विभेद तोड्दै उज्यालोतिर

- पवन आचार्य

नेपाली खेलकुदको नियामक निकाय हो- राष्ट्रिय खेलकुद परिषद् । उसले हरेक वर्ष महिला र पुरुष क्रिकेटका दुई प्रतियोगिता आयोजना गर्छ । दुवै प्रतियोगिताको नाम प्रधानमन्त्री कप । पुरुषतर्फका विजेताको पुरस्कार राशि २१ लाख छ भने महिलातर्फका विजेताले मात्र ५ लाख रुपैयाँ पाउँछन् ।

साँच्चै भन्ने हो भने महिलाका लागि क्रिकेट प्रतियोगितै छैनन् भने पनि हुन्छ । केही वर्ष पहिलेसम्म कैलालीको अत्तरियामा युनाइटेड स्पोर्ट्स क्लबले ट्वान्टी-ट्वान्टी प्रतियोगिता गथ्र्यो, त्यो पनि नियमित छैन ।

फुटबलको पनि अवस्था उस्तै छ । सहिद स्मारक ए डिभिजन लिगको यो वर्ष विजेता बन्दै मनाङ मस्र्याङ्दी क्लबले ५० लाख रुपैयाँ हात पार्‍यो । त्यस्तै, अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको उपराष्ट्रपति राष्ट्रिय महिला लिगको विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबले २ लाख रुपैयाँ मात्र हात पार्‍यो । ७ देखि १५ साउन ०७५ सम्म चलेको प्रतियोगितापछि महिला फुटबलको कुनै पनि घरेलु प्रतियोगिता आयोजना भएका छैनन् । जबकि पुरुष फुटबलमा दर्जनभन्दा बढी प्रतियोगिता मोफसल र केन्द्रमा आयोजना भइसकेका छन् ।

फुटबलमा महिला खेलाडीमाथि विभेद शृंखला यत्तिमै सकिँदैन । राष्ट्रिय टोलीमा अटाउने पुरुष खेलाडीले मासिक १५ हजार रुपैयाँ पाउँछन् । जबकि महिलाका लागि ७ हजार मात्र दिन्छ, अखिल नेपाल फुटबल संघ एन्फाले । महिला खेलाडी मात्रै होइन, फुटबलमा महिला रेफ्री पनि उत्तिकै विभेदको सिकार छन् । पुरुष लिग खेलाउने रेफ्रीले १० हजार पाउँछन् भने महिला रेफ्रीले ६ हजार रुपैयाँ मात्र ।

खेलाडी संघले प्रदान गर्ने पुरस्कारमा समेत महिला खेलाडीमाथि विभेद हुने गरेको छ । क्रिकेट खेलाडी संघ सिप्यानबाट आयोजित वर्षको सर्वोत्कृष्ट खेलाडी पुरस्कारमा पुरुषतर्फ लेग स्पिनर सन्दीप लामिछाने र महिलातर्फ सीता रानामगरले बाजी मारे । सन्दीपले १ लाख ३२ हजार रुपैयाँ हात पार्दा सीताले जम्मा ६६ हजार रुपैयाँ प्राप्त गरिन् । एउटै विधाको पुरस्कारमा पनि महिला खेलाडीले पुरुषको दाँजोमा आधाभन्दा कम नगद पुरस्कार पाए ।

फुटबल खेलाडी सावित्रा भण्डारी  | उसु खेलाडी निमा घर्तीमगर


इज्जत धान्ने महिला खेलाडी

नेपालको अन्तर्राष्ट्रिय सहभागिता निकै लामो समयदेखि भए पनि पदक जित्ने शृंखला भने १९७३ बाट सुरु भयो । जीतबहादुर केसी एक मात्र त्यस्ता पात्र हुन्, जसले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाए । सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एसियन च्याम्पियनसिपमा नेपाललाई म्याराथनतर्फ कास्य पदक दिलाएका थिए । ०७० को दशकमा जीतबहादुर केसीले एथलेटिक्सको एसियन च्याम्पियनसिपमा पदक जिते । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक जित्ने क्रमको सुरुआत त्यहीँबाट भयो । तर पछिल्लो चार दशकको पदक संख्या र क्रमलाई केलाउने हो भने नेपाली खेलाडीमा पुरुषको तुलनामा महिला नै अब्बल र उम्दा देखिएका छन् । संख्यात्मक रूपमा पुरुषले पाएको पदक बढी भए पनि एसियाली स्तरमा समावेश महिला स्पर्धा र पछिल्लो दशकको प्रदर्शन हेर्दा पुरुषभन्दा महिला उत्कृष्ट ठहरिए । यो उत्कृष्टता ट्रयाक एन्ड फिल्ड, कोर्ट र रिङ सबैतिर छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालले आंशिक प्रभाव देखाएका र एसियाली स्तरमा पनि हैसियत भएका खेल तेक्वान्दो, कराते, जुडो, बक्सिङ र उसुमा महिला पुरुषभन्दा धेरै अब्बल देखिए । सुटिङ, फुटबल, टेबुलटेनिस र भलिबलमा त नेपाली पुरुषलाई महिलाले धेरै पछाडि छाडिसके ।

