पुँजीवादलाई खतरा

- प्रकाशचन्द्र लोहनी

राजनीतिक इतिहास, अर्थशास्त्र, जीवनी र साहित्य मेरा रुचिका क्षेत्र पर्छन् । पठन र लेखनलाई म बौद्धिक कसरतको पाटो मान्छु । त्यसै क्रममा जगदीश घिमिरेको उपन्यास सकस  पढिसकेपछि लेखकको देशप्रेमको उच्चतालाई पनि जान्न पाएँ ।

लेख्नका लागि मात्र लेखिएको किताब होइन, सकस । यसमा नेपाल राष्ट्र निर्माण प्रक्रिया, देशको पहिचान र पुर्खाको दुःख-संघर्षको सजीव चित्र पाएँ । एक देशभक्तले आफ्नो राष्ट्रको इतिहासलाई कसरी हेर्छ र हाम्रो अस्तित्वलाई कसरी परिभाषित गर्छ भन्ने पक्ष आत्मसात गरी लेखिएको छ । इतिहासलाई साहित्य कलामा ढाल्ने चुनौतीपूर्ण सामथ्र्यसाथ बहन गरिएको छ । उपनिवेशको पञ्जाबाट बच्न नेपालले गरेको संघर्ष अनि सिन्धुलीगढी रक्षार्थ पुर्खाले देखाएको वीरतालाई उपन्यासमा जीवन्त चित्रण गरिएको छ । त्यो बेलाको सामाजिक यथार्थको आलोकमा उतारिएको उपन्यासले हाम्रो इतिहास बुझ्न सघाउँछ ।

माक्र्सवाद र पुँजीवाद अध्ययनमा रुचि हुनेले फ्रान्सेली लेखक थोमस पिकेटीको क्यापिटल इन ट्वान्टी फस्ट सेन्चुरी  पढ्नु लाभदायी हुन्छ । प्रशस्त तथ्यांकको आधारमा पुँजीवादको विकासक्रमलाई आकर्षक ढंगले लिपिबद्ध गरिएको यस किताबमा फ्रान्स, अमेरिका र बेलायतले गरेको अभ्यासको विश्लेषण छ । पुँजीवादका सशक्त पक्ष र कमजोरीलाई पिकेटीले अर्थशास्त्रीका हैसियतले कति निर्भयसाथ विश्लेषण गरेका छन् भने पाठकले थोरै मिहिनेतमै बुझ्न सक्छन् ।

पुँजीवादी व्यवस्थाले कहिले-कहिले संकट बेहोर्यो र कसरी पार पायो भन्ने इतिहासलाई मात्रै पिकेटीले अघि सारेका छैनन्, २१ औँ शताब्दीको सम्भावनालाई समेत इतिहासचेतयुक्त आकलन गरेका छन् । पुँजीवादलाई यदि कतैबाट खतरा छ भने पुँजीपतिबाटै छ, माक्र्सवादीबाट होइन । विश्वव्यापी मात्रामै साह्रै थोरै व्यक्तिको पोल्टामा ठूलो धनराशि थुप्रिरहेको छ, जुन भयावह छ । खासगरी मार्गरेट थ्याचर र रोनाल्ड रेगनको उदयसँगै जुन किसिमको आर्थिक संरचनालाई प्रोत्साहन गरियो, त्यसको असर अहिले देखिन थालेको छ । धनी र गरिबबीचको असमानता झन्-झन् बढ्नु यसैको परिणाम हो ।

सानो देशभित्र पनि थोरै व्यक्तिको कब्जामा धेरै सम्पत्तिको स्वामित्व रहने 'कर्पोरेटक्रेसी' हाबी छ । यसलाई नियन्त्रण गरेर सन्तुलनमा राख्न 'डायमन्ड सेप' मोडलमा जानु राम्रो हुन्छ, जसमा उच्च वर्गको आकार सानो, मध्यम वर्ग ठूलो र निम्न वर्ग सानो हुने संरचना हुन्छ । यसखाले आर्थिक संरचनाले सामाजिक र राजनीतिक स्थिरता ल्याउँछ । तर विश्वका प्रजातान्त्रिक मुलुकले उपेक्षा गर्छन् या सफल भएका छैनन् । प्रजातान्त्रिक भनिएका देशमा राजनीतिक दलहरु सत्तामा उक्लिन चुनावमा जाने, चुनावमा पैसा चाहिने र त्यसका लागि पुँजीपतिसँगै साँठगाँठ गर्ने बेथिति देखा परेको छ । जनताका लागि, जनताद्वारा, जनताको शासनका रुपमा चिनिएको लोकतन्त्र अहिले मुट्ठीभरका लागि, मुट्ठीभरद्वारा मुट्ठीभरको भएको छ । यसलाई नसच्याउने हो भने २१ औँ शताब्दीको पुँजीवाद संकटमा पर्नेछ । अर्थतन्त्रलाई प्रजातान्त्रिक संरचनाले अहिलेसम्म सही विधि र प्रक्रियामा ल्याउन नसकेको निचोड पिकेटीको छ । सच्याउने केही सम्भावित उपाय पेस गर्दा उनले ऐतिहासिक तथ्यांकसहित बृहत् चिन्तन गरेका छन् ।

