होहल्ला वर्ष ०७५

- लक्ष्मण गाम्नागे

नेपालको इतिहासमै विगत वर्षको तुलनामा ०७५ बिल्कुलै भिन्न रह्यो ।

दुई तिहाइको वामपन्थी सरकारले मच्चाएको अनवरत होहल्लाले यो वर्ष 'होहल्ला वर्ष' को रुपमा स्थापित भयो । प्रतिपक्ष, सञ्चार माध्यम र सामाजिक सन्जालले सरकारलाई होहल्ला महाअभियानमा ठूलो सहयोग पुर्‍याए । नेपालको सामान्यज्ञानमा '०७५ केका लागि प्रसिद्ध थियो ?' भन्ने प्रश्न र 'होहल्लाका लागि' भन्ने उत्तरले मान्यता पाउने पक्का भयो ।

यो वर्ष इतिहासमै नगरिएका अद्भुत कार्य गरेको, ती काम देखेर संसारै आश्चर्यचकित भएको हल्ला सरकारले चलायो भने सरकारले सिन्को पनि नभाँचेको हल्ला प्रतिपक्षले फैलायो । सरकारले यो नेपालको इतिहासकै सर्वोत्कृष्ट सरकार रहेको हल्ला मच्चायो भने प्रतिपक्षले इतिहासकै सर्वाधिक निकम्मा सरकार यसैलाई ठहर गरेको हल्ला फिँजायो ।

सरकारले हरेक दिन नयाँ काम थालनी गरेको हल्ला चलायो । सुरुमा सरकारले यातायात सिन्डिकेटको ढाड भाँचेको भन्ने हल्लाले बजार बेस्सरी तात्यो । केही समयपछि प्रतिपक्षीले सिन्डिकेट तोडेको सरकारको हल्ला हल्लै मात्र भएको हल्ला फैलाए । अहिले सिन्डिकेट झन् बलियो भएको हल्ला छ ।

सुन तस्करीको हल्ला यो वर्षको सुपरहल्लामध्येको एक थियो । तस्करीको जालोलाई सरकारले तहसनहस पारेको हल्लाविरुद्ध खास तस्करहरु सरकारले जोगाएर केही भरिया मात्र समातेर थुनेको भन्ने हल्ला प्रतिपक्षीबाट आयो ।

निर्मला हत्याकाण्डका अपराधी पक्राउको होहल्लाले लामै समय सरकारलाई हल्लायो । प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्रीहरुकै मुखबाट हत्यारा पत्ता लागेको हल्ला आयो तर त्यो हल्ला हावामा हरायो । सरकारले जोगाउनैपर्ने मान्छे अपराधमा संलग्न भएकाले अपराधी पत्ता नलागेको भन्ने हल्ला पनि बजारमा चल्यो ।

भेनेजुएला काण्डमा नेकपाले अमेरिकाविरुद्ध कडा वक्तव्य जारी गरेकाले अब अमेरिकाले नाकाबन्दी गर्छ भन्ने हल्लाको हुन्डरी चलिरहेकै बेला प्रचण्डलाई अमेरिकाले रातो कार्पेट ओछ्याएर स्वागत गरेको हल्ला चलेपछि हुन्डरी पनि सेलायो । 

चिनियाँ रेल आउने हल्ला, बुटिक एयरपोर्टको हल्ला, पानीजहाज कार्यालय उद्घाटन गरेर प्रधानमन्त्रीले नपत्याउनेहरुलाई जहाजको टिकट काट्न चुनौती दिएको हल्ला आदिले यो वर्षलाई होहल्ला वर्ष बनाउनमा भूमिका खेले । मेलम्ची खानेपानीको हल्ला त अझै कति वर्षसम्म चलिरहने हो, निश्चित छैन । नयाँ प्रधानन्यायाधीशले न्याय क्षेत्रमा ठूलै तहल्का मच्चाउने हल्ला आउँदाआउँदै उनकै सहकर्मीहरुले राजीनामा माग्न थालेको हल्ला पनि आउन थालिसक्यो । डाक्टर गोविन्द केसीले यसपालि सरकारसँग कुनै सम्झौता नगरी अनशन तोडेर हल्लाको बजारमा नयाँ आयाम थपिदिए । 

प्रधानमन्त्रीले भएभरका शक्तिशाली निकायलाई आफू मातहत ल्याएर अधिनायकवाद चलाउन खोजेको हल्ला प्रतिपक्षी दलले चर्कोसँग चलायो । बेलाबेला राष्ट्रपतिविरुद्ध पनि अनेकौँ होहल्ला भए ।

जेहोस्, यो हल्लैहल्लाको देश भन्ने कवि भूपि शेरचनको कविताले सर्वाधिक सार्थकता पाएको ०७५ हल्लैहल्लाको उत्सवमय वातावरणमा बित्यो । अब ०७६ मा अझै नयाँ र ठूला होहल्ला सुन्ने शक्ति हामी सबैमा प्राप्त होस् । नयाँ वर्ष २०७६ को मंगलमय शुभकामना !

प्रकाशित: वैशाख ६, २०७६

ट्याग: झटारो