सन् १९९६ मा सिड्नीमा सम्पन्न एसियन तेक्वान्दो च्याम्पियनसिप नेपाली खेलकुदका लागि सबैभन्दा गर्व गर्न लायक खेल महोत्सव रह्यो, जहाँ संगीना वैद्यले स्वर्ण जितेकी थिइन् । एसियाली स्तरमा स्वर्ण पदक जित्ने एक्लो नेपाली खेलाडीका रूपमा संगीनाले राखेको कीर्तिमान अद्यापि कायम छ । र, सम्भवतः अझै लामो समय रहनेछ । संगीनाको सोही सफलताले उनलाई नेपालको सर्वकालीन उत्कृष्ट खेलाडीका रूपमा स्थापित गराएको छ ।

सन् २००४ को २८ औँ एथेन्स ओलम्पिक्समा भने नेपालले नयाँ इतिहास रच्यो । उक्त ओलम्पिकमा पहिलो पटक नेपाली खेलाडीले छनोट चरण पार गरेर सहभागी भए । उनी थिइन्, तेक्वान्दोकी उनै संगीना । बैंककमा सम्पन्न एसियाली छनोट चरणमा कास्य पदक जितेर उनले ओलम्पिकको ढोका खोलेकी थिइन् । छनोट चरण पार गरेर ओलम्पिक पुग्ने उनी पहिलो र एक मात्र महिला खेलाडी हुन् ।

काठमाडौँमा सन् २००२ मा भएको पहिलो दक्षिण एसियाली उसु च्याम्पियनसिपमा नेपालले २७ मध्ये २२ स्वर्ण जितेको थियो । त्यसपछि ओरालो लागेको नेपाली उसुको स्वणिर्म दिनमा नेपाललाई अधिकतम सफलता दिलाउने खेलाडी बिना खड्का थिइन् । एसियन च्याम्पियनसिप पदक विजेता बिना पछिल्लो समय अमेरिकामा छिन् । २००६ को कोलम्बो सागमा उनले स्वर्ण जितेकी थिइन् । यी दुई पदकपछि उनले आफूलाई निर्विवाद नेपाली उसुकी हालसम्मकै उत्कृष्ट खेलाडीका रूपमा दर्ज गरिन् ।

त्यसको लामो समयपछि विश्व जुनियर उसु च्याम्पियनसिपमा चाहना बम्जनले पदक जितिन् । बम्जनले मकाउमा सम्पन्न चौथो विश्व जुनियर उसु च्याम्पियनसिपमा पाएको कास्य पदक नेपाली खेलकुदले उसुमा हात पारेको पछिल्लो समयको उल्लेख्य सफलता हो । अमेरिकी खेलाडीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेकी चाहना इजिप्टकी खेलाडीसँग पराजित भइन् । सोही कास्यका कारण उनी वर्ष ०६९ मा वर्ष खेलाडी बन्न सफल भइन् । उसुमै झरना गुरुङले भियतनामको होचिमिन्हमा सम्पन्न एसियन च्याम्पियनसिपको ५६ केजीमा कास्य जितिन् । बाइ पाएर सेमिफाइनल प्रवेश गरेकी झरनाले खेल जीवनमा एसियाली स्तरको पदक जितेको यो दोस्रो पटक थियो ।

यसअघि तेक्वान्दो स्टार सीता राईले विश्व महिला च्याम्पियनसिपमा प्राप्त गरेको पदक सम्भवतः नेपाली खेलाडीका लागि सबैभन्दा उत्कृष्ट सफलता थियो । संगीना नेपाली खेलकुदकी उत्कृष्ट खेलाडी भए पनि अन्य तेक्वान्दो खेलाडीले आफूलाई उपल्लो दर्जाको खेलाडीका रूपमा पुष्टि नगरेका होइनन् । सन् १९८८ मा महिला विश्व च्याम्पियनसिपमा कास्य पदक जित्ने सीताकुमारी राई र सन् १९९८ को बैंकक एसियाडमा रजत जित्ने सविता राजभण्डारी निःसन्देह नेपाली तेक्वान्दोका शीर्ष कोटिका स्टार हुन् । यिनको समकक्षमा पुग्ने एक्ला पुरुष तेक्वान्दो खेलाडी विधान लामाले सोल ओलम्पिकमा पदक जितेका थिए ।

