रमिलाको डिजाइन-मोह

- गोकर्ण गौतम

वरपर रक्सी पसल थिए, तर रमिला नेमकुलले पाटनढोकामा बुटिक खोलिन् । त्यस क्षेत्रको पहिलो बुटिक । डिजाइन वेयरप्रति कसैको खास लगाव पनि थिएन । त्यसैले रमिलालाई सबैले 'मूर्ख' भन्थे । छोरी दर्जी भई भनेर परिवारलाई चिन्ता, छिमेकीलाई खिसिट्युरी गर्ने मेलो । तर उनी विचलित भइनन् ।

डेढ दशक बित्यो, अहिले पाटनढोकामा लगभग घरैपिच्छे बुटिक छन् । भट्टीचाहिँ करिब विस्थापित भइसके । हिजो खिसी गर्ने तिनै छिमेकी समयक्रमसँगै रमिलाका प्रशंसक भए । भन्छिन्, "आफ्नो कर्ममा निरन्तर लागिरहने हो भने सफलता धेरै टाढा नहुँदो रहेछ ।"

पाटन क्षेत्रमा मात्र होइन, नेपाली फेसन दुनियाँमा प्रतिष्ठित नाम हो, रमिला । उनका आफ्नै दुई ब्रान्ड छन्, 'काव्या : सोल अफ फेसन' र 'कासा : द स्टाइल' । ५५ जनालाई प्रत्यक्ष रोजगारी दिएकी छन् । तर यो उपलब्धिका पछाडि संघर्ष उत्तिकै लामो र गहिरो छ ।

रमिलालाई पारिवारिक व्यापारतिर कहिल्यै मन गएन । उनी कपडा सिलाउन पाउँदा दंग पर्थिन् । अरुलाई थरी-थरीका कपडा तयार पारिदिन्थिन् । पुराना लुगालाई नयाँ स्वरुप दिन्थिन् । एसएलसी सक्नासाथ डिजाइनिङ पढ्न हारगुहार गरिन् तर अभिभावकको पूरापूर अवरोध । घरमा सबैको जवाफ एउटै हुन्थ्यो, लुगा सिउने काम हाम्रो होइन, इज्जत जान्छ ।

हुन पनि १८ वर्षअघि न बुटिकको महत्त्वबोध थियो, न त डिजाइनरप्रति सम्मानभाव नै । एसएलसीपछि बिदामा कम्प्युटर सिक्न लगाइयो । उनी पनि के कम, घरबाट निस्कन पाउने यही मौकामा कपडा सिलाइ सिक्न थालिन् । घरमा ढाँटेरै तीन महिना बित्यो । तन्ना, स्वेटर, कुर्ता सिलाउन पोख्त भइन् । रमिला मुस्कुराउँछिन्, "दिनभर लुगा सिलाउँथेँ तर न पट्टयार लाग्थ्यो, न त झर्को । बरु मन खुसी हुन्थ्यो । के कुराले त्यसरी तान्यो होला, अहिले सम्झँदा अचम्म लाग्छ ।"

लुगा सिलाइप्रति रमिलाको प्रेम घनीभूत हुँदै थियो, त्यही बेला उनको बिहे भयो । डिजाइनिङ ठप्पै रोकियो । अर्को वर्ष बच्चा भयो । झन् जिम्मेवारी थपियो । व्यावसायिक रुपमा अगाडि बढ्ने गुन्जायसै भएन । भलै त्यतिबेला पनि परिवारका कपडा आफैँ सिलाउँथिन् । जसोतसो जीवन चल्दै थियो । एक्कासि बज्रपात आइलाग्यो । दुवै मृगौला फेल भएर पतिको देहान्त भयो । २० वर्षको उमेरमै एक्लो हुनुपर्दा शोक हुने नै भयो । तैपनि, शोकलाई शक्तिमा बदल्नु विकल्प थिएन ।

पीडा भुल्नकै खातिर आफ्नो मनको इच्छा पूरा गर्ने बाटोमा अघि बढिन्- फेसन डिजाइनिङको औपचारिक अध्ययनमा । यतिबेला पनि परिवारको खास साथ थिएन तर रमिलाको पाइला रोकिएन ।

तिनताका बागबजारमा आईइसी कलेज अफ फेसन भर्खरै खुलेको थियो । रमिलाले त्यही दुई वर्षे कोर्स गरिन् । ग्राफिक डिजाइनिङ सिकिन् । लगत्तै दरबारमार्गस्थित नेपालकै पहिलो बुटिक चाहतमा प्रशिक्षार्थी बन्न पाइन् । रमिलाको सीपबाट प्रभावित भएर चाहतका सञ्चालक राजेश धाख्वाले पहिलो महिनाबाटै पारिश्रमिक दिए । केही समयपछि अर्को बुटिकमा जोडिइन् । तर डिजाइनिङ सिक्ने भोक अझ बढ्दै गयो । नेपालमा थप अध्ययन गर्ने थलो थिएन । त्यसैले फिनल्यान्ड गइन् ।

