बदलिँदो बिहार

- पर्वत पोर्तेल

केही वर्षपहिले बिहारलाई होच्याएर बनाइएका धेरै किस्सा थिए । फोहोर सहरदेखि फोहोरी राजनीतिसम्म । तर 'सदावहार नेता' मानिने लालुप्रसाद यादवको सत्ता बहिर्गमनपछि बिहारको मुहार फेरिएको रहेछ ।

बिहारमा कुनै समय एउटा आहान चर्चित थियो, 'जब तक रहेगा समोसा मे आलु, तब तक रहेगा बिहारमे लालु ।' अर्थात्, बिहारमा लालुको एकछत्र राज थियो कुनै समय । तर सन् २००५ देखि जब मुख्यमन्त्रीको रुपमा नितिश कुमारको उदय भयो, तब 'लालु राज' को प्रभाव कम हुँदै गयो । सन् ९० को दशकदेखि नै नितिश लालुको मुख्य प्रतिस्पर्धीका रुपमा उभिएका थिए । केन्द्रीय कृषिमन्त्री हुँदै रेलमन्त्री बनेका नितिश पछि मुख्यमन्त्री नै बने ।

लालुले गर्न नसकेका र नचाहेका धेरै काम गरेपछि नितिशलाई लगातार चौथो पटक मुख्यमन्त्री बन्ने अवसर जुट्यो । उनले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, बिजुली, पुल-पुलेसा मात्रै बनाएनन्, औसत बिहारीको प्रतिव्यक्ति आयमा दोब्बर वृद्धि गरे । कुल गार्हस्थ उत्पादन पनि बढाए । आपराधिक गतिविधिको 'अखडा' मानिने बिहारलाई शान्त पारे ।

"नितिश कुमारको आगमनपछि नै हो बिहारमा विकासको वहार आएको हो," इन्डो-नेपाल जर्नालिस्ट एसोसिएसनका अध्यक्ष पंकज रञ्जितले सुनाए, "लालु यादवको जमानामा यस्तो थिएन ।" बिहारले साँच्चै काँचुली फेरेछ ।

निस्तेज 'सराबबन्दी'

राजनीतिक भविष्यलाई दाउमा राखेर नितिशले बिहारलाई 'सराबबन्दी' राज्य घोषणा गरेका थिए, अढाई वर्षर्पहिले । तर उनले रक्सीमाथि लगाएको यो प्रतिबन्ध देखावटी मात्रै रहेछ । सराबबन्दीको ज्यादा असर सर्वसाधारणमा छ । नितिशको घोषणाले ठूलाठालूको 'रौँ' सम्म हल्लाएको छैन । कटिहारका राकेश कुमार भन्दै थिए, "सराबबन्दी हम जैसे गरिब लोगो के लिए हे, धनी के लिए नहीँ ।"

सराबबन्दीले बिहारमा रक्सीको तस्करी वृद्धि गरेछ । ५ सय मूल्यको रक्सी तेब्बर मूल्यमा बिक्री हुँदो रहेछ । प्रहरी प्रशासनसँगको सेटिङमा छिमेकी राज्य बंगालको रक्सी बिहारसम्म पुग्दो रहेछ । 

नेपालबाट पनि रक्सी भित्रिन्छ ? पूणिर्याका एक रिक्सा चालकको जवाफ यस्तो आयो, "नेपालमा सराब धेरै सस्तो छ, तर यता ल्याउन गाह्रो छ । नेपालबाट भन्दा बंगालबाट सजिलो छ ।" ती रिक्सा चालकले सीमा जोडिएका कतिपय स्थानमा सर्वसाधारण सराब पिउन विराटनगरसम्म पुग्ने गरेको खुलासा गरे, "टन्न धोकेर आउँछन् तर ल्याउँदैनन् ।"

काठमाडौँमा सात फन्को

फागुन मसान्तको दिन काठमाडौँ उडेको थिएँ, श्री एयरलाइन्सबाट । मौसम पनि सफै थियो । घच्याकघुचुक नगरी मज्जाले उडाउँदै थियो । तर, काठमाडौँ पुग्नु करिब १५ मिनेटयता अचानक जहाज आकाशमा होल्ड भएजस्तो लाग्यो । तर गति धिमा भएको रहेछ । झ्यालबाट नियालेँ, उत्तरतिरबाट यती एयरलाइन्सको जहाज पूर्वतिर उड्दै थियो ।

एयर होस्टेज बैनीहरु पनि पानी र बदाम बाँडिसकेर गायब थिए । मनमा चिसो पस्यो । बिस्तारै अघि बढ्दै गरेको जहाज पूर्वतिरै फर्कियो । यात्रु एकापासमा हेराहेर गर्न थाले । सबैको अनुहार अँध्यारो देखिन्थ्यो । यत्तिकैमा अघिल्लो सिटका एक यात्रु बोले, "जहाज त फर्कायो, सायद ल्यान्ड गर्न पाएन ।"

तीन पटक भीरपहरा वरिपरि घुमाएपछि मेरो सातो गयो । तीन फन्को लगाएपछि बल्ल जहाज अघि बढ्यो । एयर होस्टेजहरु निस्किए । भित्रबाट कोही बोल्यो, "काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज ल्यान्ड हुन लागेको छ, कृपया पेटी कस्नुहोला ।" यति सुनेपछि मन बलियो पारेँ । तर विमानस्थलतिर जहाज गएन । विमानस्थललाई दाहिने पार्दै घुम्न थाल्यो ।

काठमाडौँ सहरको आकाशमा करिब चार फन्को मारियो । यत्तिकैमा पछिल्लो सिटका एक यात्रु बोले, "जहाजको चक्का खुलेन क्यारे, ल्यान्ड गर्नै सकेको छैन ।" यो सुनेपछि मेरो हंशले ठाउँ छाड्यो । आज अन्तिम दिन नै रहेछ भन्ने लाग्यो । मनमा अनेक तर्कना आइरहेका थिए । अचानक जहाज रनवेतिर लाग्यो । यतिबेला चक्का खुल्ला कि नखुल्ला भन्ने खुल्दुली भयो । तर चक्का खुल्यो । जहाज सहजै ल्यान्ड भयो । मलाई जीवनदान पाएझैँ भयो । अरु यात्रुका अनुहार पनि उज्यालिए । भन्दै थिए, धन्य बाँचियो ! यस्तो भयानक एयर ट्राफिकिङ अनुभव मेरो पहिलो थियो ।

प्रकाशित: वैशाख ५, २०७६

ट्याग: नोटबुक