चिनियाँ शैलीको चमत्कार

- कलेन्द्र सेजुवाल

सुर्खेत– भेरीगंगा नगरपालिका-५, हात्तीखालका मंगल जैसीले चीनमा सुरुङ मार्गबाट विकास भएको सुनेका थिए । उनको मनमा जिज्ञासा उठ्थ्यो, सुरुङ कसरी खन्छन् होला ?

जब ३ वर्षअघि उनकै घरछेउमा सुरुङ खन्ने मेसिन आइपुग्यो । र, उनीसमेत सुरुङ खन्ने अभियानमा जोडिए । अहिले भन्छन्, "विकासको चमत्कार हेर्न त चीन जानैपरेन, यहीँ देख्न पाइयो ।"

भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण सम्पन्न भएपछि मंगलजस्तै अरू स्थानीय पनि चकित छन् । नेपालमै पहिलो पटक ल्याइएको टनेल बोरिङ मेसिन (टीबीएम) बाट आयोजनाको १२ हजार २ सय मिटर लामो सुरुङ निर्धारित समयभन्दा एक वर्षअघि खनिएको छ । ३ वैशाखमा प्रधानमन्त्री केपी ओलीबाट टनेलको 'ब्रेक थु्र' हुने गरी तयारी भइरहेको आयोजना निर्देशक सञ्जीव बराल बताउँछन् ।

सुरुङ निर्माण जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी (कोभेक) ले लिएको छ । २१ जेठ ०७२ मा सुरुङ निर्माण थालेको कम्पनीको म्याद १५ चैत ०७६ सम्म थियो । धमाधम काम हुँदा सोचेभन्दा राम्रो प्रगति देखिएको छ । आयोजनाका अनुसार सुरुङ निर्माणको लागत करिब १० अर्ब ५७ करोड रुपैयाँ छ, जुन आयोजनाको कुल बजेटको ३५ प्रतिशत हो ।

निर्माणमा संलग्नहरू चिनियाँ शैलीमा काम हुँदा सुरुङ समयअघि नै सम्पन्न भएको बरालको भनाइ छ । सुरुदेखि नै रात्रिकालीन र दिवाकालीन गरी दुई सिफ्टमा काम भएको थियो । दिवाकालीन सिफ्ट बिहान ७ देखि साँझ ७ बजेसम्म (चार घन्टा ओभरटाइम) र रात्रिकालीन सिफ्ट साँझ ७ देखि बिहान ७ बजेसम्म (चार घन्टा ओभरटाइम) चलेको सुरुङ मार्गमा सुरक्षागार्ड रहेका विनोद जैसी बताउँछन् । उनका अनुसार एउटा सिफ्टमा करिब २५-३० जना तालिमप्राप्त कामदार ट्रेनबाट सुरुङ मार्गमा पस्छन् । सुरुङमा चौबीसै घन्टा अक्सिजन र विद्युत् पास गरिएको छ । "सुरुङभित्र पसेर काम गर्न सजिलो छैन, जोखिम पनि उत्तिकै छ," जैसी भन्छन्, "तैपनि धमाधम काम भयो, समयमै सुरुङ सकियो ।"

दोस्रो चरणको प्रक्रिया सुरु

पहिलो चरणअन्तर्गत पर्ने सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाले दोस्रो चरणका कार्य प्रक्रिया थालेको छ । यसअन्तर्गत सिभिल निर्माण, इलेक्ट्रोमेकानिकल निर्माण तथा जडान, हाइड्रोमेकानिकल निर्माण तथा जडान रहेका छन् ।

१० पुस ०७५ मा स्वीकृत संशोधित गुरुयोजनाअनुसार आयोजनाको अनुमानित लागत ३३ अर्ब १९ करोड रुपैयाँ छ । सबैभन्दा बढी -४० प्रतिशत बजेट) काम सिभिल निर्माणअन्तर्गत छ । १२ अर्ब १० करोडमा हेडवक्र्स, सर्ज साफ्ट र पावरहाउस निर्माणको काम हुने गरी खरिद प्रक्रिया सुरु भइसकेको छ ।

आयोजना प्रमुख बरालका अनुसार २०१९ जुलाईबाट काम सुरु हुने गरी हाइड्रोमेकानिकलको पनि खरिद प्रक्रिया सुरु भइसकेको छ । यसअन्तर्गत गेट तथा पेनस्टक पाइप निर्माणका काम हुनेछन् । उक्त कामको आर्थिक भार २ अर्ब ८४ लाख (९ प्रतिशत) छ । त्यसैगरी, २०१९ अगस्तबाट निर्माण सुरु गर्ने गरी इलेक्ट्रोमेकानिकलको पनि खरिद प्रक्रिया थालिएको छ । आयोजनाको कुल बजेटको ११ प्रतिशत (३ अर्ब ५१ करोड रुपैयाँ) भार ओगटेको इलेक्ट्रोमेकानिकलअन्तर्गत टर्बाइन, जेनेरेटर, स्वीच यार्ड निर्माणका काम हुनेछन् ।

