गाउँमा सांसद

- सुरेश किरण

माननीय सांसदहरू हिजोआज सहरतिर त्यति देखिँदैनन् । किनभने उनीहरु यतिखेर गाउँ घुम्न गएका छन्- त्यो पनि आफ्नै गाउँ । सांसद भएपछि कहिलेकाहीँ आफ्नो गाउँ पनि जानुपर्छ । सांसदहरु आफ्नो गाउँठाउँ घुम्न थाले भने यसले आन्तरिक पर्यटन विकासलाई पनि सघाउ पुग्न जान्छ । उसै पनि सरकारले आगामी वर्ष २० लाख पर्यटक भित्र्याउने योजना बनाएको छ । सांसदहरु गाउँ घुमेपछि सरकारको योजनालाई पनि सघाउ नै पुग्ला ।

गाउँ गएपछि आफ्नो घर पनि हेर्न पाइने भयो । आफ्नो पुरानो घर कुन अवस्थामा छ, त्यो पनि बुझ्न पाइयो । नातागोता पनि भेट्न पाइयो ।

गाउँ जब आई नै सकेपछि संसद्को अलिअलि काम पनि गर्दा राम्रै होला । त्यसैले माननीय सांसदहरु अहिले गाउँमा के-के काम गर्नुपर्ला भनेर गाउँलेसँग बुझ्ने कार्य गरिरहेका छन् । गाउँमा के योजना ल्याउँदा ठीक होला, त्यो गाउँलेबाटै जानौँ न भनेर उनीहरु लागिरहेका छन् ।

त्यसो त चुनावताका गाउँमा यो-यो गर्छु भनेर माननीय आफैँले भन्ने गरेका थिए । त्यतिबेला माननीयज्यूले गाउँमा जे-जे गरिदिन्छु भनेका थिए, त्यो सुनेर गाउँले नै चकित भएका थिए । अहिले चुनाव जितिसकेपछि उही माननीय गाउँमा के-के विकास गर्नुपर्ला भनेर गाउँलेसँग सोधिरहेका छन् । चुनावका बेला जे-जे गर्छु भनेको हो, ती सबै बिर्से कि क्या हो सांसदहरुले ? नबिर्सेको भए चुनावमा यो गर्छु, त्यो गर्छु भनेकै हुन् । त्यहीँ-त्यहीँ मात्र गरिदिए त पुगिहाल्यो नि । के गरौँ भनेर सोधिराख्नुपर्छ र ?

 

 

 

प्रकाशित: वैशाख ५, २०७६

ट्याग: परिहास