नेताको कुरो

- शार्दूल भट्टराई

नेपाल बन्दको दिन । काठमाडौँ उपत्यकामा भीडभाड निकै कम थियो । प्रमुख बजार र मूल सडकका पसल सबैजसो बन्द नै थिए । सडकमा गाडी थिएनन् । मानिस त्यस दिन सडकपेटी होइन, निर्धक्कसँग सडकमै हिँडिरहेका थिए ।

साहित्यप्रेमी तथा साहित्यिक पत्रिकाका सम्पादक प्रभाकर शर्मा सडकमा लम्किरहेका थिए । उनी अलि हतारमै छन् भन्ने कुरा हिँडाइले बताइरहेको थियो । उनले एउटा झोला भिरेका थिए । झोलाभित्र उनकै सम्पादनको साहित्यिक पत्रिका नयाँ घामका नयाँ अंक पनि थिए । सडकमा भेटिएका चिनजानका मानिसलाई पत्रिका देखाउन र बिक्री गर्न पनि उनी भ्याइरहेका थिए ।

पहिले-पहिले साहित्यिक पत्रिकाका सम्पादक वा तिनका सहयोगी झोलामा पत्रिका बोकेर चिनारु मानिसलाई बेच्दै हिँड्ने चलन पनि थियो । दुई सय प्रति 'पुस-सेल' गर्दा एक हजार प्रति छपाइको खर्च उठ्थ्यो । कतैबाट दानदक्षिणा र विज्ञापन नपाउनेका लागि पत्रिका सञ्चालनको त्यो पनि एउटा विधि थियो ।

विशेषगरी प्रगतिशील पत्रिका बिक्रीको बलियो माध्यम 'पुस-सेल' नै थियो । पञ्चायती शासनकालमा कतिपय प्रगतिशील पत्रिका पसलेहरुले बिक्रीका लागि राख्नै गाह्रो मान्थे । त्यसबेला 'पुस-सेल' को अवस्था निकै राम्रो पनि थियो । संकल्प, वेदना, झिसमिसेजस्ता पत्रिकाको समेत बिक्रीको एउटा माध्यम 'पुस-सेल' नै थियो । हामीले ३७/३८ वर्षअघि रमेश विकल प्रधानसम्पादक र देविका तिमिल्सिना सम्पादक रहेको उत्साह त्रैमासिकको 'थैंक्यू मिस्टर ग्ल्याड' अंक केही साथीको सक्रियतामा झन्डै पाँच सय प्रति पाँच दिनमा 'पुस-सेल' गरेका थियौँ । तर बहुदलीय व्यवस्थाको स्थापनापछि परिस्थिति फेरियो । 

"यो नयाँ अंक हेर्नुभयो ?" चिनजानको मान्छे भेट भए कि प्रभाकर शर्मा सोध्ने गर्थे ।

"ए, हेरेको छैन त !" उनको चिनजानका मानिसले जवाफ दिन्थे ।

उनी किनिदिए हुन्थ्यो भनेर पत्रिका अगाडि सार्थे । कोही यसो ओल्टाइपल्टाइ गरेर फिर्ता गर्थे । कोही वास्तै गर्दैनथे । कोही कुरै नसुनी अगाडि बढ्थे । जसले किन्थ्यो, उसले पनि करकापमै परेर किन्नु परेझैँ गथ्र्यो । साहित्यिक पत्रिका निकाल्न पनि गाह्रो, किनिदिने मान्छे भेट्न पनि गाह्रो !

उनीसँग मेरो भेट भृकुटीमण्डपमा भएको थियो । उनी केही मानिसलाई भेट्ने र झोलाभित्रका पत्रिका पनि बेच्ने योजनाका साथ घरबाट निस्किएका रहेछन् । उनले मसँग कुनै नेतालाई भेट्न जान लागेको कुरा गरे । उनको आशय म पनि साथमा गइदिए हुन्थ्यो भन्ने थियो । फुर्सद भएकाले म उनीसँगै जान तयार भएँ ।