एसियाड तेक्वान्दोमा महिला स्पर्धा समावेश भएयता सधैँ महिलाले नै सान राख्दै आएका छन् । बैंककमा नेपालले तेक्वान्दोमा तीन पदक थाप्दा सपना मल्लले कास्य जितेकी थिइन् । त्यसपछिको बुसान एसियाडमा नेपालले तीन पदक जित्दा रितुजिमी राई र राधिका मगरले पदक हात पारेका थिए । २००६ मा पनि नेपालले तीन पदक जित्दा आयशा शाक्य र मनिता शाही विजेता सूचीमा थिए । एसियाडमा चिनियाँसहित विश्वस्तरीय महिला मुक्केबाजसामु नेपाली खेलाडी निरीह सावित भए पनि चीनमै भएको एसियन महिला बक्सिङ च्याम्पियनसिपमा सञ्जु लामा र अनुराधा लामाले पदक जित्दै नेपालको खेल-उचाइ बढाएका थिए ।

करातेमा पनि नेपालकी सीता राईले १९९४ मा भएको एसियाडमा कास्य पदक हात पारेकी थिइन् । पहिलो सहभागितामा नै नेपालले करातेमा पदक जित्ने थलो जापानको हिरोसिमा बनेको थियो । त्यसको झन्डै २ दशकपछि दक्षिण कोरियाको इन्छनमा सम्पन्न १७ औँ संस्करणको एसियाली खेलकुदमा विमला तामाङले करातेमा कास्य जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएकी थिइन् । त्यसबीच पुरुषतर्फ भने १९९८ मा सम्मरबहादुर गोलेले कास्य पदक जिते ।

पावर गेममा महिलाको उत्कृष्टतालाई अन्य खेलका महिलाले पनि नपछ्याएका होइनन् । नेपालमै महँगो ठहरिएको सुटिङ खेलका तर्फबाट अनिता श्रेष्ठ सागमा स्वर्ण पदक जित्ने एक मात्र नेपाली महिलाका रूपमा रहेकी छन् । टेबुलटेनिसमा सिजरिन शाह र गीता क्षत्री सम्मिलित महिला टोलीले जितेको साग स्वर्ण पदक नै यो खेलमा नेपालले निकालेको अहिलेसम्मको उत्कृष्ट नतिजा हो । पछिल्लो सागमा दुई कास्य पदक विजेता मुना वासुकला टेबुलटेनिसमा एकल पदक जित्ने पहिलो खेलाडी बनिन् ।

नेपालको हैसियत पुग्ने दक्षिण एसियाली खेलकुदमा महिला म्याराथन समावेश नभएका कारण पुरुष र महिलाको तुलना गर्न कठिन छ । तथापि मध्यम दूरीमा नेपाली एथलेट कान्छीमाया कोजु नै अन्य नेपालीभन्दा उत्कृष्ट देखिएकी छिन् । नवौँ सागमा राजेन्द्र भण्डारीले मध्यम दूरीमा दुई रजत पदक जितेपछि कान्छीमाया कोजुले १० औँ सागमा जितेको रजत पदक नेपाली एथलेटको मध्यम दूरीमा सबैभन्दा उत्कृष्ट प्रदर्शन हो ।

अपवाद भलिबल

नेपाली खेलकुदमा भलिबल मात्र यस्तो खेल हो, जहाँ महिला सहभागिता र प्रदर्शन उम्दा छ । पुरुष भलिबलले दक्षिण एसियाली स्तरमा आफूलाई प्रमाणित गर्न नसकेको अवस्थामा महिला भलिबलले ३ वटा कास्य पदक भित्र्याइसकेको छ ।

महिला टोलीले सन् १९९९, २००६ र २०१६ मा भएको दक्षिण एसियाली खेलकुदमा तेस्रो स्थान हात पारेको हो । काठमाडौँमा आयोजित आठौँ संस्करणको सागबाट नेपाली महिला भलिबलले पदकको खाता खोलेको थियो । त्यसपछि २००६ को श्रीलंका कोलम्बोमा भएको १० औँ संस्करण र २०१६ मा भारतको गुवाहटीमा सम्पन्न १२ औँ दक्षिण एसियाली खेलकुदमा पनि नेपाली महिला भलिबलले कास्य भित्र्यायो ।

