थकाइ मार्न भेडेटार

- आरके अदीप्त गिरी

धनकुटा र सुनसरी जिल्लाको सीमामा केही उँचो भागमा अवस्थित भेडेटार हिजोआज पर्यटकीय स्थलका रुपमा परिचित छ । पहिलो पटक नगरकोट घुमेर त्यहाँ पुगेकाहरु यसलाई पूर्वको नगरकोट पनि भन्छन् । मलाई पनि त्यस्तै लाग्यो । समुद्र सतहबाट १४ सय २० मिटरको उचाइमा अवस्थित छ यो । वरिपरि मनै लोभ्याउने हरियो पहाडी सौन्दर्यले घेरिएको छ भेडेटार । यसको विशेषता भनेको वर्षा होस् या हिउँद, दुवै याममा कुहिरोको घुम्टो ओढ्नु हो । चिसो सिरेटोको स्पर्शले त्यहाँ पुग्ने जोकोहीलाई सम्मोहित गर्छ । घरिघरि मात्र लाग्ने घामको किरणमा भेडेटार अद्भुत देखिन्छ ।

धरानबजार, राजारानी, डाँडाबजार, नाम्जे होमस्टे, साँगुरीभन्ज्याङ एवं सुलीकोट आदिले भेडेटारलाई वरिपरिबाट आकर्षक पहरा दिइरहेका छन् । धरानबाट यसको भू-आकृति नियाल्दा भेडेटार महाभारत पर्वत शृंखलाको एक टाकुरामा थपक्क बसेजस्तो लाग्छ । भुइँकुहिरोले ढाकेको बेला होस् या मौसम खुलेका बेला, यहाँ पुग्ने हरेकलाई यसको मनोहर सौन्दर्यले लठ्याइहाल्छ ।

भेडेटार सूर्योदय र सूर्यास्त दृश्यावलोकनका लागि पनि प्रख्यात छ । छिनछिनमा लुकामारी खेल्ने मौसमकै विशेषताका कारण प्रायः यात्री घुमफिर र थकाइ बिसाउन यहाँ पुग्दा रहेछन् । उखरमाउलो गर्मी छल्न पूर्वी पहाडका झापा, सुनसरी, मोरङदेखि सप्तरी र उदयपुरलगायतका जिल्लाबाट पर्यटक आउँछन् । भारतका विभिन्न स्थानबाट समेत यहाँ पुग्नेको संख्या उल्लेख्य छ । यहाँबाट मकालु, मनास्लु, बरुण, लोहोत्से, कुम्भकर्णलगायतका हिमालको प्रत्यक्ष अवलोकनसमेत गर्न सकिन्छ ।

यसैगरी सेती र सर्दु खोलालाई दायाँ-बायाँ पारेर फैलिएको धरानबजारको मोहिनी रुप यहाँबाट हेर्दा विशेष आनन्द लाग्छ । यस्तै, धरान आसपासका उर्बर उपत्यकाले पनि मनलाई बारम्बार जिस्काइरहन्छन् । यहाँको 'चाल्र्स टावर' भेडेटार वरपरका पहाडी दृश्य नियाल्न उपयुक्त मानिन्छ ।

भेडेटारको नाम रहनुको पनि आफ्नै रोचक कथा रहेछ । उहिले भेडी गोठालाहरु यहाँ आएर दिनभरजसो भेडा चराउने, खेल्ने, रमाउने र एकै ठाउँ भेडा जम्मा गरी खर्क बनाउने गर्थे रे । त्यही भएर यस ठाउँको नाम भेडेटार रहन गएको स्थानीय गोविन्द कार्कीले बताए । तर हाल भने भेडाविहीन छ भेडेटार । पुराना भेडापालक कृषक आजकाल अन्य पेसा व्यवसायमा लागेका छन् ।

