[सम्पादकीय] अन्त्य गर यो पक्षपात

- बसन्त बस्नेत

कति धेरै विभेद ! तैपनि उपलब्धि ! नयाँ वर्षको पहिलो अंकमा हामीले पक्षपातका पर्खाल भत्काउँदै सफलताको उचाइ छुने केही नेपाली महिला खेलाडीका कथा समेटेका छौँ ।

खेलमा झेल सह्य मानिन्न । नेपालको हकमा खेलकुद जालझेलको पर्याय बन्न गएका अनेक दृष्टान्त छन् । लैंगिक विभेदको सिकार महिला खेलाडी हुने गरेका छन् । विश्वभर खेलकुदमा कुनै पनि विभेदको स्थान हुन्न । हाम्रा सहकर्मी पवन आचार्यको आवरण कथाले बताउँछ, नेपाली खेलकुदको हकमा पुरस्कार रकममा हुने विभेद, महिला खेलाडीलाई दिइने समय र उनीहरूलाई गरिने विश्वासमा सर्वथा कमी छ ।

नेपाली खेलाडीले आफ्नो सामथ्र्यअनुसारको प्रदर्शन गरेर राष्ट्रको नाम उँचो राख्ने प्रयास गरेका छन् । पूर्वाधारको कमी, आवश्यक तयारी अभाव, खेलाडीमाथि गरिएको न्यून लगानीका बीच अन्तर्राष्ट्रिय स्तरमा उनीहरूले हासिल गरेको उपलब्धिको कहीँ कतै तुलना हुँदैन । पदक संख्यालाई आधार मान्ने हो भने पुरुषकै बोलवाला छ । तर दक्षिण एसियाली तथा एसियाली स्तरभन्दा माथि विश्वस्तरीय प्रतियोगिता र च्याम्पियनसिपमा नेपाली महिला खेलाडीले गरेको प्रदर्शन कमजोर छैन ।

खेलकुदको महाकुम्भ ओलम्पिकमा छनोट हुनेमा महिला खेलाडी नै छन् । एसियाडमा रजत पदक जित्ने व्यक्तिगत खेलाडीमा पनि महिला नै छन् । तर महिला खेलाडीले पदक जित्दा पाउने पुरस्कार र प्रतियोगितामा राखिएको पुरस्कार राशि भने पुरुषको तुलनामा अत्यन्त न्यून छ ।

हुन त पुरस्कार रकममा गरिने वृद्धिले मात्र खेलाडीको प्रदर्शन र स्तर उकासिँदैन । एउटै खेलमा गरिएको उस्तै खाले प्रदर्शनका लागि महिला र पुरुष खेलाडीप्रति गरिने व्यवहार असमान हुनु भने उदेकलाग्दो हो । कसैले हार्दा पनि सम्मान र नगद पुरस्कार पाउने तर महिला खेलाडीले जित्दा प्रोत्साहनसम्म नपाउने अवस्थाको अन्त्य हुनैपर्छ । यही अवस्था दोहोरिइरहे केही दशकपछि खेलकुदमा महिला सहभागिता खोज्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

राज्यले पूर्वाधार निर्माणमा लैंगिकमैत्री अवधारणा पनि अपनाउन सकेको छैन, जसका कारण महिलाले मैदानमा पनि विभेदको सिकार हुनुपरेको छ । महिलाका लागि छुट्टै शौचालय र चेन्जिङ रूम न्यूनतम सर्त हुन् । तर त्यसमा पनि हामी चुकेका छौँ । कतिसम्म भने हाम्रा महिला खेलाडीको क्षमता के हो ? कुन खेलमा हामीले चाँडो प्रगति गर्न सक्छौँ ? हाम्रा महिला खेलाडीलाई कुन स्तरको वैदेशिक प्रशिक्षण र एक्सपोजर आवश्यक छ भन्नेमा पनि आजसम्म कुनै अनुसन्धान भएको छैन ।

२१ औँ शताब्दीमा खेलकुद शारीरिक प्रतियोगिता मात्रै होइन, खेलकुद विज्ञानको रूपमा विकसितसमेत भइसकेको छ, जहाँ नीति नियमका साथै अध्ययन/अनुसन्धानको उत्तिकै स्थान रहन्छ । त्यो स्थानमा आधा धर्ती ओगट्ने महिलाको सवाल र उपस्थिति त्यत्तिकै जरुरी पाटो हो । भन्नका लागि त खेलाडी देशका गहना भनिन्छ । तर चाडबाडमा एकाध दिन लगाउने गहना मात्रै बनाएर खेलकर्म र त्यसमा समर्पित खेलाडीको सम्मान हुँदैन । त्यसका लागि उनीहरूमाथि लगानी बढाउन जरुरी छ । अझ, सो लगानीमा महिलाको हिस्सेदारीसमेत बढाउन आवश्यक भइसकेको छ ।

यो पनि पढ्नुहोस् → आवरण कथा : विभेद तोड्दै उज्यालोतिर

प्रकाशित: वैशाख २, २०७६