प्रविधि र गीतसंगीत

- कालीप्रसाद रिजाल

केही समय पहिलेको कुरा हो । पारिलो घाम तापेर म रेडियो सुनिरहेको थिएँ । एक मित्र टुप्लुक्क आइपुगे । मैले रेडियो बन्द गर्न खोजेँ तर उनले गीत सुन्दै गफगाफ गरौँ भनेपछि सानो स्वरमा रेडियो खोलेर हामी कुरा गर्न थाल्यौँ । कुरा पनि रेडियोबाटै सुरु भयो ।

बसिबियाँलो गर्ने दृष्टिले मैले एउटा उट्पट्याङ घोषणा गरेँ, 'एन्टेना छोएको भरमा म यसपछि कुन गीत बज्छ भनिदिन सक्छु' भनेर । मित्रले पत्याउने कुरै थिएन । उनले मेरो कुरालाई 'तपाईं पनि...' भनेर हाँसोमा उडाउन खोजे । तर बजिरहेको गीत समाप्त नहुँदै एन्टेना छोएजस्तो गरेर मैले भविष्यवाणी गरिदिएँ, 'अब यसपछि यो बोलको फलानोको गीत रेडियोमा बज्छ' भनेर ।

नभन्दै मैले भनेकै गीत बज्यो । भविष्यवाणी गर्दै गएँ । मैले भनेकै गीत क्रमशः बज्दै गए । त्यसपछि विषयलाई अझै रहस्यमय बनाउँदै फेरि एन्टेना छोएर अर्को भविष्यवाणी गरिदिएँ, 'अब यसपछि लहरै फलानो-फलानो विज्ञापन प्रसारित हुन्छ' भनेर । मैले गरेको विज्ञापनसम्बन्धी भविष्यवाणी पनि ठ्याक्कै मिल्यो । मित्र तीनछक्क परे ।

'अहो यस्तो अद्भुत शक्ति कसरी प्राप्त गर्नुभयो' भन्दै मित्र महोदयले आश्चर्यचकित हुँदै मसित प्रश्न गरे । त्यसपछि मैले मित्रलाई धेरै बेर कौतूहलमा राख्न चाहिनँ । मित्रलाई भनेँ, "रेडियोको कुनै खास प्रसारण केही दिनसम्म नबिराई लगातार सुन्नुभयो भने तपाईंले पनि भविष्यवाणी गर्न सक्नुहुन्छ । मैले पनि यसैगरी थाहा पाएको ।"

प्रविधिले हामीलाई कतिसम्म अल्छी बनाइदिएको छ भन्ने कुराको यो एउटा उदाहरण हो । पहिलेजस्तो अचेल प्रत्येक दिन निर्धारित समयमा कार्यक्रम सञ्चालक आफैँ उपस्थित भएर कार्यक्रम प्रस्तुत गर्दैनन् । उनीहरु रेडियोमा प्रसारण गरिने कार्यक्रम पहिले नै सेट गरेर राखिदिन्छन् । त्यसपछि उनीहरु कतै गए पनि हुन्छ । कतै बसेर गफ गरे पनि हुन्छ । सेट गरेअनुसार रेडियोको प्रसारणयन्त्रले कार्यक्रम प्रसारित गरिरहन्छ । सेट गरेअनुसार सामग्री प्रसारित भइरहन्छन् ।

बीचबीचमा विज्ञापन पनि आफ्नो क्रममा बजिरहन्छन् । प्रत्येक दिन, प्रत्येकपल्ट यो क्रम चलिरहन्छ । तर प्रस्तोता आफैँ उपस्थित भएर नयाँ-नयाँ प्रसंग र चाखलाग्दा कुरासहित कार्यक्रम प्रस्तुत गर्दाको विशेषता र आकर्षण भिन्दै हुन्छ ।

प्रस्तोताले आफ्नो विशेष शैली, कलात्मक प्रस्तुति, नवीन प्रयोग र कल्पनाशीलताका कारण श्रोतामाझ विशेष स्थान बनाइसकेको हुन्छ । कतिपय श्रोता त प्रस्तोताको आकर्षणकै कारण कार्यक्रम कहिले आउला भनेर उत्सुकतासाथ पर्खिरहेका हुन्छन् ।