दुःखको कुरा, महिला भलिबलले अहिलेसम्म एसियाली खेलकुदमा स्पर्धा गर्न पाएको छैन । पुरुष भलिबलले भने चार पटक स्पर्धा गरिसकेको छ । सन् १९७८ मा थाइल्यान्डबाट सुरु सहभागिता यात्रा सन् १९८२ भारत र १९८६ मा दक्षिण कोरियासम्म जारी रह्यो । त्यसपछि नेपाली पुरुष भलिबलले पनि एसियाडमा स्पर्धा गरेन । ३२ वर्षपछि नेपाली भलिबल एसियाली खेलकुदमा र्फकंदा पुरुष टोलीले मात्रै सन् २०१८ को जकार्ता एसियाडमा सहभागिता जनायो । पुरुष भलिबलतर्फ अन्तर्राष्ट्रिय सहभागितामा नेपालले सन् २०१७ मार्चमा एभीसी सेन्ट्रल जोन भलिबलमा तेस्रो स्थान हासिल गर्‍यो । यो नै पुरुष भलिबलले हात पारेको सम्झनलायक र अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।

महिलातर्फ भने सन् २०१८ को विश्वकप छनोटमा नेपाल इरानसँग पराजित हुँदै दोस्रो स्थानमा सीमित भएको थियो । उक्त खेलमा नेपालले एसियाकै शक्तिशालीमध्ये इरानविरुद्ध तीनै सेटमा १२ अंक जोडेको थियो । तर यो प्रदर्शनले पनि उनीहरूलाई एसियाडमा सहभागिता गराउनबाट रोक्यो- राष्ट्रिय खेलकुद परिषद्ले खर्च अभावमा महिला टोली जकार्ता लैजान नसकिएको बतायो ।

राखेप सदस्यसचिव केशवकुमार विष्ट भन्छन्, "एसियाली स्तरमा प्रदर्शन गर्दा ठूलो अन्तरको हारले खेलाडीमाथि पर्न जाने मानसिक दबाबका कारण पनि हामीले महिला टोली नपठाएका हौँ । बजेट र प्रदर्शनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो ।" तुलनात्मक रूपमा नेपाली पुरुष भलिबल टोलीभन्दा महिला भलिबलले अन्तर्राष्ट्रिय स्तरमा सफलता हात पारेको छ । घरेलु प्रतियोगिता हेर्ने हो भने पनि पुरुषको तुलनामा राष्ट्रिय स्तरमा झन्डै दुई गुणा महिलाको प्रतियोगिता हुन्छ । तर एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने सूचीमा भने नेपाली महिला भलिबल टोली नअट्नु दुःखद हो ।

नेपाली महिला टोलीकी कप्तान विनिता बुढाथोकी भन्छिन्, "हामीले दक्षिण एसियाली खेलकुदमा भारतबाहेकका टोलीलाई पराजित गर्न सक्छौँ । एसियाडमा सहभागी हुन पाएको भए नेपालमा आयोजना हुने १३ औँ सागमा हामीलाई धेरै सहयोग पुग्थ्यो ।  तर महिला भलिबललाई दक्षिण एसियाली स्तरमा मात्रै सीमित पार्दा दुःख लाग्छ ।"

नेपाली महिला भलिबल टोलीले काठमाडौँमा भएको पहिलो दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो । श्रीलंकालाई पराजित गर्दै नेपालले दोस्रो स्थान हात पारेको थियो । यो नै नेपाली महिला भलिबलले दक्षिण एसियाली स्तरमा जितेको पहिलो रजत पदक हो । बिच भलिबलमा पनि नेपाली महिलाको प्रदर्शन उच्च छ । चुडा खड्का र नीता शाहको जोडीले एसियाली स्तरमा पदक जितेको छ भने सन् २०१२ मा मालदिभ्समा सम्पन्न सेन्ट्रल एसियन छनोट प्रतियोगितामा कोपिला अधिकारी र कमला पुनको जोडीले शीर्ष स्थान हात पारेको थियो । सन् २००९ मा बंगलादेशमा भएको दोस्रो एसियाली बिच भलिबलमा चुडा र नीताको जोडी तेस्रो भएको थियो ।

नेपालको राष्ट्रिय खेल घोषणा भएपछि मुलुकमा भलिबलको क्रेज थप फस्टाएको छ । यसको प्रत्यक्ष फाइदा महिला भलिबलले उठाएको छ । २ दर्जनभन्दा बढी घरेलु प्रतियोगिता महिला भलिबलमा हुन थालेको छ । पुरस्कार राशिमा पनि पुरुषको तुलनामा महिलाको बढी छ । भारतीय गैरसरकारी संस्था आधी आवाधी फाउन्डेसनको सहयोग रहने महिला भलिबलको विजेताले ६ लाख रुपैयाँ हात पार्छन् । पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक राशिको पुरस्कार ३ लाख रुपैयाँ बराबरको छ । महिला भलिबलमा छुट्टै छाप छाड्न सफल न्यु डायमन्ड एकेडेमीका प्रशिक्षक कुमार राई भन्छन्, "नेपाली महिला टोलीमा लगानी गर्न सकिए एसियाली स्तरमा पनि पदकको आश गर्न सकिन्छ । तर राष्ट्रिय स्तरबाट हुने लगानी हिस्सामा महिलाको दाँजोमा पुरुषकै बोलवाला छ ।"