धरान-धनकुटा मोटरबाटो सुरुपछि यहाँ टाढाटाढादेखि फरक-फरक भूगोल र वर्णका मान्छे आउन थालेको स्थानीय बताउँछन् । धनकुटाबाट तराई झर्ने मुख्य नाका पनि भेडेटार नै हो । यो अहिले क्षेत्रीय बजारै बनिसकेको छ । हाल यहाँ पर्यटकका लागि ५० भन्दा बढी सुविधासम्पन्न होटल सञ्चालनमा छन् ।

कोसी राजमार्गको बीचमा पर्ने भएकाले पनि होला भोजपुर, धनकुटा, तेह्रथुम र संखुवासभातिर जाने यात्री हिजोआज आफ्नो यात्रालाई केही समयका लागि भए पनि यही बिसाउन थालेका छन् । बिदा समय होस् या विद्यालयको शैक्षिक भ्रमणको तालिका बनाउँदा, पूर्वी पहाडका प्रायःजसो शैक्षिक भ्रमणको प्रमुख रोजाइ भेडेटार नै हुने गरेको छ ।

पहाडी भूगोल, शीतल मौसम, खुला पाखा भएकैले होला, ०४० तिर यहाँ बेलायती राजकुमार चाल्र्स पनि पुगेका थिए । भेडेटारमा पहिलोचोटि विदेशी विशिष्ट पाहुना पुगेकैले यस थुम्कोलाई 'चाल्र्स प्वाइन्ट' नामकरण गरिएको रहेछ । हाल त्यही स्थानमा भ्यू टावर निर्माण गरिएको छ, जहाँबाट ठूलो आयतनमा वरिपरिको भू-आकृति आँखामा समेट्न सकिन्छ ।

पछिल्लो समय भेडेटारसँगै यस वरपरका नाम्जे, ध्वजेडाँडा, आत्माघर, डाँडाबजार, राजारानी, वसन्तपुर, तिनजुरे-मिल्के, गुफापोखरी आदि ठाउँ पनि वरदान सावित भएका छन् । यही बाटो हुँदै तेह्रथुमको प्रसिद्ध वसन्तपुर क्षेत्र पुगिन्छ । नजिकको नाम्जे गाउँ होमस्टेका रुपमा प्रख्यात छ ।

वरपरका लाहुरे बस्ती र लाहुरेको वास्तविक जनजीवन नजिकबाट नियाल्न पाउनु पनि भेडेटार यात्राको अर्को फाइदा हो । चिटिक्क परेका लाहुरे बस्ती यात्रामा प्रत्यक्ष साक्षात्कार हुन्छन् । भेडेटारबाट तल झर्दा विविध जाति, भाषा र संस्कृतिको मेटाफोरमा बाँचिरहेको धरान बजार एउटा साझा फूलबारीजस्तै लाग्छ । न जाडो न गर्मी, सदाबहार वातावरणीय सन्तुलनमा धरान बजार हिँड्दा/डुल्दा मनै फुरुंग हुन्छ । बजार आसपासका बाटा, चोक र गल्लीले जोकोही मोहित हुन्छन् ।

भेडेटार घुम्नलाई कुनै खास सिजन पर्खनुपर्दैन, जुनसुकै सिजन पनि उपयुक्त छ । हरेक महिना एकनासको पर्यटकीय चहलपहल हुन्छ भेडेटारमा । हिजोआज यसलाई 'लभर स्टेसन' का रुपमा पनि चिन्न थालिएको रहेछ । कारण, भेडेटार पुग्नेमध्ये अधिकांश युगल प्रेमी जोडी नै देखिने स्थानीय बताउँछन् । पछिल्ला दिनमा विभिन्न फिल्मदेखि म्युजिक भिडियोसम्म छायाँकनका लागि पनि भेडेटार धेरैको रोजाइमा पर्ने गरेको छ । 

शब्द/तस्बिर : आरके अदीप्त गिरी

प्रकाशित: वैशाख ६, २०७६