बिचौलियाका वाहक : समाचार निर्माता २०७५

समाचार निर्माता २०७५

सुगतरत्न कंसाकार | व्यवस्थापक

नेपाल वायु सेवा निगमको महाप्रबन्धक छँदा दुइटा न्यारोबडी जहाज सुगतरत्न कंसाकारले सोझै निर्माता कम्पनीबाट किने, ०७० मा । निगमलाई बिचौलियाको जन्जालबाट मुक्त पारेको भन्दै त्यतिबेला प्रशंसा पाएको पाँच वर्षपछि एयरबसकै वाइडबडी किन्दा कंसाकारले आफ्नै नजिर उल्टाए । हाइफ्लाई एक्स (आयरल्यान्ड), एएआर कर्पोरेसन इन्क (अमेरिका), जर्मन एभियसन क्यापिटल (जर्मनी) जस्ता बिचौलिया सन्जालयुक्त कम्पनीमार्फत वाइडबडी किन्दा ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप छ । संघीय संसद्को सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यो प्रकरणमा छानबिन थाले । लेखा समितिले खरिद प्रक्रिया नियमसंगत नदेखिएको भन्दै अख्तियारलाई छानबिन गर्न निर्देशन दियो भने अर्को समितिले प्रतिवेदन तयार गरेको छैन । व्यापारिक योजनाबिनै किनिएका जहाज दुई महिना विमानस्थलको पार्किङमै थन्किए । यस्तो व्यवस्थापकीय भुत्तेपनको केन्द्रमा उभिएका रमिते थिए, कंसाकार ।

प्रकाशित: चैत्र २८, २०७५