पछ्याउँदै जुडो

पावर गेमको रूपमा रहे पनि जुडोमा महिला सहभागिता र प्रदर्शन लोभलाग्दो छ । जुडोको एसियाली तहमा पुरुषले हालसम्म कुनै पदक नपाए पनि जुनियर तहमा तीन नेपाली महिलाले पदक पाए । वीरगन्जकी लीला अधिकारीले भारतमा भएको एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कास्य पदक पाइन् । त्यसपछिको संस्करणमा सुनिता थापामगरले पनि त्यो सफलता दोहोर्‍याइन् । ओलम्पियन फुपुल्हामु खत्रीले पनि जुनिएर च्याम्पियनसिपमा कास्य जितिन् । सन् २०१७ मा हङकङमा सम्पन्न सिनियर एसियन च्याम्पियनसिपमा मनिता प्रधान श्रेष्ठले स्वर्ण जितिन् । एसियाली स्तरको जुडो जित्ने उनी पहिलो महिला खेलाडी हुन् । नेपाली जुडो शिथिल हुँदै गएको पछिल्लो समय महिलाले नै त्यसको साख आंशिक रूपमा भए पनि जोगाएका छन् । ओलम्पिकमा देवु थापा र फुपुल्हामुले नेपाली जुडोको प्रतिनिधित्व गरेका छन् । सन् १९८८ को सिओल ओलम्पिकमा नेपालका गंगाबहादुर डंगोल र ऋषिराम प्रधानले सहभागिता जनाएका थिए । सो स्पर्धामा गंगाले १९ औँ स्थान हात पारेका थिए । एसियाली स्तरमा उनले प्राप्त गरेको पाँचौँ स्थान नेपाली जुडोकै अहिलेसम्मकै ठूलो उपलब्धिको रूपमा हेरिएको छ ।

महिलातर्फ फुपुल्हामु खत्री ओलम्पिक छात्रवृत्ति पाउने एक मात्र खेलाडी हुन् । उनले १२ औँ दक्षिण एसियाली खेलकुदमा जुडोमा स्वर्ण जितेकी थिइन् ।

अल्ट्रातर्फ मीरा

तत्कालीन माओवादी लडाकू मीरा राई नेपाल चिनाउने अल्ट्रा म्याराथन धावक हुन् । नेसनल जिओग्राफीको 'एडभेन्चर अफ द इयर-२०१७' उपाधि जित्दा उनलाई पारम्परिक नेपाली महिलाबाट अपेक्षा गरिनेभन्दा धेरै माथिको उपलब्धि हासिल गरेको जनाइएको थियो । शान्ति प्रक्रियासँगै सुरु सेना समायोजनका क्रममा उनी अयोग्य लडाकू घोषित भइन् । त्यसपछि मात्र खेलकुदतर्फ आकषिर्त उनी कराते हुँदै अल्ट्रा म्याराथनमा आइपुगेकी हुन् । इटालीमा सन् २०१४ मा सम्पन्न अल्ट्रा म्याराथन प्रतियोगितामा मीरा प्रथम भएकी थिइन् । त्यही वर्ष हङकङमा भएको स्काई रनिङ एसियन च्याम्पियनसिप ५० किलोमिटर दौडमा मीरा महिलातर्फ प्रथम भइन् । हङकङमै भएको अर्को प्रतियोगितामा उनले नयाँ कीर्तिमानसहित स्वर्ण पदक हात पारिन् । सन् २०१५ मा फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लंक म्याराथनको उपाधि पनि उनले जितिसकेकी छन् ।

सन् २०१६ को सुरुमा इटलीमा भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि चर्चित बनेकी राई अल्ट्रारनरको विश्व वरीयतामा दोस्रो स्थानमा आइन् । २०१७ मा बेलायतमा सम्पन्न बेन नेभिस अल्ट्रा दौडमा स्वर्णलगायत मीराले दर्जनौँ पदक जितिसकेकी छन् ।

