धमा आएको असन्तुलनले एकातिर मुद्रास्फीतिको स्थिति भयावह छ भने अर्कोतिर श्रमको मूल्य कहालीलाग्दो किसिमले स्थिर छ । श्रमको अति न्यून मूल्यको कारण वैदेशिक रोजगारको लागि नेपाली मानव संशाधन विदेसिनाले उर्वर जमिन बाँझिन गई खाद्यान्न निर्यातको अन्त्य भएको छ । र, खाद्यान्नको आपूर्तिले आकाश छोएको छ । आर्थिक साक्षरताको अभावले नेपालमा खाद्य सम्प्रभुता छैन ।

आर्थिक साक्षरताको अभावका कारण बैंकिङ प्रणालीको प्रयोग नगरी हुण्डीमार्फत रेमिट्यान्स भित्र्याउने प्रवृत्तिले राष्ट्रको राजस्वमा रेमिट्यान्सले जति योगदान पुर्‍याउनुपर्ने हो, त्यति पुर्‍याउन सकिरहेको छैन । त्यस्तै रेमिट्यान्सको पचासी प्रतिशत उपभोग्य वस्तु तथा दैनिक जीवन यापनमा खर्च गर्ने र नगन्य मात्रामा मात्रै उत्पादनका क्षेत्रमा लगानी गर्ने विभिन्न अनुसन्धानले देखाएको छ । यी सबै आर्थिक साक्षरताकै अभावका परिणति हुन् ।

आर्थिक साक्षरता अभावले व्यक्तिले आफूलाई अरुसँगको आर्थिक सम्बन्धबाट मात्र अलग गर्दैन । उसले समाजप्रतिको आर्थिक सामाजिक दायित्व, आर्थिक गतिशीलता र त्यसले दिने लाभको विस्तारप्रति बेखबर बनाउँछ, जसले आर्थिक गतिशीलताद्वारा प्राप्त हुने सामूहिक लाभको सम्भावनालाई असम्भव बनाइदिन्छ ।

नेपालमा वित्तीय साक्षरताको अवस्था नै नाजुक रहेको अवस्थामा आर्थिक साक्षरताको अवस्था कस्तो छ सहजै अनुमान गर्न सकिन्छ । कुनै पनि आर्थिक उपलब्धिको दिगोपन सामूहिक हित र आर्थिक प्रणालीमाथि सबैको समान संलग्नता र योगदानबाट मात्रै सम्भव हुन्छ भन्ने मान्यता र बोधको कमी छ । आर्थिक स्रोत साधनमाथि सबै क्षेत्र, लिंग, वर्ग, जात-जातिको समान पहुँच र सहभागिता सुनिश्चित भएको अवस्था छैन । एउटा निश्चित ठाउँमा निश्चित किसिमको व्यवसायको सीमित आयतन हुन्छ तर त्यसको ज्ञानको कमी र लहडले एकै किसिमको व्यवसाय एकै ठाउँमा सञ्चालनमा ल्याउँदा पहिला सञ्चालनमा रहेको व्यवसायको आर्थिक पर्यावरण भत्किन गई व्यवसाय टिक्न नसक्ने हुन्छ भने पछि सञ्चालनमा ल्याएको व्यवसाय पनि डुब्न पुग्छ । त्यस्तो अवस्था आर्थिक साक्षरताको अभावको कारणले उत्पन्न हुन्छ ।

