म्यागजिन उनको सोख

- गजेन्द्र बुढाथोकी

विशालबजारका व्यापारी भरतलाल श्रेष्ठका खेलाडी पुत्र पुष्करलाल श्रेष्ठले पत्रकारितामा पाइला राखेको आफैँले पत्तो पाएनन् । ममता  मासिकमा खेलकुद स्तम्भ लेख्न थालेका उनले पत्रिका बन्द भएपछि त्यसका सह-सम्पादक विजयउदय पाल्पालीलाई प्रस्ताव गरेछन्, मनोरञ्जनात्मक पत्रिका निकाल्ने ।

पिता भरतलाल श्रेष्ठसँग ५ हजार रुपैयाँ फुत्काएर ०४१ मंसिरमा कामनाको पहिलो अंक निकाले । त्यसका सम्पादक पाल्पाली थिए भने प्रकाशक पुष्करलाल । वर्षमा बल्लतल्ल एउटा सिनेमा बन्ने त्यो समय आकर्षक डिजाइनसहित निकालिएको कामना  हाताहात बिकेको उनी पछिसम्म सुनाउँथे ।

अफसेट प्रविधि भित्रिइनसकेको त्यो समय काठे ब्लकमा मनोरञ्जनात्मक पत्रिका निकाल्दा उनका आफन्तले बहुलठ्ठी भनेका थिए । पहिलो अंकले लागत त उठाएन तर भूगोलपार्कमा बेच्न राखिएको पत्रिका युवाहरुले रुचि मानीमानी लगेको देखेर पुष्करलाल हौसिए ।

पत्रिकाको सामग्रीबारे मनमुटावका कारण पाल्पालीले चार महिनापछि कामना  छाडे । पुष्करलालको सबल पक्ष थियो, तत्कालै टिम बनाउने । मदन घिमिरे, कपिल काफ्लेसहितका पत्रकारलाई समावेश गरेर उनले कामनालाई निरन्तरता दिए ।

म्यागजिनमा कस्ता किसिमका सामग्री बढी रुचाइन्छन् भन्ने उनलाई राम्रो ज्ञान थियो । त्यसैले खोजमूलक र कामनामा राख्न नमिल्ने विविध सामग्री मात्र छापिने गरी ०४८ वैशाखदेखि खोजमूलक पारिवारिक मासिक पत्रिका साधना  सुरु गरे । ०५० मा राजधानीका समलिंगीबारे साधना  र कामनामा ०४७ तिर अभिनेता एवं डीएसपी अर्जुनजंग शाहीबारे लेखिएपछि कार्यालयमै आक्रमण भएको थियो ।

म्यागजिनकारिताको सफलतापछि पुष्करलालले ०४९ मा पहिलो सन्ध्याकालीन दैनिक निकाले, महानगर । एक रुपैयाँ गोटा महानगर  बेचेर प्रतिपत्रिका २५ पैसा आम्दानी दिने गरी बेरोजगार युवालाई 'हकर' बनाए । र, अट्कोनारायणस्थानको घरको छिाडीबाट भीमसेनस्थानमा जग्गा किनेर प्रकाशन संस्थाको भवन बनाउन सफल भए । ०५२ मा आजको समाचारपत्र दैनिक (हालको नेपाल समाचारपत्र दैनिक) आरम्भ गरे पनि उनको विशेष अभिरुचि 'म्यागजिन फम्र्याट' मै थियो ।

श्रेष्ठमाथि कहिले एमाले त कहिले राजावादी भएको आरोप लाग्दै आयो । कामना प्रकाशन समूहमा एक दशकको कार्यानुभवका आधारमा पंक्तिकार के भन्न सक्छ भने, उनी कुनै वादसँग सम्बन्ध राख्दैनथे, विशुद्ध मिडिया व्यवसायी थिए । आफ्नो मिडियाको सफलतामा मात्रै उनको ध्याउन्न देखिन्थो ।

तत्कालीन नारायणहिटी राजदरबारमा उनका गुरु र पिताका साथीहरु कार्यरत थिए । त्यस कारणले दरबारसँग उनको विशेष सम्बन्ध भएको मानिन्थ्यो । सोही सम्बन्धकै कारण ०५८ को राजदरबार हत्याकाण्डको पहिलो सूचना उनले पाएका थिए ।

श्रेष्ठले आफैँ प्रकाशक, आफैँ प्रधानसम्पादक भएको जोखिम उठाए र, २० जेठ ०५८ को बिहान दरबार हत्याकाण्डबारे विस्तृत समाचार दिए । ०५६ मा मनमोहन अधिकारीको निधन भएका बेला उनले आधा छापिइसकेको पत्रिका रोकेर (स्टपप्रेस) गरी पुनः ब्यानर समाचारसहित पत्रिका निकालेका थिए ।

३० भदौ ०५८ मा तत्कालीन राजा ज्ञानेन्द्रसँग पहिलो अन्तवार्ता लिएपछि श्रेष्ठ विवादित भए । त्यसै वर्ष १ असारमा स्थानीय संवाददाता शुभशंकर कँडेलमार्फत लिइएको माओवादी नेता पुष्पकमल दाहाल 'प्रचण्ड' को पहिलो अन्तर्वार्ता छापिएपछि उनीमाथि सेनाले केरकार गरेको थियो ।

जीवनको पछिल्लो कालखण्डमा व्यावसायिक रुपमा केही असफलता बेहोर्नुपरे पनि एउटा सिनेपत्रिकाबाट पत्रकारिता थाली व्यावसायिक सञ्चारगृहको अवधारणालाई संस्थागत तुल्याउनु उनको महत्त्वपूर्ण पाटो हो ।

प्रकाशित: वैशाख ६, २०७६

ट्याग: सम्झना