क्रिकेटको ओरालो, फुटबलको उकालो

क्रिकेट र फुटबलको महिला स्पर्धामा पछिल्लो समय प्राप्त सफलता विपरीत धु्रवमा छ । कुनै समय निकै सफल महिला क्रिकेट अहिले अधोगतिमा छ । महिला फुटबलले भने आफ्नो साख उँचो पार्दै लगेको छ । प्राप्त सफलतालाई दिगो बनाइराख्न सम्बन्धित निकायले ध्यान नपुर्‍याउँदा तथा खेलाडी र घरेलु प्रतियोगितामा लगानी नगर्दा खेलको स्तर कति खस्किन्छ भनेर जान्न नेपाली महिला क्रिकेटलाई नजिकबाट नियाल्दा काफी हुन्छ ।

एसियाली स्तरमा १९ वर्षमुनिको प्रतियोगितामा हयाटि्रक गर्ने श्रेय नेपाली महिला टोलीलाई जान्छ । सन् २००८, १० र १२ मा नेपाली महिला टोलीले एसियाली क्रिकेट काउन्सिलले आयोजना गरेको १९ वर्षमुनिको प्रतियोगिता हात पारे । त्यसपछि एसीसीले १९ वर्षमुनिको प्रतियोगिता बन्द गर्‍यो । त्यसअघि सन् २००७ मा सिनियरतर्फ नेपाली महिला टोलीले मलेसियामा भएको एसीसी महिला क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको थियो । पहिलो सहभागितामै उपविजेता बनेको नेपाली टोलीले त्यसपछि कुनै ठूलो उपलब्धि हासिल गर्न सकेन । बंगलादेशसँग पराजित भएर उपविजेतामा सीमित नेपाली टोली त्यसपछि भने कमजोर प्रतिस्पर्धीसँग पनि हार्न थालेको छ ।

यसै वर्ष थाइल्यान्डमा भएको टी-ट्वान्टी स्म्यास क्रिकेटमा नेपाली महिला टोली उपविजेतामा सीमित भयो । फाइनलमा आयोजक थाइल्यान्डसँग ७० रनले पराजित भएपछि नेपालले सिनियरतर्फ पहिलो उपाधि जित्ने अवसर खेर फालेको थियो । तर टी-ट्वान्टी स्म्यास क्रिकेट आईसीसीको आधिकारिक प्रतियोगिता भने थिएन । त्यस्तै, टी-ट्वान्टी महिला विश्वकपको एसियाली छनोटमा पनि नेपाल दोस्रो भयो । समूहको शीर्ष टोली मात्रै ग्लोबल छनोटका लागि छानिने प्रावधानअनुरूप थाइल्यान्डसँग पराजित हुनु दुर्भाग्य बन्यो । शतप्रतिशत नतिजा निकालेको थाइल्यान्ड अघि बढ्यो । तर नेपाली टोलीकी कप्तान रुबिना क्षत्रीले विश्वकप छनोटमा लोभलाग्दो प्रदर्शन गरिन् । कुवेतविरुद्धको खेलमा हयाटि्रक लिएपछि उनी महिला क्रिकेटमा २ पटक हयाटि्रक लिने पहिलो खेलाडी बनिन् ।

सुरुआती सफलता निरन्तर भएको भए नेपाली महिला क्रिकेट पनि विश्वकपमा पुगिसक्थ्यो । तर अवस्था ओरालो लागेको हरिणको चालजस्तै छ, महिला क्रिकेटको । घरेलु प्रतियोगिताको निरन्तरता नहुँदा महिला खेलाडी उत्पादनै रोकिएको छ । भएका खेलाडीमध्ये पनि धेरै पलायन भइसके । लामो समयदेखि राष्ट्रिय टोलीमा रहेकी रुबिना क्षत्री भन्छिन्, "धेरै खेलाडी पलायन भइसके । बाँकी रहेका प्रतिभावान पनि यसलाई पार्ट-टाइम मान्छन् । यही अवस्था केही समय लम्बिए कुनै बेला महिला क्रिकेटकै कारण विश्वस्तरीय पुरस्कार पाएको नेपालमा महिला क्रिकेट टोली हुने छैन ।"

हुन पनि आकर्षक पुरस्कार राशिका थुप्रै प्रतियोगिता नभई महिला क्रिकेटले प्रगति गर्न सक्दैन । तर हामीकहाँ महिला क्रिकेट प्रतियोगिता नै आयोजना हुन छाडिसकेको छ । "सामान्य प्रतियोगिताको निरन्तरता भए पनि हामीले नियमित प्रदर्शनसँगै खेल सुधारको मौका पाउँथ्यौँ । तर त्यसको पनि आश रहेन," क्षत्रीले सुनाइन् ।

त्यसैले होला, , नेपाली महिला टोली उपविजेता बनेर १६ फागुनमा घर फर्किंदा त्रिभुवन विमानस्थलमा स्वागत गर्न कोही पनि पुगेनन्(तस्बिरमा) । तर नेपाली पुरुष टोलीले संयुक्त अरब इमरेट्सविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिज जितेर आउँदा विमानस्थलमा रेड कार्पेट बिछ्याइएको थियो ।