नेपाल राष्ट्र बैंककोपछिल्लो फाइनान्सियल इन्क्लुजन ड्यासबोर्डले नेपालको संघीय शासन व्यवस्थामा प्रदेशहरूको बैंकिङ बचत खातामा दर्ता भएको अवस्थालाई चित्रण गर्दा प्रदेश १,२,३,४,५,६ र ७ मा क्रमशः ६१ %, ३९ %, १५४ %, ११६ %, ७२ %, ३६ % र ५८ % देखाएको छ ।सबैभन्दा बढी दर्ता हुने प्रदेश ३ र सबैभन्दा कम दर्ता हुनेमा प्रदेश २ र प्रदेश ६ छन्।प्रदेश १ मा महिला २० % र पुरुष ३१ %, प्रदेश २ मा महिला १० % र पुरुष १९ %, प्रदेश ३ मा महिला ४७ % र पुरुष ७७ %, प्रदेश ४ मा महिला ४१ % र पुरुष ४७ %, प्रदेश ५ मा महिला २५ % र पुरुष ३५ %, प्रदेश ६ मा महिला ११ % र पुरुष १८ र प्रदेश ७ मा महिला २० % र पुरुष २९ % बैंकिङ बचत खातामा दर्ता भएको देखाएको छ,जसमा महिला र पुरुषकोप्रदेशगत असमानताजस्तै सातै प्रदेशमा पुरुषको तुलनामा महिलाको संख्या बचत खातामा दर्ता हुने संख्यामा धेरै कम छ । यस तथ्यमा विचार गर्नुपर्ने कुरा के छ भने प्रदेश ३ को वित्तीय सहभागिता अरु प्रदेशको तुलनामा बढी भए पनि महिला र पुरुषको अनुपात प्रदेश ३ कोभन्दा प्रदेश ४ को सन्तुलित छ । यसो हुनुको कारणबारे वित्तीय साक्षरताले नभई आर्थिक साक्षरताले जवाफ दिन्छ ।वित्तीय साक्षरताले कुनै पनि प्रदेश र महिलाको वित्तीय संलग्नतामा सम्बन्धित प्रदेशको वित्तीय साक्षरताको अभावको अर्थमा लिन्छ भने आर्थिक साक्षरताले समग्र पक्षको जिम्मेवारीपनको ब्ाारेमा चिन्तनशील बनाउँछ । ड्यास बोर्डले नेपालमा कुल महिलाको २६ प्रतिशत महिला र कुल पुरुषको ४८ प्रतिशत पुरुष बैंकिङ प्रणालीमा आबद्घ भएको देखाएको छ । स्थानीय तहको सन्दर्भमा गाउँपालिकामा १६ %, नगरपालिकामा ७४ %, उपमहानगरपालिकामा १६६ % र महानगरपालिकामा २९८ % बीचको बैंकिङ प्रणालीमा भएको असमान संलग्नतालाई चित्रण गरेको छ । ती विद्यमान असमानतामा एक पक्ष जसको संलग्नता बैकिङ प्रणालीमा कम छ, तिनीहरू मात्रै त्यसको जिम्मेवार हुन् भन्ने धारणा वित्तीय साक्षरताको क्षेत्रको चासोको विषय हो भने अरु पक्षहरू अरु बढी जिम्मेवार छन् भन्ने धारणा आर्थिक साक्षरताको क्षेत्रको चासोको विषय हो । वित्तीय प्रणालीमा सबैको पहुँच नहुनु असमान आर्थिक सामाजिक स्थिति मुख्य कारण हो, जुन आर्थिक साक्षरताको अभावको कारणले सिर्जना हुन्छ ।

तत्कालीन समयमा नुवाकोटमाथिको युद्वमा पृथ्वीनारायण शाहलाई बिसे नगर्चीको सुझावअनुसार आर्थिक सहयोगमा सबै गोरखा राज्यका १२ हजार घरधुरीका मानिसहरूको संलग्नता र सहभागितालाई आर्थिक साक्षरताको परिचायकको रूपमा चित्रण गर्न सकिँदैन । अमेरिकी अर्थशास्त्री पौल एन्थोनी सामुल्यसन र विल्ली ग्राहमजस्ता अर्थशास्त्रीहरूको विचारमा सहभागिता र संलग्नतालाई आर्थिक साक्षरताको कसीमा राख्नुअघि हामीले यो प्रमाणित गर्नुपर्छ कि हामी मानिसको सहभागिता र संलग्नतालाई स्वस्फूर्तबाट सम्पन्न भएको हो भन्ने सन्दर्भमा निक्र्योल गर्नमा गलत छैनौँ । जर्मनी अर्थशास्त्री हेरवर्ट गिस्र्चका अनुसार १२ हजार घरधुरीमध्ये धेरै मानिसहरू एक रुपैयाँ दिने कार्यमा सहभागी र संलग्न हुने हैसियतका थिएनन् तर पैसा दिनैपर्ने उर्दीका कारणउनीहरूले घरजग्गा बन्धकी राखेर अरुबाट ऋण काढेर दिए र ऋण तिर्न नसकी घर जग्गा उकास्न नसकी बसाइँ सर्न बाध्य भए ।

कसैको पनि आर्थिक सार्वभौमिकता र आर्थिक स्वायत्तता अरुको आर्थिक सार्वभौमिकता र आर्थिक स्वायत्ततामा निर्भर हुन्छ । आर्थिक साक्षरताको अभावका कारण नेपालमाभ्रष्टाचारव्याप्त छ । आर्थिक कारोवारको ठूलो हिस्सा बैंकिङ प्रणालीबाहिर छ । वित्तीय संस्थाप्रति नागरिकको विश्वास कमजोर छ र अवैधानिक रूपमा सञ्चालित हुण्डीको प्रयोग गरी रेमिट्यान्स पठाउने गरिन्छ । सहकारीजस्ता सामूहिक हितको खातिर खोलिएको बैंकहरूसमेत मुद्रा निर्मलीकरणमा जस्ता अवैध कार्यमा संलग्न देखिएको पाइएको छ । वैयक्तिक हित सामूहिक हितबाट मात्रै सुनिश्चित हुन्छ भन्ने बुझाइको कमीका कारण उत्पन्न यी सबै घटना घटेका हुन् ।

वित्तीय साक्षरताले मात्रै मानिसको आर्थिक विषयको समस्या समाधान गर्न नसक्ने सन् २००७-२००८ को विश्वव्यापी आर्थिक संकटपछि विश्लेषण गरिन थालियो । जो वित्तीय क्रियाकलापमा स्वस्फूर्त रूपमा संलग्न हुनबाट बञ्चित छन् त्यसमा अरु पक्ष जिम्मेवार छन् भन्ने चिन्तनले आर्थिक मितव्ययी र अनुशासित संस्कृतिको निर्माण गर्छ ।