२०१९ डिसेम्बरबाट प्रसारण लाइन निर्माण गर्ने गरी खरिद प्रक्रिया सुरु भइसकेको छ । "हामीले टनेल निर्माणमा राम्रो सफलता पायौँ, यसले निकै उत्साही बनाएको छ," बराल भन्छन्, "अब बाँकी काम कसरी अघि बढ्छ भन्ने कुरा छनोट हुने कम्पनीमा भर पर्छ ।" कार्ययोजनाअनुसार नियमित काम भए आव ०७९/८० सम्म विद्युत् उत्पादन सुरु हुने आयोजनाको अनुमान छ ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बबई, हात्तीखालस्थित सुरुङ मार्ग प्रवेश स्थल । तस्बिरहरू : कलेन्द्र सेजुवाल


विद्युत् र सिँचाइ

आयोजनाको दुई प्रमुख उद्देश्य छन् । पहिलो, भेरीको पानी बबईमा मिसाएर ५ नम्बर प्रदेशमा पर्ने बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने । दोस्रो, ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्ने ।

यसका लागि भेरीगंगा नगरपालिकाको चिप्लेस्थित भेरी नदीमा १ सय १४ मिटर लामो ब्यारेज निर्माण गरिनेछ । ४ दशमलव २ मिटर व्यासको सुरुङबाट ४० घनमिटर प्रतिसेकेन्ड पानी बबई नदीमा खसालिनेछ । त्यहाँबाट बाँके, बर्दियाको जमिनमा बाह्रै महिना सिँचाइ पुग्नेछ भने हात्तीखालमा निर्मित विद्युत् गृहबाट विद्युत् उत्पादन हुनेछ ।

भेरी-बबईमा टीबीएमको सफल प्रयोगसँगै सुनकोसी-मरिन बेसिन डाइभर्सन आयोजना, नौमुरे-राप्ती बहुउद्देश्यीय आयोजना, कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना र कन्काई जलाशययुक्त बहुउद्देश्यीय आयोजनामा यो प्रविधिबाट काम गर्न सरकारलाई सुझाव दिइएको आयोजना निर्देशक बराल बताउँछन् ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको चिप्लेस्थित ब्यारेज बन्ने स्थान । यहाँ १ सय १४ मिटर लामो ब्यारेज निर्माण गरिनेछ ।


स्थानीयलाई रोजगारी

आयोजनाबाट स्थानीय जनजीवन पनि लाभान्वित भएको छ । दैनिक रूपमा खटिने करिब ५ सय कामदारमध्ये झन्डै ७० प्रतिशत स्थानीय छन् । यसले हात्तीखाल आसपासका युवायुवतीलाई रोजगारी दिएको छ ।

२ वर्ष अघिसम्म भारत गएर मजदुरी गर्थे मंगल । अहिले मासिक १५ हजार रुपैयाँ तलब थाप्छन् । "घरको मीठोमसिनो खाएर, परिवारसँगै बसेर यति पाउनु पनि धेरै हो," उनी भन्छन्, "इन्डिया गएर दस नंग्रा खियाउँदा पनि यति रकम बच्दैनथ्यो ।"

उनीजस्तै युवा आफ्नो क्षमता र सीपअनुसार काम गरिरहेका छन् । कामअनुसार आम्दानी पनि फरकफरक हुन्छ । एक जनाले मासिक १२ हजारदेखि ४० हजार रुपैयाँसम्म कमाउँछन् । मिक्सर मेसिन चलाउने नवीन चौधरीको मासिक आम्दानी ३५ हजार रुपैयाँ छ । भन्छन्, "आयोजनाले घरमै रोजीरोटी दिएको छ, योभन्दा खुसी के हुन सक्छ ?"

आयोजनाका कर्मचारी, कामदार र घुम्न आउने पर्यटकको चहलपहलले गाउँमा पसल व्यवसाय पनि राम्रै चलेका छन् । २ वर्षअघिसम्म हात्तीखालमा दुई-चार वटा पसल थिए । अहिले करिब दर्जनको संख्यामा पसल र नास्तापसल खुलेका छन् । टेलरिङ व्यवसाय चलाउँदै आएकी इन्द्रा खत्रीले २ वर्षदेखि टेलरिङसँगै किराना पसल चलाएकी छन् । उनको मासिक कारोबार करिब १ लाख ७५ हजार रुपैयाँसम्म छ । "मान्छेको चहलपहल बढेपछि व्यापार पनि राम्रै हुन थालेको छ," उनी भन्छिन्, "सधैँ यसैगरी चले त राम्रै हुन्थ्यो ।"

प्रकाशित: वैशाख २, २०७६