नवउदारवादीले पढ्नुपर्ने महत्त्वपूर्ण किताब हो- किकिङ अवे ल्याडर । हा जोन च्याङको यो किताबमा विकसित राष्ट्रहरुले अपनाउने रणनीतिक भर्याङबारे अध्ययन गरिएको छ । ती यस्ता भर्‍याङ हुन्, जो आफू माथि उक्लेपछि लात हानेर फालिन्छन् । खासगरी 'फ्रि इन्टरप्राइज', उदारवादी आर्थिक व्यवस्थाजस्ता अवधारणाले आर्थिक विकास गर्छ भन्ने मान्यता कमजोर अर्थशास्त्रमा उभिएको छ । यो सिद्धान्तभन्दा पनि विचारधारामा अडेको दाबी छ च्याङको । उनी आजको व्यवस्थाको गाँठी कुरा बुझ्नका लागि इतिहास नै पल्टाउनुपर्नेमा जोड दिन्छन् । आफू कमजोर हुँदा संरक्षणको वकालत गर्ने राष्ट्रहरु पनि प्रतिस्पर्धामा अरुलाई जित्न सक्ने भएपछि संरक्षणवादको विरोध गर्न थाल्छन् र तल पर्ने स्थिति आएमा फेरि संरक्षण चाहिनेमा जोड दिन्छन् । बेलायतको आर्थिक इतिहास हेर्दा यस्तै देखिन्छ ।

विकसित मुलुकका इतिहास हेर्दा देखिन्छ- संरक्षणमा आधारित अर्थतन्त्रले आफ्नो देशका उद्योगलाई अन्यसँग प्रतिस्पर्धा गर्न सक्षम नहुँदासम्म संरक्षण गर्छ । यो अर्थनीतिलाई थाहा छ- भर्खरै टुसाएको बीउलाई हुरीबतासमा लगेर छोड्नु हुँदैन, पहिले बलियो बनाउनुपर्छ । त्यसका लागि भन्सार छूटजस्ता पक्षमा जोड दिइन्छ ।

आज संरक्षणवादको विरोधीका रुपमा परिचित अमेरिकाको औद्योगिक विकासको मूल आधार संरक्षण नै थियो । अमेरिकी गृहयुद्धमा संरक्षणवाद एउटा मुद्दा थियो । सामानको मात्रामा लगाउने कोटा प्रणाली पनि संरक्षणवाद नै हो । प्रविधिको सहायतामा सस्तोमा सामान उत्पादन थालेपछि चीन अरुसँग प्रतिस्पर्धा गर्न सक्षम भयो । त्यसैले ऊ संरक्षणवादको विपक्षमा छ । देशको अवस्था हेरेर संरक्षणका विभिन्न नीति लागू गर्नुपर्छ भन्ने च्याङको अवधारणा छ ।

विश्व बैंकहरुको प्रभावमा परी नेपालमा उदारवादी अर्थतन्त्र थोकमा लागू गर्नु मूर्खता मात्रै होइन, बौद्धिक दासता पनि हो भन्ने पाठ किकिङ अवे ल्याडरबाट सिक्न सकिन्छ । बाहिरका मोडलबाट सिक्नुपर्छ तर निर्देशनलाई ब्रह्मवाक्य मान्नु हुँदैन । आफ्नै मोडलको अर्थनीति विकास गर्न सक्नुपर्छ ।

प्रस्तुति  : गुरुङ सुशान्त

प्रकाशित: चैत्र २९, २०७५

ट्याग: तीन किताब