क्रिकेटकी सीता, फुटबलकी सावित्रा : समाचार निर्माता २०७५

समाचार निर्माता २०७५

सीता रानामगर | सावित्रा भण्डारी  : खेलाडी

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर हुन्, सीता रानामगर । पछिल्लो समय थाइल्यान्डमा भएको टी-ट्वान्टी प्रतियोगितामा ६ खेलमा ११ चौकाको मद्दतले १ सय ३८ रन जोडेर उनी चर्चामा आइन् । सोही प्रदर्शनका आधारमा रानामगरलाई नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) ले वर्षको उत्कृष्ट क्रिकेट अवार्ड प्रदान गर्‍यो ।

नेपाली महिला क्रिकेटको पहिलो पुस्ताकी खेलाडी मानिन्छिन् सीता । सन् २००७ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा उनको गृहजिल्ला बाँकेका मात्र सात खेलाडी थिए । तीमध्ये नेरी थापामगर, सरिता मगर र उनी अहिले पनि राष्ट्रिय टिममै छन् ।

नेपाली महिला फुटबलकी स्ट्राइकर हुन्, सावित्रा भण्डारी । चैत पहिलो साता विराटनगरमा सम्पन्न पाँचौँ साफ च्याम्पियनसिपमा सर्वाधिक चार गोल गर्दै उनी चर्चाको शिखरमा उक्लिइन् । उपाधि त जिताउन सकिनन्, तर नेपाली महिला फुटबलको स्तरोन्नति भएको प्रशस्तै छनक उनले दिइन् । भण्डारीले त्यहाँ साफको एउटै संस्करणका सबै खेलमा गोल गर्ने पहिलो नेपाली खेलाडीको परिचय पनि बनाइन् । पाँच वर्षअघि तेस्रो साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्धको 'डेब्यु' खेलमै गोल गरेकी भण्डारीले अन्तर्राष्ट्रिय खेलमा २६ गोल गरिसकेकी छिन् ।

प्रकाशित: चैत्र २८, २०७५