मागेको रोटी र 'आइडिया अफ नेपाल’

- अच्युत वाग्ले

 यतिखेर संसार मूलतः पाँच मुद्दामा रुमल्लिएको छ । पहिलो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'अमेरिकी मूल्य परम्परा (भ्यालु सिस्टम)' लाई तहसनहस पारे । मेक्सिकोको सीमामा पर्खाल लगाउने उनको निर्णय अन्तर्मुखी बन्दै गएको अमेरिकाको विम्ब बनेको छ । दोस्रो, अमेरिका र चीनबीच व्यापारमा देखिएको तनाव, सहमतिको नजिक पुगेको दाबी गरिएको व्यापार सम्झौता छ । तेस्रो, युरोपेली संघबाट बेलायत अलग्गिने, 'ब्रेक्जिट' ले युरोपेली एकल अर्थतन्त्रको विघटनको सुरुआत गर्ने भय छ । चौथो, संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास भनिएको भारतको संसदीय आमनिर्वाचन छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एकल नायकत्वकरण र त्यसको रापमा पग्लिँदै गएको त्यहाँको केन्द्रीय बैंकको हैसियतको प्रश्न चुनावी बहसमा छ । र, पाँचौँ चीनले 'बेल्ट एन्ड रोड इनिसियटिभ' मार्फत युरोपमा क्रमशः फैलाएको व्यापारिक र सामरिक प्रभाव छ । ग्रीसका अतिरिक्त इटाली र पोर्चुगलजस्ता ऋणमा डुब्दै गरेका मुलुकले चीनबाट ठूलो सहायताको आश्वासन पाएका छन् ।

यी सबै बहस, तनाव र तिकडमको केन्द्रबिन्दुमा मुलुकहरूको आर्थिक हैसियत र त्यसको प्रतिरक्षा वा विस्तारको स्वार्थ अग्रभागमा छ । अरू मुद्दा किनारामा छन् । भनिरहनु परेन, यी सबै आर्थिक स्वार्थरक्षाका कसरतको पृष्ठभूमिमा सम्बन्धित राष्ट्रको अवधारणा अथवा 'आइडिया अफ नेसन' सुपरिभाषित र बलशाली छ । मुलुकको हित-अहित वा लाभ-हानिको मानक यही 'आइडिया अफ नेसन' नै हो, जुन त्यहाँको मूल्य-प्रणालीको उपज हो ।

'आइडिया अफ अमेरिका' को मूल्य-प्रणालीले निजत्व, स्वतन्त्रता (फ्रिडम), प्रतिस्पर्धामार्फत उन्नति र विश्व भ्रातृत्वका रूपमा परिभाषित गरेको छ । यसको सट्टा, ट्रम्पले गोरा आधिपत्य -ह्वाइट सुपि्रमेसिस्ट) राज्य स्थापना गर्न खोजेर आइडिया अफ अमेरिकालाई खण्डित गरेको आरोप लागेको छ । चीनसँगको व्यापार-युद्ध त्यही आधिपत्य कायम राख्ने सौदाबाजी हो । 'आइडिया अफ बि्रटेन' लोकतन्त्र, कानुनी राज्य र व्यक्तिगत स्वतन्त्रता (लिबर्टी) मा आधारित छ । युरोपसँगको घुलित पहिचान पचाउन नसकेको जनमतले 'ब्रेक्जिट' का पक्षमा मतदान गर्‍यो । भारतले हिन्दु संस्कृतिका त्याग, दान, निष्ठा, सत्य, अहिंसा र उपेक्षालाई परम्परागत र उपमहाद्विपीय मान्यता भने पनि उसको आधुनिक एकीकृत मूल्य-प्रणालीका साझा राष्ट्रिय सञ्चालकचाहिँ क्रिकेट, रेल, बलिउड सिनेमा र जुगाड प्रवर्तन हुन् । चीनको मूल्य-प्रणाली एकल भाषा र कन्फ्युसियसले ईसापूर्व पाँचौँ शताब्दीमा स्थापित गरिदिएको कडा परिश्रमको दीक्षामा आधारित छ । 'मानिसले आफ्नै श्रमबाट तर्कसंगत र उचित ढंगले वैभव हासिल गर्नुपर्छ' भन्ने उनको उक्ति मार्गदर्शक त हो नै, २५ सय वर्षको अविच्छिन्न पुस्तान्तरणले यसलाई चिनियाँ संस्कारको अभिन्न अंग बनाएको छ । अहिलेको उच्च उद्यमशील 'आइडिया अफ चाइना' त्यसकै फल हो ।