फुटबलमा भने अवस्था फरक छ । नेपाली महिला टोली पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्यो । सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकका लागि महिला फुटबलको छनोटमा नेपालले आफूभन्दा बलियो म्यानमार र भारतसँग बराबरी खेल्यो । तर दोस्रो चरणको छनोटमा म्यानमार र भारतसँग पराजित नेपालले इन्डोनेसियालाई २-१ ले हराउन सफल भयो ।

दक्षिण एसियाली स्तरमा पनि नेपाली महिला टोली बलियो मानिन्छ । तर भारतसँग पराजित हुनुको नियतिमा कुनै परिवर्तन आएको छैन । साफ च्याम्पियनसिपको चार पटकको उपविजेता नेपाली टोलीले सागमा पनि २ पटक रजत पदक जितेको छ । तर पुरस्कार रकममा भने जहिले पनि महिला टोली विभेदको सिकार हुनुपरेको छ । २३ वर्षमुनिको पुरुष साफ विजेता टोलीका सदस्यले जनही ५ लाख पाए । तर महिला साफको उपविजेताले २ लाख रुपैयाँ मात्रै पाए ।

पर्याप्त घरेलु प्रतियोगिता नहुनु, पुरस्कार राशिमा विभेद गरिनु मात्रै महिला खेलकुदमा लागेकाहरूको समस्या होइन । अवस्था कतिसम्म दयनीय छ भने मार्सल आर्ट्सको प्रतियोगिता हुँदा महिला खेलाडीका लागि छुट्टै चेन्जिङ रूमको पनि व्यवस्था गरिएको हुँदैन । खेलकुदको डाडुपन्यू समात्नेमा पनि महिला प्रतियोगितामा जितेको पदकको अवमूल्यन गर्ने र खेलाडीलाई पुरस्कृत गर्ने मामलामा कन्जुस्याइँ हुने हो भने केही दशकपछि महिला खेलाडी खोज्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । घर, समाज, राष्ट्र र पुरुष खेलाडीसमेत आफ्नो खेलका लागि अनुकूल वातावरण बनाउन सक्रिय नभएको समय जे-जति महिला खेलाडी मैदानमा उत्रिएका छन्, उनीहरूलाई भन्नैपर्ने हुन्छ, धन्न खेल्दैछन् । 

गौरिका गौरव

पौडीमा गौरिका सिंहले दक्षिण एसियाली खेलकुदमा प्राप्त गरेको सफलता लोभलाग्दो छ । रियो ओलम्पिकमा सहभागी गौरिकाको नाममा थुप्रै राष्ट्रिय कीर्तिमान छ । १२ औँ सागमा उनले पौडीतर्फ २ सय मिटर इन्डिभिजुएल मिड्लेमा २ मिनेट ३३ दशमलव २६ सेकेन्डको टाइमिङसहित रजत पदक जितिन् । पौडीमा त्यो नयाँ राष्ट्रिय कीर्तिमान थियो । त्यस्तै, उनले ४ सय मिटर फ्रि-स्टाइल, १ सय मिटर ब्याक स्ट्रोक र २ सय मिटर ब्याक स्ट्रोकमा कास्य जितिन् । १ सय मिटर ब्याक स्ट्रोकमा १ मिनेट ७ दशमलव ३१ सेकेन्डको टाइमिङ निकाल्दा गौरिकाले नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । नेपालले पौडीमा ८ औँ सागमा स्वर्ण जिते पनि महिला एकलमा गौरिकाले पाएको सफलता नै अहिलेसम्मकै उच्च हो ।

रोग संसारभर

सेरेना विलियम्स | एजेन्सी


नेपालमा मात्रै होइन, महिला खेलाडी र खेल अधिकारीमाथि संसारभर नै विभेद हुने गरेको तथ्यांक सार्वजनिक भएका छन् । वुमन्स स्पोर्ट्स विकको एक सर्वेक्षणमा पुरुष खेलाडीको तुलनामा महिला खेलाडीलाई दिइने पुरस्कार राशि निकै कम हुने गरेको देखाएको छ ।

