जस र अपजस

- सुरेश किरण

प्रधानमन्त्री केपी ओलीले भर्खरै एउटा कार्यक्रममा सीधै भने कि अब कसैले कसैमाथि दोष थोपरेर उम्किन पाउँदैन । जे जिम्मेवारी दिइएको हो, त्यो पूरा गर्नैपर्छ ।

हाम्रो कर्मचारीतन्त्रमा काम बिग्रे अरुमाथि दोष थोपर्ने र काम बने पूरा जस आफूले लिने अनौठो प्रवृत्ति छ । सायद प्रधानमन्त्रीले त्यही प्रवृत्तिबारे बोलेको हुनुपर्छ ।

सरकारले गरेको कुनै काम जब बिग्रिन्छ, तब त्यसको दोष यसरी थोपरिँदै जान्छ-

मन्त्री भन्छन्- कर्मचारीहरु खत्तमै छन् । फाइलै नपढी अघि बढाइदिएछन् । यो प्रवृत्ति सुधार नगरी भएन अब । सचिव भन्छन्- हैन मन्त्रीलाई कति हतार भन्या, मैले त फाइल अघि बढाउनुहुन्न भनेकै थिएँ, अब तलबाट पूरै प्रक्रिया मिलाएर टिप्पणी पठाएपछि मैले के गर्नु ? उपसचिव भन्छन्- मैले त टार्नै खोज्या थिएँ नि, अब माथिबाट दबाबै आएपछि के गर्नु, फाइल सदर नगरी नहुने भयो । अधिकृत भन्छन्- अब माथिबाट टिप्पणीको बेहोरै लेखेर पठाएपछि मैले कसरी नाइँ भन्नु । खुरुखुरु लेखिदिएँ अब ।

सरकारले गरेको कुनै काम जब बन्छ, तब त्यसको जस यसरी लिन सुरु हुन्छ-

मन्त्री भन्छन्- हेर्नुस्, यसलाई भन्छन् नेतृत्व शक्ति । मैले सारा ठाउँमा आफैँ गएर दौडधूप नगर्‍या भए यो सम्भवै हुनेवाला थिएन । सचिव भन्छन्- मैले रातभरि काम गरेर फाइल तयार नगरेको भए यो कामै हुँदैनथ्यो । उपसचिव भन्छन्- सचिवज्यूले त अझ आलटाल गर्दै हुनुहुन्थ्यो, मैले नै तलबाट फाइल ल्याउन अह्राएर काम बनेको हो । अधिकृत भन्छन्- टिप्पणीको बेहोरा लेख्न कम उ भा'थ्यो र, मैले नै उ गरेर मिलाइदिएको हुँ । नभए टिप्पणी नै उठ्ने थिएन । पियन भन्छन्- सरले भन्नेबित्तिकै मैले माथि फाइल नलगिदिएको भए कहाँ काम बन्थ्यो र ! 

प्रकाशित: वैशाख ६, २०७६

ट्याग: परिहास