विहंगम अर्थमा, खास मुलुकको विकास, समृद्धि र नागरिकको सुख नाप्ने आधार पनि खास मुलुकको 'आइडिया अफ नेसन' कति प्रवर्द्धित र सुदृढ छ भन्ने नै हो । आर्थिक विकासको आँकडा औधी आकर्षक नदेखिएका मुलुकहरूमा पनि यदि यो आइडिया सबल हुँदै गएको छ भने जनता सुखी र सन्तुष्ट हुन्छन् भन्ने अवधारणा विकसित हुँदैछ । भौतिक लाभका सूचकांकको ठाउँमा देखाइएको 'ह्याप्पिनेस इन्डेक्स' यही हो ।

खट्किँदो विमर्श

नेपालको विकास पनि 'आइडिया अफ नेपाल' को समग्र सबलीकरण र प्रवर्द्धन नै हो । र, यस्तो सबलीकरणको मूल औजार र मानक दुवै प्रतिनिधिमूलक राष्ट्रिय मूल्य-प्रणाली (नेसनल भ्यालु सिस्टम) हुन् । तर नेपालको विकास बहसको इतिवृत्ति न आइडिया अफ नेपाल, न त 'नेसनल भ्यालु सिस्टम' सापेक्ष भएको छ । बहसका नाममा केही अधकल्चा तथ्यांक गिजोलिन्छन् । सनातन अर्थशास्त्रीहरू कानुनी, संरचनागत र प्रक्रियागत आयामको परिक्रमा गर्छन् । सारमा, 'मोही मथेको' नियति हात लाग्छ ।

आखिर के हो त सबै नेपालीका लागि स्वीकार्य आइडिया अफ नेपालको परिभाषा ? वास्तवमा नेपालको भ्यालु सिस्टम र पहिचान के हो, जसको प्रवर्द्धन गर्नासाथ मुलुक स्वतः समृद्धि र सन्तुष्टिको बाटोमा हिँड्छ ? यी अहं पक्षलाई कतै पुष्ट परिभाषित नगरी सतहमा विकासे गफ मात्र दोहोर्‍याई रहँदा मुलुकको यो दारुण नियति पनि उसैगरी दोहोरिइरहेको छ ।

केही दिनअगाडिको लगानी सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले नेपाल सगरमाथाको देश, बुद्ध र मिहिनेती नेपालीको देश भनेर परिभाषित गर्ने प्रयास गरे । विद्यालयका पाठ्यपुस्तकमा यिनै हरफ छन् । प्रायः नेपालीलाई वीर र पराक्रमीको कोटिमा राख्ने प्रयास पनि गरिन्छ । 'मागेको रोटीले मेरो पेट भरिन्न' जस्ता राष्ट्रिय गीत छन् । तर यी कुनै पनि पहिचानले नेपाललाई एउटा वैभवशाली मुलुकमा रूपान्तरण गर्न सकेनन् । सगरमाथा त्यही थियो र छ । बुद्ध यहाँ जन्मेको अढाई हजार वर्ष नाघ्यो । नेपाली उस्तै 'परिश्रम' गरिरहेका छन्, हजाराँै वर्षदेखि निरन्तर । तर मुलुकको दशा सुध्रिएन ।

हामीले आइडिया अफ नेपालका आधार बनाउन खोजेका विम्बहरूलाई कतै सिंगो देशले आत्मसात नै गरेन कि अथवा जनताले आपmनो व्यवहारको अंश बनाएनन् π कति प्रतिशत नेपालीले हिमाल र सगरमाथाकै दर्शन वा सम्मानको आत्मिक अभिलाषा देखाएका होलान् ! यो फगत खर्च क्षमताको प्रश्न पनि होइन । कति नवधनाढ्यमा यस्तो इच्छा होला ?

बुद्धका शिक्षाबारे सामान्य साक्षरता पनि कति जनतामा होला ? नेपालीको साहस र वीरता कसका विरुद्ध प्रयुक्त भएर यो पहिचान बनेको हो ? कि यो पैसाको लोभमा जसका विरुद्ध पनि विवेकहीन हिंसामा प्रयोग हुने भाडाका सिपाही -मर्सिनरिज) को पर्यायवाची हो ? 'मागेको रोटीले पेट नभरिने' गीत लाज छोप्ने कथा हो कि वास्तविक दैनन्दिन अभ्यास ? व्यवहारमा त सरकारदेखि सडकमा बसेर माग्नेहरूको एकल ध्येय मिहिनेत नगरी पैसा हात पार्नु रहेको देखिन्छ । आम उदाहरण हो, कर्मचारी, प्रहरी वा भरियाको पनि कर, भन्सार वा एयरपोर्टमा पोस्टिङ हुनु स्वतः सामाजिक गौरवको विषय बन्छ । यी मूल्य (हीनता) को सनातन अभ्यास र हामीले प्रदर्शन गर्न चाहेको नेपालको गौरवपूर्ण अवधारणाबीचको खाडल सानो छैन ।

कसको सरकार, कसको सत्ता ?

