दरबारियाका छोराछोरीलाई निःशुल्क ट्युसन

- हरिराम जोशी

निजामती किताबखानामा शाखा अधिकृत थिएँ, ०२६-२७ तिर । राजदरबारसँग मेरो साइनो सम्बन्ध केही थिएन । तर मैले राजा महेन्द्रका मुख्यसचिव रञ्जनराज खनाल र प्रमुख निजी सचिव नारायणप्रसाद श्रेष्ठका छोराछोरीलाई पढाउनुपर्ने भयो ।

बोर्डिङ स्कुल पढ्ने ठूलाबडाका छोराछोरी नेपाली र इतिहासमा कमजोर हुन्थे । मैले इतिहासमा डिग्री उपाधि लिएको कुरा सामान्य प्रशासन मन्त्रालयका कुनै कर्मचारीले दरबारमै गएर मुख्यसचिव रञ्जनराजलाई सुनाइदिएछन् । उनले मलाई आफ्नो निवास लाजिम्पाट बोलाए र छोरी कञ्चनमालालाई इतिहास विषय पढाइदिन आग्रह गरे ।

राजाको शासनकालमा दरबारमा काम गर्नेको रवाफ बेग्लै हुन्थ्यो । उनीहरुको बोली नै कानुनसरह मानिन्थ्यो । दरबारका मानिसले भनेको नमाने सीधै पजनीमा परिन्थ्यो । म बबुरो कर्मचारीले राजाका विश्वासपात्रको आग्रह टार्न सक्ने कुरै भएन ।

कञ्चनमालाले आईएस्सी छाडेर प्राइभेट परीक्षा दिन लागेकी रहिछन् । अफिस समय सकिएपछि म पुल्चोकबाट हिँडेरै रञ्जननिवास लाजिम्पाट जान्थेँ अनि राती ९ बजेसम्म ट्युसन पढाएर फर्किन्थेँ । कञ्चनमालाले प्राइभेट परीक्षा दिएर आईए उत्तीर्ण पनि गरिन् । 'तपाईंलाई के सहयोग गर्नुपर्‍यो, पैसा कति दिऊँ' भनेर रञ्जनराजले अनुरोध गरे । मैले ६ महिनासम्म पढाएँ, तर एक सुको पनि लिइनँ ।

तिनै कञ्चनले ०३१ मा काठमाडौँ नगरपञ्चायतको चुनावमा उपप्रधानपञ्चमा उम्मेदवारी दिइन् । म त्यतिबेला रक्षा मन्त्रालयमा थिएँ । उनी मसँग सहयोगका लागि आएकी रहिछन् । उपप्रधानपञ्चमा जितिन् पनि । तर त्यसपछि मेरो भेट भएन । रञ्जनराजले केही काम परे राजदरबारमा मलाई खबर गर्नू भने पनि सम्पर्कका लागि पहल गरिनँ ।

यस्तै, राजदरबारमा राजा महेन्द्रका प्रमुख निजी सचिव नारायणप्रसाद श्रेष्ठ थिए । उनी पाटन क्याम्पसमा अंग्रेजी विषयका उपप्राध्यापक थिए । श्रेष्ठलाई राजा महेन्द्रले आफ्ना छोरात्रय वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र शाहलाई अंग्रेजी पढाउन दरबारमा लगेका थिए । पछि दरबारमा पढाउँदा-पढाउँदै राजा महेन्द्रले प्रमुख निजी सचिवमा नियुक्त गरे ।

राजाकै प्रमुख निजी सचिव श्रेष्ठले पनि दरबारकै पहुँचका आधारमा मेरो सोधीखोजी गरेर छोराछोरीलाई ट्युसन पढाउन अह्राए । त्यसपछि नारायणप्रसादका दुइटी छोरी र एउटा छोरालाई इतिहासको ट्युसन पढाउने जिम्मा पनि मेरै काँधमा आइलाग्यो । ललितपुर पुल्चोक सेन्टमेरिज स्कुल छेउ थियो, श्रेष्ठको निवास ।

श्रेष्ठका तीन छोराछोरीलाई इतिहासको ट्युसन पढाएर त्यतैबाट बिहान ९ बजे अफिस जान्थेँ । करिब १४ महिनाजति निःशुल्क पढाएँ । त्यही बेला (०३७) मेरा बाको निधन भयो । मैले बरखी बारेको थिएँ । सेतो पहिरनमा पढाउन जाँदा श्रेष्ठले मलाई हकारे, 'राजदरबारमा भए तपाईंलाई हुल्नै दिँदैनथे । मेरो घरमा पनि सेतो कपडा लगाएर छोराछोरी पढाउन नआउनू ।' बिनापैसा पढाउनु छ तैपनि सेतो कपडाको बात लगाएपछि मेरो मन कुँडियो र पढाउनै छाडेँ ।

दरबारका मुख्य सचिव र राजाका प्रमुख निजी सचिवका छोराछोरीलाई पढाए पनि तिनीहरुसँग मैले शुभलाभका लागि कहिल्यै अनुरोध गरिनँ । तर उबेलाको नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (०३६) मा एक प्राज्ञ सदस्यका लागि नयराज पन्तसहितका चार जनाको नाम अगाडि आयो । त्यसमध्ये पन्त र मेरो नामसमेत सिफारिस समितिले सदर गरेर दरबार पठाएको राजाका प्रमुख निजी सचिव श्रेष्ठ र प्रज्ञाका आजीवन सदस्य बालकृष्ण समले मलाई जानकारी दिए । त्यो सिफारिस समितिमा शिक्षामन्त्री पशुपतिशमशेर राणा, समलगायत थिए ।

छोराछोरी निःशुल्क पढाएको गुन तिर्लान् भन्ने लागेर राजा वीरेन्द्रका प्रमुख निजी सचिव  श्रेष्ठसँग सहयोगका लागि आग्रह पनि गरेँ । श्रेष्ठले भनेका थिए, 'सिफारिस समितिलाई मैले दबाब दिन्नँ तर उसले सिफारिस गरेको खण्डमा अन्तिम हस्ताक्षर गर्न राजालाई आग्रह गर्छु ।' समितिले दरबार पठाएका दुईमध्ये नयराज पन्तलाई प्राज्ञ नियुक्तिका लागि राजा वीरेन्द्रले सदर गरिदिए । चाकरी नगर्दा त्यसमा म परिनँ ।

प्राज्ञ सदस्यमा छनोट नभए पनि श्रेष्ठले छनोट समितिको सिफारिसमा पर्नु नै ठूलो कुरा हो भनेर मलाई ढाडस दिए । अवकाशपछि भेटमा भने 'मैले कैयौँलाई मालदार अड्डामा पठाएँ, तर तपाईंलाई केही गर्न सकिएन' भन्दै पश्चात्तापको भाषा ओकलिरहे ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: वैशाख ६, २०७६

ट्याग: स्मरण