स्याबास भन्न सकिएन (फिल्म समीक्षा : ए मेरो हजुर ३)

- गोकर्ण गौतम

सुकिलामुकिला हिरो-हिरोइन, कमेडी, रोनाधोना, रोमान्स, एक्सन अनि हिमालका आकर्षक दृश्य कैद गरिएका गीत । नेपाली लभस्टोरी सिनेमामा यस्ता मसला छुट्दैनन् । छुट्छ त केवल, प्रेम । सोही कारण दर्शकको पनि मनजित्दैनन्, यस्ता फिल्मले । झरना थापा निर्देशित मेरो हजुर  सालाखाला यही कोटिमा पर्छ ।

बलिउड र कैयौँ नेपाली फिल्ममै देखिएको पुरानो कथालाई नयाँ रंगमा ढाल्ने प्रयास मात्र छ उनको । स्वघोषित 'मेगास्टार' अनमोल केसीको अभिनय र चरित्र पनि निराशाको निरन्तरता मात्र हो । डेब्यु हिरोइन सुहाना थापाचाहिँ 'सरप्राइज' लाग्छ ।

गायक प्रेम (अनमोल) को क्रेज लोभलाग्दो छ । लाखौँ फ्यानमध्ये एक हुन्, आर्या (सुहाना) ।उनी प्रेमलाई असाध्यै मन पराउँछिन् तर त्यत्रा स्टारसँग भेट्न कहाँ पाउनु ! बरु प्रेमीझैँ देखिने घनश्यामसँग भेट भइरहन्छ । घनश्यामलाईघृणा गर्छिन् । संयोगले उनको प्रेमसँग चिनजान हुन्छ, सान्निध्य बढ्छ । तर प्रेमलाई आफ्नो बनाउने उनको चाह पूरा होला ? यसकै वरपर घुम्छ, फिल्म । क्लाइमेक्ससमेत परम्परागत ढर्राभन्दा माथि उठ्न सकेको छैन ।

निर्देशक सर्जक हो । नयाँ सिर्जना दृश्यभाषामार्फत व्यक्त गर्नु निर्देशकको जिम्मेवारी । झरनालेचाहिँ नवीनता पस्कने प्रयासै गरेकी छैनन् । उनी हिरोइन हुँदाताकाकै कथालाई उल्टाइपल्टाई मात्र गरेकी छन् । यद्यपि अचेल बनिरहेका अन्य लभस्टोरी सिनेमाका निर्देशकले जस्तै लत्तो छाडेकीछैनन् । आइडिया रोचक नभएपनि खिच्ने मामलामा सजगता देखिन्छ । तर समस्या उही, चरित्रचित्रण, कथाको परिवेश, विकासक्रममा ताजापन छैन । आँत भरिन्न । मध्यान्तरअघिसम्म हँसाउन जबर्जस्ती तन्काइएको छ, क्लाइमेक्सतिर रुवाउन । मुख्य मात्र होइन, सहायक पात्रसमेत बासी मानसिकताकै उपज हुन् ।

मध्यान्तरसम्म कथामा कुनै प्रगति हुन्न । लाग्छ, आर्याको जीवनको उद्देश्य, प्रेमलाई पाउनुभन्दा अर्को छैन । प्रेमको हालत पनि उस्तै । आर्याका साथीहरुको काम कमेडी गर्ने मात्र हो,मूलकथामा योगदान छैन । उनीहरुका अश्लील मजाक र त्यस्ता दृश्यको लम्बाइले निर्देशकको नियतमाथि प्रश्न उठाएको छ ।आमफिल्मझैँ मध्यान्तरपछि फिल्म एकाएक रोनाधोनातिर मोडिन्छ । मुख्य पात्रका जीवनमा यावत् झमेला आइलाग्छन्। तर तिनलाई यति सतही र हतारिएर देखाइन्छ कि त्यो पीडा आत्मसात गर्न सकिन्न । हँसाउनकै खातिर लामा र अनावश्यक दृश्य खर्चिएकी निर्देशकले पात्रभित्रको उकुसमुकस पोख्नचाहिँ संवादकै भर परेकी छन् । यसले पनि पात्र र दर्शकको दूरी बढ्दै जान्छ ।

चार जनाले पटकथा लेखेको भए पनि सिर्जनशील र मनछुने दृश्यको खडेरी छ । पहिल्यै हेरिसकिएका घटनाको जोडजाडजस्तो मात्र लाग्छ । कलाकार नयाँ लिने, कथाचाहिँ पुरानैमा अल्झने प्रवृत्तिले प्रगति कसरी होला ? लोकेसन, पात्र पहिरन, साजसज्जाजस्ता पक्षमार्फत दृश्य 'रिच' बनाउन भने कुनै कसर बाँकी राखिएको छैन ।

काठमाडौँबाट सुरु कथा पोखरा हुँदै अमेरिकासम्म पुग्छ । दृश्यको भावअनुकूलको खिचाइ फिल्मको प्रशंसनीय पक्ष हो । तर पाश्र्वध्वनिचाहिँ सुरुदेखि अन्त्यसम्म 'लाउड' छ । कतै-कतै त पाश्र्वध्वनिकै कारण पर्दाप्रति विरक्ति पैदा हुन्छ । गीत श्रुतिमधुर छन् । भलै, कथावाचन प्रभावकारी बनाउन अपेक्षाकृत ढंगले सदुपयोग गरिएको छैन ।

गितार झुन्डाउँदैमा गायक र वरपर 'मुस्तन्डे' बडीगार्ड राख्दैमा सुपरस्टार हुँदैन भनेर निर्देशक र अनमोलले बुझ्नुपर्छ । सुरुआतको कन्सर्टबाटै अनमोलको उपस्थिति नीरस लाग्छ । आफ्नो पात्रप्रति स्नेह पैदा हुने अभिनय पस्किएका छैनन् । उनको काममा निखार आउनुको सट्टा थप बनावटी हुँदै जानु करिअरकै लागि घातक हो । उनले आत्मरति र प्रायोजित प्रशंसाको घेराबाट बाहिर निस्केर आत्ममूल्यांकन गर्ने बेला घर्किसकेको छ । जसरी ड्रिम्समा साम्राज्ञीराज्यलक्ष्मी शाहको छायामा परेका थिए, यसपटक उसैगरी सुहानाको ।

अनमोलको तुलनामा सुहानाको 'स्क्रिन -टाइम' बढी छ । पात्रको आन्तरिक भोगाइलाई उनले धेरैहदसम्म आत्मसात गरेकी छन् । उतिविघ्न प्रभावकारी भूमिका नभए पनि सलोन बस्नेतले 'रिफ्रेस' गराइरहन्छन् । अर्पण थापा र रवीन्द्र झाको चरित्र 'क्लिसे' र अभिनय 'लाउड' लाग्छ । बासी कथा र शैलीमा मग्न भएकाले निर्देशक झरनालाई स्याबासी भन्न सकिन्न ।

कथा र प्रस्तुतिमा सिर्जनशीलता खोज्नेलाई मेरो हजुर  झेल्न सकस पर्छ । यस्ता फिल्म आउँछन्, जान्छन्, अरु योगदान हुँदैन । मसलेदार फिल्मका पारखीलाई भने प्रिय लाग्न सक्छ ।

 

प्रकाशित: चैत्र २९, २०७५