मरण सँगसँगै

- गोकर्ण गौतम

चितवनबाट मुटु चिरिने खबर आयो, २२ चैत ०७५ मा । भरतपुर-१८, शशीनगरस्थित सहरी क्लिनिक टोलका एकै परिवारका तीन जनाले एकैसाथ आत्महत्या गरे । आमा माया आलेमगर, ३५, छोरी विनिता, १४ र छोरा विवेक, १२, ले सलमा झुन्डिएर मृत्युको बाटो रोजेका हुन् ।

छोरा विवेकले सुसाइड नोटमा लेखेका छन्, 'बुबा, तपाईं हामीलाई नसोधी किन जानुभयो ? ममीले साह्रै दुःख मान्नुभएको छ । म पनि हजुरले दुःख दिनुभएकैले परीक्षामा फेल भएको हुँ ।'

यसबाट पारिवारिक कलह मुख्य कारण देखिन्छ । उनका बाबु नेपाली सेनाका प्युठ पदमा कार्यरत छन् । घटना अगाडि दुई दिन घर बसेर काठमाडौँ फर्किएका थिए । आमा र छोराछोरीबीच असाध्यै मिल्ती रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

वीरगन्जमा घरबाट भागेका तीन किशोर-किशोरीले सामूहिक विष सेवन गरे, फागुन पहिलो साता, ०७५ मा । जिराभवानी गाउँपालिका-४ सढी टोलकी संगीता कुमारी, १८, को मृत्यु भयो । मञ्जिता कुमारी र सञ्जय दास उपचारपछि निको भए । मञ्जिताको राज चौधरीसँग र संगीताको सञ्जयसँग प्रेम थियो । सञ्जय र राजचाहिँ साथीसाथी । बिहे गरेर भाग्ने प्रयास गर्दा गाउँलेले घेरे । उम्कने बाटो नदेखेपछि विष पिएका थिए ।

वैशाख ०७५ मा बझाङ सुर्मा गाउँमा भएको घटना अझ डरलाग्दो र रहस्यमयी छ । लिपपोत गर्न माटो लिन जंगल गएका तीन किशोरी साँझ पर्दा पनि फर्केनन् । आफन्त खोज्दै जंगल पुग्दा तीनै किशोरीले एउटै रूखमा नाम्लो पासो लगाएको अवस्थामा भेटियो । त्यसरी पासो लाग्नेमा जुनतारा पुजारा, १४, रेखा पुजारा, १४ र कविता बोहरा, १५ थिए । कलिलो उमेरमा उनीहरूले किन एकसाथ आफैँलाई सक्काए, कारणचाहिँ खुलेन ।

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा ४ हजार ७ सय ५ ले आत्महत्या गरेका थिए । आव ०७४/७५ मा यो संख्या ५ हजार तीन सय ४६ पुगेको छ । पछिल्लो २५ वर्षको तथ्यांक केलाउँदा परिणाम अझ भयंकर निस्कन्छ । सन् ०९० दशकको तुलनामा अहिले आत्महत्याको दर ६० प्रतिशत वृद्धि भएको छ ।

पत्याउन मुस्किल पर्छ, नेपालमा सडक दुर्घटनाभन्दा आत्महत्याबाट धेरैको ज्यान जान्छ । आत्महत्या हुने संसारको सातौँ देश नेपाल हो । पहिले एकल आत्महत्या ज्यादा हुन्थ्यो । अहिले सामूहिक आत्महत्यासमेत बारम्बार हुन थालेका छन् । माथिका प्रतिनिधि उदाहरण हुन् । नेपाल प्रहरीका पूर्वअनुसन्धान अधिकृत दीपेन्द्र अधिकारी भन्छन्, "केही वर्ष अगाडिसम्म सामूहिक आत्महत्या बिरलै हुन्थ्यो । अहिले त एकै वर्षमा दुई-तीन घटना सार्वजनिक हुन थालेका छन् । तिनका प्रकृति त्यत्तिकै संवेदनशील छन् ।"

