बीपीको अप्रकाशित मन्तव्य

- हरिराम जोशी

बाउबाजे पुख्र्यौली कपडा व्यापारमा सक्रिय रहे पनि दाजु केशवरामको क्रान्तिकारी राजनीतिक लगावका कारण म युवावयमै साहित्यमा लहसिएँ । भर्खरै १९ लौरी टेक्दै थिएँ । बीए पढ्दै थिएँ । पाटन-काठमाडौँ आउजाउक्रम कहिले त दैनिक तीन-चारचोटिसम्म पनि हुन्थ्यो । काठमाडौँका सडकमा टहलिँदै गर्दा मेरो अन्तःस्करणमा साहित्यिक हुन्डरी चलेको हो ।

टुँडिखेल खरीको रुखले शाह/राणाकालीन शासनको महत्ता पनि दर्शाउँछ । त्यही खरीको रुखमुनि बसेर राणा शासक जंगबहादुरले राजा राजेन्द्रविक्रमलाई अक्षम घोषणा गरी देश निकाला गरेपछि सुरेन्द्रविक्रम शाहलाई राजगद्दीको हकदार बनाएका थिए । बेलायती रानी एलिजावेथ द्वितीयको नेपाल भ्रमण (०१७) क्रममा खरीको रुख गिँडियो ।

त्यही खरीको रुखमुनि बसेर मैले साहित्यको श्रीगणेश गरेँ, १९ मंसिर २०११ मा । पहिलो कविताको शीर्षक थियो, '....त पागल हुँदैन' । ६० कविताको ठेली तयार पारेँ । उबेलाको राजनीति, बीपी कोइराला, जवाहरलाल नेहरु, स्टालिनजस्ता राजनीतिज्ञ र समाजको अन्तरकुन्तर, मानवीय हृदयको चीत्कारजस्ता शब्द राखिएर लेखिएका कविता थिए, त्यसमा ।

सुरुमा साहित्य लेखनमा मस्तिष्कको डुलाइ सीमित भए पनि मेरो विचारथैलीचाहिँ असीमित थियो । त्यसपछि गद्य शैलीको ज्योत्सना खण्डकाव्य (०१३), पत्नीस्तुति कदम खण्डकाव्य, बैनीपूजाको महत्ता दर्शाउने बैनीपूजा (०१५), रुसी लेखक लियन्टियेवले लेखेको पुस्तकलाई समाजको विकास  नाम दिएर नेपालीमा अनुवाद गरेँ । ०१७ पछि लेखन यात्राको रुट बदलियो । इतिहास र संस्कृतिमा घुसेँ ।

अध्ययन, कपडा व्यापार, व्यवसाय सम्हाल्ने जिम्मेवारी मैमाथि रहेको हुँदा कविता सिर्जना गर्दा रातभर सुत्दिनथेँ । त्यसैकारण मलाई निद्रा नलाग्ने समस्या भयो । उबेला (०१६/१७) काठमाडौँका नाम चलेका डाक्टर सिद्धिमणि दीक्षित, जितसिंह मल्ल र हल्डर (नेपाली सेनाका डाक्टर) सँग जँचाउन पुगेँ । तर डाक्टरी औषधीले मलाई निको भएन ।

म सुन्धारा घर भएका काइँला मामा वैद्य थिरगोविन्दकहाँ जडीबुटी औषधीका लागि गएँ । उनले निद्रा आउने अनौठो उपाय प्रयोग गरे ममाथि । चिउरा र छ्यापी हालेको तरकारी खान दिन्थे । यो क्रम करिब १२-१५ दिनसम्म चल्यो । त्यही चिउरा र छ्यापीले मलाई निद्रा लाग्न थाल्यो । कविता लेख्न छाडिदिएँ । इतिहास र संस्कृति लेखन थालनी गरेँ ।

कविताको ठेलीलाई कामना  कविता संग्रह  न्वारान दिएर नाम चलेका अग्रज साहित्यकारको मन्तव्यको खोजीमा लागेँ । यसै मेसोमा बीपी कोइराला, सिद्धिचरण श्रेष्ठ र केदारमान व्यथितसँग सम्पर्क हुन सक्यो ।

बीपीसँग दाजु केशवराममार्फत कवितासंग्रहको पाण्डुलिपि लिएर चावहिल निवासमा मन्तव्यका लागि पुगेँ, ०१४ कात्तिकमा । त्यो नै बीपीसँग मेरो पहिलो भेट थियो । बीपीलाई मेरो पाण्डुलिपि बुझाएँ । उनमा राजनीति र साहित्यप्रति बरोबरी चासो रहेको पाएँ ।

युवावयमै साहित्यमा लागेर देश र समाजका लागि राम्रो गरेको भन्दै बीपीले धाप दिए । मसँग राजनीतिबारे खासै केही बोलेनन् । अझ अगाडि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे । बीपी निवासमा चिया खाएर दाजुभाइ फर्कियौँ । केही दिनपछि दाजु बीपी निवास गएर पाण्डुलिपि फिर्ता ल्याए, २२ कात्तिक ०१४ मा ।

बीपीले मेरो साहित्यप्रति यस्तो मन्तव्य लेखे, 'श्री हरिराम जोशीको सुन्दर रचना पढेँ । कोमल भावनाले ओतप्रोत भएका कविताहरु रसिला छन् । राम्रो प्रेरणा त युवक कविमा वर्तमान भएको बुझिन्छ । अनुभव र चिन्तन, जो उमेरका साथ बढ्दै जान्छ, उपलब्ध भएपछि निश्चय नै श्री जोशीको कवितामा त्यो दृढता र भावनाको निश्चितता आउनेछ, जसले उहाँलाई सुहाउँदो स्थान नेपाली कविता पाठकको हृदयमा प्राप्त हुनेछ । मैले जस्तो उत्सुकतासाथ यी कविताहरु पढेँ, त्यस्तै उत्सुकतासाथ उहाँको कविताको विकास भएको हेरिरहनेछु ।'

पछि आफ्नै कवितामा चित्त बुझेन मलाई । त्यस्ता मूर्धन्य साहित्यकारका मन्तव्य पाएर पनि त्यो संग्रह प्रकाशन गरिनँ ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: चैत्र २९, २०७५

ट्याग: स्मरण