५-६ किलोमिटरको सडक यात्रामा उनले आफ्नो चिनजानका पाँच जनालाई भेटे । तीमध्येका तीन जनाले उनको पत्रिका किने भने दुई जनाले 'पैसा पछि दिउँला है' भनेर पत्रिका लिए । तत्काल पैसा तिरेर पत्रिका किन्ने तीन जना सामान्य आयका सर्वसाधारणजस्ता थिए भने पछि पैसा दिने सर्तमा उधारोमा पत्रिका लिने दुई जना निकै राम्रो आम्दानी भएका नेपालका जानेमानेका बुद्धिजीवी थिए । त्यो पनि आफूलाई राम्रै अर्थशास्त्री ठान्ने ! त्यतिबेला उनीहरु दुवै जना नेपाल राष्ट्र बैंकका कर्मचारी थिए । त्यो पनि माथिल्लै तहका ।

लगभग सवा घन्टाको हिँडाइपछि हामी स्वयम्भू नजिकको एउटा आवासीय टोलमा पुग्यौँ । त्यो टोलको एउटा घरमा हामी छिर्‍यौँ । भर्खरभर्खर बनेको आधुनिक घर । घरको साजसज्जा त्यत्तिकै आकर्षक थियो । त्यो एउटा वामपन्थी नेताको निवास थियो ।

बन्दको दिन भएर होला, नेताजी फुर्सदमै देखिन्थे । उनी आफ्नै बैठक कोठामा ढल्किएर भारतीय च्यानलबाट आइरहेको हिन्दी फिल्म हेरिरहेका थिए । फिल्मको नाम थियो, ' हिरो हीरालाल' । आर्टफिल्ममा चर्चित नसरुद्दीन शाहको निरर्थक र असफल कमर्सियल फिल्म थियो त्यो । एउटा स्तरहीन फिल्मको कोटिमा त्यसलाई राखे पनि हुन्छ । तर नेताजी त्यही फिल्म निकै चाख मानेर हेरिरहेका थिए ।

कुनै बेला उनी नेपालका निकै चर्चित कम्युनिस्ट नेता थिए । नेपालको वामपन्थी र प्रजातान्त्रिक आन्दोलनमा निकै महत्त्वपूर्ण योगदान पुर्‍याएका ती नेता बहुदलीय व्यवस्थाको स्थापनापछि पटक-पटक मन्त्री पनि भए । कम्युनिस्ट आन्दोलनमा उनको योगदानलाई सबैले सम्मान गरे पनि तिनले त्यो सम्मानलाई जोगाइराख्न भने सकेनन् । कुनै बेला राजतन्त्र समाप्त गर्न भनेर क्रान्तिमा लागेका र लामो जेल जीवन बिताएका ती नेता पछि आफैँ कम्युनिस्ट आन्दोलन छाडेर राजावादी बने । राजतन्त्र समाप्त भएपछि उनी माओवादी बन्न पुगेका थिए । त्यसपछि फेरि एमाले बनेका थिए । यहाँको प्रसंग भने त्यसभन्दा अलि अगाडिकै हो । त्यसबेला उनी कम्युनिस्ट नेताकै मान-सम्मानमा थिए ।

ती नेता आफैँ पनि साहित्यप्रेमी हुन् । उनी आफैँ पनि लेख्ने गर्छन् । केही राम्रै पनि लेख्छन् । उनका किताब पनि प्रकाशित छन् । उनी कम्युनिस्ट पार्टीको पहिलो सरकारमा पहिलो पटक मन्त्री भएका थिए । त्यस सरकारमा उनको कार्यशैलीलाई लिएर नकारात्मक र सकारात्मक दुवैखाले टिप्पणी भएका थिए । 

साहित्यप्रेमी मित्रले नेताजीको ध्यान आफूतर्फ आकृष्ट गर्नर् प्रयास गर्दै झोलाबाट पत्रिका निकाले । नेताजीलाई पत्रिका टक्र्याउँदै तिनले भने, "यो पत्रिका किनिदिनु होला र पढिदिनु होला । सकिन्छ भने यो पत्रिकाको निरन्तरताका लागि आफूसक्दो सहयोग पनि गरिदिनु होला । आर्थिक सहयोग होइन, विज्ञापनबाट । कुनै बद्नाम होइन, असल व्यवसायीलाई भनिदिएर स्थायी खालको एउटा विज्ञापन मिलाइदिए पत्रिकालाई निरन्तरता दिन सकिन्थ्यो ।"