सञ्चालक आफैँ उपस्थित भएर प्रत्येकपल्ट फरक प्रसंग र कुराकानीसाथ प्रसारण गरिएको जीवन्त कार्यक्रम सुनेका श्रोतालाई हिजोआज प्रसारण गरिने कार्यक्रम बढी यान्त्रिक र निर्जीव लाग्नु स्वाभाविकै हो । मेरो विचारमा प्रविधि र यान्त्रिकीकरणले सबैभन्दा बढी संगीत क्षेत्रलाई प्रभाव पारेको छ । निश्चित हो, प्रविधिले संगीतलाई व्यावसायिकता प्रदान गर्न ठूलो मद्दत पुर्‍याएको छ । प्रविधिकै कारण संगीतको पनि क्रयबिक्रय सम्भव भएको छ । माग र आपूर्तिअनुसार संगीतको पनि मूल्य निर्धारण सम्भव भएको छ । संगीतको पनि बजार बनेको छ । गीतसंगीतलाई व्यवसाय बनाएर बाँच्न सक्ने अवस्था मात्र होइन, संगीतकै माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्न सक्ने सम्भावनाको पनि ढोका खुलेको छ । तर प्रविधि र व्यापारीकरणले संगीतलाई कति फाइदा या नोक्सानी भएको छ, यो गम्भीर विश्लेषणको विषय हुन सक्छ ।

मैले थाहा पाउँदासम्म पनि संगीतलाई भौतिक आर्जनको साधनभन्दा पनि आध्यात्मिक साधनाको विषय मानिन्थ्यो । निष्काम भावले गरिने समर्पित साधना र तपस्याको क्षेत्र ठानिन्थ्यो । संगीतलाई महासागरसित तुलना गरिन्थ्यो । जति गहिराइसम्म गोता लगाएर जति फेला पारे पनि हासिल गर्नुपर्ने कुरा त्यत्ति नै बाँकी रहने भएकाले संगीतलाई अपरम्पार ठानिन्थ्यो । एउटा मान्छेको सीमित आयुबाट संगीतको छेउटुप्पासम्म पनि पुग्न नसकिने भएकाले पुस्तौँपुस्ता, सन्तान-दरसन्तानले आफ्ना अग्रजले छाडेर गएको संगीत साधनालाई अघि बढाउने प्रचलनअनुसार छिमेकी राष्ट्रमा संगीत घरानाको स्थापना भएको पाइन्छ । हाम्रै मुलुकको कुरा गर्ने हो भने पनि नेपाली संगीतलाई आजको अवस्थामा पुर्‍याउने काममा धेरै अग्रज संगीतसेवीको योगदान रहँदै आएको छ । उनीहरुको समर्पित साधना र निष्काम सेवाका कारण नेपाली संगीत यो अवस्थामा पुग्न सकेको हो । संगीतबाट उनीहरुले कुनै भौतिक आर्जन गरेनन्, बाँचुन्जेल कष्टसाथ जीवन बिताए । तर नेपाली संगीतलाई धेरै दिएर गए । उनीहरुले संगीतबाट पाउने भनेको आत्मीय आनन्द र सन्तोष मात्र थियो । एउटा राम्रो गीत तयार भयो र श्रोताबाट लोकपि्रय हुन सक्यो भने त्यसैलाई जीवनको बहुमूल्य उपलब्धि ठानिन्थ्यो । गीतकार, संगीतकार र गायक/गायिकाबीच लामो सहकार्यपछि मात्र गीतले पूर्णता पाउँथ्यो । त्यसैले राम्रो शब्द, संगीत र गायन नै सबैको अभीष्ट थियो । त्यसबेलाको संगीत साधनाको महफ्वपूर्ण पक्ष भनेको निरन्तरको सहकार्य र परिमार्जनलाई मान्नुपर्ने हुन्छ । गीतकार, संगीतकार र गायक/गायिका तीनै पक्ष सन्तुष्ट नहुन्जेल सुधार/परिमार्जनको सहकार्य जारी रहने गथ्र्यो । यसप्रकार लामो सहकार्य, परिमार्जन र सुधारको प्रक्रिया पूरा गरेपछि मात्र गीत बाहिर आउँथ्यो । सबैको सहकार्यबाट परिस्कृत गीत श्रोताबीच आउने भएकाले ती गीत आफ्नो समयमा लोकपि्रय मात्र भएनन्, यत्तिका वर्षपछि अग्रजले सिर्जना गरेका तिनै गीत आज पनि नेपाली श्रोतामाझ कालजयी भएका छन् ।