दुई वा सोभन्दा धेरै व्यक्ति एकैसाथ मृत्युको निर्णयमा पुग्नुले हामीकहाँ जीवनप्रति निराशाको गहिराइ आकलन गर्न सकिन्छ । मनोविश्लेषक वासु आचार्यका अनुसार यस्ता घटना प्रायः नजिकका आफन्त र मित्रबीच हुने गर्छ, जसले मृत्यु नै विजय र दुःखबाट छुटकारा ठान्छन् । हरेक व्यक्तिमा बाँच्ने रहर हुन्छ । नबाँच्ने वा मर्ने कारण पनि हुन्छन् । जब बाँच्नुभन्दा मर्न मन लाग्ने पक्ष ज्यादा हुन्छ, व्यक्तिले आत्महत्याको निक्र्योल गर्छ । आचार्य भन्छन्, "सामूहिक आत्महत्या गर्दा मर्ने सामूहिक अर्थ निकाल्छन् । त्यसका लागि पहिले एक जनाले अरूलाई सँगै मर्न प्रेरित गरिरहेको हुन्छ ।" सामूहिक आत्महत्याले मानसिक विचलनको चरम स्वरूप देखाउने उनको भनाइ छ ।

चितवनको घटनालाई नै लिऔँ, पतिसँग विग्रह भएपछि मायाले मर्ने निधो गरिन् । उनी बच्चाहरूलाई असाध्यै माया गर्थिन् । आफू मरेपछि सन्तानको भविष्य थप अन्धकार देखिन् । त्यसैले आफूसँग मर्नका लागि उनीहरूलाई मनाइन् । आमालाई माया गर्ने भएकाले बच्चाहरूले पनि नाइँनास्ती गरेनन् । आचार्य प्रश्न गर्छन्, "अन्यथा १२-१४ वर्षका नानीहरू सलमा झुन्डिन तयार हुन्थे ?" पारिवारिक सामूहिक आत्महत्याका अन्य घटनामा पनि अभिभावकले सन्तानलाई सँगै मर्न प्रेरित गरेको देखिन्छ ।

समाजशास्त्री विमलेश ठाकुरका अनुसार जब घरभित्रै द्वन्द्व हुन्छ, समाजबाट तिरस्कृत हुनुपर्छ । विकल्प खोजिन्न/देखिन्न र थप अवहेलनाको सिकार हुनुपर्ने भय बढ्छ । थप एकसाथ मृत्युवरणका लागि तयार हुन्छन् । ठाकुर भन्छन्, "आत्महत्या सामाजिक कारण नै हो । क्षणिक आवेग निर्माण हुनु पनि अनेक कारक हुन्छन् । समाजमा चर्कंदो असहिष्णुता र घट्दो प्रेम उत्तिकै घातक हुँदैछ ।"

विज्ञहरू नेपालमा सानो विषयलाई लिएर एक्कासि अपि्रय निर्णय लिने आत्महत्या मौलाउनु अझ घातक मान्छन् । व्यक्तिको पृष्ठभूमि, सामाजिकीकरण, संगत, हुर्काइ पद्धतिले यसमा भूमिका खेलिरहेको हुन्छ । आत्मविश्वासको कमी र आक्रोशको मात्रा ज्यादा हुँदा आफैँलाई मार्न तयार हुने घटना धेरै भएका छन् । जस्तो, गत जेठमा महोत्तरी बलवा नगरपालिका-१, बन्चौरीमा मितिनी खुशीकुमारी चौधरी, १६ र चाँदनीकुमारी झा, १५, ले सँगै आत्महत्या गरे । उनीहरू छिमेकीको घरमा पूजा हेर्न गएका थिए । र्फकंदा ढिला भयो, आमाले गाली गरिन् । लगत्तै बजार गएर गहुँमा छर्किने 'सेल्फास' नामक विषादी किने र त्यही सेवन गरे । यस्ता घटनाले परिवार, स्कुल र समाजले बच्चालाई प्रदान गर्ने संस्कारमाथि कठोर सवाल खडा गर्दैन र ?