सम्पादक मित्रको कुरामा नेताजी केही बोलेनन् । टेलिभिजनमा फिल्म जारी थियो । भेटघाट र कुराकानीमा बाधा पुर्‍याए पनि टेलिभिजन बन्द गर्ने चाहना नेताजीमा देखिएन । उनले पत्रिका हातमा लिएर अल्छी पारामा मुखपृष्ठ नियाले । अनुहार अलिकति खुम्च्याएर केही पाना पल्टाए । उनका आँखा धेरै समय टेलिभिजनतिरै हुन्थे भने थोरै समय पत्रिकाका पाना पल्टाउनमा । पत्रिकाका पाना पल्टाइसकेपछि नेताजी बोले, "ए, यो त साहित्यिक पत्रिका पो रहेछ । यो बेला साहित्य त पढ्न भ्याए पो पढ्नु !"

नेताजीको कुराबाट पत्रिकाका सम्पादक प्रभाकर शर्मा अलिकति खिन्न त भए नै । तैपनि उनले फुर्सद निकालेर पनि साहित्यिक पुस्तक र पत्रिका नेताहरुले पढ्नुपर्ने कुरा राखे । उनको कुरालाई नेताजीले सुनेजस्तो मात्र गरे । त्यसबारे उनी थप बोलेनन् । साहित्यप्रेमी मित्र २० मिनेटको बसाइपछि नेताजीसँग पत्रिका प्रकाशनमा सहयोगको अपेक्षा राख्दै सोफाबाट उठे । उनले नेताजीलाई पनि आफ्नो 'पुस-सेल' अन्तर्गत नै पत्रिका बिक्री गरेका थिए । तर नेताजीबाट उनले पत्रिकाको मूल्य पनि पाएनन्, सहयोगको आश्वासन पनि पाएनन् । नेताजी फेरि ढल्किएर फिल्म हेर्न थाले । हामी नेताजीको बैठक कोठाबाट निस्कियौँ ।

ती नेताजी साहित्यिक पत्रिका पढ्न नभ्याउने कुरा गरिरहेका थिए तर उनी एउटा बेकम्मा हिन्दी फिल्म हेर्न भने भ्याइरहेका थिए । त्यो विसंगत उदाहरणलाई मैले एक खालको विचलनकै रुपमा अनुभूत गरेँ । ती सम्पादक मित्रले भने त्यसलाई खासै चासोको रुपमा लिएजस्तो लागेन ।

राजनीतिमा नेता हुन सजिलो होला तर सफल नेता हुन धेरै गाह्रो छ । सफल नेताको एउटा गुण अध्ययनशीलता पनि हो । बिनाअध्ययन र बिनाज्ञानको राजनीतिक सक्रियतामा मात्र नेताको क्षमता र गुणको मापन हुँदैन । नेता भनेको सिंगो राष्ट्रको नेतृत्व गर्ने बौद्धिक व्यक्तित्व पनि हो ।

त्यसको झन्डै दुई वर्षपछि तिनै नेताजी गठबन्धन सरकारमा फेरि मन्त्री बन्न पुगे । मन्त्री भएपछि उनले नजानेको र नभ्याएको केही थिएन । उनी धेरैजसो कार्यक्रममा प्रमुख अतिथि बन्थे । सबैजसो विषयमा आफू जानकार रहेझैँ भाषण दिइरहेका हुन्थे । उनी साहित्यिक कार्यक्रममा पनि प्रमुख अतिथि बनेर उपस्थित भएका हुन्थे ।