मैले थाहा पाउँदापाउँदै संगीत क्षेत्रमा ठूलो परिवर्तन आयो । संगीत विद्यालय खुलेका छन् । अब स्वरांकनका लागि विदेश जानुपर्दैन । देशभित्रै सबै प्रकारका सुविधा उपलब्ध छन् । मुख्य कुरो प्रविधिले संगीत क्षेत्रलाई धेरै सजिलो बनाइदिएको छ । पहिले गाउँदागाउँदै कतै बिगि्रयो भने पूरै गीत फेरि सुरुदेखि गाएर सुधार्नुपथ्र्यो । अब प्रविधिका कारण जहाँ बिगि्रयो, त्यही स्वर राख्न सकिने सुविधा उपलब्ध छ । वाद्यवाधक पनि प्रशस्त मात्रामा उपलब्ध छन् । स्वदेशी विदेशी वाद्ययन्त्रको प्रयोग गर्न सकिन्छ । तर पनि गीतको सार खस्किएको गुनासो गरिन्छ । यसको मुख्य कारण प्रविधि नै हो । प्रविधिले हामीलाई अल्छी बनाइदिएको छ । बिगि्रएको ठाउँमा सुधार्न सकिने भएपछि संगीतकर्मी लामो साधना र अभ्यास गर्नुपर्ने आवश्यकता देख्दैनन् । अहिले त गीतकारले फोनमा गीत टिपाइदिन्छन् । संगीतकारले संगीत भरेर सिडी गायकलाई दिन्छन् । त्यही सिडीका भरमा गायक/गायिकाले स्टुडियोमा गएर स्वरांकन गर्छन् । पृथक रुपमा एक्लाएक्लै आफ्नो काम गरिरहेका हुन्छन् । यिनीहरुबीच सहकार्य हुँदैन । सुधार र परिमार्जनको आवश्यकता ठानिँदैन । अब त वाद्यवाधक स्वरांकनका बेलामा मात्र सम्मिलित हुन्छन् । स्टेजमा गाउन वाद्यवाधक चाहिँदैन, तिनको स्थान ट्रयाकले लिइसकेको छ ।

प्रविधिकै कारण संगीत र गायनले एउटा व्यवसायको रुप प्राप्त गरेको छ । संगीत र गायनलाई व्यवसाय बनाएर बाँच्न सक्ने अवस्था सिर्जना भएको छ । गीतको पनि बजार बनेकाले क्रयबिक्रय सम्भव भएको छ । परिणामस्वरुप मागअनुसारका गीत बनाएर बजारमा बेच्नुपर्ने भएको छ । सांगीतिक दृष्टिले उत्कृष्ट नभए पनि बजारमा चल्ने गीतको सिर्जना गर्नु बढी फाइदाजनक हुने भएको छ । तर स्तरीय गीतले बजार बनाउने कि बजारले गीतको स्तर निर्धारण गर्ने ? त्यो आजको ज्वलन्त प्रश्न हो । सजिलो त समर्पित भएर संगीतको साधना, अभ्यास र तपस्यामा सम्पूर्ण जीवन उत्सर्ग गर्नुभन्दा बजार मागलाई विचारेर चल्ने खाले गीत बनाएर आर्थिक लाभार्जन गर्नु सजिलो हुन्छ ।

त्यसैले क्षणिक मनोरन्जन प्रदान गर्नु नै हिजोआज गीतको अभीष्ट हुन पुगेको छ । तर यो प्रवृत्तिले नेपाली गीतसंगीतलाई कता, कुन दिशातर्फ लगिरहेको छ, त्यसको समीक्षा हुन सकिरहेको छैन । आवश्यकता पनि ठानिएको छैन । फेरि घुमाइफिराई त्यही कुरो आउँछ, संगीतलाई धैर्य, लगनशीलता, साधना र समर्पण चाहिन्छ । हिजोआज त्यही कुराको अभाव छ । सबैलाई हतारो छ, छिटोभन्दा छिटो नाम, दाम र सम्मान आर्जन गर्न । हतारमा गरिएको कामको मूल्यांकन पनि हतारमै गरिन्छ । त्यसैले कालजयी गीतको धारणा नै हिजोआज अप्रासंगिक र पुरातन हुन पुगेको छ । भनिन्छ, गीत मानव जातिको सबैभन्दा प्राचीन साहित्यिक विधा हो । गीतिशैलीमा विभिन्न कालखण्डमा लेखिएका काव्यिक ग्रन्थलाई आज पनि अमर कृतिका रुपमा मूल्यांकन गरिन्छ । तर मनोरन्जनको मागअनुसार बजारमा आएका अधिकांश गीतले साहित्यिकता, शिष्टता र शालीनताको समुचित वास्ता गर्न छाडेको देखिन्छ । नग्नतालाई आधुनिकताको पर्यायवाची सम्झनु कतिसम्म उचित हुन्छ ? गीतको सार्थकता र उद्देश्य मनोरन्जन र मनोरन्जन मात्र हो कि अरु पनि केही हो ? यसबारे पनि समयमै सोच्नुपर्ने हो ।

प्रकाशित: वैशाख ५, २०७६