सामूहिक आत्महत्याको अर्को अहं कारण हो, प्रेम सम्बन्धमा बाधा उत्पन्न हुनु । बर्दिया धधवारका शत्रुधन थारु र सोही स्थानकी शर्मिला चौधरीबीच प्रेम थियो । परिवार अवरोध बनिदियो । घरभित्र उनीहरू थिए, बाहिर आफन्तबीच छलफल थियो । तर टुंगोमा नपुग्दै उनीहरूले भित्रै एकसाथ आत्महत्या गरे । गत वर्षको साउनमा पर्वतमा बागलुङको हरिचौरका मुना राना, २५ र धरान उपमहानगरपालिका-११ अकिन गुरुङ, २६, ले झोलुंगे पुलबाट हाम फालेर आत्महत्या गरे । उनीहरू टे्रकिङका लागि घरबाट निस्केका थिए । "एकअर्कालाई निकै माया गर्छन् । छुट्टनिुपर्ने अवस्था आयो भने बाँच्नुको अर्थ देख्दैनन् । मरणलाई नै विजय ठान्छन्," त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख प्राध्यापक सरोजप्रसाद ओझा भन्छन्, "यो अपरिपक्वता र जीवन बुझाइमा रहेको समस्याको परिणाम हो ।"

आत्महत्या गर्नेलाई कायर मानिन्छ तर त्यो अवस्थामा व्यक्ति कसरी पुग्छ, ख्यालै गरिन्न । अरू त अरू, आत्महत्याको सोच आउनु आफैँमा मानसिक समस्या हो । बेलैमा परामर्श पाए बाँच्न सकिन्छ भन्ने आधारभूत ज्ञानसमेत छैन । नेपालमा ८ लाख डिप्रेसनबाट पीडित छन् । डिप्रेसनको चरम रूप हो, आत्महत्या । डिप्रेसनचाहिँ पारिवारिक प्रेम, औषधी सेवन, परामर्श र सामाजिक दायित्वबाट निराकरण गर्न सकिन्छ भन्ने बोध छैन । मनोविश्लेषक आचार्य भन्छन्, "बच्चालाई स्कुलमा चन्द्रमामा पुग्नुपर्छ भनेर एकोहोरो रटाइन्छ, प्रयास गर्दा चन्द्रमा नपुगे धर्ती पनि उपलब्धि नै हो भनेर सिकाइन्न । भोलि भनेजस्तो नहुनेबित्तिकै मानसिक विचलन सुरु हुन्छ ।"

विडम्बना ! हाम्रो सामाजिक र पारिवारिक संरचनामै आत्महत्याका 'भाइरस' लुकेका छन् । न व्यक्तिको विकास र सामाजिकीकरण प्रक्रिया जीवनप्रति स्नेह जागृत गराउने खालको छ, न त सरकारी तवरबाट आत्महत्या रोकथामका लागि प्रभावी कार्यक्रम छन् । त्यसैले आत्महत्याको अवस्था अझ बढ्दै जाने विज्ञहरू चेतावनी दिन्छन् । समाजशास्त्री ठाकुर भन्छन्, "आत्महत्याका समाचार आउँछन् तर किन भयो, कारण र निराकरणबारे कहिल्यै छलफल हुन्न ।" शारीरिक स्वास्थ्यमै त ध्यान दिन नसकेको सरकार मानसिक स्वास्थ्यमा कति संवेदनशील होला, विज्ञहरूको चिन्ता छ ।

मानसिक रोग विशेषज्ञ डाक्टर ओझा दमकलझैँ आत्महत्याको पनि हटलाइन सेवा व्यवस्था गर्न सुझाव दिन्छन् । उनका अनुसार आगो लाग्दा निभाउन दमकल बोलाइन्छ, त्यस्तै कदाचित आत्महत्याको विचार मनमा आयो, जीवनप्रति वितृष्णा छायो भने हटलाइन फोनमा सम्पर्क गरिहाल्ने । त्यहाँबाट उचित परामर्श मिलोस् । "आत्महत्या गर्न मन लाग्नु क्षणिक समस्या हो । सान्त्वना, प्रेम र आत्मीयताले आत्महत्याबाट मुक्ति मिल्छ," ओझा भन्छन्, "झन् सामूहिक आत्महत्याको प्रयास हुँदा त एक जनाले मात्र खबर दियो भने पनि सबैलाई बचाउन सकिन्छ । तर सरोकारवाला निकायमा स्रोत-साधनभन्दा पहिले इच्छाशक्ति चाहियो ।"

प्रकाशित: वैशाख ४, २०७६

ट्याग: समाज