झकिझकाउ तर कमसल (फिल्म समीक्षा : कलंक)

फिल्म : कलंक | रेटिङ : २/५

- गोकर्ण गौतम

ब्रिटिस उपनिवेश, त्यसपछिको स्वतन्त्रता अनि भारत-पाक विभाजन भारतीय सिनेमाका मसला हुन् । ती फिल्मका केन्द्रमा कि देशभक्ति हुन्छ कि प्रेम र धार्मिक आस्था । मल्टिस्टारर कलंक यसकै नयाँ कडी हो । मूलतः यो प्रेम र त्यागको कथा हो । तर, पृष्ठभूमिमा अन्तरधार्मिक कलह र वर्गीय विभेद छ । लेखक/निर्देशक हुन्, अभिषेक वर्मन । कलाकारको डफ्फा छ- सञ्जय दत्त, माधुरी दीक्षितदेखि सोनाक्षी सिन्हा, वरुण धवन, आलिया भट्ट, आदित्य रोय कपुरसम्म । सञ्जयलीला भन्सालीका फिल्ममाझैँ हरेक दृश्य भव्य छन् । गीतहरु उत्तिकै सुमधुर । तर, परम्परागत शैलीको कथाबुनोट र जबर्जस्ती थोपरिएको 'मेलोड्रामा'ले कलंकलाई काबिल हुनबाट रोकेको छ । पर्दामा भयंकर प्रेम र वियोग देखाइने दृश्यदर्शकको दिलसम्म भने पुग्दैनन् ।

नगरबधु बेगम (माधुरी दीक्षित)की अवैधानिक छोरा हुन्, जफर (वरुण) । उनीसँग छ, केवल प्रतिशोध र आक्रोश । सम्पन्न परिवारकी बुहारी सत्या (सोनाक्षी) छिट्टै मर्दैछिन् । मर्नुअगाडि उनले आफ्नो पति (आदित्य)को रुप (आलिया)सँग विवाह गरिदिन्छिन् जबकि, देव र रुपले एकअर्कालाई देखेका पनि हुँदैनन् । बाध्यताले विवाह गरेकी रुप बिस्तारै जफरसँग नजिक हुन्छिन् । उनी विवाहित र हिन्दु । जफरचाहिँ मुसलमान । हिन्दु-मुस्लिमबीच दंगा चर्किरहेको बेला प्रेमकै कारण रुप, जफर र देवको जीवनमा आइपर्ने अनेक उल्झनवरपर घुमेको छ, फिल्म ।

कलंकको कथा कहीँ-कतैबाट नयाँ लाग्दैन, न त पात्र नै । ढिला गरी मात्र मूलकथामा प्रवेश हुन्छ । इच्छाविपरीत विवाह हुँदा रुपले झेल्नु परेको पीडा दर्शकसम्म प्रवाह हुँदैन । कारण हो, उनको चरित्र स्थापित नहुनु । यद्यपि, रुप र देवको सम्बन्ध पस्कनचाहिँनिर्देशक वर्मनले रोचक शैली अपनाएका छन् । त्यस्तै, आकर्षक लाग्छ-रुप र जफरबीचको प्रेम अंकुरण । तर, उही आशयका दृश्यले प्रश्रय पाउँदाकतिपय ठाउँमा झिँजो लाग्छ । त्यसमाथितत्कालीन समयको खानदानी पाराको प्रेम र रवाफप्रति अपनत्व महसुस हुन उस्तै मुस्किल पर्छ ।

कलंकका हरेकमा 'फ्रेम' पैसा खनाइएको छ । पात्रको भेषभूसा, सेटिङ, लोकेसन, प्रकाशदेखि कोरियोग्राफीसम्म भव्य लाग्छन् । तर, सोहीअनुपातमा पात्रको भोगाइलाई मूर्त ढंगले देखाइएको छैन । दर्शकलाई चक्मा दिने घटनाक्रमको साक्षी हुन पाइन्न । धीमा शैलीको कथाप्रवाहले उत्तिकै वितृष्णा जगाउँछ । मध्यान्तरपछि फिल्म कहिले राजनीतिक लाग्छ, त कहिले प्रेमकथा । दृश्यको गुदीभन्दा आवरण चम्किलो बनाउनमै तल्लीन हुँदाको परिणाम हो, यो । न अब्दुल (कुनाल खेम्बु) को चरित्रको निर्दयीपन विश्वसनीय लाग्छ, न त देवको अखबारप्रति मुस्लिमको घृणा । तर,पात्रको बोलीचाली र लोकेसनमार्फत तत्कालीन समयको झल्को दिने मामलामाचाहिँ कुनै कसर छोडिएको छैन । क्लाइमेक्स यति तन्काइन्छ कि विरक्तिको ग्राफ चुलिँदै जान्छ ।

अभिनयमा कलाकारले अब्बलता पस्किएका छन् । बलराज (सञ्जय दत्त) ढोङ र घमन्डले भरिएको चरित्र हो । सञ्जय मौन बस्दा पनि उनको चरित्रलाई दर्शकले चिन्न सक्छन् । नृत्यांगना र गायिका बनेकी माधुरीको सौन्दर्य मात्र होइन, अभिनयले पनि मन जित्छ । उनको चरित्रमा देवदासकी पारुको झझल्को आइरहन्छ । आलिया र वरुणचाहिँ कलंकका मेरुदण्ड हुन् । प्रेमका भोका छन् । त्यसलाई पूर्ति गर्न खोज्दा अथाह त्याग गर्नुपर्छ । वरुणको त आँखाबाटै उनीभित्रको आवेग छनक पाइन्छ । परिबन्दमा फसेकी तर पन्छीझैँ उड्न उद्यत पात्रलाई आलियाले जीवन्तता दिएकी छन् । सोनाक्षी र आदित्य पनि चरित्रलाई आत्मसात गर्न सफल छन् । अमिताभ भट्टचार्यको शब्द, प्रीतमको संगीत र अरजित सिंहको स्वर फिल्मको अर्को प्रशंसनीय पक्ष हो । भलै, गीतले न्यारेटिभमा उतिविघ्न योगदान गर्दैनन् । विदोन प्रधानको खिचाइ सधैँझैँ अब्बल दर्जाको छ। टु स्टेट्सबाट वाहवाही कमाएका निर्देशक वर्मन यसपटक कथालाई गहिरो र चुस्त ढंगले पस्कन चुकेका छन् ।

कलंकमा माधुरीको एउटा संवाद छ, 'स्वर राम्रो छ तर नुन कम छ ।' यसलाई फिल्मतिरै फर्काएर यसो भन्न सकिन्छ, दृश्य भव्य छ तर आत्मा कमजोर छ । अर्थात्, कलंकलाई पनि ठग्स अफ हिन्दोस्तान, रेस ३  र जिरोकै कोटीमा राख्न सकिन्छ । झकिझकाउ तर कमसल ।

प्रकाशित: वैशाख ६, २०७६