आर्थिक साक्षरता अरुको आर्थिक सार्वभौमिकताको साथै आर्थिक प्रणाली एकात्मक नभई सामूहिक सम्बन्धबाट दिगो हुन्छ भन्ने धारणा हो । यस्तो धारणाले बढीभन्दा बढी मानिसको आर्थिक संलग्नता हुने अवस्थाको निर्माण गरी आर्थिक आयतनको विस्तारको सम्भावनालाई प्राप्य बनाउँछ । सामाजिक, आर्थिक र राजनीतिक निपुणता र प्रभावकारिता कायम गरी दिगो रूपमा उपलब्धि हासिल गर्नका लागि आर्थिक साक्षरता आवश्यक पर्छ ।

आर्थिक साक्षरता नैतिक विषय भएकोले यसको मापनमा वित्तीय साक्षरता, सामाजिक, आर्थिक र राजनीतिक सहभागिता सबैको अध्ययन र अनुसन्धान गर्नु आवश्यक हुन्छ । भूगोल, लिंग, जात-जाति, भाषा, धर्मका आधारमा नेपालको संविधानले व्यवस्था गरेको र देखेको शासन प्रणालीमा समान सहभागिताको स्थिति नरहेको अवस्थामा नेपालको वर्तमान आर्थिक साक्षरताको अवस्थाबारेमा उजागर गर्छ।

आर्थिक साक्षरताले समान सामाजिक आर्थिक सहभागिताको माध्यमद्वारा समाजमा समानता, सद्भाव, मेलमिलाप, न्याय, शान्ति र सौहार्दपूर्ण सहअस्तित्वको निर्माण गर्छ । प्राप्त उपलब्धिलाई दिगो राख्न आर्थिक साक्षरताबाट मात्र सम्भव हुन्छ । सामाजिक आर्थिक मितव्ययी व्यवहारको निर्माण आर्थिक साक्षरताको विषय क्षेत्र हो, जसले आफ्नो सामाजिक, आर्थिक र राजनीतिक प्राप्ति तथा उपलब्धिको सुनिश्चितता अरुको सामाजिक, आर्थिक तथा राजनीतिक प्राप्ति र उपलब्धिको सापेक्षतामा हेर्छ ।

व्यक्ति, समाज र देशमा व्याप्त भ्रष्टाचारको विद्यमानता जुन हदसम्म छ, त्यो आर्थिक साक्षरताको अभावको कारणले भएको हो । भ्रष्टाचारको नियन्त्रण गर्न मात्र आर्थिक साक्षरता आवश्यक हुने होइन, आर्थिक, सामाजिक र राजनीतिक समूह गतिशीलताको लागि पनि आर्थिक साक्षरता नभई नहुने विषय हो ।

कुनै पनि ठाउँको अन्यायले सबै ठाउँको न्यायको सुनिश्चिततालाई चुनौती दिन्छ भन्ने मर्मलाई स्वीकार गर्ने भएकाले आर्थिक साक्षरताले सामूहिक भविष्य नै कुनै पनि मानिसको भविष्यको आधार मान्छ । कुनै पनि मानिसको आर्थिक, सामाजिक र राजनीतिक असुरक्षा वैयक्तिक देखिए पनि त्यसले अरु सवैको आर्थिक, सामाजिक र राजनीतिक असुरक्षातर्फ संकेत गरिरहेको हुन्छ । यसबारेको ज्ञान र बोधबाट सबैको भविष्यलाई सुरक्षित बनाउने एउटै उपाय भनेको आर्थिक साक्षरता हो ।

आर्थिक साक्षरताले सामूहिकतामा एकता र एकतामा सामूहिकको पर्यावरणीय प्रवृत्तिलाई अवलम्बन गरी हरेक उपलब्धिको दिगोपनालाई सुनिश्चित गर्ने भएकोले आर्थिक साक्षरता प्राप्त गर्नु र कायम राख्नु आवश्यक छ ।

नेपाल हाल संघीय शासन प्रणालीको अभ्यासको क्रममा रहेकोले स्थानीय तहमा रहेको ज्ञान, सीप, क्षमता, दक्षताको उपयोग गर्ने वातावरणको निर्माण गरी अधिकतम उपलब्धि हासिल गर्नु र खास अर्थमा समृद्व नेपाल र सुखी नेपालीको सपनालाई साकार पार्नु आर्थिक साक्षरताको झनै आवश्यकता रहेको छ । यसमा प्रत्येक नेपाली नागरिकले आ-आफ्नो ठाउँबाट योगदान गरी आर्थिक साक्षरतालाई संस्कृति र नैतिक व्यवहारको रूपमा अवलम्बन गर्नुपर्छ ।

प्रकाशित: वैशाख ६, २०७६