सन् २०१७ मा गरिएको सर्वेक्षणअनुसार चर्चित र ठूला खेलमध्ये फुटबल, क्रिकेट र गल्फमा महिला खेलाडीले पाउने पुरस्कार राशि निकै कम छ । ८३ प्रतिशत खेलमा भने पुरुष र महिला खेलाडीले पाउने पुरस्कार राशि समान देखिएको वुमन्स स्पोर्ट्स विकले जनाएको छ । सो सर्वेक्षणअनुसार विशेषगरी टेनिस (ग्रान्डस्लाम) स्की, ड्राइभिङ, डार्ट, स्नुकर, साइक्लिङजस्ता प्रतियोगितामा महिलाले पनि समान पुरस्कार पाउने गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले पनि पुरुष र महिला विश्वकपको विजेतालाई प्रदान गर्ने पुरस्कार राशिमा ठूलो अन्तर छ । क्रिकेटमा पुरुष टोलीले पाउनेभन्दा महिलाले पाउने पुरस्कार रकम ज्यादै कम छ । आईसीसी महिला कमिटीले सन् २०३२ सम्म महिलाले पनि पुरुषसरह पुरस्कार पाउने उल्लेख गरेको छ । पुरुष विश्वकपको विजेताले ३९ लाख ७५ हजार अमेरिकी डलर बराबर रकम प्राप्त गर्छन् । जबकि महिला विश्वकपको विजेताले २० लाख डलर हात पार्छन् । सन् २०१३ मा महिला विश्वकपको विजेताले मात्र २ लाख डलर पाउँथे । आईसीसीले यो रकम बढाएर सन् २०१५ देखि १० लाख डलर पुर्‍याएको थियो । क्रिकेटमा महिला विश्वकप सन् १९७३ बाट सुरु भएको हो भने पुरुष विश्वकप १९७५ बाट ।

फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले आयोजना गर्ने विश्वकपमा पनि पुरुष र महिलाले प्राप्त गर्ने पुरस्कार रकममा ठूलो अन्तर छ । सन् २०१८ मा विश्वकप जित्दा फ्रान्सले समग्रमा ३ करोड ८० लाख डलर हात पार्‍यो । जबकि सन् २०१५ को महिला विश्वकपको विजेता अमेरिकाले २० लाख डलर मात्रै जित्यो । फिफाले सन् २०१९ मा फ्रान्समा आयोजना हुने महिला विश्वकपको पुरस्कार राशि बढाएर ४० लाख डलर पुर्‍याउने निर्णय गरिसकेको छ ।

विभेदको यही क्रम नरोकिएका कारण सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीको उत्कृष्ट १ सयभित्र एउटै महिला खेलाडी परेका छैनन् । फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सूचीमा अमेरिकी टेनिस स्टार सेरेना विलियम्स १ सय १२ औँ स्थानमा अटाएकी छन् । सन् २०१७ मा गर्भवती भएका कारण विभिन्न प्रतियोगिताबाट हात झिक्न बाध्य सेरेनाको औसत वाषिर्क कमाइ १ करोड ८१ लाख डलर बराबर छ । सूचीको १ सयौँ स्थानमा अटाएका फ्रान्सका बास्केटबल खेलाडी निकोलस बाटुमको कमाइ २ करोड २९ लाख डलर छ ।

उदेकलाग्दो तथ्यांक के पनि छ भने महिलातर्फ सर्वाधिक कमाउने १० खेलाडीले कुल १० करोड ५० लाख डलर मात्रै कमाए । जबकि पुरुषतर्फ सर्वाधिक कमाउने अमेरिकी मुक्केबाज फ्लोएड मेवेदर, अर्जेन्टाइन फुटबलर लियोनेल मेसी, पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो एक्लैले गत वर्ष १० करोड ५० लाख डलरभन्दा बढी कमाए । अन्तर्राष्ट्रिय बास्केटबलमा त पुरुष खेलाडीले महिलाको तुलनामा १ सय गुणाभन्दा बढी कमाइ गर्दै आएका छन् ।

यो विभेद खेलाडीमा मात्र सीमित छैन । खेल क्षेत्रमा लाग्ने अन्य महिला पनि विभेदको सिकार हुनुपरेको छ । वुमन इन स्पोर्ट्सले गरेको एक सर्वेक्षणअनुसार खेल क्षेत्रमा लागेका महिलामध्ये ४० प्रतिशतले लिंगकै आधारमा आफूमाथि शोषण र विभेद हुने गरेको स्वीकारेका छन् । जबकि सोही क्षेत्रमा काम गर्ने पुरुषमध्ये ७२ प्रतिशतले खेल क्षेत्रमा कुनै खाले लैंगिक विभेद नरहेको बताएका छन् । १ हजार १ सय ५२ खेल अधिकारीमाझ ७ महिना लगाएर गरिएको सर्वेक्षणमा ३० प्रतिशत महिलालाई पुरुष सहकर्मीबाट गलत व्यवहार हुने गरेको देखिएको छ ।

यो पनि पढ्नुहोस् → [सम्पादकीय] अन्त्य गर यो पक्षपात

प्रकाशित: वैशाख ३, २०७६

ट्याग: खेलकुद