फिनल्यान्डमा सुरुमा डिजाइनिङ कोर्स गरिन् । बुटिकमा काम गरिन् । अन्तर्राष्ट्रिय व्यापारमा स्नातक र उद्यमशीलतामा स्नातकोत्तर गरिन् । आफैँले रेस्टुराँ खोलिन् । नेपाली हस्तकलाको व्यापार सुरु गरिन् । बीचमा केही समय बुटिकको काम रोकियो । भन्छिन्, "रेस्टुराँबाट नाफा त हुन्थ्यो तर सिर्जनशीलता देखाउन पाइन्नथ्यो । मन खुसी भएन । बुटिक मिस गर्न थालेँ ।" यत्तिकै एक दशक बित्यो । उनलाई जसरी हुन्छ, नेपालमा आफ्नै ब्रान्ड स्थापित गर्ने हुटहुटी पलायो । फिनल्यान्डको उकुसमुकुसबाट मुक्त भएर नेपाल आइन्, सन् २०१६ मा ।

रमिलाको अनुभवमा फेसन डिजाइनरको मुख्य गुण भनेकै नयाँ ट्रेन्डसँग 'अपडेट' हुनु हो । आफैँले ट्रेन्ड सुरुआत गर्न सके त अझ अब्बल । त्यसैले ६ महिना भारतीय जीवनशैली र फेसनप्रतिको दृष्टिकोण नियालिन् । बल्ल यहाँ नयाँ ब्रान्ड सुरु गर्ने आँट आयो । त्यसकै प्रतिफल हो, कासा : द स्टाइल । पश्चिमा पहिरन र शैलीमा आधारित यस ब्रान्डलाई उनले कामकाजी र उच्च/मध्यम वर्गीय महिलालाई लक्षित गरिन् । अर्को ब्रान्ड काव्या कुर्ता, सारीजस्ता सांस्कृतिक लुगामा लोकप्रियता छँदै थियो । कासालाई चाहिँ आधुनिक सोचमा अगाडि बढाइन् ।

जम्मा डेढ वर्ष बित्दै छ, कासा सुरु गरेको, तर बौद्धमा नयाँ आउटलेट खोलिसकिन् । अब बानेश्वर र लाजिम्पाटमा सुरु हुँदै छ । नम्रता श्रेष्ठ, पि्रयंका कार्की, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्कालगायतका सेलेबि्रटीको पहिलो रोजाइ रमिलाकै वेयर । फेसबुक र इन्स्टाग्राममा डिजाइन पहिरन अपलोड गरेपछि सेलिब्रिटी आफैँले उनीसँग सम्पर्क गरेका थिए ।

सेलेबि्रटी मात्र होइन, मध्यम आय वर्गलाई पनि डिजाइन वेयरप्रति आकषिर्त गर्न तल्लीन छिन् । उनका अनुसार पहिरनले व्यक्तित्व विकास र आत्मविश्वास बढाउँछ भन्ने ज्ञान स्थापित हुँदै छ । यसो हुनु भनेको डिजाइन वेयरको बजार बढ्नु हो । डिजाइनरप्रति सम्मानभाव अकासिएको अनुभव छ उनको । भन्छिन्, "पहिले दर्जी भनेर हेपिन्थ्यो । अहिले सिर्जनात्मक पेसा मान्न थालिएको छ । हामीले जति राम्रो काम गर्न सक्यौँ, त्यति प्रतिष्ठा आर्जन हुन्छ ।" उनको बुटिकमा २५ सयदेखि २५ हजारसम्म पहिरन तयार हुन्छन् ।

रमिलाको अबको उद्देश्य छ, विदेशी ब्रान्डसँग अन्तर्राष्ट्रिय बजारमै प्रतिस्पर्धा गर्ने । फेसन डिजाइनिङको दुनियाँमा नेपालको स्वतन्त्र पहिचान निर्माण गर्ने । भारतीय कम्पनी टी-सिरिजको फेसन डिजाइनसम्बन्धी विभागको सल्लाहकार समितिमा रहेकी रमिला भन्छिन्, "माया गरेर होइन, गुणस्तरीय भएर विदेशीले प्रयोग गर्ने नेपाली पहिरन तयार पार्नुपर्छ । त्यसकै लागि गृहकार्य गरिरहेकी छु ।"

लगन र मिहिनेत हुने हो भने असम्भव के होला र ? रमिलाको विगतले त्यस्तै देखाएको छ ।

प्रकाशित: वैशाख ६, २०७६

ट्याग: रङ