संयोग बनेको हो या बनाइएको हो, नयाँ घाम  साहित्यिक पत्रिकाका सम्पादक प्रभाकर शर्माले आफ्नो कवितासंग्रह प्रकाशित गरे । त्यस संग्रहको विमोचन साहित्य पढ्न नभ्याउने तिनै नेताजीले मन्त्रीको हैसियतमा प्रमुख अतिथि बनेर गरेका थिए । साहित्य पढ्न नभ्याए पनि साहित्यिक कृतिको विमोचन गर्न भ्याएका थिए किनकि उनी त्यसबेला नेता मात्र होइन, मन्त्रीसमेत थिए । साहित्यिक कृतिको विमोचनका बेला उनी भनिरहेका थिए, "साहित्य र राजनीतिबीच घनिष्ठ सम्बन्ध छ । यस कुरालाई लेखकहरुले राम्रोसँग ख्याल गर्नुपर्छ । यस विषयमा राम्रोसँग ख्याल पुर्‍याइएन भने असल साहित्यको सिर्जना हुन सक्दैन । राजनीतिसँग असम्बद्ध साहित्य निरर्थक र निष्प्राण हुन्छ । यो तपाईं-हामी सबैले बुझेकै कुरा हो । सबैले बुझेको कुरामा थप के कुरा गर्नु ......।"

तिनको भनाइ त राम्रै थियो तर साहित्यको अध्ययन गर्न नभ्याउने नेताले साहित्य र राजनीतिको अन्तरसम्बन्धलाई चाहिँ कसरी ठम्याए  ? बिनाअध्ययन जहाँ जुन खालको मञ्च पायो, त्यही विषयमा भाषण ठोक्ने कुराले राजनीति, राजनीतिक पार्टी, नेताको प्रतिष्ठा र महत्त्वलाई उठाउँछ कि खसाल्छ ? यो कुरालाई पनि नेताजीले राम्रैसँग बुझेका थिए । तैपनि अहिलेको नेपाली राजनीतिका अधिकांश नेताको लगभग आम प्रचलनबाट टाढा रहने खालका नेतामा उनी पनि पर्दैनथे । उनी पनि त्यही भीडमध्येकै एक थिए । त्यसैले उनले पनि त्यही नै गरिरहेका थिए, जुन अरुले पनि गर्दै आएका थिए ।

राजनीतिमा नेता हुन सजिलो होला तर सफल नेता हुन धेरै गाह्रो छ । सफल नेताको एउटा गुण अध्ययनशीलता पनि हो । बिनाअध्ययन र बिनाज्ञानको राजनीतिक सक्रियतामा मात्र नेताको क्षमता र गुणको मापन हुँदैन । नेता भनेको सिंगो राष्ट्रको नेतृत्व गर्ने बौद्धिक व्यक्तित्व पनि हो । त्यसैले सबैभन्दा बढी अध्ययन गर्नुपर्ने नेता नै अध्ययनबाट पन्छिए भने त्यस्ता नेताबाट समाज र राष्ट्रको सही नेतृत्व हुन्छ भनेर कसरी विश्वास गर्ने ? एउटा फन्टुस हिन्दी फिल्म हेर्न भ्याउने तर साहित्यिक पत्रिका पढ्न नभ्याउने नेताले व्यस्तताको बहानामा राजनीतिक विषयमा पनि अध्ययन गर्छन् नै भनेर कसरी विश्वास गर्ने ?

साहित्य नपढे पनि साहित्यिक मञ्चमा उभिन पुगेका हरेक वामपन्थी नेताले निर्धक्कसँग भन्ने गरेका छन्, "साहित्य र राजनीतिको सम्बन्ध नङ र मासुको जस्तै छ । राजनीतिबाट टाढा रहेर साहित्यको सिर्जना हुनै सक्दैन ।"

उनीहरु राजनीतिसँग साहित्यको अन्योन्याश्रति सम्बन्धको कुरा त गर्छन् तर साहित्यसँग नेताहरुको सम्बन्धबारे चाहिँ किन गम्भीर बन्दैनन् ? राजनीतिसँग साहित्यको घनिष्ठ सम्बन्ध हुन्छ भने त्यही राजनीति गर्ने नेताहरुले चाहिँ साहित्यसँग घनिष्ठ सम्बन्ध राख्ने काम गर्नुपर्छ कि पर्दैन ? राजनीतिसँग साहित्यको घनिष्ठ सम्बन्ध हुनुपर्छ भनेर उपदेश दिने राजनीतिक नेताले चाहिँ साहित्य नपढे पनि हुन्छ ? अथवा निरर्थक कुरामा आफ्नो व्यस्तता देखाएर साहित्य पढ्न नभ्याउने बहाना गर्दा पनि हुन्छ ? 

प्रकाशित: चैत्र २९, २०७५

ट्याग: निबन्ध