नेपाल सत्ताद्वारा शोषित र प्रताडित मुलुक हो । अढाई सय वर्षअघि नै नेपालले एउटा देश (कन्ट्री) को आकार ग्रहण गर्नु वास्तवमै ऐतिहासिक उपलब्धि थियो । त्यसलाई निरन्तरको प्रयासले एउटा साझा राष्ट्र (नेसन-स्टेट) को रूपमा कुँद्न पृथ्वीनारायणका सन्ततिले प्रयास गरेनन् । अथवा उनले फैलाइदिएको कुतको आय राजा, दरबार, शाह र राणा खलक एवं तिनका केही सय भारदार/अनुचरलाई विलासी जीवन बिताउन पर्याप्त भयो ।

राजतन्त्र, राज्यको स्रोत र हिन्दुत्वको सम्मिश्रणयुक्त सत्ताको प्राधिकार निर्माण भयो र यसको दुरुपयोग भइरह्यो । सबै कालखण्डका शासकले ठूलो धनराशि मुलुकबाहिर लगे । भित्रै दुरुपयोग गरे । अथाह जमिन कब्जा गरेर निजी बनाए । जनता फगत दास बनिरहे । उद्यमशीलताको अभावमा सिंगो जनसंख्या चरम अल्छी बन्यो । ६ महिना काम गर्ने, ६ महिना सुतिखाने श्रम-परम्परा आम बन्यो । नियमित र अनुशासित श्रम वा स्वरोजगारीभन्दा दासता वा दलाली अधिक प्यारो भयो । 'चामलकै भात खान पाउनु' वैभवको पर्याय बन्यो ।

यसरी दासताको आम अभ्यास, सत्ताको दलाली, शून्य उद्यमशीलता र खोक्रो आडम्बर यथार्थमा 'अधिराज्य' नेपालको मूल आइडिया बन्यो । यो अहिले पनि अकण्टक अभ्यासमा छ । राष्ट्रको यही बिब्ल्याँटो आइडिया विकासको मूल बाधक बनेको छ । यसका कारण छन् । राणा परिवार वा शाहवंश सरकारबाट हट्यो । यथार्थमा सत्ता भने उनीहरूकै रहिरह्यो । राणा शासन हटेको ७० वर्षपछि पनि नेपालका ठूला जमिनदार (घडेरी बिक्रेता) राणाहरू नै छन् । विलासिताको उपभोगदेखि राम्रो अंग्रेजी शिक्षा र डलर तलब आउने जागिरमा उनीहरूकै पहुँच छ । हरुवाचरुवा र हुक्केबैठके यथावत छन् । राजसंस्था हट्यो । तर पूर्वराजा, उनको परिवार र तिनका कृपाले अथाह धनी भएकाहरूसँग अहिले पनि मुलुकको राजनीतिलाई अस्थिर बनाउन यथेष्ट स्रोत छ । यसका प्रस्ट झिल्का देखिएकै छन् । नयाँ शासक उनीहरूको सिको गर्ने भए । त्यसैले, सत्तामाथि पुराना अभिजात्यहरूको हालीमुहाली कम भएन ।

अहिले नेपालले अवलम्बन गरेको 'गणतान्त्रिक, संघीय लोकतन्त्र' ले आइडिया अफ नेपाललाई थप उजिल्याउन र प्रवर्द्धन गर्न सक्नुपथ्र्योे । वर्तमान शासकहरूको आइडिया पनि सत्ता चलाउनेमा अधिक र सरकार सञ्चालनमा अत्यन्तै न्यून मात्र छ । हाउभाउ, आडम्बर र अभ्यास उही पुरानो सत्ताको छ । सरकारमा पुग्नेलाई मुलुक जत्ति नै गरिब भए पनि सत्तासुख भोगका लागि, इतिहासका राणा वा शाहहरूकै झैँ पर्याप्त कुत उपलब्ध छ । दास, दलाल र अनुचरहरूको झुन्ड उसैगरी हरदम सेवामा तयार छ ।

त्यसैले नेपालको विकासको वास्तविक सम्भाष निर्माण हुन आइडिया अफ नेपालको बलियो परिभाषा स्थापित हुनु आवश्यक छ । सत्ता सरकारसँगै रहनुपर्छ र त्यसको सदुपयोग हुनुपर्छ । यी दुई 'डिपार्चर' पछि मात्र विकासको उडानले उचाइ लिन सक्छ । 

ट्वीटर : @DrAchyutWagle 

प्रकाशित: वैशाख ५, २०७६